सिस्टम परिवर्तन गरेरै भएपनि त्रिविको सुधार गर्नेछु : उपकुलपति डा.बास्कोटा (अन्तर्वार्ता)

रिता लम्साल

बुधबार, कार्तिक २०, २०७६

Reading Time: 9 minutes

सिस्टम परिवर्तन गरेरै भएपनि त्रिविको सुधार गर्नेछु : उपकुलपति डा.बास्कोटा (अन्तर्वार्ता)

काठमाडौं– डाक्टर धर्मकान्त बास्कोटा त्रिभुवन विश्व विद्यालयमा उपकुलपतिको पदमा नियुक्त भएका छन् ।

भदौं ५ गतेदेखि उपकुलपति तीर्थराज खनियाँको पदावधि सकिएको दुई महिनापछि सरकारले डा.बास्कोटालाई उपकुलपतिमा नियुक्त गरेको हो ।

आइतबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि डा.बास्कोटाले सोमबारदेखि कार्यभार सम्हालेका हुन् ।

डा.बास्कोटा यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्ष थिए । काउन्सिलमा उनको कार्यकाल केही महिना अघि मात्रै सकिएको थियो । डा.बास्कोटा चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमका प्राध्यापक तथा त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ पनि हुन् ।

त्रिविमा पाठ्यक्रम, परीक्षा प्रणाली, नजिता प्रकाशनमा भएको अनियमितता देखि दीक्षित व्यक्तिको प्रमाणपत्रलगायत क्षेत्रमा धेरै समस्या छ ।

समस्याग्रस्त त्रिविमा उपकुपति नियुक्त भएका डा.बास्कोटासँग धेरैले त्रिविको गुमेको साख फर्किने आँशा पनि राखेका छन्। राजनीतिक नियुक्ति भएकाले काम गर्न नसक्ने भन्दै आलोचना गर्नेको संख्या पनि धेरै छ ।

यी नै समस्या र चुनौतीलाई आत्मसाथ गर्दै सोमबारमात्रै आफ्नो जिम्मेवारी सम्हालेका डा.बास्कोटालसँग त्रिवि सुधारका योजनाका विषयमा हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

त्रिविको उपकुलपति पदमा कार्यभार सम्हालेपछि बधाईसँगै आलोचना पनि शुरु भयो । राजनीतिक नियुक्तिले तपाईंंलाई काम गर्न गाह्रो छ भन्ने धेरै छन् । यो जिम्मेवारीलाई कसरी लिनुभएको छ ?

मेरो नियुक्तिलाई राजनीतिक नियुक्ति भन्नेहरु गलत छन् । मेरो ४० वर्षको मेडिकल करिअरमा ३ वटा निकायमा त म्यानेजियरल पोष्टमै बसेर काम गरिसकेको छु । म कुन राजनीतिक पार्टीको पक्षमा लागेर मलाई नियुक्ति गरिएको हो भनेर एउटा मात्रै उदाहरण निकाल्दियो भनेदेखि, म मेरो यो पेशाबाटै तिलाञ्जली दिन्छु । मेरो काममा राजनीतिक गन्द, राजनीतिक निर्णय देखियो भने, म मेरो पेशा नै त्याग्ने छु ।

त्रिविको उपकुलपतिमा नियुक्त हुने अवसर कसरी आयो ?

मलाई डेढ महिना अगाडी शिक्षा मन्त्रालयबाट अकास्मात मेरो बायोडाटा पठाउनु भने । मैले पठाईदिए । पछि सिफारिस भयो ।

आफु त्रिविको उपकुलपतिमा नियुक्त भएको कतिबेला थाहा पाउनु भयो ?

मलाई धेरैले फोन गरेर नियुक्तिको विषयमा सोधेका थिए । तर मलाई आधिकारीक जानकारी नै आएको थिएन । आइतबार राति करिव साढे ९ बजेतिर प्राधानमन्त्री कार्यलयका एकजना सचिवले फोन गरेर नियुक्तिको चिठ्ठी तयार भएको छ । सोमबार ११ बजेतिर लिन आउनु भनेपछि आफु त्रिविमा नियुक्त भएको विश्वास लाग्यो ।

तपाईंंको कार्यकक्षमा विद्यार्थीहरुले ताला नै लगाएका थिए । कसरी प्रवेश गर्नुभयो ?

ताला लगाउने विद्यार्थीसँग प्रत्यक्ष कुराकानी भएको छैन । म पुग्नु अगाडी नै ताला खुलाइएको थियो । अब विद्यार्थीको मागका विषयमा कुरा गर्छु । समस्या समाधान गर्ने प्रयास थाल्नेछु ।

समाधान गर्न सकिने विषय छन् भने समस्या समाधान गर्छु । अब फेल भएको विद्यार्थी नै पास गराइदे भनेर ताला लगाएको हो भने त कसरी समाधान गर्न सकिन्छ र ? वार्ता गरेर अगाडी बढ्छु ।

तर विश्व विद्यालयमा ताला लाग्नु भनेको विश्व विद्यालयको साखलाई गुमाउने कुकर्म हो । विश्वविद्यालय ताला लगाउने ठाउँ होइन, पढ्ने ठाउँ हो । ज्ञानको भण्डारमा ताला लगाएर कसैको भलाइ हुँदैन ।

तपाईं मेडिकल क्षेत्रमा कार्यरत चिकित्सक र मेडिकल शिक्षाको प्राध्यापक । विश्व विद्यालयमा धेरै संकायहरु छन् । जहाँ समस्या धेरै छन् । कसरी समाधान गर्नुहुन्छ ?

म एउटा प्रोफेसनल मान्छे हु । मेरो अनुभव मेडिकल तिर मात्र होइन । मेरो मातहतमा ६ जना विद्यार्थीहरुले ट्रेनिङ लिइरहेका छन् । मैले कलेज अफ फिजिसियन इन सर्जन अ पाकिस्तानको रिजनेरल डाइरेक्टर भएर नेपालमा १३ वर्ष काम गरे । जसले पाकिस्तानको ८५ प्रतिशत भन्दा बढी विशेषज्ञहरु उत्पादन गर्छ । त्यहा मैले म्यानेजियरल काम गरे । मैले नेपाल मेडिकल काउन्सिलमा गएपछि त्यसबाट राजिनामा दिए ।

यस्तै २०७१ सालमा नेपाल हेल्थ रिर्सच काउन्सिलको अध्यक्ष भएपछि मैले चार पाँच वटा काम गरे । पहिलो पटक नेपालका हेल्थ र पपुलेशनमा काम गर्नेहरुलाई एकीकृत गरे । मैले २०७१ साल चैतमा सम्मेलन शुरु गर्दा पहिलो वर्ष नै ६ सय भन्दा बढी सहभागिता र ५० भन्दा बढी संस्थाहरु सहभागी थिए ।

मैले त्यतिबेला रिसर्चमा बढी आकर्षित हुन् भनेर तीन थरिको जुनियर साइन्टिस अवार्ड, मीट केयर साइन्टिस अवार्ड र सिनियर साइन्टिस अवार्ड आयोजना गरे ।

त्यतिबेला धेरै रिर्सच डुब्लिकेशन हुन्थ्यो । मैले नै सबै रिसर्च एनएचआसीबाट हुनुपर्छ भनेर शुरुवात गरेको थिए ।

यस्तै नेपालीहरुको कुनैपनि स्याम्पल नेपालमै टेस्ट गर्ने भनेर रिफ्रेज ल्याब स्थापना गर्ने भनेर काम गरेका थियौं तर भूकम्पले त्यो सफल भएन ।

यस्तै मैले विश्व विद्यालयमा रिर्सभ ल्याव खोलौ भनेर तत्कालिन उपकुलपतिले ल्यावको उद्घाटन पनि गर्नुभएको थियो । हाम्रो देशमा गर्न सकिने कामलाई यही गरौं भनेर मैले पहल गरेको थिए ।

त्रिविमा तपाईंंले देखेका समस्या के हुन् ? हल कसरी गर्नुहुन्छ ?

