भीमबहादुरको च्याउ खेती – ५ लाख लगानी १५ लाख आम्दानी

जागिर खोज्नुको साटो तरकारी रोपौं, स्वरोजगार बनौं

सविना कार्की

शनिबार, भदौ २१, २०७६

Reading Time: 8 minutes

भीमबहादुरको च्याउ खेती – ५ लाख लगानी १५ लाख आम्दानी

काठमाडौं–इट्टाले बनाएको सानो घर । घरको बाँयापटिट् १० वटा लस्कारै बनाइएका गोठ । जहाँ एक दम्पत्ती च्याऊको रेखदेख गरिरहेका थिए ।

गोठ वरिपरीको हरियाली दृश्य । गोलभेंडा, खुर्सानी, घिरौला लगायतका तरकारी झप्पकै फलिरहेको दृश्य देखिन्थ्यो । मानिसहरु सडकमै उभिएर हेरिरहेका थिए ।

काठमाडौंको दक्षिणढोकास्थित ६ रोपनी जग्गाको बीचमा एउटा घर छ । घरको बाहिर पट्टी सानो बोर्डमा लेखिएको छ ‘च्याऊ फार्म।’

यो फार्म धरानका भीमबहादुर कटुवालको हो । उनी विगत ८ वर्षदेखि दक्षिणढोकास्थित जग्गा भाडामा लिएर व्यवसायिक रुपमा च्याउ खेती गरिरहेका छन् ।
‘नेपालमा काम पाइदैंन, नेपाल बसेर काम छैन’ पैसा कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने सोच भएकाहरुका लागि उदाहरणीय पात्र बन्न सक्छन् कटुवाल ।

परदेश बसाइको लामो अनुभव बटुलेका भीम अहिले निकै खुसी छन् । कारण ‘स्वदेशमा खेती गरेरै मनग्य आम्दानी।’

बिहानको झुल्को घामसँगै उनी फार्ममा प्रवेश गर्छन् । उमेरले ६० वर्ष पुगिसेकका छन् । अनुहारका छाला पनि मुजा पर्न थालिसकेका छन् । कपाल फुलेर सेत्तै देखिन्छ । उमेरले विस्तारै आराम गर्ने दिनहरु खोजिरहँदा उनी भने युवाले झैं व्यवसाय गरिरहेका छन् उनी ।

उनकी श्रीमतीले पनि सँगसगै साथ दिइरहेकी थिइन् । फार्ममै दिनभरीको समय बिताउन पाउँदा निकै खुसीको अनुभूति गर्छन् भीम ।

कामप्रतिको लगाव र मेहनतले होला उनको अनुहार निकै हसिँलो थियो । त्यति मात्र होइन फार्मप्रतिको उनको उनको मोह उत्तिकै छ । भन्छन्, ‘फार्ममा यसरी काम गर्दा शरीरलाई कसरत पनि हुँदो रहेछ ।’

धरानबाट काम खोज्दै काठमाडौं

दक्षिणढोमा च्याउ फार्म सञ्चालन गरिरहेका भीमको स्थायी घर सुनसरीको धरानमा हो । धरानकै एक गाउँको सामान्य परिवारमा २०१६ सालमा भीमको जन्म भयो ।

परिवारका काइला छोरा हुन् उनी । उनको परिवारमा ५ सन्तान थिए । एक दिदी र ५ दाजुभाइ । गाउँमा विद्यालय भएपनि परिवारको आर्थिक अवस्था नाजुक भएका कारण लेखपढ गर्न सकेनन् ।

‘खाना लगाउनै त दुःख नै थियो’ भीम भन्छन् ‘कसरी पढ्नु र।’ सँगैका साथी स्कुल पढ्न जाँदा पढ्ने रहर उनलाई पनि लाग्थ्यो । तर, विस्तारै ठूलो हुंदै गएपछि उनी बुझ्ने भए । गाउँघरमा बाआमालाई खेतीपातीको काममा सघाउथें उनी ।

लामो समयसम्म धरानमै बसेर खेतीपातीको काम गरे भीमले । तर त्यही कामले उनलाई साथ दिएन । ‘भएको खेतपनि बाढीले बगाइदियो’ कुराकानीको क्रममा उनले भने ‘त्यसपछि झनै पीडा थपियो।’

बढेको छोरो घरमा बसेर पनि के गर्नु भन्ने सोच उत्पन्न भयो उनमा । परिवारकै इच्छा बमोजिम २३ वर्षको उमेरमा वैवाहिक सम्बन्धमा बाधिए उनी । विवाह पछि झनै जीम्मेवारी थपियो।

‘गाउँघरमा खेतवारी कमाउने हो भने त पाइन्थो’ ती दिन स्मरण गर्दै उनले भने ‘तर जति काम गरेपनि मुस्किलले जीवन चलाउनुपथ्र्यो।’ भीमलाई एकाएक राजधानी आउने इच्छा लाग्यो । तर, चिनेजानेको कोही थिएनन् कहाँ जाने के गर्ने त्यो केही थाहा थिएन् ।

‘जसरी हुन्छ मैले पैंसा कमाउनुपर्छ, श्रीमती पाल्नुपर्छ’ उनी यतिमात्र सोच्न थाले ।

कुरा हो, आजभन्दा ३६ सालअघिको । उनी कामको शिलशिलामा काठमाडौं आइपुगे । सामान्य लेखपढ गर्न नसक्ने मान्छेले के जागिर पाउला र ? उनको मनमा कौतुहल्ता हुन थाल्यो । भक्तपुरस्थित ठिमीमा एउटा डेरा भाडामा लिए उनले ।

भोलिपल्टबाट ज्यामी काममा हिँडे उनी । २५ वर्षको उमेरमा ज्यामी काम गर्न हिड्दा उनी महशुुस गर्थे ‘पढ्न पाएको भए आज ज्यामी काम गर्न पर्दैन्थ्यो होला।’ तर, उनको बाध्यता पनि थियो । घरपरिवार पाल्नैपर्ने । आफुले काम नगरे आफु मात्र होइन परिवार पनि भोको हुन्छ भन्ने मनशाय बोकेर भक्तपुरका विभिन्न स्थानमा ठूला-ठूला भारी बोकेर हिडे ।

‘दिनको ९ रुपैयाँ ज्याला थियो’ खबरहबसँगको कुराकानीमा भीमले भने ‘१५ रुपैयाँ डेरा भाडा थियो ।’ दुःख सुख केही समय ज्यामीकै काम गरे उनले । विस्तारै ठाउँ चिन्दै गए र मान्छे पनि । त्यसपछि उनलाई रोजगारको लागि त्यस्तो गाह्रो परेन । भन्छन्, ‘केही समय ठेकेदारसँग ज्यामी काम गरेपछि हात्तीवनस्थित गोल्सामा सोही कामको शिलशिलामा पुगें।’

‘त्यहाँ मैले ठेला गुडाउने देखि इट्टा बोक्ने सम्मको काम गरें’ उनले भने ‘करिब ३ वर्ष त्यही बसेर काम गरें।’

त्यसँगै उनी जावलाखेलमा रहेको एक जापनीज कम्पनीमा काम गर्न पुगे । विस्तारै ज्यामी काम छोड्ने सोचे । त्यससँगै उनले कार्पेन्टरको काम सिके । उनी फुर्सदका समयमा साथीले काठको काम गरेको हेर्थे ।

उनलाई त्यो काम गर्न कुनै अप्ठयारो लागेन । कामको शिलशिलामा जावलखेल पुगेका भीम ज्यामीको काम छोडेर कार्पेन्टरको काम गर्न थालें ।

