तरकारी रोपेर लाखौं कमाउँदै ६६ वर्षे श्रेष्ठ | Khabarhub Khabarhub
Logo
१० माघ २०७६, शुक्रबार

तरकारी रोपेर लाखौं कमाउँदै ६६ वर्षे श्रेष्ठ



काठमाडौं–हरियाली वातावरण । ठूलो क्षेत्रमा लगाएको विभिन्न प्रकारका तरकारीहरु । तरकारी बारीको बिचमा एक किसान, तरकारीको हरेचाहमा खटिरहेका । जो उमेरले ६ दशक पार गरिसकेका छन् । तर जोश र जाँगर भने भर्खरका युवाको जति नै देखिन्छ ।

झट्ट हेर्दा किसानको परिवेसमै देखिन्छ उनलाई । भ्याएसम्म उनी तरकारी बारीमै समय बिताउँछन् । आफ्नो कर्मप्रति गर्व महशुस पनि गर्छन् ।

धेरैलाई स्वदेशमै तरकारी खेती गरेर बस्न सुल्झाएका पनि छन । कतिपय युवाहरुका लागि भने प्रेरणादायी पनि बन्न सक्छन्–‘धनकुटाका इन्द्र कुमार श्रेष्ठ’ ।

झण्डै तीन दशक पुग्नै थालेको छ उनले तरकारी खेती गर्न थालेको । यो समयावधिमा उनी एक्लैले मात्र खेती गरेनन् । उनले धनकुटाका अन्य किसानहरुलाई समेत तरकारी खेतीमा लाग्न मार्गचित्रण गरेका छन् ।

इन्द्र वि.स. २०१० सालमा धनकुटा जिल्लामा जन्मिए । धनकुटाको छथर जोरपाटीमा जन्मिएका इन्द्रका छ दिदी र तीन दाजुभाइमध्ये उनी परिवारका कान्छा छोरा हुन् ।

गाउँमै जन्मिए पनि परिवारमा खाना लगाउनका लागि कुनै समस्या थिएन । उनका बुबाआमा किसान थिए । धेरै प्रकारका अन्नदेखि तरकारी सम्म उब्जाउने र बेचेर परिवारको जोहो गर्ने गर्थे ।

गाउँमा राम्रो विद्यालयको सुविधा नहुँदा इन्द्र ८ वर्षको उमेरमा संखुवासभाको मादी वृतमा अध्ययनका लागि पुगे । ७ कक्षा सम्म मादीमै अध्ययन गरेका इन्द्रले त्यसपछि पढ्न धरान पुगे ।

परिवारका कान्छा छोरा भएकाले सबैको माया र ममता पाएका उनले पढाइकै क्षेत्रमा पनि अन्य दाजुभाइ दिदी बहिनीलेको तुलना केही बढी प्राथामिकता पाएका थिए ।

१ वर्ष धरानमा पढेका उनी फेरि रामसिता माध्यामिक विद्यालय सुनसरीमा भर्ना भए । २०२९ सालमा सुनसरीबाटै उनले एसएलसी उर्तीण गरे ।

स्कुलका ३० जना साथीसँगै उनी भारतको बनारससम्म पुगे अध्ययनका लागि । त्यहाँ ६ महिना बसेर परीक्षा दिए उनीहरुले । ‘त्यो बेला पढ्नको लागि बनारससम्म पुगेका थियौं’ अनुभव साट्दै उनले भने ‘त्यहाँ घुस माग्यो, पढाइ त राम्रै थियो घुस दिएर के पढ्नु भन्ने सोचले म गाउँ फर्किए ।’

आजभन्दा ४९ वर्षअघि । त्यतिबेला अघिलेको जस्तो चर्चा पनि थिएन पढाइको । पढ्नका लागि घरबाट कुनै रोक थिएन उनलाई । तर पढ्नलाई त्यही बीट मारिदिए ।

२० वर्षको उमेरदेखि किसान बने इन्द्र

त्यो बेला दिदीहरुको पनि बिहे भइसकेको थियो । घरमा बुबाआमालाई सघाउनका लागि कोही थिएनन् जसकारण उनले किसान बनेर खेतवारीको काम गर्ने सोच बनाए ।

गाउँघरमा खेतीपातीको काम गरिरहँदा साथीहरु पैसा कमाउन विदेश जान्थे । तर उनलाई विदेश जाने मोह कहिल्यै लागेन । बरु गाउँमै बसेर समाजसेवा गर्न रुचाउथे उनी ।

‘सिंगो गाउँलाई टेवा पुग्ने काम गर्ने पहिलेदेखिको सोच थियो मेरो’ इन्द्रले खबरहबसँगको कुराकानीमा भने ‘त्यसकारण पनि म २० वर्षको उमेरबाटै कृषि पेशामा लागेँ ।’

खेती गर्ने क्रममा उनले मोरङस्थित उर्लाबारीमा करिब ३ विघा जमिन समेत किने । कृषि र उत्पादनलाई अझ पढाउनका लागि क्षेत्र विस्तार गर्ने सोचले उनी बुबाआमालाई लिएर मोरङ तिर झरे ।

‘धान, मकै लगायतका अन्न बाली उब्जाउथेँ’ उनले भने ‘त्यहाँ धेरै अन्न फल्थ्यो ।’

करिब १४ वर्षसम्म मोरङमा खेती गरिरहेका इन्द्रलाई त्यसपछि भने धनकुटा नै फर्किए ।

सहकारी खोलेर किसानालई योगदान

कुरा हो २०५१ सालतिरको । उनले त्यसबेला सिधुँवा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको दर्ता गराए । २ सय ९७ जनाको शेयर भएको उक्त सहकारीमा सबैले तरकारी खेती अनिवार्य रुपमा गर्नुपर्छ भनि थालिएको थियो ।

अहिले ४ हजार किसान तरकारी खेतीमा संलग्न भएको उनले बताए । संस्थाले गाउँमा विभिन्न विउविजन ल्याउने र आवश्यक जानकारी दिने काम गराउन थाल्यो । जसबाट अझ युवाहरु आकर्षण बन्दै गए ।

संस्थाले किसानलाई सघाउने र आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउने काम गरेको उनको भनाइ छ ।

सस्थाकै प्रतिनिधित्व गर्दै उनले तरकारी बजार कहाँसम्म पुर्‍याउन सकिन्छ भन्दै भारतसम्म पुगेका थिए ।

इन्द्र त्यस संस्थामा अध्यक्षको पदमा बसे । नेपाल सरकार तथा विभिन्न संघसंस्थाले उनलाई पुरस्कृत समेत गरेका छन् ।

कृषिका क्षेत्रमा लामो समयसम्म काम गरेको र योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले नै राम्रो प्रतिक्रिया दिएको उनले सुनाए ।

२८ वर्षदेखि व्यवसायिक तरकारी खेती

वि.स. २०४८ सालदेखि इन्द्र व्यवसायिक रुपमा तरकारी खेतीमा लागि परेका छन् । २५ रोपनी क्षेत्रफलमा उनले उनन्त जातका आलु, काउली, बन्दा, स्कुस, करेला, गोलभेंडा, मुला, गाँजर लगायत विभिन्न प्रकारका तरकारी फलाइरहेका छन् ।

‘सिँधुवाको परम्परागत खेती नै हो आलु’ उनी भन्छन्, ‘आलुमा बजार भाउ पनि राम्रो छ उब्जानी पनि धेरै छ ।’

मौसमअनुसार फरक तरकारी लगाउँछन् उनी । घरमा काम गर्ने मान्छे नहुँदा तरकारीमा गोडमेल गर्नका लागि भने बाहिरी जनशक्ति प्रयोग गर्ने गरेको उनी बताउँछन् ।

‘ठूलो क्षेत्रमा तरकारी लगाएको छु’ खबरहबसँग उनले भने ‘एक्लै त भ्याइनभ्याइ हुन्छ नि ।’

वर्खाको समयमा भन्दा हिउँदको समयमा तरकारी फलाउन कठिन हुने गरेको उनको अनुभव छ । ‘वर्खामा रातदिन पानी पर्छ विरुवामा पानी हाल्ने मेहनत गर्नुपर्दैन’ उनी भन्छन्, ‘हिउँदमा गाउँघरमा पानी पाउन मुस्किल हुन्छ कसरी विरुवा बचाउने भन्ने समस्या हुन्छ ।’

गाँठेरोग ले हैरान !

लामो समयदेखि तरकारी खेती गर्दै आइरहेका इन्द्रको समस्या एउटै मात्र छ त्यो हो–‘गाँठेरोग’ ।

‘दुःख मेहनत गरेर मात्र नहुने बोटमै समस्या आएपछि के गर्नु ?’ उनले भने, ‘यसका लागि हामीले धेरै कोसिस गर्‍यौं तर सकेनौं सबैको बारीको तरकारीमा यही रोग लागेर हैरान भइसक्यौं हामी ।’

गाँठेरोग हटाउनका लागि व्यक्तिगत र सहकारीका तर्फबाट धेरै मेहनत गरेको सुनाँउदै उनी भन्छन्, ‘काउली र बन्दामा गाँठे रोग हराएन धेरै वर्ष भइसक्यो यसले त पुरै बारीको तरकारी सखाप बनाइदिन्छ ।’

त्यस्तै तरकारी फलाउका लागि कुखुराको सुली राम्रो हुने हुँदा उनले चितवन, नारायणघाटदेखि सुली लैजाने गरेको सुनाए ।

एउटा गह्राबाट ४ लाख आम्दानी

केही दिनअघि इन्द्रले ६ रोपनी क्षेत्रफलमा रोपेको बन्दा कोभीबाट ४ लाख आम्दानी गरेका छन् ।

‘यसपाली बन्दा कोभीले बजारमा राम्रो भाउ पायो’ आश्चर्य मान्दै उनले भने ‘बारीमै आएर हुन्डी गरेर व्यापारीले ४ लाख दिएर लग्यो एउटै गह्राको बन्दाकोभी ।’