देशै समस्या ग्रस्त छ भने एउटा युनिभर्सीटी समस्याग्रस्त छैन भन्ने प्रश्नै आउँदैन । त्यहा चार थरिका व्यक्ति हुन्छन् । प्राध्यापक, विद्यार्थी, कर्मचारी र म्यानेजियरल रोलमा बसेका व्यक्ति हुन्छन् ।

सबैको इन्ट्रेस्ट हेरेर काम गर्न थाल्यो भनेदेखि समस्या आउन सक्ला । तर, हाम्रो इन्ट्रेस्ट एउटै हुनुपर्छ, विश्व विद्यालयलाई साँच्चैको विश्वको विद्यालय बनाउने ।

जहाँ विश्वका हरेक कुनाका विद्यार्थीहरु पढ्नलाई आकर्षित हुन् । र त्यो विश्व विद्यालयबाट निश्किेका विद्यार्थीहरु बजारमा डिमान्ड अनुसार स्वारोजगार जनशक्ति निकाल्ने मेरो उदेश्य हो ।

विश्व विद्यालयमा समस्या नभएको होइन, परीक्षा प्रणाली, पाठ्याक्रम, प्राध्यपक कँही बढी कँही कम लगायतका समस्या छन् । त्यो सबैकुरा जब हामीले मनिटरिङ गर्न सक्छौं । जब त्यो नियन्त्रण गर्ने मापदण्ड हुन्छ ।

हिजो काउन्सिलमा हुँदा पनि हामीले काम गरेका थियौं ८९ वर्षका व्यक्तिले पनि ह्वील चियरमा बसेर पढाउथें । आजको दिनमा त्यो छैन । सिस्टमले त्यसलाई कन्ट्रोल गर्‍यो । भोलीको दिनमा त्रिविमा पनि त्यस्तै हुन्छ ।

त्रिभुवन विश्वविद्यालयमा चाँहि कस्तो सिस्टमको आवश्यकता छ ?

एउटा प्राध्यापकको काम, कतव्य र अधिकार के हो ? त्यो स्पष्ट राख्ने, एउटा प्राध्यापकले विश्व विद्यालयलाई कति समय दिने ? प्राध्यापकको काम पढाउने र रिसर्च गर्ने, विद्यार्थीको काम पढ्ने र कर्मचारीको काम त्यो वातावरण तयार पार्ने हुन्छ भने नेतृत्वको काम भनेको रिसोर्सहरु जुटाउने र गाइडलाइनहरु तयार पार्ने हो ।

मैले थुप्रै कुराहरु देखेको छु । कतिपय नियम नियमावलीहरु संसोधन गर्नुपर्ने देखेको छु । कतिपय कुराहरु कानूनी र नीतिगत रुपमा कमी कमजोरी छ । एउटा प्राध्यापकले कहाँ बसेर, कति घण्टा काम गर्ने ? भनेर निर्देशिका छैन । एउटा डिपार्टमेन्टले के–केकुरा हेर्ने ? भनेर निर्देशिका छैन ।

एउटा प्राध्यपकलाई प्राध्यपकको हैसियतले तलब खाइरहेको छ भने उसले विश्व विद्यालयलाई कति घण्टा समय दिन्छ ? अब त्यसको स्पष्ट निर्देशिका बन्छ ।

गुणस्तरिय शुसासनको आवश्यकता छ । राम्रो काम गर्नेलाई पुरस्कार गर्ने र नराम्रो काम गर्नेलाई तिरस्कार गर्ने, सजाय र वर्खास्त पनि गर्नुपर्छ । त्यसका लागि कानून चाहिन्छ ।

हामीसँग भएको शैक्षिक कार्यक्रमहरु पुराना भएका छन् । त्यसलाई समय सापेक्ष बनाउनुपर्ने हुन्छ । पाठ्यक्रमलाई पुनःमुल्यांकन गर्ने र शैक्षिक क्यालेन्डर लागु हुने व्यवस्था गर्नुपर्ने छ ।

त्रिविभित्र थेसिस कपी हुने, प्रश्न पत्र आउट हुने, नतिजा प्रकाशन हुँदा रकमको चलखेल हुनेलगायत प्रथम भनेर दिक्षान्त भएको व्यक्ति नै फेल भएको तथ्यहरु बाहिर आएको छ । अब यस्ता गतिविधि रोकिन्छ ?

अब सिस्टमले अटोमेटिकल कन्ट्रोल गर्छ । मैले काउन्सिलमा हुँदा आइटिको प्रयोग गरेर काउन्सिलको परीक्षामा नक्कली विद्यार्थी फेला परेको थिए । यी कुराहरुलाई नियन्त्रण गर्न आनुधिक प्रविधिहरु र विज्ञहरुको प्रयोग गर्नुपर्छ । यस्ता गतिविदी गर्नेलाई कठोर सजायको व्यवस्था गर्नुपर्छ ।

मैले नितिगत सुधार भनेको यस्तै गतिविदी रोक्न हो । मसँग तितो अनुभव छ । फेक विद्यार्थी भेटिदाँ प्रहरीले पक्राउ गर्‍यो तर अदालतले कारबाही गर्ने नियम नै छैन भन्यो ।

त्यसैले मैले काउन्सिलमा पनि नीति नियमहरु नै बनाउन लागेको थिए । यहाँ पनि सबैभन्दा पहिला नीति नियम नै बनाउन जरुरी छ । अब मेरो फोकस यसमै हुन्छ ।

तपाईं काउन्सिलमा रहँदा नक्कली डाक्टरलाई कारबाही गरेर चर्चामा आउनुभयो, त्रिविमा के गर्नुहुन्छ ?

म पहिला हेर्छु । मैले पनि तपाईंको सञ्चार माध्यमहरुबाट नै थाहा पाएको हो । गोल्ड मेडल पाएको व्यक्ति नै फेल भएको भनेर । यसलाई अपराधको रुपमा लिनुपर्छ । यस्तो गर्ने र गराउने दुवैलाई सजाय हुनुपर्छ । यसमा कुनै पक्षको, कुनै राजनीतिक संरक्षण पाएको, विशेष दल वा विशेष पहुँचको नजिक भएको भनेर त्यसले उन्मुक्ति पाउँदैन ।

त्यस्ता व्यक्तिहरु कानूनी दायरामा आउँछन् । मैले नै काउन्सिलमा हुँदा नक्कली डाक्टरलाई कारबाही गरेको छु । म स्पष्ट भन्छु, त्रिविमा पनि नक्कली प्राध्यापकहरु छन् भने उनीहरुले अब आफ्नो बाटो खोजेहुन्छ ।

तपाईंको प्रवेशले त्रिविमा अब कस्ता परिवर्तनहरु देख्न पाइन्छ ? केके गर्नुहुन्छ ?

पहिला त म त्यहाको अवस्थाको विषयमा व्रिफिङ लिन्छु । त्रिविमा सुधार गर्नुपर्ने विभिन्न पक्षहरु छन् । उच्च शिक्षाको विस्तार गर्न जरुरी छ । विस्तारमा एउटै ठाउँमा दिने होइन । हामीले भौगोलिक क्षेत्र र जनसंख्याको आधारमा उच्च शिक्षाका अवसर प्रदान गर्ने हो । अनुसन्धान एकदमै पछाडी छ, हाम्रो विश्व विद्यालय ।

हाम्रा कतिपय प्राध्यापकहरु अनुसन्धान गर्न पनि लालायित हुनुहुन्छ । विदेशी विश्व विद्यालयहरुको सहकार्यमा हामीले अनुसन्धान गर्न सक्छौं । वनस्पतिकै विषयमा पनि धेरै सम्भावना छ ।

हाम्रो देश अनुसन्धानको लागि एकदमै सम्भावना युक्त क्षेत्र हो र अनुसन्धान गर्ने प्राध्यापकहरु पनि छन् । अब हामीले अनुसन्धानको वातावरण तयार पार्ने हो ।

त्यो वातावरण तयार पाछौं । विद्यार्थीहरुलाई टेक्निकल एजुकेशनमा फोकस गर्ने । हाम्रो डिग्रीलाई क्षेत्रिय स्तरमा अन्तराष्ट्रिय स्तरमा पुर्‍याउने योजना छ । त्यो भयो भने हाम्रो उत्पादनहरु सार्क लेबलमा पुर्‍याउन पनि मद्दत गर्छ ।

अन्त्यमा ,केही …

एक्लै कसैले काम गर्न सक्दैन । मेरो काम गर्ने शैली भनेको एउटा पारदर्शीता हो । अर्को निष्पक्षता, सामुहिकता र एकाउन्टिविलीटी हो । जसले जे काम गर्छ त्यसको जिम्मेवारी पूर्ण रुपमा लिनुपर्छ । म यी कुरामा फोकस गर्न र अरुलाई पनि त्यसै गरी काम गर्न अभिपेरित गर्छु ।

भर्खर

0