त्रिशुलीमा बस खस्दा भाग्यले बाँचेका ड्राइभरको दशैं अनुभव

बिहानै टीका लगायो, बसको स्टेरिङ समाउनै हतार

सविना कार्की

शनिबार, असोज १८, २०७६

Reading Time: 7 minutes

त्रिशुलीमा बस खस्दा भाग्यले बाँचेका ड्राइभरको दशैं अनुभव

काठमाडौं-चारैतिर दशैंको चहलपहल देखिन थालेको छ । अझ नयाँ बसपार्क भित्रको माहोल त छुट्टै छ ।

मानिसहरु कर्मथलो छाडेर जन्मथलो पुग्नका लागि टिकट लिन लस्कारै उभिएका थिए । घर जाने खुसीयालीले होला धेरैको मुहारमा खुसी छाएको देखिन्थ्यो ।
नयाँबसपार्ककै एक छेउ जहाँ डिलक्स बसहरु पार्किङ गरी राखिएका थिए । थाकेको शरीर ।

अनुहार पनि उस्तै थकित देखिन्थ्यो । सेतो टिसर्ट कालो पाइन्ट लगाएर पार्किङ गरिएको डिलक्सको एउटा बसभित्र सिटमा पल्टिरहेका थिए रौतहटका राजु श्रेष्ठ ।

नवमी वा दशमीका दिनसम्म पनि यात्रुलाई ओसारपसार गरिरहने ड्राइभरहरु कहिले पुग्छन् त घर ? उनीहरुले कसरी मनाउछन् त दशैं भन्ने बारे कुरा गर्ने सोचले हामी कोशी पशुपति डिलक्सका चालक राजुकहा पुग्यौं ।

‘यो बसको गुरु जी कता हुनुहुन्छ ?’ हामीले सोध्यौं ।

उनी मस्त निन्द्रामै थिए । तर पनि आवाज सुनेपछि उनले जवाफ दिए ‘म नै हुँ। किन होला।’

निन्द्रा टुटाइएकोमा माफी माग्यौं र बुझ्न खोजेका कुरा उनीसामु राखौं ।

‘रातभरी बसको स्टेरिङ घुमाउँदा दुखेको ज्यानलाई आराम चाहिइयो रे त्यसैले सुतेको’ मुसुक्क हाँस्दै उनले भने, ‘धेरै सुत्न त पाइदैन ११ बजिहाल्यो’ उनले थपे, ‘२ बजेबाट फेरि बस चलाउनुपर्छ।’

३ घण्टा सुत्नका लागि समय निकालेका राजुले दशैं मनाउने समय नै नभएको गुनासो गरे । ‘हामीलाई त दशैं आएकै छैन नि’ राजुले भने, ‘अहिल्यै हामीलाई दशैं लाग्यो भने सर्वसाधरणलाई घरघरमा कसले पुर्‍याउने ?’

यतिबेला राजु मात्र होइनन् राजु जस्ता धेरै बस चालकहरुलाई दशैंले छोएको छैन । उनकाअनुसार सवारी चालकलाई नवमीको दिन दशैं आउँछ र दशमीका दिन सकिन्छ ।

‘हामी बस चलाउने मान्छेले दशैं खुसी र आनन्दले मनाएर बस्न कहाँ पाउँछौं र’ उनले भने ‘नवमीका दिन घर पुग्यो, दशमीका दिन टीका लगाएर फर्कि हाल्यो फेरि प्यासिन्जरलाई ओसारपसार गर्नु परेन र।’

राजुको घर रौतहटमा छ । श्रीमती एक छोरी र एक छोरा गाउँमै छन् । राजु भने छोराछोरीलाई पढाउने र केही बनाउने लक्ष्यका साथ ड्राइभिङ गरिरहेका छन् विगत २७ वर्षदेखि ।

राजुको बाल्यकाल

रौतहट जिल्लाको बाग्मती नगरपालिकास्थित एक विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरे राजुले । उनको परिवारको आर्थिक अवस्था कमजोर थियो । त्यहीसमय उनका बुबाको मृत्यु भयो ।

परिवारका जेठा सन्तान उनी । उनलाई पढेरभन्दा पनि केही काम गरेर पैसा कमाउने र आमालाई ल्याएर दिने सोच बन्यो । ‘त्यो बेला परिवारको अवस्था नाजुक थियो’ त्यी दिनहरु सम्झँदै राजुले भने ‘खाना लगाउन नै दुःख हुन्थ्यो, त्यो दुःख देख्न नसकेर उनले घर छाडेर हिड्ने सोच बनाए ।

यसरी शुरु भयो ड्राइभर जिन्दगी

गाउँघरमा काम गर्दा खाना त पुग्थ्यो आम्दानी भने हुँदैन थियो । त्यसकारण उनी राजधानीमा जाने र केही गर्ने सोच्थे पटकपटक । त्यो बिचमा उनको दिमाग आइहन्थ्यो गाडी चलाउने कुरा ।

गाडी चलाउने सोचले उनी रौटतहटबाट काठमाडौं आइपुगे । ‘गाउँको दाइले मेकानिकल काम गर्नुहुन्थ्यो’ राजुले खबरहबसँग कुरा गर्दै भने ‘मैले पनि २ वर्षसम्म त्यही दाइसँगै काम सिकेँ।’

वि.स. २०४८ सालमा उनले सवारी साधन अनुमति पत्र लिए । त्यसपश्चात उनले राजधानीकै एक संस्थामा सवारी चालकका रुपमा काम शुरु गरे ।

प्रोजेक्टको काम सधै बाहिर मात्र पथ्र्यो । राजु विस्तारै ख्यातीप्राप्त बन्दै गए । एउटै प्रोजेक्टमा १० वर्षसम्म गाडी चलाए उनले ।

प्रोजेक्टको सानो बस चलाउँदा चलाउँदै उनलाई ठूलो बस चलाउने इच्छा लाग्यो ।

चालकका रुपमा काठमाडौं-काकडभित्ता

कुरा हो वि.स. २०५९ सालतिरको । उनी पहिलोपटक डिलक्स बसमा चालकका रुपमा गाडी चलाउन पुगेका थिए । सानो बस चलाउँदा देशका विभिन्न स्थानमा पुगेपनि ठूला बस भने चलाएका थिएनन् । उनको पहिलो अनुभव पनि थियो ।

आजभन्दा १७ वर्षअघि उनले डिलक्स बस चलाउन थालेका थिए । ‘गाडी चलाउन शुरु गरेको पहिलो रात मैले काठमाडौं–काकडभिट्टा रुटको डिलक्स चलाएको थिएँ’ उनले विगतलाई सम्झँदै भने ‘त्यसअघि सानो गाडी चलाएको भएपनि डिलक्स चलाउँदा मलाई केही फरक लागेन’।

त्यो बेला अहिलेजस्तो समस्या थिएन । बाटो साँघुरो गाडीको संख्या थोरै थियो राजुले विगतलाई स्मरण गर्दै भने ।

३ दिनसम्म मुग्लिनमै बस अड्किदा

वर्खा लाग्यो कि बाढी पहिरो । नारायणघाट मुग्लिन सडक कतिखेर पहिरो जान्छ थाहै हुँदैन । त्यो समस्या विगतमा मात्र होइन आजपनि उस्तै छ ।

गाडीभरी यात्रुलाई लिएर हिडेपछि काठमाडौंबाट बस छुटेपछि नारायणघाट नकटुन्जेलसम्म छात्ती पोल्ने बताउँदै राजु भन्छन्, ‘काकडभित्ताबाट बस छुटेपछि मुग्लिन पार नगरुन्जेलसम्म डर हुन्थ्यो।’

भनाइ नै छ–‘जब आफुलाई पर्छ त्यसपछि मात्र थाहा हुन्छ।’ राजुको ड्राइभिङ यात्रामा पनि त्यस्तै भयो । प्रशस्त यात्रुलाई लिएर काठमाडौंबाट काकडभिट्टाका लागि छुटेको राजुको गाडी नारायणघाट मुग्लिन सडकखण्डमा ३ दिनसम्म अड्कियो ।

मुसलधरे पानी परेको थियो । ‘त्यो बेला मेरो मात्र होइन धेरै बसहरु अलपत्र परेका थिए’ उनले भने ‘ अगाडी बढ्न नि नसक्ने पछाडी फर्कन नि नसक्ने गरी ठ्याक्कै बीचमा पुगेपछि पहिरो गई गयो’। पहिरो गएपछि सडक अवरुद्ध भए । बस्नका लागि राम्रा होटल थिएनन् । सडक अवरुद्ध भएसँगै गाडीको जाम पनि उस्तै थियो ।

ज्यान नै जोखीममा राखेर पनि हजारौं यात्रुलाई गन्तव्यमा पुर्‍याउथे राजुले ।

त्रिशुलीमा बस खस्दा भाग्यले बचायो

कुरा हो आजभन्दा १४ वर्षअघिको । उनी विराटनगरबाट २७ जना यात्रु बोकेर उनी काठमाडौं आइरहेका थिए ।

यात्राका क्रममा बस त्रिशुलीमा १ सय ५० फिट तल झरेको थियो । उनको मानसपटलमा त्यो दुखद दिन अझै पनि ताजै छ ।

‘दुर्घटनामा ५ जनाको मृत्यु नै भएको थियो’ उनले खबरहबसँगको कुराकानीमा भने ‘२२ जना घाइते भए, म आफैं पनि घाइते भएको थिएँ।’

उनका अनुसार त्यो दुर्घटनामा राजुको एउटा खुट्टा र दाँत समेत भाँचिएको थियो । उनको स्वास्थ्य अवस्थामा सुधार आउन ६ महिना लाग्यो । त्यति ठुलो दुर्घटनामा पर्दा भाग्यले आफु बाचेकोमा गर्व गर्छन् उनी ।

भन्छन्, ‘कहिलेकाही दुर्घटना हुन्छ तर बाचेँ मैले यही काम गर्नुपर्छ भनेर पुनः यही पेशामा फर्किए।’

दशैंमा पनि गाडी चलाउँछन् राजु

गाउँघरमा दशैं आउनु एक महिनाअघि देखि नै चहलपहल शुरु हुन्छ । अझ बालबालिकाले लागि राम्रो लगाउने र मिठो खाने चाडका रुपमा दशैंलाई लिन्छन् ।

राजु पनि यतिबेला घरको याद आइरहेको बताउँछन् । ‘५ वर्षको छोरा छ घरमा’ निराश हुँदै राजु भन्छन्, ‘बुबा कहिले आउनुहुन्छ मलाई नया लुगा कहिले ल्याइदिनुहुन्छ भनेर फोन गरिरहन्छ।’

त्यसो त राजुले हरेक वर्ष परिवारलाई सपिङ समेत आफैंले गर्ने गरेका छन् । त्यसकारण पनि उनका परिवार उनको बाटो हेरेर बस्ने गरेको उनले बताए ।

‘विगतका वर्षहरुमा पनि उनी अष्टमीको दिनसम्म बस चलाउथे राजु । यसपाली पनि अष्टमीका दिन घर जान्छु टीकाका दिन फर्किहाल्छु उनी भन्छन्, ‘आमा बित्नुभएको ८ महिना भयो दशैं मनाइदैन यसपाली त।’

साइतमा टीका लगाउदैनन् राजु

हरेक वर्ष विजयादशमीका दिन लगाइने टीकाको धेरैले साइतमा लगाउछन् । वर्षमा एक दिन विजयादशमी पर्ने हुँदा पनि यसको महत्व छुट्टै छ । तर, धेरैले यो दिन पनि टीका लगाउन भ्याउँदैनन् ।

धेरैले बिहानै उठेर मान्यजनको हातबाट टीका लगाएर कर्मथलोतिर लाग्छन् । त्यी युवामध्ये राजुपनि एक हुन् । विजयादशमीका दिन साइतमा कहिल्यै टीका लगाएनन् ।

‘धेरैले यो दिन साइतमै टीका लगाउँछन्’ राजु भन्छन्, ‘नेवार समुदायमा साइतमै टीका लगाउनुपर्छ भन्ने मान्यता छैन।’

‘बिहानै मान्यजनबाट टीका र आर्शिवाद थापेर बस लिन विराटनगर पुग्छु’ उनले भने ‘टीका कै दिनबाट मानिसहरु फेरि कामका लागि गन्तव्यमा फर्कन थाल्छन्।’

भर्खर

0