दैलेखमा ब्लडबैंक नहुँदा समस्या, सेनाप्रहरीकै भर | Khabarhub Khabarhub

दैलेखमा ब्लडबैंक नहुँदा समस्या, सेनाप्रहरीकै भर


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुल्लु- दैलेख जिल्ला अस्पतालमा बिरामीलाई दिनहुँ रगत अभाव भइरहन्छ । अस्पतालमा रक्त सङ्कलन केन्द्र (ब्लडबैंक) भने छैन । ब्लडबैंक नभएका कारण कतिपय बिरामीलाई सुर्खेत अस्पताल सिफारिस गर्नुपर्ने बाध्यता छ ।

सोमबार मात्रै जिल्ला सदरमुकामस्थित नारायण नगरपालिका–३ की बिमला कार्कीलाई सुर्खेत अस्पताल सिफारिश गरियो । प्रसूतिका लागि अस्पताल पुगेकी कार्कीलाई ‘ए’ नेगेटिभ रगत आवश्यक प¥यो । उक्त रगत जिल्लामा उपलब्ध नभएपछि उहाँलाई सुर्खेत सिफारिश गरिएको दैलेख अस्पतालका डा निरञ्जन पन्तले बताउनुभयो ।

कार्की मात्र होइन, अस्पतालमा प्रसूति हुन पुगेकी नारायण नगरपालिका–१ की २१ वर्षीया नबीना केसीले अस्पतालले दिएको मितिअनुसार व्यथा लागेपनि बच्चा जन्माउन सक्नुभएन । दैलेख अस्पतालले शल्यक्रिया गर्ने सबै तयारी पूरा गर्यो‍ तर उनलाई आवश्यक ‘बी’ नेगेटिभ रगत उपलब्ध भएन । रगत अभावपछि अस्पतालले उहाँलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत सिफारिश गर्यो‍ ।

यस्तै नौमुले गाउँपालिका–४ की २५ वर्षीया मनकला रामजाली प्राथामिक स्वास्थ्य केन्द्र नौमुलेमा प्रसूति हुन आइपुग्नुभयो । त्यहाँ प्रसूति हुन नसकेपछि प्राथामिक स्वास्थ्य केन्द्र नौमुलेले दैलेख अस्पताल सिफारिश गर्यो‍ । उहाँको सामान्य रुपमा बच्चा जन्मिन नसकेपछि शल्यक्रिया गर्नुपर्ने भयो । रगतका लागि नेपाली सेनाको इन्द्रदल गुल्मलाई खबर गरियो । त्यहाँ पनि रगत उपलब्ध नभएपछि अस्पतालमा कार्यरत डा अनिल खरेलले आफँैले रगत दिएर उहाँको ज्यान बचाउनुभयो ।

जिल्लामा ब्लडबैंक नहुँदा अस्पतालमा बिरामी रगत नपाएर छट्पटाइरहेका हुन्छन् । चिकित्सक भने नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीकहाँ रगतका लागि धाउने गर्छन् । ड्युटीमा खटिएका सैनिक र प्रहरीलाई हतारहतार गरी हाकिमबाट बोलावट हुन्छ । मिल्दो रक्तसमूह पत्ता लागेपछि उनीहरू ड्युटी छाडेर अस्पताल दौडिन्छन् । “स्वास्थ्यकर्मीलाई रक्तसमूह परीक्षण गर्न र रगत जुटाउन घण्टाँै लाग्छ,” डा खरेलले भन्नुभयो । अस्पतालको मागअनुसार सेना र प्रहरी जवानले यसरी आपतकालीन रुपमा रक्तदान गर्दै आएको वर्षाँै वितिसक्यो । “बिरामीलाई रगत चाहिएमा सेना र प्रहरीलाई गुहाछौँ,” उहाँले भन्नुभयो । वर्षौंदेखि सेना र प्रहरीले नै ब्लडबैंकको रुपमा काम गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेम क्षेत्री अस्पतालको मागअनुसार प्रहरी जवानले रक्तदान गर्दै आएको बताउनुहुन्छ । अस्पतालमा कार्यरत स्वास्थ्कर्मी, सेना र प्रहरीबाहेक अन्य पेशा/व्यवसायीले प्रायःजसो रक्तदान गरेको पाइँदैन । अस्पतालमा विशेषगरी सुत्केरी र चोटपटकका बिरामीलाई बढी रगत आवश्यक पर्छ । “बिरामी अन्तिम अवस्थामा आउने हुँदा रगत खोज्न समय लाग्छ,” जिल्ला अस्पतालका डा पन्तले भन्नुभयो ।

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले अस्पतालमा रगतको समस्या समाधान गर्नुका साथै अस्पताललाई सुविधासम्पन्न ५० श्ययामा विकास गर्न नगरसभाबाट पारित गरेर कर्णाली प्रदेश सरकारलाई पठाएको बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्माले अस्पतालमा सुविधा थप गर्नका लागि नारायण नगरपालिका र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई आग्रह गरिएको बताउनुभयो ।

सङ्कलित रगत पनि सुर्खेतमै
जिल्लामा बेलाबेला रक्तदान कार्यक्रम आयोजना गरिन्छ । यहाँका सामाजिक सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखलगायत युवाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन् । विसं २०७२ जेठमा रक्तदान कार्यक्रम गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेख र दैलेखी युथले संयुक्तरूपमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए । त्यतिबेला ४० जनाले रक्तदान गरेका थिए । रगत सुरक्षितसाथ राख्न नसक्दा सङ्कलित रगत सुर्खेत पठाउनुपरेको हो । समयसमयमा गरिने रक्तदान कार्यक्रममा सङ्कलित रगत पनि सुरक्षित राख्न नसकिँदा सुर्खेत पठाउनुपर्ने बाध्यता रहेको डा पन्त बताउनुहुन्छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १२ : ०४ बजे

दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ– मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन