टीकापुर घटनाको ३ वर्ष– सम्भवतः बुधवार फैसला आउने | Khabarhub Khabarhub

टीकापुर घटनाको ३ वर्ष– सम्भवतः बुधवार फैसला आउने


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)सहित ८ जना सुरक्षाकर्मी र ढेड वर्षका बालकको हत्या भएको टीकापुर घटनामा अदालतले सम्भवतः बुधवार फैसला सुनाउने भएको छ ।

जिल्ला अदालत कैलालीका न्यायाधीश परशुराम भट्टराईको इजलाशले टीकापुर हत्या काण्डको मुद्दामा बुधवार फैसला सुनाउने संभावना रहेको कैलाली जिल्ला अदालतका श्रेष्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए । श्रेष्तेदार कठायतका अनुसार टीकापुर घटनासम्बन्धी मुद्दामाथिको बहस मंगलबार सकिएको थियो ।

मंगलबार समय अभावका कारण फैसला हुन नसकेकाले बुधवार फैसला आउने कठायतले जानकारी दिए ।

टीकापुर घटनासम्बन्धी मुद्दामाथि गत बुधबारदेखि बहस शुरु भएको थियो । बहसमा बादी (नेपाल सरकार) तर्फका न्यायाधीवक्ता र प्रतिवादीतर्फका कानून व्यवसायीहरुले बहस गरेका थिए । मंगलबार बादी तर्फबाट जिल्ला न्यायाधीवक्ता विष्णुप्रसाद पौडेल तथा प्रतिवादीका तर्फबाट ६ जना कानून व्यवसायीहरुले बहस गरेका श्रेष्तेदार कठायतले जानकारी दिए ।

मंगलवार कानून व्यवसायीहरु गंगाराम पाध्याय, वीरबहादुर जेठारा, गम्भीरसिंह ऐर, गजेन्द्रबहादुर केसी, नाथुराम महतो र प्रयागराज भट्टले बहस गरेका थिए ।

टीकापुर घटनामा अहिलेसम्म वादी (नेपाल सरकार)का तर्फबाट जिल्ला न्यायाधीवक्ता पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका छन् । प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, अधिवक्ता हरि फुयाल, मिलन राई, दिलमणि पोखरेल, इन्द्रपसाद लेखक, दयाराम चौधरीले पनि बहस गरेका थिए ।

७ भदौ २०७२ मा टीकापुरमा घटना भएपछि ५ असोज २०७२ मा जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता भएको थियो । मुद्दामा आठौं पेशीपछि बहस शुरु भएको थियो । बुधवार १२ औं पेसीमा मुद्दाको फैसला आउन लागेको हो ।

थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम पक्षधरबीच लामो समयदेखि जारी द्वन्द्वका बीच ७ भदौ २०७२ मा थरुहट/थारुवान पक्षधरले आयोजना गरेको आन्दोलनमा उक्त घटना भएको थियो । घटनामा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक बालकसहित ९ जनाको ज्यान गएको थियो ।

उक्त घटनामा संलग्न रहेको भन्दै ५८ जनाविरुद्ध कैलाली जिल्ला अदालतमा कर्तव्य जान, डाँका चोरी तथा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर भएको थियो ।

टीकापुर हत्याकाण्डका अभियुक्त रहेका राष्ट्रिय जनता पार्टी (राजपा)का नेता रेशम चौधरी गत वर्ष सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । कैलाली जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाएका चौधरी अहिले काठमाडौंको डिल्लीबजार कारागारमा थुनामा छन् । थुनामा रहेकै बेला चौधरीले केही समय अगाडि प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गरेका थिए ।

टीकपाुर घटनाका अन्य २४ जना अभियुक्त कैलाली कारागारमा थुनामा छन् । अभियुक्त बनाइएका अन्य केही फरार छन् भने नाबालकलाई पोखरास्थित बाल सुधार गृहमा राखिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १२ : २० बजे

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट