कसरी बनाए स्टिभ जब्सले एप्पललाई विश्वकै लोकप्रिय कम्पनी ? | Khabarhub Khabarhub

कसरी बनाए स्टिभ जब्सले एप्पललाई विश्वकै लोकप्रिय कम्पनी ?



एप्पल कम्पनी विश्वको सबैभन्दा लोकप्रिय बहुराष्ट्रिय प्राविधिक कम्पनीको सूचीमा आउँछ । एप्पल अमेजन, गुगल र फेसबुकसँगै बिग फोर कम्पनी पनि हो । बजारमूल्य, आय र सम्पत्तिका आधारमा एप्पल विश्वकै अग्रणीमध्येको एक कम्पनी हो ।

एप्पल भन्नेबित्तिकै कम्पनीको संस्थापक स्टिभ जब्सको नाम पनि सँगै जोडिएर आउँछ । एप्पलका लागि स्टिभ जब्स र स्टिभ जब्सका लागि एप्पल कम्पनी पर्यायकै रुपमा परिचित छन् ।

स्टिभ जब्स सिरियाली मूलका बाबु र स्विस–जर्मन मूलकी आमाका सन्तान थिए । जब्सका बाबु अब्दुलफतेह जन्दली र स्विस–जर्मन मूलकी जोआन क्यारोली सेइबल अमेरिकाको विस्कन्सिनमा अध्ययनरत रहँदा प्रेम सम्बन्धमा थिए ।

सोही बेला सन् १९५४ मा सेइबल गर्भवती भइन् । सेइबलका परिवारले मध्यपूर्वका मुसलमानसँग आफ्नी क्याथोलिक चेलीलाई विवाह गराउन अस्वीकार गरेपछि विवाहअघि नै जब्सको जन्म भयो । त्यसको केही समयपछि सेइबलले आफ्नो छोरा स्टिभलाई क्यालिफोर्नियाका पउल रेइनहोल्ड जब्स र क्लारा जब्सको परिवारलाई जिम्मा लगाइन् ।

स्टिभ जब्सको नयाँ परिवार सामान्य मध्यमवर्गीय थियो । उनका पिता मेकानिक भएकै कारण उनमा सानै उमेरदेखि उपकरण र प्रविधिप्रति रुची थियो ।

केही पैसा जम्मा गरी जब्स पूर्वीय आध्यात्मिक दर्शनबारे थप जानकारी लिन भारत भ्रमणमा निस्के ।

सानै उमेरमा उनले विद्यालय प्रोजेक्टका लागि त्यसबेलाको प्रतिष्ठित हेव्लेट पकार्ड कम्पनीको उपाध्यक्ष तथा सहसंस्थापक विलियम हेव्लेटलाई प्राविधिक उपकरण मिलाइदिनका लागि सम्पर्क गरेका थिए ।

जब्सबाट प्रभावित भएका पकार्डले उनलाई प्राविधिक उपकरणको व्यवस्था गरी हेव्लेट पकार्डमा इन्टर्नसिपको पनि व्यवस्था मिलाइदिएका थिए । यही बेला जब्सको भेट स्टिभ वोज्नियाकसँग भयो । पछि उनीहरु दुबै मिलेर एप्पल कम्प्युटर कम्पनीको स्थापना गरेका थिए ।

विद्यायल सकेर उनी ओरेगन राज्यको रिड कलेजमा भर्ना भए । तर, एक सेमेष्टरपछि नै उनले त्यस कलेज छाड्न पुगे । त्यसबेला उनी पूर्वीय आध्यात्मिक दर्शनतर्फ आकर्षित भएका थिए । यसपछि उनले केही पैसा जम्मा गरी पूर्वीय आध्यात्मिक दर्शनबारे थप जानकारी लिन भारत भ्रमणमा निस्के ।

अमेरिका फर्केपछि सन् १९७५ मा उनले वोज्नियाकसँगको सहकार्यलाई निरन्तरता दिए । त्यसबेला वोज्नियाक नयाँ किसिमको सानो कम्प्युटरको विकासको प्रयास गरिरहेका थिए ।

वोज्नियाकका लागि कम्प्युटर बनाउनु सोखमात्र थियो । सही सोखलाई उनले हेव्लेट पकार्डसमक्ष प्रस्तुत गरेपनि उक्त कम्पनीले उनको डिजाइनलाई अस्वीकृत गरेपछि उनले जब्ससँग सहकार्य गर्न अघि सरे । जब्सले नयाँ र सानो कम्प्युटरको बजार देखेर त्यसलाई व्यावसायिक बनाउनतर्फ लागिपरे ।

यसका लागि पुँजी जम्मा गर्न जब्सले आफ्नो फोकस्वागन गाडी बेचे भने वोज्नियाकले आफूसँग भएको हेव्लेट पकार्डको प्रोग्रामिङ क्याल्कुलेटर बेचे । दुबै मिलेर जब्सको पिताको ग्यारेजमा कारखाना स्थापना गरे । नयाँ उत्पादनलाई एप्पल वान नाम दिइयो ।

एप्पल वान कम्प्युटर खासगरी कम्प्युटरका शौकिनहरुले खरिद गरेपनि यसबाट भएको आयबाट आफ्नो कम्पनीलाई विस्तार गर्न दुबै सफल भए । सन् १९७७ मा एप्पललाई कम्पनीको रुपमा दर्ता गरियो । सोही वर्ष एप्पलको एप्पल टू नामक अर्को कम्प्युटर सार्वजनिक गरियो ।

प्रयोगकर्ताको रुचीलाई ध्यान दिँदै निर्माण गरिएको यो कम्प्युटरमा रंगीन ग्राफिक्स र किबोर्ड समेत राखिएको थियो । एप्पल टू छोटो समयमा नै बजारमा निकै लोकप्रिय बन्न पुग्यो । उत्पादनको पहिलो वर्ष नै एप्पल टूको विक्री ३० लाख अमेरिकी डलरसम्म पुग्यो भने दुई वर्ष भित्र यसको विक्रीले ३ करोड डलर नाघ्यो ।

एप्पलले एकपछि अर्को असफलता हात पारेपछि जब्सले सन् १९८५ मा एप्पलबाट अलग भए । उनले आफ्नो शेयर विक्री गरी राजीनामा समेत दिए

सन् १९७९ मा उनी एप्पलको लिसा नामक कम्प्युटरको इन्जिनियरिङमा लागिपरेका थिए । लिसा कम्प्युटर डिजाइनबाट असन्तुष्ट उनले लिसा निर्माण गर्ने समूह छाडेर एप्पलकै म्याकिन्टोस कम्प्युटर बनाउने समूहमा लागे । हाल म्याक भनिने उक्त म्याकिन्टोस कम्प्युटर पछि सन् १९८४ मा मात्र सार्वजनिक भएको थियो ।

एकपछि अर्को सफलता पाउने क्रममा सन् १९८३ मा एप्पल ‘फच्र्यून ५००’ सूचीमा समेत सूचीकृत हुन सफल भयो । योसँगै एप्पल सबैभन्दा तीब्र गतिमा फच्र्यून ५०० सूचीमा अटाउने कम्पनी बन्न पुग्यो ।

त्यसको केही वर्षपछि एप्पलले एप्पल थ्री नामक अर्को कम्प्युटर सार्वजनिक गर्यो । एप्पलको उत्पादन निकै महङ्गो भएको र कम्प्युटरको बजारमा तीब्र प्रतिस्पर्धाका कारण एप्पल थ्री र लिसा कम्प्युटरले अपेक्षाकृत बजार भने लिन सकेनन् । सोही कारण कम्पनीको आय सन् १९८० को दशकमा ओरालो लाग्न थाल्यो । पछि सन् १९८४ मा जब्सले नै डिजाइन गरेको म्याकिन्टोस नामक अर्को कम्प्युटर सार्वजनिक गरियो ।

विशाल समारोहकै आयोजना गरेर स्टिभ जब्स आफैंले यसलाई सार्वजनिक गरेका थिए । ग्राफिकल युजर इन्टरफेसलाई माउसबाट नियन्त्रण गर्न सकिने भएकाले यो कम्प्युटरले ठूलो बजार लिने अपेक्षा गरिएको थियो । तर, निकै महङ्गो रहेको र प्रयोगकर्ता मैत्री नभएको एवं हालै अन्य कम्पनीले त्यो भन्दा गुणस्तरीय कम्प्युटर बजारमा ल्याएकाले म्याकिन्टोसले पनि बजार पाउन सकेन ।

एप्पलले एकपछि अर्को असफलता हात पारेपछि जब्सले सन् १९८५ मा एप्पलबाट अलग भए । उनले आफ्नो शेयर विक्री गरी राजीनामा समेत दिए ।

त्यसपछि उनले नेक्स्ट नामक प्राविधिक कम्पनी स्थापना गरे । नेक्स्टले सन् १९८८ मा पहिलो कम्प्युटर सार्वजनिक गर्यो । प्राविधिक रुपमा परिष्कृत तथा अत्याधुनिक रहेकापनि निकै महङ्गो, ९९५० डलर मूल्य राखिएकाले यसले पनि अपेक्षाकृत बजार लिन सकेन । त्यसपछि यो कम्पनीले हार्डवेयर भन्दा पनि सफ्टवेयरतर्फ आफ्नो ध्यान केन्द्रित गर्यो । तैपनि यो कम्पनी सफल हुन भने सकेन ।

अर्कोतर्फ एप्पल कम्पनीमा जब्सको अभाव खड्किन थालिसकेको थियो । १९९० को मध्यसम्म एप्पलले नयाँ किसिमको म्याकिन्टोसको नयाँ अपरेटिङ सिस्टम विकास गर्न सकिरहेको थिएन भने एप्पलको बजार शेयर पनि घटेर केबल ५ प्रतिशतको आसपास पुगेको थियो । एप्पल कम्पनीले अपेक्षाकृत नाफा पनि कमाउन सकिरहेको थिएन । यहीक्रममा सन् १९९६ को डिसेम्बरमा एप्पलले जब्सको नेक्स कम्पनीलाई ४० करोड डलरमा खरिद गरी जब्सलाई आफ्नो कम्पनीमा भित्र्यायो ।

सन् १९९७ मा कम्पनीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत गिल अमेलियोले राजीनामा दिएपछि जब्स कम्पनीका नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त भए । त्यसपछि एप्पल कम्पनीको उन्नती शुरु भयो ।

जब्सकै नेतृत्वमा एप्पलले सन् २००७ मा आइफोन सार्वजनिक गर्यो । स्क्रिनटच, वाईफाइ चल्ने सुविधा, भिडियो, सङ्गीत र अन्य एप्लिकेशन चल्ने भएकाले छोटो समयमानै आइफोनले ठूलो बजार लियो

जब्सको नेतृत्वमा एप्पलले सन् १९९८ मा आइम्याक नामक नयाँ कम्प्युटर सार्वजनिक गर्यो । कम मूल्य, प्रयोगकर्ताका लागि सहज र त्यसबेला चलिरहेको माइक्रोसफ्टको विण्डोजको अपरेटिङ सिस्टम नभई आफ्नै म्याक अपरेटिङ सिस्टममा आधारि रहेकाले छोटो समयमा नै आईम्याक अमेरिकाको सबैभन्दा धेरै विक्री हुने कम्प्युटर बन्न सफल भयो । त्यसपछि एप्पलले पछि फर्केर हेर्नुपरेन ।

सन् २००१ मा एप्पललाई २१ औं शताब्दीअनुसार समय सापेक्ष बनाउने अवधारण अनुसार एप्पलले आईट्युन्स नामक सफ्टवेयर सार्वजनिक गर्यो । सहज रुपमा कम्प्याक्ट एमपी३ बाट म्युजिक फाइललाई डिजिटल बनाएर सङ्गीतलाई सुन्न सकिने भएकाले यो छोटो समयमा नै लोकप्रिय बन्न सफल भयो । सोही वर्ष एप्पलले सङ्गीत सुन्न सकिने पोर्टेबल उपकरण आइपोड सार्वजनिक गर्यो । आइपोड पनि छोटो समयमा नै लोकप्रिय भयो ।

सन् २००३ देखि एप्पलले विश्व सङगीत बजारका चलेका गीतहरु डाउनलोड गरी सुन्न सकिने डाउनलोडेबल कपीहरु विक्री गर्न थाल्यो । सन् २००६ सम्म एप्पलको आइट्युन्स स्टोरबाट १ अर्ब भन्दा धेरै संगीत र भिडियो विक्री भइसकेको थियो ।

जब्सकै नेतृत्वमा एप्पलले सन् २००७ मा आइफोन सार्वजनिक गर्यो । स्क्रिनटच, वाईफाइ चल्ने सुविधा, भिडियो, सङ्गीत र अन्य एप्लिकेशन चल्ने भएकाले छोटो समयमानै आइफोनले ठूलो बजार लियो । त्यसपछिका वर्षमा एप्पलले आइफोनलाई परिष्कृत गर्दै विभिन्न संस्करण सार्वजनिक गर्दै लगेको छ ।

यसबीचमा एप्पलले विभिन्न प्राविधिक उपकरणका साथै सफ्टवेयर र अन्य प्राविधिक क्षेत्रमा समेत नयाँ नयाँ आयामहरु थप्दै लगेको छ । हाल एप्पल विश्वमाझ सबैभन्दा प्रभावशाली कम्पनीको रुपमा परिचित भइसकेको छ भने नयाँ नयाँ आयाम र प्रविधिका क्षेत्रलाई थप परिकृत गर्दै लगेको छ । योसँगै एप्पलले विश्वमा लाखौं मानिसहरुलाई रोजगारी समेत प्रदान गर्दै आएको छ ।

सन् २००३ देखि नै जब्सको पेटको क्यान्सर देखिएको थियो । सन् २००४ मा उनले पेटको शल्यक्रिया गरेका थिए । सन् २००८ सम्म उनको शरिरको तौल पनि घट्दै गएको थियो । सन् २००९ मा उनले आफ्नो स्वास्थ्यमा समस्या रहेको स्वीकार्दै विज्ञप्ति जारी गरेका थिए ।

स्वास्थ्यकै समस्याका कारण उनले सन् २०११ को अगष्ट महिनामा मा एप्पल कम्पनीको प्रमुख कार्यकारीको पदबाट राजीनामा दिए । तैपनि उनले कम्पनीको अध्यक्षको जिम्मा भने निर्वाह गरिनै रहेका थिए । सन् २०११ को अक्टोबर महिनामा उनको निधन भयो ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ५ : १० बजे

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज