डा. केसीको माग– चिकित्सा शिक्षामा कालोबजारी गर्नेलाई कारबाही गरियोस् | Khabarhub Khabarhub

डा. केसीको माग– चिकित्सा शिक्षामा कालोबजारी गर्नेलाई कारबाही गरियोस्


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षाको क्षेत्रमा अर्बौ‌ रुपैयाँकाे कालो बजारी गर्नेविरुद्ध कडा कारबाहीको माग गरेका छन् ।

बिहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले एमबीबीएस, बीडीएस र नर्सिंग लगायतका कार्यक्रमहरुमा अर्बौंको कालो बजारी गर्ने निजी मेडिकल कलेजहरुमाथि तत्काल कानूनबमोजिम कडा कारबाही गर्न माग गरेका हुन् ।  डा. केसीले गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुको माग तत्काल सम्बोधन गरी विद्यार्थीहरुबाट असुल गरेको रकम ब्याजसहित फिर्ता गर्न माग गरे ।

डाक्टर केसीले दुई तिहाइ बहुमतको सरकारले सस्तो, सुलभ स्वास्थ्य सेवा देशभर पुर्याउने काम छाडेर माफियाहरुको स्वार्थमा काम गरेको आराेप लगाए ।

डा. केसीले विज्ञप्ती जारी गर्दै देशमा सुधार र सुशासनको सम्भावना कायम गर्नुपर्ने भन्दै सरकारसँग ७ बुँदे माग समेत राखेका छन् ।

यस्ता छन् डा. केसीका ७ बुँदे माग,

१. एमबीबीएस, बीडीएस र नर्सिंग लगायतका कार्यक्रमहरुमा अर्बौंको कालो बजारी गर्ने निजी मेडिकल कलेजहरुमाथि तत्काल कानून बमोजिम कडा कारवाही गरियोस् । तीमध्ये कलेजको ठगी र आर्थिक अपराधका प्रमाणसहित आन्दोलनमा उत्रेका गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुको माग तत्काल सुनुवाइ गर्दै विद्यार्थीहरुबाट नाजायज रुपमा असुलिएको अवैध रकम तत्काल ब्याजसहित विद्यार्थीहरुलाई फिर्ता गरियोस् । किस्टलगायत अन्य मेडिकल कलेजहरुमा समेत त्यस्तै ठगी भइरहेकाले त्यहाँका सबै विद्यार्थीसंग अवैध रुपमा असुलिएको अतिरिक्त रकम फिर्ता गर्दै दोषी पदाधिकारीहरुलाई फौजदारी मुद्दा लगायत हदैसम्मको कारबाही गरियोस् ।

२. बलजफ्ती र निषेधपूर्वक माफियाको स्वार्थमा पारित गरिएको चिकित्सा शिक्षा ऐन १५ औं सत्याग्रहको बेला भएको सम्झौता अनुसार नै संसोधन गरियोस् । साथै गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् ।

३. हामीसँग भएको सम्झौता अनुसार इलामरपाँचथर, उदयपुर, डोटी र डडेल्धुरा लगायत प्रदेश नं. २ र ४ मा पनि सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया तत्काल अघि बढाइयोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस लगायतका कार्यक्रम शुरु गरियोस् ।

४. सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको पुनर्गठन गर्दा विगतमा झैँ दलीय भागवण्डाका आधारमा नभई पीडितहरुको विश्वास जितेका योग्य र सक्षम विज्ञहरुलाई नियुक्त गरियोस् । द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तराष्ट्रिय कानून अनुसार दण्डित हुने सुनिश्चित गरियोस् ।

५. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूलाई तत्काल पक्राउ गरि फौजदारी मुद्दा चलाइयोस् ।

६ . संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयकका अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकार विरोधी प्रावधानहरु तत्काल खारेज गरियोस् ।

७ . महाअभियोग नलगाई भ्रस्टाचारबाट जोगाउन चलखेल गरि राजिनामा दिन लगाइएको आयुक्त राजनारायण सिंह पाठकलाई कानूनी कठघरामा उभ्याएर कानून अनुसार कारवाही गरियोस् । विगतमै दोषी प्रमाणित भएर पदबाट हटाइएका तर कारवाही नगरिएका अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्की तथा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्याधीश गोपाल पराजुलीलाई समेत कानूनअनुसार कारबाही गरियोस्।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ५ : १७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन