कोटेश्वर-कलंकी सडकमा ‘दौडिदै’ हुनुहुन्छ, ट्राफिकले चलाउला ‘लेजर गन’ ! | Khabarhub Khabarhub

कोटेश्वर-कलंकी सडकमा ‘दौडिदै’ हुनुहुन्छ, ट्राफिकले चलाउला ‘लेजर गन’ !



काठमाडौं– गत आइतवार दिउँसो जीप, स्कोरपियो र मोटरसाइकल एकआपसमा ठोक्किए । दुर्घटनामा पत्रकार गोविन्दप्रसाद शर्मा घिमिरे र नुवाकोटका चन्द्रमणि मदुहारीले ज्यान गुमाए ।

यो घटना हो, राजधानीको कोटेश्वर-कलंकी सडक खण्डको । चीन सरकारले बनाइदिएको आठ लेनको उक्त सडक केही महिना अघिमात्र निर्माण सकिएको हो ।

हेर्दा चिल्लो र आकर्षक देखिएपनि सडक पूर्वाधार अभाव तथा चालकले सवारीसाधनलाई तीव्रता दिने भएका कारण उक्त सडकमा जनधनको क्षति भइरहेको छ । तपाईं केहीबेर उक्त सडकमा गएर हेर्नु भयो भने कम गतीमा कुदेका सवारीसाधन भेट्न सक्नुहुन्न । सवारीसाधन तिव्र गतीमा कुद्ने र सडकमा जेब्रा क्रसिङ, आकोशपुल लगायतका संरचना नहुँदा पछिल्लो समय दुर्घटनामा वृद्धि भइरहेको छ ।

बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ उपत्यकाका सडकमा गति निर्धारण गरिएको छ ।

सवारी साधनको गती मापन गर्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर—कलंकी सडकमा ‘लेजर स्पिड गन’ को प्रयोग गरिरहेको छ ।

‘लेजर स्पिड गन’ गत सोमवार बाट सुचारु भएको छ । यो उपत्यकामा पहिलो पटक सञ्चालन गरिएको महाशाखाका प्रहरी उपरीक्षक (एसएसपी) पदम विष्टले जानकारी दिए ।

‘यसअघि महाशाखाले ‘राडर स्पिड गन’ को प्रयोग गरेको थियो’ एसएसपी विष्टले भने,‘त्यो भन्दा अत्याधुनिक छ ‘लेजर स्पिड गन ।’
कोटेश्वर—कलंकी सडकमा बढी दुर्घटना भइरहेकाले तत्कालका लागि सो सडकमा लेजर स्पिड गनको प्रयोग गरिएको उनले बताए । एसएसपी विष्टका अनुसार महाशाखामा अहिले ३ वटा लेजर स्पिड गन रहेका छन् ।

के हो ‘लेजर स्पिड गन’?

लेजर स्पिड गन विषेश प्रकारको क्यामेराजडित उपकरण हो । झट्ट हेर्दा यो दूरबीन जस्तै देखिन्छ । ट्राफिक प्रहरीले त्यसलाई सजिलै प्रयोग गर्ने गर्छन् ।

लेजर स्पिड गनले सडकमा आवागमन गर्ने सवारी साधनको तस्वीरसँगै सवारीको गती मापन गर्छ । सवारी साधनको गति समेत उपकरणमा सजिलै देख्न सकिन्छ । गनले १ सय ५० मिटरको दूरीसम्मको रेन्जमा सवारी साधनको गति पत्ता लगाउने गर्छ ।

सवारी साधनले गति मापदण्ड पार गरेको खण्डमा उक्त लेजर गनबाट अनुगमन गरिरहेका ट्राफिकले त्यसको जानकारी पाउँन सक्छन् ।

गति मापदण्ड बढी भएमा तुरुन्त बटम दबाएर उक्त सवारीको विस्तृत विवरण प्रिन्ट गरेर ट्राफिकले दिन्छन्, र कारवाही गर्छन् ।

प्रभावकारी बन्ला त लेजर स्पिड गन ?

दुर्घटनाको क्रम बढिरहँदा महाशाखाले न्यूनिकरणका लागि प्राविधिक उपकरण संचालनमा ल्याएको छ, के यो प्रभावकारी बन्ला त भन्ने प्रश्नमा विष्ट भन्छन्, ‘दुर्घटनाको मुख्य कारणका रुपमा तीव्र गति देखिएपछि यो उपकरण सञ्चालनमा ल्याएका हौँ, त्यसले विस्तारै दुर्घटना न्यूनीकरण हुन्छ’।

कोटेश्वर कलंकी सडकमा ५० किलोमिटर प्रतिघन्टाको गतिमा सवारी चलाउन पाउने मापदण्ड रहेको छ । यद्यपी सो सडकमा ८० किमि प्रतिघन्टाको गतिमा सवारी कुद्ने गरेको पाइएको छ ।

त्यसो त सो सडकमा सडक पूर्वाधारहरु पर्याप्त मात्रामा देखिँदैनन् । जसकारण पैदलयात्रुहरु बीच सडकबाटै पार गरिरहेका हुन्छन् । जसकारण दुर्घटनाको जोखिम अझै बढिरहेको छ ।

मंगलवारदेखि जरिवाना लिने

महाशाखाले गत सोमवारदेखि संञ्चालन गरेको स्पिड लेजर गन आउने सोमवारसम्म चालकलाई सचेत गराउनका लागि मात्र हुने विष्टले बताए । ‘पहिलो पटक सञ्चालनमा आएकाले सबैका लागि नौलो लाग्न सक्छ, त्यसैले एक सातासम्म चालकलाई सुसुचित गर्ने काम भइरहेको छ, त्यसपछि भने कारवाही र जरिवाना समेत हुनेछ’ खबरहबसँग कुरा गर्दै एसएसपी विष्टले भने ।

एक सातापछि पनि सो नियम पालना नगर्ने सवारी चालकलाई स्पिड लेजर गनको आधारमा कारवाही गरिने उनले बताए । यातायात व्यवस्था ऐन २०४९ अनुसार नै कारवाही गरिने बताउँदै उनी भन्छन्, ‘मंगलवारदेखि ५० किमि प्रतिघन्टा भन्दा बढीको गतिमा सवारी चलाएको पाइएमा ५०० देखि २५०० सम्म जरिवाना हुनेछ’ ।

कोटेश्वर-कलंकी सडकमा दुर्घटना

सडक विस्तारको काम सकिएदेखि हालसम्म यो सडकमा १७० सवारी दुर्घटना भएका छन् भने १५ जनाको मृत्यु र २२९ जना घाइते भएको महाशाखाको तथ्याङ्कले देखाएको छ । यो सडकको निर्माण गत असारमा सकिएको थियो ।

‘धेरैजसो दुर्घटना तीव्र गति, ओभर टेक र सडक पूर्वाधारको अभावकै कारण देखिएको छ’ एसएसपी विष्टले भने ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १० : ४१ बजे

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा

मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई