यसरी पूरा भयो २ सन्तानकी आमाको सगरमाथा चढ्ने सपना | Khabarhub Khabarhub

यसरी पूरा भयो २ सन्तानकी आमाको सगरमाथा चढ्ने सपना



पासाङ ल्हामू शेर्पा पहिलो सगरमाथा आरोही नेपाली महिलाको नाम हो । त्यही नामका कारण उही नाम गरेकी अर्की पासाङ ल्हामू शेर्पाले सगरमाथा आरोहण गर्ने उत्प्रेरणा पाइन् ।

कारण : उनलाई धेरैले सोध्ने गर्थे, के तिमी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला उही पासाङ ल्हामू शेर्पा नै हौ ? उनले मुन्टो हल्लाएर होइन भन्थिन् । तर, उनलाई हरेक प्रश्नले सगरमाथा आरोहण गर्ने उत्प्रेरणा दिन्थ्यो । ‘यदी मैले अरोहण गरिहालें भनेँ ?’ उनी आफैंलाई प्रश्न गर्थिन् ।

सन् २००४ मा उनले ट्रेकिङ गाइडका रुपका काम शुरु गरेकी थिइन् । गाइडका रुपमा उनले धेरै आरोहीहरुको सङ्गत गर्नुपर्‍यो । उनी पदयात्रीहरुलाई सगरमाथाको आधार शिविरसम्म पुर्‍याउन सहयोग गर्थिन् । पदयात्रीहरुले सोध्थे, के तिमीले सगरमाथा चढेकी छ्यौं ? उनको जवाफ पुनः छैन नै हुन्थ्यो । तर यस्ता हरेक प्रश्नले उनलाई सगरमाथा आरोहण गर्ने हौसला भने प्रदान गर्थे ।

उनको जीवन संघर्षमय रह्यो । तर, उनले हिम्मत भने हारिनन् । विभिन्न बाधा र दुई सन्तानकी आमासमेत रहेकी उनले एकपटक सगरमाथा आरोहण गरिछाड्ने अठोट लिइन् ।

‘दुई सन्तानकी आमा भएकीले परिवारलाई चित्ता बुझाउन निकै कठिन पर्यो ।’ उनी भन्छिन । तर, यो असम्भव छैन भन्ने उनलाई थाहा थियो । त्यसैले उनी यसका लागि दृढ थिइन् । सन् २०१८ को मे महिनाको १६ का दिन बिहान ९ बजेर १२ मिनेटमा उनी सगरमाथाको शिखरमा पुगिछाडिन् ।

खबरहबसँगको कुराकानीमा उनी आफ्नो विगत सुनाउँछिन्, ‘मेरो गाउँ खरिखोला, सोलुखुम्बुमा हरेक दिन धेरै विदेशी पर्यटक (पदयात्री) हरु आउने गर्थे ।’

उनका आमाबाबु गाउँमै होटेल व्यवसाय गरेर बसेका थिए । त्यस्तै, उनका अरु साथीभाईहरु पनि पर्यटन व्यवसायमा नै लागेका थिए । त्यसैले उनलाई पनि ट्रेकिङ गाइड बन्ने हौसला मिल्यो ।

यस क्षेत्रमा काम गर्न थालेको केही वर्षपछि नै उनी विवाह बन्धनमा बाँधिन पुगिन् र केही समयपछि नै दुई छोरीकी आमा बनिन् । तैपनि यस क्षेत्रको लगावले उनलाई पिछा गर्न भने छाडेन र सन् २०१३ मा उनी गाइडका रुपमा पुनः आफ्नो पेशालाई निरन्तरता दिइन् ।

उनलाई सगरमाथाले आकर्षित गर्न पनि छाडेन । उनले पहिलो सगरमाथा आरोही एडमण्ड हिलारीले प्रायोजन गरेको विद्यालयमा अध्ययन गरेका कारण पनि सगरमाथा तथा आरोहीप्रति उत्तिकै लगाव थियो ।

शेर्पा आफ्नो विद्यालय भ्रमणमा आउँदा पहिलो सगरमाथा आरोही एडमण्ड हिलारीलाई खादा ओढाइदिएको पनि सम्झन्छिन् ।

‘म जस्ता महिलाले परिवारको चित्त बुझाउन कति कठिन भयो होला । मेरा श्रीमानले म घरमै बसेर परिवारको हेरचाह गरोस् भन्ने चाहनुहुन्थ्यो,’ उनी भन्छिन् ।
शुरुमा उनका श्रीमान् उनलाई सगरमाथा आरोहण गर्न दिने पक्षमा थिएनन् । तैपनि सगरमाथा आरोहण गर्न उनी उत्तिकै दृढ थिइन् ।

