‘व्यापारका आधारमा फिल्मलाई राम्रो या नराम्रो भनेर छुट्याउन मिल्दैन’ | Khabarhub Khabarhub

‘व्यापारका आधारमा फिल्मलाई राम्रो या नराम्रो भनेर छुट्याउन मिल्दैन’


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चलचित्र ‘होस्टेल’ निर्देशन गरेपछि हेमराज बिसी एकाएक चर्चामा आए । यो चलचित्रबाट उनले अनमोल केसी जस्ता सुपरस्टार समेत जन्माए । अनमोल र हेमराज दुवैका लागि ‘होस्टेल’ पहिलो चलचित्र थियो ।

त्यसपछि अनमोललाई नै लिएर बिसीले निर्देशन गरेको चलचित्र ‘जेरी’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गर्‍यो । यी दुई चलचित्रबाट हौसिएका उनले तेस्रो चलचित्र ‘सम्बोधन’ निर्माण गरे । तर, यो चलचित्रले भने खासै राहत दिएन ।

आजभोलि निर्देशक बिसीलाई लाग्न थालेको छ, यो फिल्म अलिक छिटो नै बनाएछु । पछिल्लो समय ‘ब्रेकअप’ र ‘ग्याङस्टार ब्लूज’ जस्ता फिल्म निर्देशन गरेर व्यापारिक रुपमा असफल भएका बिसी यतिबेला चलचित्र ‘घामड शेरे’ मार्फत दर्शकमाझ आउँदैछन् । चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्काले साली भेनाको भूमिका निभाएका छन् ।

अहिलेसम्म सिकेको सिकाइ र यसअघि असफल भएका चलचित्रका कारणले पनि बिसीलाई अर्को सफल चलचित्र दिनुपर्ने दबाब छ । बिसीले पनि ‘घामड शेरे’ अघिल्ला चलचित्रभन्दा फरक र स्तरीय भएको दाबी गर्छन् । यसैबीच हामीले चलचित्रका निर्देशक बिसीसँग फिल्म र उनको वृत्ति वरिपरि रहेर छोटो कुराकानी गरेका छौँ–

पछिल्लो समय तपाईंका चलचित्र खासै चलेनन् । तपाईंको काम फिल्ममा देखिन्छ तर दर्शकलाई खुराक नै पुग्दैन भन्ने आरोप छ । तपाईंले लेखेका स्किृप्ट नै कमजोर हुन् त ?

स्किृप्टभन्दा पनि परिपक्वता नपुगेको हो कि जस्तो मलाई लाग्छ । हुन त सबै निर्देशकको काम गर्ने आफ्नै शैली हुन्छ । मेरा चलचित्रमा स्किृप्ट नै नहुने चाहिँ होइन ।

स्किृप्ट एकदमै सटिक हुनुपर्छ भन्ने मलाई पनि लाग्छ । र, अर्को कुरा मलाई आफै स्किृप्ट लेख्न मन पनि लाग्छ । कुरा त के पनि हो भने म जे स्किृप्टमा लेखेर जान्छु ।

शूटिङका लागि सेटमा गइसकेपछि म अरु नै केही गरिदिन्छु । मलाई स्किृप्ट लेख्न मन नपर्ने, त्यस्तो हुनुपर्छ भन्ने चाहिँ होइन । तर, जब म शुरुका चलचित्रमा काम गर्दै गएँ, त्यसपछि मैले बुझ्दै पनि गएँ ।

मैले के बुझेँ भने, स्किृप्टमा लेखिएको कुरा यदि पर्दामा उर्तान सकिएन भने दिनभरि ‘मुड’ बिग्रिन्छ । अझ कहिलेकाहीँ आफूले गर्न खोजेको कामलाई कलाकार र प्रोडक्सनले साथ दिएन भने त झन् दिनभरि नै मुड अफ हुन्छ ।

यो अभ्यास नेपाली फिल्म उद्योगमा मात्र हो र ?

हैन् । यसमा म अरु पनि थप्न चाहन्छु । पहिलो कुरा त हामी दक्षिण एसियनहरु ‘जुगाडु’ हुन्छौँ । हाम्रो सिकाइ बच्चैदेखि नै यस्तै छ । यदि यस्तो सम्भव भएन भने ठीकै छ, यसो गरौँ भन्ने हुन्छ । यस्तो फेरि नेपालमा मात्र हो कि झैँ लाग्छ ।

मानौँ, हलिउड फिल्ममेकर सेटमा गए तर उनीहरुले खोजेजस्तो परिवेश त्यहाँ भएन भने शूटिङ नगरी अर्को दिन गर्छन् । तर नेपालमा भने त्यस्तो हुँदैन । यहाँ त समय र परिवेश हेरेर चलचित्रको दृश्य नै थपघट गर्नुपर्ने हुन्छ ।

कुनै पनि चलचित्र बनाउँदा फिल्ममेकरको दिमागमा पूर्ण चलचित्र छ कि छैन, त्यो महत्त्वपूर्ण हो । यसमा म सधै सचेत हुन्छु । तर कहिलेकाहीँ त्यस्तै बनिदिन्छ ।

अर्को कुरा त कहिलेकाहीँ आफूलाई जे सही लागिरहेको हुन्छ, त्यो अरुका लागि गलत हुन्छ । शायद यही कारणले मेरा केही चलचित्र दर्शकले मन नपराउनुभएको हो कि !

अझ कहिलेकाहीँ म यसरी गर्छु भनेर योजना बनाइरहेको हुन्छु, तर कलाकारको प्रस्तुतीकरण, लोकेशन या अरु कारणले पनि सोचेजस्तो काम आउँदैन ।

अरुलाई आरोप लगाएजस्तो देखियो, त्यसका लागि त तपाईं आफै पनि निर्देशकका रुपमा हाबी हुनुपर्ने होइन ?

हो, सबै जिम्मेवारी मेरै हो । मैले नै गर्नुपर्ने हुन्छ । मैले अरुलाई दोष देखाएर आफू ठीक छु भन्न खोजेको होइन । तर, त्यो भन्दै गर्दा अर्को वास्तविकता के हो भने यदि मैले कुनै भिजन लिएर आएँ, त्यसलाई ‘डेलिभरी’ दिने कारण टिमको नै हो । कहिलेकाहीँ टिमकै कारण पनि आफूले पर्दामा उतार्न खोजेको कुरा पनि उतार्न सकिन्न ।

कहिलेकाहीँ के हुन्छ भने मैले सोचेको चीज त्यही नभइदिन पनि सक्छ । अर्को कुरा त फिल्म सक्सेस र फेलियर भन्ने कुरा अर्कै कुरा हो । फिल्म राम्रो या नराम्रो हुन्छ भन्ने मलाई लाग्दैन । हामीसँग यस्ता पनि उदाहरण छन्, कति चलचित्र राम्रा भनिएका हुन्छन् तर व्यावसायिक रुपमा असफल हुन्छन् ।

केही चलचित्र औसत हुन्छन् तर आक्रामक व्यापार गर्छन् । फिल्म सक्सेससँग फिल्म राम्रो या नराम्रो फिल्मसँग रिलेटेबल हुँदैन । फिल्म राम्रो र नराम्रो भन्ने व्यापारका आधारमा भन्न सकिन्न ।

तपाईंको यसअघिको फिल्म ‘ब्रेकअप’ अस्ट्रेलियामा खिचेको भनेर राम्रै चर्चा थियो, तर दर्शकलाई त्यसको ट्रीट किन चित्त बुझेन ?

मैले जुन खाले फिल्म दिमागमा सोचेर बनाइरहेको थिएँ, त्यतिबेला मलाई सामान्य खालको रोमान्टिक कमेडी बनाउँछु भन्ने लागेको थियो । फिल्म त्यही ‘लेयर’ मै बनाउँछु भन्ने थियो । बनाउन पनि आफूले चाहेजस्तो नै बनाएँ ।

भनेपछि दर्शक र तपाईंको रोजाइले मेल खाएन है ?

फिल्म हेरिसकेपछि दर्शकबाट जुन खाले प्रतिक्रिया आयो नि, त्यसले मलाई के लाग्यो भने कि त मैले फिल्मको मार्केट नै गलत गरेँ, या त मैले दर्शकले भनेझैँ मैले इमोसनल बनाउनुपर्ने थियो ।

शायद दर्शकले जे खोज्नुपर्ने थियो, त्यस्तै बनाउनुपर्ने थियो । तर फिल्म रिलिजअघि सम्म पनि त्यस्तो प्रेमको गहिराइमा पुगेर फिल्म बनाउँछु भन्ने नै थिएन । फिल्म सोच्ने बेला नै मैले दिमागमा एकदमै सामान्य रोमान्टिक फिल्म बनाएको थिएँ ।

त्यही त हो नि, एउटा प्रयोग थियो । त्यही हो । रिलिजपछि चाहिँ अझै डेप्थमा भइदिए हुन्थ्यो भन्ने दर्शकको अपेक्षा देखियो ।

पहिलेका तुलनामा ‘घामड शेरे’ को निर्देशनमा केही सुधार छ ? हुन त रिलिजका बेला आफ्नो फिल्म अहिलेसम्मकै उत्कृष्ट छ भन्ने फिल्ममेकरको पुरानो आदत पनि छ…

रिलिजअघि जुनसुकै मेकरलाई सोध्नुभयो भने अहिलेसम्मको बेस्ट फिल्म नै भन्ने हो । मैले पनि बेस्ट फिल्म नै भन्छु । तर, यो बेस्ट फिल्म किन हो भने यो फिल्म आफै मेकिङका बेला हेरिरहँदा राम्रो लागेको छ ।

पछि फिल्मले कस्तो प्रतिक्रिया पाउला, त्यो भने हेर्न बाँकी छ । दर्शकले फिल्म मन पराउनुहुन्छ या हुन्न, त्यो दर्शकको कुरा हो । तर निर्माण गर्दै गर्दा यो फिल्म कताकता चित्त नबुझेको भन्दा पनि मन परिरहेको छ ।

फिल्ममा मेकरका हिसाबले आफूलाई पनि ‘ग्रोथ’ गरेको छु भन्ने विश्वास दिलाएको छ। अझ यसपटक त मैले परिपक्व कथा भनिरहेको छु । अहिले आएर मलाई ‘सम्बोधन’ फिल्म मैले नजान्दै निर्देशन गरेकाले बिगारेँ कि भन्ने लाग्छ ।

अब बल्ल निर्देशन गरेको भए यो फिल्म अझै स्तरीय हुन सक्थ्यो भन्ने अहिले पनि खटकिन्छ ।

रिलिजअघि सबै मेकरले ‘आफ्नो सन्तान प्यारो’ भनेझैँ जुनसुकै फिल्म बबाल नै छ भन्छन् तर हलमा दर्शक पुग्दा खिस्स हुन्छन् नि ?

म के कुरामा विश्वास दिलाउन चाहन्छु भने घामड शेरेसम्म आउँदा पहिलेका फिल्ममा देखिएका कमजोरी मैले दोहोर्‍याएको छैन । यो फिल्मका लागि हामीले केही समय अध्ययन पनि गरेका थियौँ ।

फिल्ममा खोलाविरुद्ध मुद्दा हाल्नेबाहेक अरु सबै कुरा दर्शकलाई वास्तविक लागोस् भनेर त्यही अनुसार फिल्म बनाएका छौँ ।

यो फिल्म मैले जसरी जुन ‘डेप्थ’मा बनाइरहेको छु, त्यो हिसाबले मन परेको छ । अलिकति भए पनि आफूलाई ग्रोथ गरिरहेको छु । यो फिल्म यसअघिका तुलनामा एक तहमाथि गएर कथा भनिरहेको छु ।

‘ब्रेकअप’ जस्तो फिल्म निर्देशन गर्न सजिलो कि ‘घामड शेरे’ ?

अब सजिलो केलाई भन्ने पनि फरक पर्छ । कथाका हिसाबले हेर्दा घामड शेरे गाह्रो फिल्म हो । तर प्राविधिक रुपले यो फिल्म पक्कै सहज थियो होला । यो फिल्ममा समाज जस्तो छ, त्यस्तै देखाउन खोजिएको छ । यो एउटा आफैमा गाह्रो अभ्यास हो ।

पहिले निर्देशन गरेका जेरी, ब्रेकअप जस्ता फिल्ममा काम गर्दा के सहज हुन्छ भने मैले मेरो आफ्नो ढंगले पनि सोही कुरालाई उठाउन सक्छु । तर ‘घामड शेरे’ जस्ता फिल्ममा वास्तविकता हुनुपर्छ भन्ने दबाब रहन्छ, जुन गाह्रो छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ?

त्यही हो, ‘घामड शेरे’ रिलिजका क्रममा छ । मैले अघि नै भने कि, अघिल्ला फिल्मका तुलनामा यो फिल्म मेरा लागि विशेष पनि हो । एउटा सामान्य कथालाई वास्तविक रुपमा प्रस्तुत गर्ने गरी फिल्म निर्माण भएको छ ।

फिल्ममा एक पात्र छ, जो स्वभावैले घामड हुन्छ । यो भूमिकामा निश्चल बस्नेत छन् । उनलाई यो भूमिका सुहाएको छ । फिल्म बनाएर हामीले दर्शकलाई बुझाइसकेका छौँ । अब उहाँहरुले कस्तो प्रतिक्रिया दिनुहुन्छ, त्यो त कुर्नैपर्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  २ : ३४ बजे

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन