मानसिक सन्तुलन गुमाएका युवाको लोभलाग्दो प्रगति

डा.विश्वबन्धु शर्मा

शनिबार, भदौ २१, २०७६

Reading Time: 5 minutes

मानसिक सन्तुलन गुमाएका युवाको लोभलाग्दो प्रगति

सम्झेर मन गदगद हुन्छ । जाडोले लगलग काम्दै सडकमा खानेकुरा टिपेर खान थालेको व्यक्ति आज सिइओ हुन लागेको सुन्दा । त्यो पनि एउटा प्रतिष्ठित बैँकमा । उनी जस्तै कयौँ मानसिक रोगीहरु अहिले पनि सडकको फोहर खान वा सिक्रीले बाँधिन विवस छन् । तर उपचार, विश्वास र धैर्यताले सुखपूर्ण जीवन बाँच्नेहरु पनि त धेरै छन् । त्यस मध्येको एउटा सफल कथा हो यो, जसले प्रेरणा उत्साह र जीवनप्रतिको मोह उत्पन्न गर्नसक्छ ।

एक दिन मेरो क्लिनिकमा परिचित एक जना स्वास्थ्यकर्मी आएर भने, ‘जनआन्दोलन (२०४६) मा लागेर मसँगै हिरासतमा बसेका एक युवक अहिले सडकको फोहर खाँदै गरेको देखेँ, मन कटक्क भो । जेल छुटेपछि पाटीको बास भएछ उनको । व्यवहार पनि फरक, एक्लै बोलिरहने, बहुलाए जस्तो छ, सहयोग गर्न सकिन्थ्यो कि सर ?’

सवै विवरण सुन्दा मानसिक रोग सिजोफ्रेनिया लागेको अनुमान भयो । उपचार त गर्ने, तर उनको रेखदेख कसले गर्ने ? नियमित औषधि खुवाउन पनि समस्या थियो । फाटेको फोहरी लुगा लगाएर पाटीमा भताभुङ्गसँग बसेकाछन्, क्लिनिकमा ल्याउन पनि मुस्किल । म मानसिक अस्पतालमा काम गर्थेँ । त्यहाँ कुरुवा नभई भर्ना नहुने, प्राइभेटमा कुरुवा चाहिन्न तर अलिकता भएनि पैसा त तिर्नैपर्छ । आफन्त नभएको विरामीलाई कसरी सहयोग गरुँ ? असहज स्थितिले मेरो मन भौँतारियो ।

एकछिन विचारेँ, र भनेँ, ‘तीन हप्ते इन्जेक्सन लेखिदिन्छु लगाइदेऊ, पछि सुधार हुन सक्छ, अनि अस्पताल ल्याउन पनि सकिन्छ ।’

दुई वटा इन्जेक्सन लाएपछि अलि सुधार भएछ, लिएर आए । हेरेँ, रोगको प्रभाव अझै छ । एक्लै बोलिरहने तर सोधेको जवाफ दिने सक्ने अवस्था । पूर्वी नेपालतिरका ती युवाले सानैमा आफन्त गुमाए पछि काठमाडौंमा कसैले आश्रय दिएकाले पढ्ने मौका पाएछन् । इमान्दार र मेहनेती भएकाले अध्ययनपछि राम्रो बैँकमा अधिकृत पास गरेछन् । त्यसपछि एक्लै बस्न थालेको र प्रगति पनि भइरहेको रहेछ ।

२०४६ को जनआन्दोलमा चिनेजानेकाबाट प्रभावित भई जुलुसमा जाँदा पक्राऊ परेछन् । केही महिना हिरासतमा बसेपछि आन्दोलन पनि सकियो, प्रजातन्त्र आयो । अरु आन्दोलनकारीसँगै उनी पनि जेलबाट छुटे । हिरासतमा रहेको खबर बैँकमा पुगेको रहेछ । अफिस जाँदा, ‘तिमीलाई त बैँकले पहिले नै हटाइसक्यो, अव आउन पर्दैन’ भन्ने जवाफ पाएपछि उनी निकै विचलित बने ।

आम्दानी नभएपछि डेराबाट पनि हट्नुपर्ने भयो । अव कहाँ जाने ? आपत आइलाग्यो । आफन्त कोही छैनन् । आफ्नै बलबुताले पाएको त्यस्तो राम्रो जागिर गुमेर पुरै नाङ्गो हुनुपर्दा उनले सहनै सकेनन् । बस्ने ठाउँ पनि नहुँदा पाटीमा बस्न थाले । उनी विछिप्त जस्तो बने । मानसिक रोगले च्याप्दै लगेपछि के गर्ने के नगर्ने छुट्याउनै सकेनन् । यसरी उनका दुर्दिन शुरु भएको उनले सुनाए ।

