रंगशाला नभएकै कारण नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिएन– एन्फा अध्यक्ष शेर्पा (अन्तर्वार्ता)

खेलको विकासका लागि सरकारको लगानी कम छ

सन्तोषराज पाण्डे

मङ्लबार, कार्तिक १९, २०७६

Reading Time: 15 minutes

रंगशाला नभएकै कारण नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिएन– एन्फा अध्यक्ष शेर्पा (अन्तर्वार्ता)

काठमाडौं –अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) मंसिर ३ गते दशरथ रंगशालामा हुने विश्वकप २०२२ तथा एएफसी कप २०२३ को छनोट अन्तरगत कुवेतविरुद्धको खेलका लागि मैदान निर्माणमा जुटेको छ ।

२०७२ सालको विनाशकारी भुकम्पले क्षतविक्षत पारेको रंगशाला कुवेतविरुद्धको खेलका लागि तयार हुँदैछ । तर, पनि निर्माणधिन रंगशालामा फुटबल हुने नहुने बारे आम फुटबल प्रशंसकमा शंका यथावत छ । तर, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा भने कुवेतसँगको खेल दशरथ रंगशालामा हुने दाबी गर्छन् ।

एन्फाका पूर्व अध्यक्ष गणेश थापाको २ दशक लामो शक्ता पल्टाएर नेतृत्वमा आएको शेर्पाको कार्यसमिति विभिन्न विषयहरुमा आलोचना भने भइनै रहेको छ ।

पछिल्लो समय जोर्डनमा भएको यू–१६ एएफसी च्याम्पियनसिप छनोटमा खेल्ने नेपाली टोलीमा प्रारम्भिक चरणको छनोटमै नरहेका एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका छोरा पाथ्युङहाङ नेम्वाङ टोलीमा अटाएको र इरानमा भएको एएफसी कप फुटसल च्याम्पियनसिप छनोट मा पनि टोलीमा नभएका खेलाडी टिममा नहुँदा पनि टोलीमा समावेश गरेका जस्ता विषयहरुले एन्फाको आलोचना भइरहेको छ ।

अध्यक्ष शेर्पासँग एन्फा नेतृत्वमा आएपछि भएका काम, ‘चेन्ज एन्फा’ को अभियान कहाँसम्म पुग्यो । ए डिभिजन लिगको तयारी के कस्तो भइरहेको छ, चौधरी ग्रुपको आयोजनामा पहिलो पटक फ्रेन्चाईजी लिग आयोजना गर्ने विषयमा के भइरहेको छ भन्ने विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

विश्वकप छनोट २०२२ तथा एएफसी एसिया कप २०२३ अन्तर्गत नेपाल र कुवेतबीचको खेलका लागि तयारी कस्तो भइरहेको छ ?

विश्वकप छनोटको तयारी अन्तिम चरणमा पुगिसकेको छ । हामीमा जुन किसिमको डर थियो त्यो डरबाट मुक्त भएका छौं । नेपालमा खेल गर्नै नसकिने हो कि भन्ने डर थियो । त्यो चिन्ताबाट चाहिँ मुक्त भएका छौं ।

विश्वकप छनोटको खेल तालिका सार्वजनिक हुँदा शुरुका तीन खेल होम परेका थिए । त्यो शुरुदेखि नै हामी तनावमा थियौं । पछि हामीसँग खेल्ने राष्ट्रहरुसँग ‘रिक्वेष्ट’ गर्यो । होमलाई अवे र अवे लाई होम बनायौं ।

त्यसमा पनि सफल भयौं । फेरि नेपालमा गर्न सकिन्छ कि सकिदैन भन्ने तनाव भयो । यहाँ सकिएन भने कहाँ गर्ने भनेर न्यूट्रल भेन्यु पनि खोजिहेका थियौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सदस्य सचिव रमेश कुमार सिलवाल आएसँगै कामले गति लियो । खेलकुद मन्त्री र सदस्य सचिव ज्युको टिम मिलेर जसरी काम गर्नु भयो । त्यसले गर्दा अब नेपालमा हुने निश्चित भएको छ ।

लाइटको काम पनि अन्तिम चरणमा पुगेको छ । सिटको काम पनि भइरहेको छ । भीआईपी प्याराभिटको छानोको पनि तयारी गर्दै हुनुहुन्छ उहाँहरु। सायद भीआईपीको छानोको काम पनि सकियो भने त अझै सजिलो हुन्थ्यो । मैदानको काम भइरहेको छ ।

अब विश्वकप छनोट अन्तर्गत कुवेत र नेपालको हुने पक्का भएको छ ।

विश्वकप छनोटको खेल नेपालमा हुन्छ त भन्नुभयो, अवधि छोटो छ, अझै मैदान लथालिङग र अव्यवस्थित जस्तो देखिन्छ ?

रंगशालाको भित्र बाहिर रंग लगाइ सकिएको छ । त्यसपछि ट्रयाकको काम पनि भइसकेको अवस्था छ । तपाईंले जुन किसिमको कुरा गर्नु भएको छ । त्यो एकै दिन ९–१० ट्रक ल्याएर सामान उठायो भने काम सकिइ हाल्छ ।

त्यसले गर्दा खेल फुटबलमा धेरै सिंगार्ने कुराहरु हुँदैन । यो दक्षिण एसियाली खेलकुदमा अलिकता श्रृगार्नु पर्ने हुन्छ । तर, फुटबलमा विश्वकप छनोटको एक खेल हुने हो । त्यसमा व्यानरहरु चाहिन्छ । त्यो तयार भइसकेको छ ।

हामीलाई चाहिँने चेन्जिङ रुम, रेफ्रि रुम, प्रि म्याच र पोष्ट म्याच गर्ने रुम हो । त्यो रुमहरु सबै तयार भइसक्या छ । पहिलेको भन्दा अहिले त आकाश जमिनको फरक भइसकेको छ ।

नेपाली फुटबलको ‘क्यालेन्डर’ एकदमै व्यस्त छ । पछिल्लो समय आएको नतिजालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

हामीले बुझ्नु पर्ने कुरा के छ भने, हामी विश्वकप छनोटको दोस्रो चरणका खेलहरु खेल्दै छौं । यसअघि हामी पहिलो चरणमात्रै खेल्थ्यौं । यसपालि हामी दोस्रो चरण खेल्दैछौं । दोस्रो चरणमा पनि होम एण्ड अवे अन्तर्गत अवे खेलहरु खेलिसकेका छौं ।

हाम्रो समूहमा हामी भन्दा फिफा बरियतामा बलियो टिमसँग हामी खेल्दै छौं । विश्वकप खेलेको देश कुवेत भयो जोर्डन फिफा बरियतामा बलियो छ । चाइनिज ताइपेइ १ सय २४,२५ वरियतामा छ अनि अस्ट्रेलिया ४० देखि ४४ को बरियतामा छ ।

फुटबलमा धेरै बर्षदेखि लिग नभएको । लिग नहुँदा खेलाडीहरुको उत्पादनै बन्देज जस्तै हुन्छ । यो बीचमा पनि ३०,४० जना खेलाडी पलायन भएको मैले देखेको छु ।

फुटबलको माहौल सँगसँगै दोस्रो चरणको छनोटको तयारी र आर्थिक रुपमा पनि कमजोर भएको अवस्थामा फुटबल खेल्दै छौं र केटाहरु र नयाँ प्रशिक्षकले जुन किसिमले मेहनत गरेको छ । त्यो भनेको धेरै सकारात्मक नतिजा हो । किन भने हामीले हामी भन्दा माथिका टोलीसँग खेलिरहेका छौं ।

कुवेतसँग बाहेक हामीले खेलेका अन्य खेलमा हामी सन्तुष्ट छौं । अब हामीले विगतमा खेलेको चार खेल भन्दा पनि घरेलु मैदानमा हुने खेलमा हामी अत्यधिक सुधार गर्ने लक्ष्यमा छौं । यसका लागि खेलाडीहरु, प्रशिक्षक र व्यवस्थापनबाट लागिरकेका छौं । जसबाट हामीले धेरै सुधार गर्न सक्छौं ।

नेपाली टोलीको प्रदर्शनमा एकरुपता छैन् । कुवेतसँग पनि पहिले १ र पछि ७ गोल खायो । बाहिर सार्वजनिक नभएको म्याच फिक्सिङको समस्या पनि छँदैछ । यो कसरी हल हुन्छ ?

यसमा धेरैले धेरै कोणबाट टिप्पणी गरिरहेका छन् । अरुको टिप्पणीप्रति हामी जिम्मेवार पनि हुनु पर्छ । तपाईले उठाएको म्याच फिक्सिङको कुरा त्यस्तो चाहिँ देखिएको छैन । त्यो फिफाको खेल भएकाले फिफाको बढी सहभागीता रहन्छ । एएफसीका एजेन्सीहरुको संलग्नता हून्छ । त्यसैले त्यस्तो कुरा केही पनि देखिएको छैन् ।

तर, मौसम, मैदान जस्ता कारणहरुले गर्दा विग्रियो भन्ने कुरा उठिरहेका छन् ।

त्यस्ता प्राविधिक कुराहरुमा प्राविधिक टोलीसँग रिर्पोट मागिरहेका छौं । यो खेल सकिइसकेपछि उहाँहरुले रिर्पोट बुझाउनु हुन्छ । त्यहाँ के भयो त्यो व्यवस्थापनका पक्षबाट हो कि खेलाडीको पक्षबाट विग्रिएको हो । त्यो सुधाछौं । सुधार पनि हुँदैछ ।

किनभने ताइवानसँग त हामीले २–० ले लिड गर्यो । त्यसरी खेल भनेको हार जित त हुन्छ तर अलिकति बढी गोल हार्यो कि भन्ने हो । किनभन्दा खेरी कुवेतसँग एक खेल ड्र भएको एक खेल १–० भएको र तेस्रो खेलमा ७–० गोलले डाउन भएको हुँदा मान्छेमा आशंका छ । तर, त्यो आशंका मात्रै गरेर भएन । यथार्थमा हुनु पर्यो तर, त्यो यथार्थ हामीले देखेका छौनौं ।

विश्वकपमा गोलको मार्जिन त धेरै छ नि । विश्वकप फाइनलमै ७–० को गोल मार्जिन त छ । त्यो भन्दा अगाडिको विश्वकप छनोटमा हामीले १४ गोल खाको छ १५ गोल खाको छ । यसअघि जोर्डनसँग ९ गोल खाएको छ । गोल मार्जिन भन्दा पनि खेलाडीको प्रदर्शनलाई कसरी ‘एकरुपता’ ल्याउने भन्नेमा हामी लागिरहेका छौं ।

त्यसको सुधारका लागि योजना बनाएका छौं । अहिले नयाँ टेक्निकल डाइरेक्टर नियुक्त गरिएको छ । उहाँलाई पनि हामी त्यो कुरा भन्छौं । किन प्रदर्शन एकरुपता आउन सकेन भन्ने कुरामा त्यसको विषयमा अनुसन्धान गर्ने तयारीमा छौं ।

विगतमा तपाईंहरु आफैं विधिको शासन, थिति, पार्दशिता गर्ने भन्दै लाग्नुभयो तर, तपाईंहरु नै कार्यकारी भूमिकामा आएपछि प्रारम्भिक छनौटमै नभएका खेलडाीलाई टीममा तान्नु भयो । भनाई र गराई फरक भएन ?

तपाईले एउटा कुरा छुटाउनु भयो । पार्दशितासँगै विकेन्द्रीकरण पनि छ । हामीले जसलाई टिम जिम्मा लगाएको हुन्छ । त्यो प्रशिक्षकले खेलाडी छनोटदेखि सबै काम गर्छ ।

पदाधिकारीले टिम छान्ने त होइन । प्रशिक्षकले पनि टीम रिक्स लिएर हामीले छानेको भनेर विज्ञप्ति नै जारी गरी भनिसकेको छ । फेरि पदाधिकारीको छोरा छोरीले चाहिँ फुटबल खेल्नै नपाउने भन्ने पनि छैन् ।

त्यो भन्दा पनि प्रक्रिया मिचियो भन्ने चाँही धेरैको टिप्पणी छ ।

अब यसमा कतिपय कुरा चाहिँ प्रशिक्षकले रिस्क लिन सक्छ । अहिले फुटसलमा पनि प्रशिक्षकले रिस्क लिएको कुराहरु छ । त्यसैले यसको जवाफदेखि पनि प्रशिक्षक नै हुनु पर्छ । मलाई जहाँसम्म हामीले खेलाडी छनोटमा यो–यो राख भन्ने यस्तो किसिमको दबाब महिला टिममा पनि छैन् र कहि पनि छैन ।

तर, प्रशिक्षकले नै त्यस्तो विषयमा निर्णय गर्नु पर्ने हुन्छ । गलत भएछ भने प्रशिक्षक नै जिम्मेवार हुनु पर्छ । त्यसैले पदाधिकारीको छोरो पर्यो भन्ने विषयमा चाहीँ धरै कुराहरु उठिरहेको छ । त्यसको विषयमा प्रशिक्षकहरुले होइन नियम अनुसार नै भइरहेको छ भन्छन् ।

यसमा प्रश्न उठेको छ प्रशिक्षक नै जिम्मेवार हुनु पर्छ । यो प्रशिक्षकले गलत गरेको त्यस्तो प्रमाण फेला पर्यो भने हामी छोड्ने कुरा आउँदैन नि ।

तपाईंहरुले ‘चेन्ज एन्फा’ भन्ने नारासहित डेढ बर्ष काम गरिसक्नुभयो के के परिवर्तन भए ?

हामीसँग ८० बुँदा छन् । ती अहिले बुँदागत रुपमा भन्न सम्भव पनि नहोला । तर, ‘चेन्ज एन्फा’ एक निरन्तर प्रक्रिया हो । यसमा ४ बर्ष लाग्ने घर एक बर्षमा बनाउन सकिँदैन् । २ बर्ष लाग्ने घर एक महिनामा त सकिँदैन । त्यसैले चेन्ज एन्फा निरन्तर प्रक्रिया हो ।

यसमा काम भएको छ कि छैन भन्ने मुल्याङकन तपाईंहरु नै गर्नुहोस् ।

हाम्रो टीमले यत्ति काम गर्‍यो भन्ने तथ्यांक त तपाईंसँग छ होला ?

लामो समयदेखि हुन नसकेको लिग संचालन गर्‍यौ । ए डिभिजन, बी र सी डिभिजन गरी सबै लिग संचालन गर्‍यौं । अर्को लिग पनि गर्दैछौं । लिग सबैभन्दा ठूलो कुरा हो । त्यसपछि हामीले ९,१० बर्षदेखि बन्द भएको एन्फा एकेडेमी संचालनमा ल्यायौं । त्यसपछि महिला ट्रेनिङ सेन्टर तयार गरिसकेका छौं ।

महिला लिगलाई व्यवस्थित गरिसकेका छौं । साफमा उपविजेता भयो । त्यसलाई उपलब्धी भन्ने कि नभन्ने ।

महिला यू १९ मा एएफसीको दोस्रो चरणको छनोट भएको छ । त्यसलाई उपलब्धी भन्ने कि नभन्ने । महिलाको राष्ट्रिय टोली ओलम्पिकमा छनोट भयो, फिफा वरियतामा महिला टोलीको सुधार भएको छ ।

अहिले ४५ बर्षदेखि संचालन नभएको स्कुल प्रतियोगिता संचलानमा आएको छ । ग्रासरुटको कार्यक्रम सबै जिल्लामा संचालन आएको छ त्यसलाई उपलब्धी भन्ने की नभन्ने ।

हामीले हिजो उठाएका प्रशिक्षकको भत्ताहरु, अहिले प्रशिक्षकहरु ५/६ हजार खाने भएका छन् । कोही २५–२६ हजार खाने भएका छन् । प्रशिक्षक बाच्ने आधार बनाएका छौं । रेफ्रिहरु वृती विकासका लागि कार्यक्रम बनाएका छौं ।

प्रशिक्षकको एएफसीको ए लाइसेन्स कोर्ष, बी लाइसेन्सको कोर्ष पुरा भएको छ । ५ वटा प्रदेशमा शुरु भएको छ । बी लाइसेन्सको हामीले ७ वटै प्रदेशमा शुरु गरेका छौं ।

अन्तर्राष्ट्रिय सहभागीतामा हामीले विश्वकप छनोट हेर्नुस् त्यसका लागि तयारी हामीले गरिरहेका छौं । सागका लागि तयारी गरिरहेका छौं । त्यो पनि एउटा उपलब्धी हो । सबैभन्दा ठूलो कुरा के छ भने कुनै पनि संस्थाको उदेश्यमा पुग्नका लागि संस्थाको रोड म्याप स्पष्ट हुनु पर्छ । त्यो हामीसँग स्पष्ट छ । संस्था पार्दशिता हुनुपर्छ । संस्थाको पार्दशिता भनेको के ? विधि र विधान अनुसार चल्नु पर्छ । त्यो हामीले बनाएका छौं ।

आर्थिक नियमावली बनाएका छौं । आर्थिक कार्यविधि हामीले जारी गरेका छौं । पेश्की उठाउनका लागि पेश्की फ्स्र्योट समिति बनाएका छौं । जबरजस्ती भन्दा पनि उहाँहरुलाई फकाएर काम गरिरहेका छौं ।

अब जिल्लामा क्लबहरु नाममात्रैको क्लब नरहने भइसकेको छ । जिल्ला २ वटा डिभिजनको खेल शुरु गर्ने थालिसकेको छ । जिल्लामा लिग डिभिजन र नकआउट डिभिजन भनेर दुई पद्धतिबाट लिग शुरु भइसकेको छ।

कतिपय प्रदेशमा प्रदेश लिग शुरु भएको छ । अब हामीले प्रदेश लिगबाट छानिएका टिलाई चाहिँने, लिग क्वालिफाइङ खेल खेलाएर ४ टिम सहिद स्मारक बाट छान्ने र नेशनल लिगको क्यालेन्डर पनि तयार गरिसकेको छ ।

पहिलो पटक महिला लिग काठमाडौं बाहिर गर्दौ छौं । हामीले पार्दशिताको क्षेत्रमा धेरै काम गरेका छौं । विगतमा भएको कमीकमजोरीबाट अगाडि बढीसकेका छौं । मार्केटिङ राइटमा हामी धेरै पछाडि परेका थियौं । अबअगाडि बढीसकेका छौं ।

लिगको स्पोन्सर नयाँ गर्दैछौं । टिभि राइटको कुरा गर्दै छौं । सबैभन्दा ठूलो उपलब्धी भनेको मोफसलको प्रतियोगिताहरु नियमन गर्दै छौं । त्यहिँ अनुसार अब कार्यक्रम स्वीकृत गरेर बार्षिक मोफसलको कार्यक्रम नियमन गर्ने काम शुरु गर्दै छौं ।

युवा विकासको कुरामा नयाँ टेक्निकल डाइरेक्टर आएपछि छलफल गछौं । मुख्य समस्या भनेको आर्थिक स्रोत जुटाउने हो । हामीलाई सरकारले खासै चाँसो देखाएको छैन् । अरु देशमा लिग सरकारको अनुदानमा चल्छ । तर, सरकारको लगानी अलिकति कम भएको छ । हामीसँग रंगशाला नभएका कारण अहिलेसम्म अन्तर्राष्ट्रिय खेलको आयोजनागर्न सकेका छैनौं ।

भर्खर पाउँदैछौं । अब आउने दिनहरुमा पोखरामा पनि रंगशाला बन्दै छ । त्यहाँ पनि हामीले काम गर्दै छौं । १० वटा ट्रेनिङ सेन्टरहरु जिल्लामा बनाउँदै छौं । रौतहतको कार्यक्रम सम्पन्न भएपछि पोखरामा मल्टी प्रपोज ट्रेनिङ सेन्टर बनाउँदै छौं ।

किनकी हामीले खेलाडीलाई होस्टलमा राख्दा राख्दा हैरान भएर हामीले अन्तर्राष्ट्रिय स्तरको ट्रेनिङ सेन्टर पनि हामी बनाउँदै छौं ।
त्यस्तै, नेपाली फुटबल टोलीको जर्सिमा पनि परिवर्तन गरेका छौं । लोगो, खेलाडी दर्ता, प्रशिक्षक दर्ता र रेफ्रि दर्ता अनलाइन मार्फत गरिएको छ । यो पनि नयाँ कुरा हो ।

जुन हामीले उठाएको कुराहरु छ त्यो समय आएपछि पुरा हुन्छ । यदि त्यहाँ पुर्‍याउनका लागि हामी हिड्दै छौं ।

अघिल्लो बर्ष लिग भयो । यो बर्ष पनि साग पछि हुने मिति घोषणा गरिएको छ । तर, लिगले खेलाडी उत्पादनमा खासै भूमिका खेलेको छैन भनिन्छ, तपाईंहरुले कसरी लिनुभएको छ?

उत्पादन नै भएन भन्न मिल्दैन। खेलाडी उत्पादनकै लागि क्लबहरुले अभ्यास शुरु गरिसकेका छन् । मछिन्द्र, पुलिस क्लबले अभ्यास शुरु गरिसकेको छ । अन्य क्लबका अध्यक्षहरु अभ्यास स्थल भएन ठाउँ खोजि दिनु पर्यो भनिरहनु भएको छ ।

खेलाडी दर्ता भइसकेका छन् । खेलाडी अनुवन्धित हुने प्रक्रिया शुरु भइसकेको छ । विदेशी खेलाडीको दर्ता नियमावली मन्त्रालयबाट स्वीकृत हुँदैछ । २८ गतेभन्दा एक दिन पनि पछि जाँदैन । अघिल्लो बर्ष पनि लिग हुन्छ कि हुन्न भन्ने थियो होइन ? तर, गरेर देखाइदिदए ।

केही दिनभित्र लिगको मेन स्पोन्सरसँग सम्झौता गर्दै छौं । टाइसिट निकाल्छौं । सबै समय अनुसार गर्नु पर्यो । हाम्रो मुख्य उदेश्यभ भनेको प्रतियोगितामा लिगलाई स्थायीत्व दिने हो । किनकी जबसम्म हामी व्यवसायीक हुँदैनौं ।

अहिलेसम्म अर्ध व्यवसायिक भन्छौं । पूर्ण व्यवसायिकता जब सम्म हुँदैन तबसम्म फुटबलको विकास हुँदैन । तपाईले हेर्नुस् धेरै व्यवसायिक भएको् देशले मात्रै फुटबलमा नतिजा ल्याएको छ । राष्ट्रय टिममा मात्रै खेलेर पेट भरिँदैन । खेलाडीले टन्न खेल खेल्न पाएपो पैसा टन्न आउँछ ।

तपाईहरुले चौधरी ग्रुपसँग फ्रेन्चाईजि लिग आयोजना गर्ने भनेर सम्झौता गर्नु भएको थियो । त्यसको योजना कहाँ पुग्यो ?

फ्रेन्चाईज लिगको समस्या दशरथ रंगशाला तयार नहुँदा ढिला भएको हो । रंगशाला तयार भएपछि फ्रेन्चाईजि लिग पनि भइहाल्छ । हामीलाई के गाह्रो भयो र उहाँहरुले पैसा खर्च गर्ने हो । हामीले व्यवस्थापन गरिदिने हो । झन त्यो त हुनै पर्यो नि हुनु परेन । पैसा खोजेर गर्नु पर्ने त गरिरहेका छौं हामी ।

एएफसीले नेपाल जस्तो देशमा १० लाख डलर जरिवाना लगाएको छ । यसमा जिम्मेवार चाँही को हो ?

यसको विषयमा हामी पत्रकार सम्मेलन गर्दै छौं । यो क्लब लाइसेन्सिङ भनेको बुझेका छैनन् धेरैले । यसको विषयमा हामी डिटेलमा पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौं ।

ग्रासरुट फुटबलको विकास गर्ने भनेर कार्यक्रम त शुरु भए तर, हप्ताको एक दिन अभ्यास गरेर ग्रासरुटको विकास हुन्छ त ?

ग्रासरुट भनेकै हप्ताको एक दिन अभ्यास हुने हो । ग्रासरुट र युथ डेभलपमेन्ट भनेको फरक हो । यो ‘अवायनेस’, मोटिभेस्नल’ प्रोग्राम हो । र फुटबलमा नशा लगाउने कार्यक्रम हो ।

नशा कसलाई लगाउने भन्दा बच्चाहरुलाई लगाउने, अभिभावकहरुलाई लगाउने । दबाबमा खेलाइयो भने त पछि भाग्छन् नि त ।

यो बर्षदेखि ग्रासरुट लिग गर्दैछौ। ग्रासरुटमा राम्रो गरेको खेलाडी रेगुलर अभ्यास हुने ठाउँमा जान्छ । उनीहरुको पनि हप्तामा २–३ दिन अभ्यास गर्ने हो । यो खेलाडीलाई फुटबलसँग नजिक मात्रै गराउने हो ।

विश्वकप छनोट अन्तर्गतका ‘होम म्याच’बाट के आशा गर्नु भएको छ ?

पहिलोको भन्दा राम्रो हुने आशा छ । खेल हो कहिले लक ले पनि साथ दिँदैन् । महिला साफ गेममा हामीले गोल गर्न प्रहार गरेको बल नछिर्ने तर, विपक्षीले टाढाटाढाँबाट प्रहार गरेका बल पनि गोल भए । त्यस्तै कहिले लकले पनि साथ दिँदैन् । खेलाडीले शत प्रतिशत दिएर खेल्छन् र रिजल्टको यति चाहिँ ग्यारेन्ट दिन्छु कि कुवेतमा भएको भन्दा फरक हुन्छ ।

तपाईहरुले राष्ट्रिय टोलीमा विदेशी प्रशिक्षक ल्याउनु भयो । प्रशिक्षकलाई के ‘गोल सेट’ गरिदिनु भएको थियो ?

हामीले त्यस्तो कुनै ‘टार्गेट’ दिएका छैनौं । टार्गेट चाहिँ फिफा वरियताको सुधार, राष्ट्रिय टोलीको खेलमा सुधार, राष्ट्रिय टोलीको योजनाको कुरा, ‘लङटर्म प्लान’ को हामीले गराएका छौं ।

उहाँसँग २ बर्षको सम्झौता गरेका छौं । २ बर्षपछि फेरि उहाँले राम्रो अवसर पाउनु भए जान पनि सक्नुहुन्छ । सम्झौता अलिकति खुकुलो पनि हुनु पर्छ । प्रशिक्षकहरु राम्रो अवसर पाए छोडिहाल्छन् । अहिले उहाँले राम्रो गरिरहनु भएको छ ।

हामीसँग खेलाडी अभाव छ। अझै ३–४ बर्ष लिग नभएसम्म खेलाडी अभाव सकिँदैन । खेलाडीको सब्स्टीच्युसन नै छैन । खेलाडी सब्स्टिच्युसन भए पो सबै खेलाडी तयार भएर बस्थे । छनोटमै लिमिट खेलाडी हुँदा आएको रिजल्ट राम्रो छ ।

भर्खर

0