तलव पनि राम्रै थियो उनको । तर, जब उनी कार्पेन्टरमा दक्ष बन्दै गए त्यसपछि उनलाई विदेश जाने इच्छा पलायो । त्यसो त भीमलाई स्वदेमै बसेर केही व्यवसाय गर्ने सोच पनि नपलाएको भने होइन ।

लगानी जुटाउन मुस्किल पर्ने भएपछि उनले विदेसिने सोच बनाए । श्रीमती र ३ छोरालाई काठमाडौंमै ल्याएर डेरमा राखे ।

कतारमा कार्पेन्टर

‘आफु बसेको घरको घरबेटीसँग ७० हजार रुपैयां ऋण मागें’ भीमले भने ‘त्यसलगात्तै कतार गए।’

कतार पुगेपछि त धेरै पैसा कमाउन सकिएला भनेर कतार पुगेका उनलाई ३ वर्षसम्म कम्पनीले तलब नै दिएन ।

‘छोराहरुको स्कुलमा फि तिर्न नसक्दा श्रीमतीले स्वदेश फर्किनुस् भनेर तारम्तार फोन गर्थिन्’ दुःखका दिनहरु सम्झदैं उनले भने ‘धेरै पटक स्कुलका शिक्षकसँग कतारबाटै भिडियो कल गरेर सम्झाएँ।’

३ वर्षपछि उनलाई तलव दियो कम्पनीले त्यो पनि तोकेको भन्दा आधा । त्यसपछि उनले कम्पनी परिवर्तन गर्ने सोच बनाए र कतारकै अर्को कम्पनीतिर काम गर्न पुगे ।

२४ औं घण्टा काम गर्न थालें उनी । कतार जाँदा लिएको घरभेटीको ऋण ११ वर्षपछि चुक्ता गरे पनि । ‘ऋण तिरेपछि पैसा बचत पनि गर्न शुरु गरे’ खुसी हुँदै उनले भने ‘छोराहरुलाई पढाउन र घर खर्च चलाउन श्रीमतीलाई केही पैसां पठाउथें।’

उनको सोच विदेश जानु अघि नै विदेशमा पैसा कमाउने र नेपालमा व्यवसाय गर्ने भन्ने नै थियो । तर के व्यवसाय गर्ने भन्ने योजना भने थिएन उनमा ।

टेलिभिजन कार्यक्रमले सिकाएको च्याउ खेती

कतारमा कार्पेन्टर गरिरहेका भीम एकदिन टेलिभिजन हेरिरहेका थिएँ । ‘मैले टेलिभिजन हेरिरहँदा एउटा कार्यक्रम बजिरहेको थियो’ उनले सुनाए ‘त्यो कार्यक्रममा परदेशबाट फर्केर गएका युवाहरुले व्यवसायिक रुपमा च्याऊ खेती गरेको भिडियो देखाएको थियो।’

भीमको सोच एकाएक परिवर्तन भयो । १८ वर्षपछि भीम परदेशबाट फर्किए स्वदेशमै च्याऊ खेती गर्ने सोचले ।

स्वदेश फर्किएसँगै उनी च्याऊ खेतीको बारेमा बुझ्न हिडे । श्रीमतीलाई पनि उनले सुल्झाउथे ‘हामी आफ्नै व्यवसाय गर्नुपर्छ।’

उनलाई च्याऊ व्यवसाय गर्नका लागि परिवारको पनि सहयोग र सल्लाह उत्तिकै छ ।

१५ लाख लगानीमा च्याऊ खेती

उनका साथीहरुले गोकर्णमा च्याऊ खेती गरिरहेका थिए । भीमलाई साथीबाट थप जानकारी मिल्यो । २०६८ सालमा उनले दक्षिणढोकास्थित ६ रोपनी जग्गा भाडामा लिए ।

वार्षिक रुपमा डेढ लाख साहुलाई बुझाउने गरी भाडामा लिएको जग्गामा उनले च्याऊ मात्र होइन अन्य तरकारी पनि लगाउने सोच बनाए ।

च्याऊका लागि १० वटा गोठ बनाए र अन्य स्थानमा काउली, गालभेंडा, सिमी, फर्सि, घिरौला, करेला, भेन्टा, खुर्सानी लगायत थुप्रै तरकारीहरु लगाए ।

‘तरकारी पनि राम्रै उत्पादन हुन थाल्यो’ उनले भने ‘काम गर्नका लागि १० जना कामदार राखेको थिए।’ कुराकानीको क्रममा भीमको अनुहार खुसीले भरिएको देख्न सकिन्थ्यो । उनको प्रयास सफल हुनु नै उनमा गर्व थियो ।

एकमहिनामा १५ लाख आम्दानी

भीमले च्याऊ लगाउँदा ५ लाख लगानी गर्छन् । लगानी मात्र होइन मेहनत पनि उत्तिकै गर्छन् । च्याऊ तयार हुन २५ दिन लाग्छ । च्याऊ खेतीमा एकपटक १५ लाखसम्म आम्दानी गर्छन् भीम ।

कसरी उत्पादन गर्ने ?

सामान्यतया च्याऊ उत्पादनका गर्न पराल चाहिन्छ । उनले विभिन्न स्थानबाट पराल मगाउँछन् । च्याऊ उमार्ने तरिकाबारे उनी भन्छन्, ‘पराललाई साइज मिलाएर काट्ने, त्यसलाई पानीमा भिजाउने र मज्जाले धुने, पानीबाट निकालेपछि ओभाउने, पराललाई सुक्खा हुन नदिन केही भाडामा हाल्ने र ३ घण्टासम्म पकाउने त्यससँगै गोठमा लगेर थौलोमा खाँदेर राख्ने । थौलोमा राखेको परालमा च्याऊको बीउ हाल्ने र झुन्डाउने दिनदिनै त्यसको रेखदेख गर्नुपर्छ ।’

‘कहिलेकाही च्याऊमा किरा लाग्ने समस्या पनि हुन्छ’ उनले भने ‘त्यसका लागि चुनाको प्रयोग गर्नुपर्छ।’ उनकाअनुसार जाडो मौसममा च्याऊ तयार हुन ४५ दिन लाग्छ भने गर्मीमा २५ दिन लाग्छ ।

एकपटक तयार पारेको थौलोमा ३ पटकसम्म च्याऊ उत्पादन गर्न सकिने उनले बताए ।

छोराहरुबाट पाएको सन्तुष्ट

परदेशमा १८ वर्ष बसेका उनले काठमाडौंको माकलवारीमा ३ तले घर बनाए । साथै आफुले पढ्न नपाएपनि सन्तानलाई पढाएर ठूलो बनाउने सोच राखेका भीमको इच्छा छोराहरुले पूरा गरेका छन् ।

‘छोराहरुको पढाइ राम्रो छ’ उनी भन्छन्, ‘पिएचडीका लागि एउटा छोरो चीन गएको छ अर्को नर्वे, कान्छो छोराले मास्टर गर्‍यो।’ ‘परदेशको भूमिमा पसिना बगाएर भएपनि छोराहरुलाई राम्रो पढाए यसमै खुसी छु’ उनले भने ।

युवालाई सन्देश

त्यसो त उनले ८ वर्षको अवधि धेरैलाई च्याऊ खेतीका बारे जानकारी समेत दिइसकेका छन् । ‘अवलोकनका लागि धेरै मानिहरु आउनुहुन्छ’ उनले भने ‘१० जनाले त यहीबाट सिकेर गएर च्याऊ खेती गरेका पनि छन् ।’

च्याऊखेतीमा आउन सकेमा राम्रो आम्दानी लिन सकिने उदाहरण दिदैं भीम भन्छन्, ‘जागिर खोज्दै भौतारिनुभन्दा तरकारीखेती तिर आउनुस् आम्दानी मात्र होइन तरकारीमा नेपाललाई आत्मनिर्भर समेत बनाउन सकिन्छ ।’

भर्खर

0