महाष्टमीमा महाकालीका लागि किन दिइन्छ पशु बलि ?

खबरहब

आइतवार, असोज १९, २०७६

Reading Time: 3 minutes

महाष्टमीमा महाकालीका लागि किन दिइन्छ पशु बलि ?

काठमाडौं- आज आश्विन शुक्ल अष्टमी । मुलुकभर माता दुर्गा भवानीका नौ स्वरुपमध्ये महाकालीको पूजा आरधना गरी मनाइन्छ ।

महाअष्टमीका दिन दशैं घर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महा–सरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्ने प्रचलन छ ।

कलपूर्जा, हातहतियार र सवारी साधनको समेत बलिसहित पूजा गरिन्छ । पशुबलि नचढाउनेहरू पनि जमराकोठामा घिरौंला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।

आज देशभरका विभिन्न शक्तिपीठहरुमा बली चढाउने र पूजाअराधना गर्नेहरुको घुइँचो लाग्छ । दशैंघर र कोत लगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजा अर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा पनि छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

“सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन, र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”, उनले भने ।

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको पनि उनले बताए । दुर्गा सप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतमले बताए ।

“राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ”, उनले भने । यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबलि दिइने गरिएको हो ।

आजैका दिन राति कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराही लगायतका मन्दिरमा बलि चढाउने र पूजा आराधना गर्नेहरूको घुइँचो लाग्ने गर्दछ ।

यसैगरी, राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डँडेल्धुराको उग्रतारालगायतका मन्दिरहरूमा शक्तिरूपा भगवतीको पूजाअर्चनाका लागि भक्तजनरुको घुईंचो लाग्ने गरेको छ ।

भर्खर

0