‘मैले सगरमाथा आरोहण गर्न सकिन भने मेरो जिन्दगी त्यसै खेर जानेछ भन्ने मलाई थाहा थियो । त्यसबाहेक म आफ्ना श्रीमानलाई पनि सगरमाथा आरोहण गरेर देखाउन चाहन्थें,’ उनी भन्छिन् ।

महिला आत्मविश्वास नाराका साथ उनी सगरमाथा आरोहणमा निस्किन । उनका अनुसार महिलालाई अघि बढ्न तथा स्वाबलम्बी हुन प्रोत्साहन गर्नका लागि यो नारा तय गरिएको थियो ।

सगरमाथा आरोहणका बेला बाटोमा मरेका आरोहीका लाश भेटिनसक्ने र उनको आत्मविश्वासलाई खलल पुर्‍याउन सक्नेमा उनी सजग थिइन् । ‘जस्तोसुकै परिस्थितीका लागि पनि म तयार थिएँ ।’ त्यसअघि पनि सगरमाथा आरोहणका तयारीका लागि उनले रामदुङ र आइल्याण्ड हिमालको आरोहण गरिसकेकी थिइन् ।

आरोहणका क्रममा उनले जीवनको अर्थ बुझिन् । त्यहाँ रहेका हिउँले उनलाई यो जीवनको महत्व सिकायो । ‘केही समयपछि के हुन्छ, तपाईंलाई केही थाहा हुन्न । त्यसैले हरेक मानिसले आफूले चिताएको काम समयमा नै सकिहाल्नुपर्छ,’ उनी भन्छिन् ।

उनी आफ्नो आरोहणको बयान गर्छिन्, ‘जब हिलारी स्टेपबाट शिखरतर्फ अघि बढिन्छ, त्यसबेला एकापट्टी नेपाल र अर्कोपट्टी तिब्बत देखिन्छ । त्यसबेला यदी म तिब्बततिर खसेँ भने के होला भन्ने लागेको थियो, म त हराउथेँ होला ।’

त्यसपछि उनी सगरमाथाको शिखरमा पुगिन् । उनका लागि त्यो भन्दा गौरबको कुरा के नै थियो र ? उनको सपना साकार भयो, अभियान पूरा भयो ।
सगरमाथाको शिखरबाट हेर्दा बादल तल देखिन्थे, सारा संसार नै तल थियो । ‘अहो मलाई त स्वर्ग नै पुगेँकी जस्तो लागेको थियो,’ उनी सुनाउँछिन् ।
उनी भन्छिन्, ‘यदी तपाईंले कुनै अभियानको शुरुआत गर्नु भएको छ भने तपाईं अवश्य सफल हुनुहुनेछ ।’

उनी सगरमाथाको शिखरमा ४५ मिनेटजति बसिन् । भिडियो र फोटो खिचिन् र आफ्ना सहकर्मीहरु पनि सगरमाथाको शिखरमा कतिबेला आइपुग्लान् भनेर कुरेर बसिन् ।

तैपनि तल ओर्लिने बेलामा भने उनलाई केही असहज महशुस भयो । उनी सुनाउँछिन्, ‘म मरिहालेँ भने मेरा छोरीहरुको के होला भन्ने डर लागेको थियो ।’ तैपनि हिम्मत जुटाएर उनी आधार शिविर फर्किन सफल भइन् ।

आरोहणका क्रममा उनले पहिलो नेपाली महिला आरोही पासाङ ल्हामू शेर्पाले सगरमाथा आरोहण गरेको रजत जयन्तीका सन्दर्भमा पासाङ ल्हामू शेर्पाको तस्वीर सगरमाथामा पुर्‍याएकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनको टोलीलाई पासाङ ल्हामू शेर्पा र मदन भण्डारीको तस्वीर दिएकी थिइन् ।

‘म यसलाई महिला सशक्तीकरण र उनीहरुमा आत्मविश्वाज जगाउनका लागि एउटा सानो कदमका रुपमा लिन्छु,’ उनी भन्छिन्, ‘पर्यटनसहितका अन्य क्षेत्रमा महिलाहरुलाई सहयोग गर्नका लागि मैले गर्नुपर्ने धेरै छन् ।’

उनी भन्छिन्, ‘तपाईंलाई थाहा छ, तपाईंले सफलता हासिल गर्नुभयो भने मानिसहरुले तपाईंको प्रसंशा गर्छन्, तपाईंसँग राम्रो व्यवहार गर्छन् । तपाईं आफ्नो सपना साकार गर्न लागि पर्नुहोस्, सफलताले एकदिन अवश्य चुम्नेछ ।’

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ११ : ०४ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने