ओझेलमा पर्दै नेपाल एकीकरणको इतिहास बोकेको निशान नाँच

निशान नाँच्ने युवाको अभाव

रमेश भारती

सोमवार, असोज २०, २०७६

Reading Time: 4 minutes

ओझेलमा पर्दै नेपाल एकीकरणको इतिहास बोकेको निशान नाँच

पाँचथर-पाँचथरको याङवरक गाउँपालिका थर्पु पञ्चकन्या कालिकाधाममा हरेक वर्ष महानवमीका दिन निशान नचाउन चलन छ ।

हरेक वर्ष बडा दशैँको नवमीको दिन नचाउन निशानमा वार्षिक मेला पनि लाग्छ । उक्त निशानमा विभिन्न किसिमका ऐतिहासिक हातहतियार समेत प्रदर्शन गर्ने चलन छ ।

नेपाल एकीकरणको इतिहास बोकेको निशान नाँचले एकीकरणको झल्को दिने गरेको छ । हरेक वर्ष बडादशैंको नवमीको दिन नचाइने निशानमा विभिन्न किसिमका ऐतिहासिक पुराना हातहतियारसमेत प्रदर्शन गर्ने गरिन्छ ।

निशान मेलामा दुईवटा निशान प्रदर्शन हुन्छन् । थर्पु कालिकाधाममा लिम्बुवान क्षेत्रका सरदारहरु भेला भई १० लिम्बुवानको ठेक्का, रितिथिति, सुभाङ्गी निश्चित गरेको इतिहासका रुपमा निशान नाँचलाई लिइन्छ ।

लिम्बुवान र खम्बुवानसँग १७ पटक युद्ध गर्दा पनि पृथ्वीनारायण शाहले जित्न नसकेपछि लिम्बुवानहरुलाई राज्य सुम्पिदै निशानको रुपमा निशान नचाउने दिएको इतिहासविद र बुढापाकाहरुको बताउदै आएको छ । निशान १ सय ९५ वर्ष अघिदेखि नचाउदै आएको लिम्बुवानका बुढापाकाहरुको भनाइ छ ।

निशानमा प्रदर्शन गरिने हतियारहरु ताम्रपत्र, तरबार, खुँडा, खुकुरी, नगरा, चमार बन्दुक, त्रिशुललगायतका समग्रीहरु पालैपालो एक वर्षका लागि ५२ सुब्बाहरुले बुझ्ने परम्परा छ ।

हरेक वर्ष बडादशैंको अष्टमीको दिन थर्पुको कालिकाधाममा हाँजिर गराई एकरात कारबारीमा राख्ने र भोलिपल्ट नवमीको दिन २ बजे मौलो डाँडामा भोग दिने चलन रहेको लिम्बुहरुले बताएका छन् । तिनै हतियार र निशान होहल्ला गर्दै थान वरपर घुमाउन चलन छ ।

निशान घुमाउनेहरु पाँच दिनदेखि ब्रत बस्ने गर्दछन् । ती ब्रतालु युवाले धामको वरपर निशान बोकेर, होहल्ला गर्दै कराउँदै कुद्ने गर्दछन् । निशान प्रदर्शन नौमती बाजासहित प्रदर्शन गरिने गरेको लिम्बु इतिहासविद हर्क योङहाङले बताएका छन् ।

लिम्बुवान र खम्बुवानसँग १७ पटक युद्ध गर्दा पनि जित्न नसकेपछि तिमीहरुले गरिखानु भनी लिम्बुवानहरुलाई पृथ्वीनारायण शाहलले राज्य सुम्पिदै निशानको रुपमा निशान उपहार दिएको योङहाङलको भनाइ छ ।

पछिल्लो समय पहाडी जिल्लामा भएका कारण निशान नाँचको महत्व हराउदै गएको योङहाङको बुझाई छ । सरकारले निशानलाई संरक्षण गर्नुपर्ने उनको माग छ ।

निशानमा मुखिया, नौ भैया, चार भैया, कारबारी, बुढौली आदिले सर्दारहरुको सभाको साथै १७ थुम १६ थरी ५२ सुब्बाहरुको हरेक वर्ष आवश्यकताअनुसार भेला भई बैठक बस्ने प्रदर्शनमा के कसो गर्ने र समस्या समाधान गर्ने भन्ने विषयमा छलफल गर्ने गरेको याङवरक गाउँपालिका ४ का वडा अध्यक्ष शहरनन्द योङहाङले जानकारी दिएका छन् ।

‘सत्ययुगमा यस ठाँउमा विशाल ताल रहेको र सो ठाउँमा देवताहरु नुहाउने गरेको किम्बदन्ती छ । यसै ठाउँमा हरेक वर्ष कालिका थानमा भोग दिने र भाकल गर्ने गरेको र कालान्तरमा धामको रुपमा विकास भएको इतिहास पाइन्छ । सो ठाउँमा भाकल गरेको सम्पूर्ण मनोकामना पूरा हुने मान्यता रहिआएको छ ।’ उनले भने, ‘महानवमीका ठाउँमा राँगा, बोकालाई बलीसमेत दिने गरिन्छ । सो ठाउँमा आफ्ना सन्तान नभएमा आएर पूजापाठ गरे मनोकामना हुन्छ भन्ने विश्वास छ ।’

नेपाल एकीकरणका इतिहास बोकेको निशान नचाउन युवा पाउन छाडेको उनको भनाइ छ । पहिला निशान नचाउन युवाको भीड लाग्ने गरेको थियो । तर, १० वर्षदेखि निशान नचाउन युवा अभाव हुन थालेको अध्यक्ष योङहाङले जानकारी दिए ।

निशान नाचका लागि स्थानिय तहबाट बजेट र मेलाबाट उठेको भेटीले चल्दै आएको योङहाङको भनाइ छ । ऐतिहासिक मन्दिर भएका कारण निशानलाई पनि विश्व सम्पदा सूचीमा राख्नुपर्ने उनको माग छ । निशान संरक्षणका लागि केन्द्रीय सरकारले वार्षिक बजेट छुटाउनुपर्ने उनको बुझाइ छ ।

कालिका देवी माताको धामसमेत रहेको त्यस स्थानमा ठूलो काभ्रोको फेदमा, काभ्राको जराको थाम, भित्ता, भुईं र छानो प्राकृतिक र अलौकिक थानसमेत रहेको छ ।
कालिका थानको उत्पत्ति मानव वस्तीको विकासभन्दा अघि भएको अनुमान गरिदै आएको छ ।

शाहले दिएको माथिल्लो फाल्गुनन्द श्री कम्फु निशान वि.स १८८० मतवल सिह मावो (थर्पु)ले जिम्मा लिएको र तल्लोको श्रीजंगे निशान १९१२ मा बागदल सेलिङ (ओयाम)ले लिएपछि निशानलाई भाले र पोथी भनेर नचाउन थालिएको थियो ।

भर्खर

0