काठमाडौंमा प्रहरीका ४४० सीसी क्यामेरा, देखावटी कि उपयोगी ? | Khabarhub Khabarhub

काठमाडौंमा प्रहरीका ४४० सीसी क्यामेरा, देखावटी कि उपयोगी ?



काठमाडौं- १३ चैत ०७५, ट्राफिक प्रहरीले राखेको सीसी टिभी क्यामेराले खिचेका फुटेजको आधारमा बा १ ज ३५५१ नम्बरको ट्याक्सीका चालक पक्राउ परे । उनले आफ्नो ट्याक्सीमा चढेका बिरामी यात्रु अचेत भएपछि बाटोमै छाडेर हिडेका थिए ।

बिरामीलाई अस्पतालमा पुर्‍याउनुको साटो बाटोमै छाडेर भागेका ट्याक्सी चालक कमलबहादुर श्रेष्ठलाई केही दिनपछि महानगरीय प्रहरी वृत्त गौशलाले पक्राउ गर्‍यो । पक्राउ गर्नका लागि सहयोगी बनेको थियो– ‘सीसी टिभी क्यामेरा’ ।

लैनचौरका आकाश पुडासैनीलाई बैशाख १६ गते ट्राफिक नियम उल्लंघन गरेको र तुरुन्त बग्गीखाना आउनु भन्दै महानगरीय ट्राफिक महाशाखाबाट फोन आयो । पुडासैनी बग्गीखाना पुगे, उनलाई ट्राफिक प्रहरीले भद्रकालीमा लेन अनुशासन उल्लंघन गरेको सीसी टिभी फुटेज देखाए । उनी ट्राफिक प्रहरीको कारबाहीमा परे ।

सीसी क्यामेराकै आधारमा आर्थिक वर्ष ०७४/७५ मा विभिन्न ट्याक्सीमा छुटेका करिब २४ लाख ११ हजार रुपैयाँ नगद सम्बन्धित व्यक्तिलाई बुझाएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

यी घटनाहरु सीसी टिभी क्यामेराको सहयोगबाट प्राप्त सफलताका केही प्रतिनिधी उदाहरण मात्र हुन् । शान्ति सुरक्षा व्यवस्थापन र अनुगमनका लागि सीसी टिभी क्यामेरा विश्वासिलो र भरपर्दो सहयोगी प्रविधि बन्ने गरेका छन् ।

सडकमा हुने आपराधिक क्रियाकलाप मात्रै नभइ पछिल्ला समय ट्राफिक नियम उल्लंघन गर्नेहरुको पहिचान गरी कारबाही गर्नसमेत सीसी टिभी भरपर्दो सहयोगी प्रविधि बनेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) किरण बज्राचार्यले बताइन् । ‘प्रविधिसँगै चल्नका लागि सीसी टिभी क्यामेरा आवश्यक छ, जसले चोरी, ठगी, दुर्घटनाजस्ता घटनामा तत्काल सम्बन्धित व्यक्तिलाई पत्ता लगाउन सहयोग गरेको छ’ उनले भनिन् ।

कुनै दुर्घटना भएमा कति बजे, कुन सवारीले, कसको गल्ती, लापरवाहीले हो या अनजानमा दुर्घटना भएको भन्नेबारे अनुसन्धान गर्न सीसी टिभी क्यामेराले खिचेका फुटेजले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीकाअनुसार अहिले उपत्यकाभित्र ४ सय ४० वटा सीसी टिभी क्यामेरा जडान भएका छन् ।

साथै ४ नाकाहरु नाकढुंगा, तिनपिप्ले, फर्पिङ र जगातीमा २२ वटा सीसी टिभी क्यामेरा सञ्चालनमा छन् । खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘अहिले थप ७५ स्थानमा सीसी क्यामेरा जडानको काम पनि भइरहेको छ।’ साथै, काठमाडौं महानगरपालिकाले सहयोग गरेको सीसी टिभी क्यामेरा भने टेन्डर प्रक्रियामा रहेको जानकारी दिइन् ।

कहिलेबाट शुरु भयो सीसी क्यामेरा ?

