अष्ट्रेलिया : सहज गन्तव्य, असहज यथार्थ

सन्तोष ओझा

बिहिबार, माघ २४, २०७५

Reading Time: 6 minutes

अष्ट्रेलिया : सहज गन्तव्य, असहज यथार्थ

केही महिनाअघि विश्व साइकल यात्री पुष्कर शाहले ‘अष्ट्रेलियामा आएर भाँडा माझ्दै छु’ भनी फेसबुकमा स्टाटस पोस्ट गरे । उनको सो पोस्टले नेपाली समुदायमा अनलाइन तरङ्ग फैलायो । केही मानिसले उहाँजस्तो देशकै गहनाले देश छोड्नु परेको भन्दै नेतृत्वलाई गाली गरे । अर्का थरीले त्यो विषय उहाँको व्यक्तिगत निर्णय रहेको र काम गरी खानु सकारात्मक भएकाले कामलाई अन्यथा लिन नहुने प्रतिक्रिया दिए ।

यसरी चर्चित व्यक्तिहरू विदेश पलायन भई फरक काम सुरु गरेका उदाहरणले विदेशका नेपालीको जीवनशैलीप्रति स्वदेशी मानिसको दृष्टिकोण फरक बनाउने गरेको छ । त्यतिमात्रै होइन, उनीहरुले विदेशमा के काम गर्छन् भन्ने चासो र जिज्ञासाले आम जनमानसमा विदेशमा हुने कामप्रतिको सम्मानलाई प्रभावित गर्ने गरेको छ ।

दक्ष र अदक्ष जनशक्तिले गर्ने कामको वर्गीकरण स्वीकार गर्न हामीलाई गाह्रो छ । संसारको मानचित्रका सानो मुलुकका प्रतिभाहरू ठुलो देशमा पुगेपछि उही स्थान नपाउनुले ‘सानो पोखरीको ठुलो माछा बन्ने कि ठुलो पोखरीमा सानो माछाका रुपमा चित्त बुझाउने’ भन्ने द्विविधामा पर्नु स्वभाविकै हो ।

नेपाली संस्कार, दैनिकी, कामप्रतिको बुझाइ, प्राज्ञिक पृष्ठभूमि, पेशागत दक्षता, स्थानीय समाज र सांस्कृतिक प्रणाली अस्ट्रेलियाभन्दा नितान्त फरक छन् । हाम्रो समाजमा दैनिक प्रचलनमा रहेका बुझाइ, भोगाइ र अभ्यास अष्ट्रेलियामा सायदै अस्तित्वमा छन् । यसै कारण अस्ट्रेलियामा हामीले भोगेका जीवनमा संघर्ष र पीडाका कथा बढी हुन सक्छन् ।

इन्टरनेटको पहुँच विस्तारका कारण नेपालको अमुक डाँडामा बसेर संसारका जुनसुकै कुनाका पनि ओपेरा हाउस नियाल्न नौलो कुरा रहेन । यही विशेषताका कारण युवाले भरिपूर्ण नेपालबाट विदेशको समृद्धि, विकास र जीवनको रफ्तार नियालेर ‘स्वदेशमा पनि यस्तै भईदिए हुन्थ्यो’ भन्ने कल्पना गर्नु स्वभाविकै हो । तर तत्कालीन धरातल, समाजिक-आर्थिक पृष्ठभूमि, समग्र बुझाइ र आफूले गरेका कल्पना नै समृद्ध देशका यथार्थ हुने भएकाले अष्ट्रेलिया आउने युवाहरु समस्यामा परेका हुन सक्छन् । त्यही सपनामा देखेको कुरा अकस्मात् वास्तविक जीवनको यथार्थ हुनुले दुःख र पीडाका कारक बन्न बनेका हुन्।

करिब एक हजार अमेरिकी डलर प्रतिव्यक्ति आय भएको नेपालबाट ४५ हजार डलर आय हुने देश अस्ट्रेलिया जाँदा त्यहाँको पृष्ठभूमिबारे अभिमुखीकरण लिन पक्कै जरुरी छ । नेपालका कुनै दुर्गम गाउँबाट पहिलोपटक काठमाडौं आउँदा हरेक पक्ष नयाँ लागेझैं नेपालबाट विदेश उत्रँदा पनि उही अनुभव हुन्छ । एकैरातमा सबैकुरा जानेर सकिने होईन तर परिवर्तनका लागि सबैको इच्छाशक्ति हुनु जरुरी हो ।

मेलम्चीको पानी ल्याउन दशकौं बिताउने देशको वातावरणमा परिचित देशका हामी रातारात विकासका संरचना ठड्याउन सक्ने देश पुग्दा सपनाजस्तो लाग्छ । नेपालमा हाम्रो समाजले सायदै सम्मान गर्ने पेसा यहाँ मनग्गे आर्थिक आम्दानीका स्रोत हुन्। बिएमडब्लु गाडी कुदाउन बाटो बनाइदिने मजदुरको सम्मान गर्नुपर्छ भन्ने बुझाई यहाँको छ ।

पुतलीसडकका गल्लीमा च्याउ सरी खुलेका परामर्शदाताले बरु नक्कली ऋण लिन सहायता गरे तर अष्ट्रेलियाको यथार्थ जीवनबारे सक्कली अभिमुखीकरण दिने जिम्मेवारी कत्ति पनि बोध गरेनन् ।

हाम्रो देशमा सेवामा बिताएका वर्षका आधारमा वा बढुवा भएर प्राध्यापक भइन्छ । यहाँ प्राध्यापक हुन नेपालमा जस्तो सजिलो रहेनछ । खोज र अनुसन्धानमा कति दक्षता र लगाव चाहिन्छ भन्ने कुरा अस्ट्रेलियाका जुनसुकै विश्वविद्यालयका प्राध्यापकलाई सोध्दा मात्र थाहा हुन्छ । वर्षभर एउटा कक्षाकोठामा प्राध्यापकले दिएको ‘किताबी शिक्षा’ वर्षको अन्तिममा त्यही किताबबाट सोधिने प्रश्नको रटन्ते उत्तर ३ घण्टा पानामा भर्ने हाम्रो अभ्यास छ ।

अध्ययनका लागि आएका हामीलाई पहिलो पटक अस्ट्रेलियाको विश्वविद्यालय प्रवेश गरेपछि मात्र थाहा हुन्छ विश्वविद्यालय के रहेछ भनेर । संसार होइन, एसियाको पनि उत्कृष्ट भित्र नपरेका विश्वविद्यालयका उत्पादन हामीलाई विश्वकै उत्कृष्ट विश्वविद्यालयमा पुग्दा कस्तो अनुभव होला? यस्तै अनुभवको भिन्नता यहाँको जीवन संघर्ष हो । यसलाई जति सहजै स्वीकार गर्न सकिन्छ, उति नै सहज बन्छ यहाँको जीवनशैलीमा भिज्न । तर यो कुरा आम नेपालीलाई अनौठो लाग्नु अस्वभाविक होइन ।

जीवनको चौबाटोमा उभिएर कता जाने भन्ने अन्योलमा रहेका युवा आज संसारभर भाग्य खोज्दैछन् । नेपालको हालको अवस्था र सोही अनुसारको हाम्रो बुझाईले आफैंलाई भ्रमित गरेको छ । नियम कानूनलाई हामी हल्का लिन्छौं । प्रणालीलाई हामी नजरअन्दाज गर्छौं । केही परे भनसुन गरौंला, चिनजानबाट काम भइहाल्छ नि भन्ने मानसिकता अझै हटेको छैन । यस्तै समाजमा हुर्किएका छौं । यसरी नै नेपालमा काम चल्छ । तर यहाँको समाजलाई त्यसरी चल्छ भन्ने थाह पनि छैन । यहाँ त्यस्तो संस्कार अपवाद मात्र हो ।

दैनिक जीवनका प्रायः सबै काम अनलाइन वा कुनै पनि कार्यालयभित्रका फ्रन्ट काउन्टरबाटै सकिन्छन् । सरकारी कार्यालयमा न हाकिम भेटेर अनुनयविनय गरी आफ्नो काम गराउन अभ्यस्त हामीलाई यहाँको एकीकृत सरकारी सेवाले प्रभावित पार्दछ । सार्वजनिक सेवाको तीतो अनुभव सँगाल्न अभ्यस्त हामी अस्ट्रेलिया पुग्दा मात्र त्यहाँको जीवनशैलीमा बानी पर्न कति गाह्रो हुँदो रहेछ भन्ने ज्ञान हुन्छ ।

अध्ययन गर्न अस्ट्रेलिया जाने विद्यार्थीले हाई-कमिसनलाई पढ्न जानुका उद्देश्य र भविष्यमा फर्किने योजनाबारे विश्वस्त तुल्याएर आएका हुन्छन्। तर कानुनले दिएभन्दा बढी काम गर्न नपाएको विद्यार्थीहरूको सबैभन्दा ठुलो गुनासो हो । तर त्यहाँ जाने विद्यार्थीको मुख्य उद्देश्य पढ्नु भएकाले पढाइलाई सहज बनाउन र समय व्यवस्थापनमा सहज होस् भनी त्यस्ता कानुनहरु बनाइएको भन्नेमा हाम्रो ध्यान कहिल्यै गएन ।

पुतलीसडकका गल्लीमा च्याउ सरी खुलेका परामर्शदाताले बरु नक्कली ऋण लिन सहायता गरे तर अष्ट्रेलियाको यथार्थ जीवनबारे सक्कली अभिमुखीकरण दिने जिम्मेवारी कत्ति पनि बोध गरेनन् । विमानस्थलमा अवतरण भएदेखि नै हरेक पाईलामा सुरु हुने दैनिकी र शिष्टाचारबारे अलिकति पूर्वजानकारी भए आउनुपूर्वको आशा र आएपछिको अनुभवको खाडल कम हुने थियो ।

अष्ट्रेलिया आउनुपूर्व आफ्नो उद्देश्यबारे प्रष्ट हुन एकदमै जरुरी छ । सबैको सोच र अध्ययनपछि यतै बसोबासको अनुमति लिने भएकाले यसबारे पूर्वतयारी नगर्नु अन्यौल निम्त्याउनु हो । यही अन्यौल नै यहाँ आएपछि पिडाका कारण हो । धेरैले कम ध्यान दिएको विषय विश्वविद्यालय र आफूले बसोबास गर्ने स्थानको दुरीका बारेमा पहिल्यै जानकार हुन जरुरी छ ।

काम गरेर विश्वविद्यालयको फी तिर्ने मात्र प्राय सबै नेपाली विद्यार्थीको उद्देश्य भएकाले काम, विश्वविद्यालय र बसोबासको दुरीले दैनिकीले कष्टकर जीवनशैली बनाइदिन सक्छ। स्थायी बसोबासको अनुमति लिने विषय अध्ययन सकिएपछिका तपसिलका विषय हुन् ।

यस्तै विषयमा ध्यान नदिए सपना र विपनाको अन्तर नै निराशाका रुपमा आउन सक्छन् । ‘के सोचेंथे जिन्दगीमा, के-के भयो आज’ जस्ता हरफ आफ्नै जीवनमा मेल खाने संभावना धेरै हुन्छन् ।

ओझा अस्ट्रेलियाको राजधानी सिड्नीस्थित एक गैर-सरकारी संस्थामा कार्यरत छन् ।

भर्खर

0