संसद्‍मा आफ्ना कुरा राख्न पनि पछि हट्छन् सांसद, ८९ बैठक बस्दा पनि बोलेनन् ‘माननीय’ « Khabarhub
Logo
३१ जेठ २०७८, सोमबार

संसद्‍मा आफ्ना कुरा राख्न पनि पछि हट्छन् सांसद, ८९ बैठक बस्दा पनि बोलेनन् ‘माननीय’



तस्वीर– संसद् सचिवालय

काठमाडौं- विद्यार्थी राजनीतिबाट सिधै प्रतिनिधिसभाको सांसद बन्ने अवसर पाएकी तत्कालिन एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्षसमेत रहेकी नविना लामा प्रतिनिसभामा पहिलोपटक समानुपातिकतर्फबाट सांसद बनेकी हुन् ।

संसदको पहिलो अधिवेशन शुरु भएको आगामी फागुन २१ गते १ वर्ष पुग्दैछ । यो बीचमा संसदका २ वटा अधिवेशन सकिइसकेका छन् ।

पहिलो अधिवेशनमा १० वटा बैठक बसेपनि दोस्रो अर्थात् बजेट अधिवेशन लामो समय चलेकाले ७९ वटा बैठक बसेकाे थियाे । त्यही बीचमा संघीय संसद अन्तर्गतको राष्ट्रियसभा र प्रतिनिधिसभाको ४ वटा संयुक्त बैठक समेत बस्यो । संसद शुरु भएको करिब १ वर्षमा सांसद लामा जम्मा ३ पटक संसदमा बोलेकी छन् ।

२०७४ साल भदौ ५ गते मंगलबार एकपटक शून्य समयको उपयोग गर्दै त्रिभुवन विश्वविद्यालयको बेथितिका बारेमा १ मिनेट आफ्नो धारणा राखेकी लामाले २ पटक भने विभिन्न विधेयकमाथिको छलफलमा सहभागी भइन् ।

एक वर्षमा जम्मा ३ पटक संसदमा बोलेकी लामाकोे भने आफ्नै गुनासो छ । संसदमा बोल्नका लागि प्रत्यक्ष चुनाव जितेका सांसद पहिलो प्राथमिकतामा पर्ने र राष्ट्रिय महत्वका विषयमा शीर्ष नेताहरुले नै संसदमा सम्बोधन गर्ने भएकाले आफूजस्ताले बोल्ने अवसर नपाएको उनको दुखेसो छ ।

पूर्वसभामुख समेत रहेकी तत्कालिन माओवादी केन्द्रबाट सांसद बनेकी ओनसरी घर्ती भने संसदमा एकपटक पनि बोलेकी छैनन् ।

र्वसभामुखको सुविधा समेत पाउने घर्ती संसद बैठक शुरु भएको करिब १० महिनामा एकपटक पनि नबोलेकी हुन् । आफू पार्टीको काममा बढी व्यस्त हुनपरेका कारणले संसदमा बोल्न नसकेको उनको तर्क छ ।

उनी भन्छिन्– अरु त्यस्तो कुनै कारण छैन, पार्टीको काममा बढी व्यस्त हुनपरेको छ । संसदमै पनि त्यति धेरै समय दिन पाएको छैन । त्यसैले संसदमा आफ्नो भनाइ राख्न सकेकी छैन । त्यस्तै संविधानसभाका अध्यक्ष समेत रहेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ भने संसदमा एकपटकमात्रै बोलेका छन् । गत साउन ७ गते एकपटक संसदमा बोलेका उनी तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेको पार्टी एकिकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत हुन् ।

तर तत्कालिन एमालेका तर्फबाट इलामबाट प्रत्यक्ष चुनाव जितेका पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाल पनि संसद बैठक शुरुको एक वर्षमा जम्मा १ पटक मात्रै संसदमा बोलेका छन् । सभामुखमा कृष्णबहादुर महरा निर्वाचित भएपछि महरालाई बधाई गत वर्ष फागुन २७ गतेका दिन रोष्ट्रम पुगेका खनाल त्यसपछि संसदको विषेश समयमा समेत बोलेका छैनन् ।

उनीमात्रै होइन, पूर्वप्रधानमन्त्री समेत रहेका तत्कालिन एमालेबाट काठमाडौबाट चुनाव जितेका माधवकुमार नेपाल समेत संसदमा २ पटक मात्रै आफ्नो धारणा राखेका छन् । संसदको दोस्रो अधिवेशन समापन भएको दिन २२ फागुन २०७४ मा पहिलोपटक संसदमा बोलेका नेपालले सरकारलाई विश्वासको मत दिने दिन अर्थात् अघिल्लो वर्ष फागुन २७ गते दोस्रोपटक संसदमा रोष्ट्रममा पुगेर आफ्नो धारणा राखेका थिए ।

त्यसपछिको कुनै पनि बैठकमा आफ्नो धारणा राखेका छैनन् । अरु सांसदहरुलाई संसदमा बोल्न सम्बन्धित पार्टीले समय दिनुपर्ने भएपनि पूर्वप्रधानमन्त्री बोल्न चाहे असिमित समय दिने प्रचलन छ । तर उनीहरुले आफू बोल्नका लागि सभामुखलाई जानकारी गराउनुपर्ने प्रावधान छ । अन्य सांसदका लागि भने शून्य समयमा एक मिनेट र विषेश समयमा बढीमा १० मिनेटसम्मको समय दिने प्रचलन छ ।

विपक्षी सांसदको अवस्था पनि उस्तै

संसदलाई प्रमुख प्रतिपक्षी दलको समेत भन्ने गरिन्छ । तर संघीय संसदको दुबै सदनमा प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली काँग्रेसका निर्वाचित महामन्त्री समेत रहेका डाक्टर शशांक कोइराला समेत संसदमा कम बोल्ने सांसदको सूचीमा छन् ।

संसदको पहिलो बैठक बसेको करिब १ वर्ष पुग्नै लाग्दा डाक्टर कोइराला जम्मा १ पटक मात्रै संसदको रोष्ट्रम पुगेका छन् । सभामुखमा कृष्णबहादुर महरा निर्वाचित भएपछि महरालाई बधाई दिन रोष्ट्रम पुगेका पेशाले आँखा चिकित्सक समेत रहेका कोइराला त्यसपछिका कुनै पनि बैठकमा बोलेका छैनन् । नवलपरासी– १ बाट दोस्रोपटक निर्वाचित भएका कोइराला विपि कोइराला पुत्र समेत हुन् । अहिलेको संसदमा एकपटक बोलेका कोइराला ७० सालको चुनावपछि भने एकपटक पनि नबोलेको रेकर्ड संघीय संसद सचिवालयमा छ ।

संसदमा सबै वर्ग र समुदायको प्रतिनिधित्व हुने संवैधानिक व्यवस्थाअनुसार तत्कालिन माओवादी केन्द्रको समानुपातिक सांसदका रुपमा पर्साबाट संसद प्रवेश गरेकी चाँद ताराकुमारी जम्मा २ पटक संसदमा बोलेकी छन् । त्यस्तै संघीय समाजवादी फोरमबाट समानुपातिक सांसद बनेकी सर्लाहीकी रुही नाजले संसद बैठक शुरु भएको करिब एक वर्षमा जम्मा १ पटक मात्रै संसदमा आफ्नो धारणा रखेकी छन् । गत वर्षको असोज १ गतेको संसद बैठकको शुन्य समयमा १ मिनेट आफ्नो धारणा राखेकी नाज त्यसपछिका कुनैपनि बैठकमा बोलेकी छैनन् ।

त्यसबाहेक व्यवसायी समेत रहेका मोतीलाल दुगड तत्कालिन एमालेका तर्फबाट समानुपातिक सांसद बन्ने अवसर पाएका थिए । संसदमा उद्योगीका रुपमा नभई मधेशी कोटाबाट पहिलोपटक सांसद बनेका दुगड पनि संसदमा कम बोल्ने सांसद हुन् ।

दुगड ग्रुपका मालिक समेत रहेका उनी संसदमा जम्मा ४ मिनेटमात्रै बोलेका छन् । गत असार ५ गते मंगलबार पहिलोपटक विषेश समयमा बोलेका ३ मिनेट आफ्नो धारणा राखेका दुगड दोस्रोपटक भने भदौ २१ गते शुन्य समय अन्तर्गत १ मिनेट मात्रै बोलेका छन् ।

संसदको पहिलो बैठक गत वर्षको फागुन २१ गते बसेको थियो । त्यो अशिवेशन एक महिनामै समाप्त भएको थियो । अर्को अधिवेशन अर्थात् बजेट अधिवेशन भने २०७५ बैशाख २३ गते गत असोज ११ गते सकिएको थियो । बजेट अधिवेशन सकिएर शुरु भएको हिउँदे अधिवेशन गत पुष ११ गते शुरु भएको थियो ।

शून्य र विषेश समयमा संसदमा बोल्ने व्यवस्था

जनताका प्रतिनिधिका रुपमा लिइने सांसदहरुले संसदमा आफ्नो निर्वाचन क्षेत्रको समस्यादेखि विकास निर्माणको काम र सरकारको कामका विषयमा बोल्न शुन्य र विषेश समय निर्धारण गरिएका हुन्छ । शुन्य समयमा बोल्नका लागि सम्बन्धित दलको अनुमति लिन नपर्ने व्यवस्था छ ।

बर्णानुक्रमअनुसार शून्य समयमा बोल्नका लागि संसद बैठक शुरु हुनूपूर्व नै सांसदहरुले हाजिरी गर्ने स्थानमै बोल्न चाहे आफ्नो नाम लेखाउनसक्ने व्यवस्था छ । तर विषेश समय भने सम्बन्धित दलको प्रमुख सचेतकस“ग समय लिएर मात्रै बोल्न पाउने व्यवस्था छ ।

संसद चल्ने दिनको बैठकपूर्व सभामुख अध्यक्ष हुने र सबै दलका प्रतिनिधि सदस्य रहने कार्यव्यवस्था परामर्श समितिमा कति समय विषेश समयका लागि निर्धारण गर्ने भन्ने विषय टुङ्गो लागेपछि दलगत हैसियतका आधारमा सम्बन्धित दलका लागि समय निर्धारण हुन्छ । आफ्नो दलले पाएको समयअनुसार आफ्ना कुन कुन सांसदलाई के विषयमा बोल्न दिने भन्ने निर्णय सम्बन्धित दलको प्रमुख सचेतकको हुने परम्परा छ ।

के हो शून्य समय ?

संसदीय प्रणालीको जननी समेत मानिने बेलायती संसदीय परम्पराअनुसार नेपालमा पनि शुरु भएको संसदीय परम्पराअनुसार नेपालमा पनि संसद बैठकको शुरुमै शुन्य समयको कार्यसुची राख्ने प्रचलन शुरु भएको हो । बेलायतमा रहेको वेष्ट मिनिष्टर प्रणालीअनुसार संसद बैठक हरेक दिन मध्यान्ह १२ बजे शुरु हुने र १२ बजेको समय शुन्य समयका रुपमा लिइने भएका कारण त्यस समयमा बोल्ने समयको नाम नै जिरो आवर राखिएकाले नेपालीकरण गरी त्यसलाई शुन्य समय बनाइएको हो । बेलायतमा हरेक दिन १२ बजे बैठक सञ्चालन गर्ने परम्परा यथावत् नै रहेपनि नेपालमा भने बिहान, दिउँसो वा बेलुका जुन समयमा बैठक सञ्चालन भएपनि शुन्य समयको कार्यसुची राख्ने गरिएको छ ।


भर्खर

0