‘दश प्याकेट अर्थात् एकसय ग्राम बिउ रोपेको थिएँ’ खबरहबसँग कुरा गर्दै उनले भने ‘सरदर हेर्दा ४५ रुपैयाँ केजी मा बेचियो ।’

इन्द्रलाई आज पनि ताजै छ ती दिनहरु जतिबेला बन्दाकोभीले बजार भाउ नपाउँदा बारीमा कुहिन्थ्यो ।

‘कहिले बारीमै तरकारी कुहिए कहिले १ रुपैयाँ प्रतिकेजीमा पनि विक्रि गरेँ’ प्रफुल्ल हुँदै उनले भने ‘अहिले त्यही बन्दा कोभीको मुल्य ४५ रुपैयाँ प्रतिकेजीमा बेच्न पाएँ ।’

उनकाअनुसार सात पुस्ता देखि तरकारी खेतीले जीवन निर्वाह गर्दै आइरहेका छन् । ‘हाम्रा पुर्खाहरुले पनि यही खेतवारीलाई माया गरे, ताजा तरकारी उब्जाए सबैलाई स्वच्छ तरकारी खुवाएँ’ उनले भने ‘मैलेसम्म गरेर ७ पुस्ता पुगिसक्यो तरकारी खेतीमा रमाएको ।’

बजार राम्रो छ : विदेशमा समेत निर्यात हुन्छ

विगतमा जस्तो तरकारीले बजार नपाएर बारीमै कुहिने समस्याको समाधान भएको छ । ‘हामीले त्यसकालागि धेरै संघर्ष गरेका छौं’ इन्द्रले विगतलाई कोट्याउँदै भने ‘तरकारी फलायो बारीमा कुहायो अति नरमाइलो लाग्थ्यो त्यसलाई हल गर्न हामीले नजिकै रहेको भारतसम्म गएर मार्केट बनाएका थियौं ।’

अहिले धनुकटाको सिधुँवामा फलेका तरकारी आसपासका जिल्लामा मात्र होइन विदेशमा समेत निर्यात भइरहेको उनको भनाइ छ । ‘विराटनगर, इटहरी, धरान, उर्लाबारी, दमक, बेलवारी हुँदै काठमाडौं लगायत धेरै ठाउँमा सिधुँवामा फलाएका तरकारी पुग्छन्’ उनले भने ‘साथै बंगलादेश, कलकत्ता, सिकिमसम्म पुग्छ ।’

अहिले साना ठूला गाडीहरु गाउँगाउँमा पुग्ने र उब्जिएका तरकारी ओसार्ने काम समेत गर्ने गरेको उनले सुनाए ।

उनकाअनुसार पूर्वमा तरकारी खेतीमात्र होइन बजार पनि राम्रो छ ।

२० वर्षको उमेरदेखि किसानका रुपमा खेतवारीमा रमाएका इन्द्र आफुलाई निकै भाग्यमानी ठान्छन् । ‘घरमा ताजा तरकारी फलाएर विदेशमा समेत निर्यात गर्न सक्नु भनेको ठूलो कुरा हो’ उनी भन्छन्, ‘म मेरो पेशाप्रति गर्व गर्छु र बाचुन्जेल तरकारी फलाउँछु ।’

सरकारलाई अनुरोध

तरकारी खेतीमा लामो समयदेखि निरन्तर लागि परेका इन्द्रले सरकारलाई अनुरोध समेत गरेका छन् । उनले नेपालमा अहिले लगाइरहेका विभिन्न तरकारीको विरुवामा गाँठे रोग लागेको र शत प्रतिशत विरुवा मरिरहेकाले यसकालागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।

एक प्रसंग सुनाउदै इन्द्रले भने ‘३ वर्षअघि क्यालिफोर्निया विश्व विद्यालयका प्रमुख सिधुँवा आएका थिए । एक साता सम्म विभिन्न तालिम सिकाए उनले र हाम्रा विरुवाको गाँठे रोग देखेपछि उनले अमेरिकामा गाँठे रोग रहित बीउ पाइने कुरा पनि राखे ।’

‘अमेरिकामा पाइने चार जातका काउली र बन्दाकोभीका वीउ पाइने रहेछ त्यो बीउ हामीले परीक्षण समेत गर्‍यौं राम्रो उब्जनी भएको थियो’ आग्रह गर्दै उनले भने ‘त्यो बीउ निर्यातका लागि सरकारले ढोका खोदिदिए हामीले राम्रो उत्पादन गर्न सक्थ्यौं ।’

‘मेहनत गरेको विरुवा हुर्किदै जान्छ जब गोड्ने बेला हुन्छ गाँठे रोग लाग्ने र जरा मर्दै जाने गर्छ’ उनले भने ‘यसका लागि नयाँ बिउ ल्याउन सकेमा राम्रो हुनु थियो । किसानका तर्फबाट भन्दा पनि सरकारी पहलबाट यो काम अघि बढेमा हामी जस्ता थुप्रै किसानले राहत पाउने थिए ।’


भर्खर

0