वि.सं. २०६४ देखि उपत्यकाका सडकमा सीसी क्यामेरा जडान तथा सञ्चालन कार्य शुरु भएको थियो । शुरुमा ११ वटा सीसी क्यामेरा जडान गरिएको थियो । हालसम्म आइपुग्दा ४४० स्थानमा सीसी टिभी क्यामेरा राखिएका छन् । जसले सडक नियम उल्लंघन गरेर भाग्नेहरुलाई सजिलै पक्राउ गर्न र विभिन्न घटनालाई प्रत्यक्ष हेर्न मद्दत गरिरहेको छ ।

प्राविधिक समूहसमेत रहेकाले क्यामेरा बिग्रिए पनि तत्काल मर्मत गरेर चलाउन समस्या नभएको बज्राचार्यले बताइन् । ‘प्राविधिक समुहका २ टोली छन्, सीसी टिभी क्यामेरामा समस्या आउनासाथ उनीहरु मर्मतका लागि पुग्छन्’ उनले भनिन् ।

कस्ता क्यामेरा छन् सडकमा ?

महानगरीय प्रहरी कार्यालयका अनुसार उत्यकाका सडकमा ‘पिटिजेट’ र ‘फिक्स’ गरी दुई प्रकारका सीसी टिभी क्यामेरा जडान गरिएका छन् । पिटिजेट क्यामेरा ३६० डिग्रीमा चलाउन सकिन्छ, जसले तलमाथि, दायाँबायाँ घुमाएर दृश्य खिच्ने काम गर्छ । यो क्यामेरा ३९६ वटा रहेका छन् ।

त्यस्तै फिक्स क्यामेरा जसलाई स्थायी रुपमा राखिएका छन् । हेर्दा सानो देखिने यी क्यामेरा ४४ स्थानमा सञ्चालन भइरहेका छन् । सञ्चालनमा रहेका क्यामेराहरु ‘आइपी वेस्ट’ र अप्टिकल फाइबर अनुसार चल्ने बताउँदै बज्राचार्यले भनिन्, ‘एक महिनासम्म भिडियो रेकर्ड रहन्छन्’ ।

कति पक्राउ परे ?

‘सीसी टिभी क्यामेराका माध्यमबाट ०७५ साल साउनदेखि ०७६ वैशाखसम्म १५ हजार ५३६ जना व्यक्ति कारबाहीमा परेका छन्’ उनले भनिन् । सवारी दुर्घटना, चोरी, सामान छुटेको, ट्राफिक छलेर फरार, लेन कारबाही, अपहरण, तोडफोड, लुटपाट र आगलागीमा संलग्न व्यक्ति कारबाहीमा परेका छन् ।

क्यामेरा जडानमा महानगर जागरुक

महानगरपालिका क्षेत्रभित्र शान्ति, सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहोरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण, प्रदुषण नियन्त्रणलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सीसी टिभी क्यामेरा जडानका लागि काठमाडौं महानगरपालिकाले महानगरीय प्रहरी परिसरलाई सहयोग गरिरहेको छ ।

सीसी क्यामेरा जडानकै लागि महानगरपालिकाले १५ फागुन ०७५ मा ३ करोडको चेक हस्तान्तरण गरेको थियो । चेक हस्तान्तरणका क्रममा महागरका प्रमुख विद्यासुन्दर शाक्यले थप रकम आवश्यक परेको खण्डमा महानगरले सहयोग गर्ने बताएका थिए । त्यसैगरी कामपाको ३३ औँ नगर बैठकको निर्णयअनुसार नेपाल प्रहरी परिसर काठमाडौंलाई २ करोड ८१ लाख उपलब्ध गराउने भएको छ ।

‘सीसी टिभी क्यामेरा जडान गरेपछि मुख्यतया अपराधिक क्रियाकलाप न्यूनीकरण हुन सहयोग पुग्छ, साथै फोहोरमैला व्यवस्थापनमा टेवा पुग्छ’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने । शान्ति सुरक्षा तथा सडक नियम पालनाको नियमन गर्न सीसी क्यामेरा आवश्यक रहेको बताउँदै खबरहबसँग उनले भने, ‘महानगरले त्यसप्रति ध्यान पुर्‍याइरहेको छ ।’

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ८ : ३० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०