त्यसपटक मैले नै तेस्रो सुई लगाई दिएँ । ती स्वास्थ्यकर्मीले उनलाई सहयोग गर्दै थिए, बसाई पाटीमै थियो । तेस्रो सुई लगाएपछि धेरै सुधार देखियो ।

त्यसपछि उनले भने, ‘अब म बस्ने ठाउँ र नयाँ काम खोज्छु । काम नपाएसम्म राति यहीँ पाटीमा बस्छु, बरु मलाई ४।५ दिनलाई खानपुग्ने पैसा दिनुस्, कमाएर तिर्छु ।’

त्यसपछि काम खोज्दै भौतारिने क्रममा खाद्यसम्बन्धी व्यापारीको लेखा व्यवस्थित गर्ने काम पाएछन् । रोग पनि निको हुँदै गयो, तलव पाएपछि जीवनमा सुधार आउन थाल्यो । मकहाँ आफैँ आउन थाले । त्यसपछि एउटा नाम चलेको मोटर बिक्री गर्ने कम्पनीमा काम पाएछन् । उनको क्षमता र इमान्दारिताबाट प्रभावित भएर प्रमुख एकाउनटेन्टमा नियुक्ति भएछ । त्यसपछि उनको आर्थिक जीवनमा पनि सुधार भयो । विवाह गरे । श्रीमतिसँगै लिएर आउन थाले । रोगले पूरै छोडेको थिएन । उनले भने, ‘कहिलेकाहीँ मेरो कानमा कसैले के के भन्ने गरेको आवाज अझै आउँदै छ, तर दवाउन कोशिस गर्दैछु ।’

अरु सवै कुरा ठीक भएर पनि त्यो लक्षण गइसकेको थिएन । यस्तो समस्या अरुले थाहा पाउने कुरा पनि भएन । देखिने लक्षण केही हुँदैन । पहिले विदेशीको लगानी भएको बैँकमा काम गरेको मानिस सुट, टाइ लगाएर त्यही स्तरमा हिंड्न थाले ।

बैंकमा काम गरेको अनुभव समेतको आधारमा उनले एक सहकारी संस्थामा असिस्टेन्ट म्यानेजरको काम पाए । त्यसको दुई वर्षमै उनी म्यानेजर भए । यसको अनुभवको आधारमा उनलाई एउटा सानो विकास बैकले प्रमुखको जागिर दियो । उनी प्रमुख भएका बेला सो बैँकले निकै राम्रो प्रगति गर्‍यो । त्यो थाहा पाएर राष्ट्रिय स्तरको एक बाणिज्य बैंकले आफ्नो शाखाको म्यानेजरको जागिर दियो । उनी म्यानेजर भएको बेला सो शाखाको प्रगति अन्य शाखाहरुको भन्दा राम्रो भयो । स्टाफहरुबाट हुने त्रुटी पनि शून्य भयो ।

अतिरिक्त क्रियाकलाप गराउने, सामाजिक कार्यहरुमा बैंकको तर्फबाट सहभागी हुने जस्ता कार्यले बैंकको प्रतिष्ठा बृद्धि भयो । शाखामा काम गरेर संस्थाको प्रतिष्ठा नै उचो बनाएकाले सो बैंकले उनलाई केन्द्रीय कार्यालयमा महत्वपूर्ण जिम्मेवारी दियो । त्यहाँ पनि उनले आफ्नो मेहनत र प्रतिभा देखाएर बैंकको शाख बृद्धि गरे । अव उनी सो बैंकको सिइओ हुने लाइनमा पुगेका छन् ।

यस वीचमा उनको निकै प्रगति भइसकेको छ । शेयरमा ठूलो लगानी गरेका छन् । काठमाडौ शहरभन्दा अलि बाहिर एक रोपनी जग्गा किनेका छन् । सामाजिक गतिविधिमा उत्तिकै लागेका छन् । बच्चाहरु राम्रो स्कुलमा पढ्दैछन् ।

उनमा मानसिक रोगको कुनै समस्या छैन् तर कहिलेकाहिँ कानमा आवाज आउने सिजोफ्रेनियाको सामान्य लक्षण भने छ । कम मात्रामा औषधि सेवन गरिरहेका छन् । मैले उनकी श्रीमतीलाई भनेको छु, ‘हेर्नुस् उहाँ मानसिक रोगले झण्डै सिद्धिएर पुनर्जन्म पाएको व्यक्ति हो, नियमित औषधि खुवाएर रोग बल्झिनबाट जोगाउनु होला ।’

(मञ्जरी पब्लिकेशनले बजारमा ल्याउन लागेको डा. शर्माको प्रकाशोन्मूख पुस्तक मान्छेको मनबाट ।)

भर्खर

0