विश्वकप छनोट : नेपालको पहिलो परीक्षा आज, विश्वकप खेलेको कुवेतविरुद्ध सुखद् नतिजाको अपेक्षा | Khabarhub Khabarhub

विश्वकप छनोट : नेपालको पहिलो परीक्षा आज, विश्वकप खेलेको कुवेतविरुद्ध सुखद् नतिजाको अपेक्षा



काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ क्वालिफायरको पहिलो खेल नेपालले बिहीबार (आज) विपक्षी टोली कुवेतसँग खेल्दैछ ।

नेपाली टोलीले बिहीबार स्थानीय समय अनुसार १० बजेर ४५ मिनेटमा कुवेतविरुद्ध उसैको घरेलु मैदान जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा प्रतिस्पर्धा गर्दैछ ।

आइतबार कुवेत पुगेको नेपाली टोलीका लागि विश्वकप छनोटको शुरुवात बलियो टोलीसँग खेल्दै हुनेछ । फिफा बरियतामा कुवेत नेपालभन्दा १० स्थान माथि छ । तर, पनि नेपाली टोलीले कुवेतसँग ‘टफ’ खेल्ने नेपाली टोलीका कप्तान विराज महर्जन बताउँछन् ।

नियमित कप्तान महर्जन टोलीमा नहुँदा उपकप्तान किरण चेमजोङले विश्वकप छनोटमा टोलीको नेतृत्व गर्नेछन् । कप्तान महर्जनले नेपाली खेलाडीले गएको मार्चमा राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै विश्वकप छनोटमा राम्रो खेल्ने बताएका छन् ।

‘कुवेत नेपालभन्दा बलियो टोली पक्कै हो । यसका खेलाडी हाम्रो भन्दा राम्रो अनुभवी छन् । तर, मार्चमा भएको मैत्रिपूर्ण खेलमा नेपाली टोलीले कुवेतविरुद्ध राम्रो खेलेको थियो । त्यस्तै खेल खेल्न सके नेपाल कुवेतविरुद्ध हावी हुन सक्छ,’ महर्जनले भने,‘पछिल्लो खेलहरुमा राम्रो प्रदर्शन गरेका खेलाडी नै अहिले टोलीमा छन् । आशा छ खेलाडीहरुले विश्वकप छनोटमा राम्रो खेल्नेछन् ।’

महर्जनले नेपालले राम्रो गर्ने बताएपनि कुवेतविरुद्धको नेपालको विगत भने सम्झनालायक छैन । अहिलेसम्म नेपालले कुवेतसँग ६ खेल खेलेको छ । जसमा नेपाल ५ खेलमा नेपाल पराजित हुँदा एक खेल बराबरी खेलेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध राम्रो खेल्ने प्रयास गर्ने बताएका छन् । ‘हामी सम्भव भएसम्म राम्रो खेल्ने प्रयास गर्ने छौं । हामीसँग यो भन्दा राम्रो अरु कुनै उपाय छैन,’ कालिनले भने,‘हामीले आफुसँग भएका संरचनामा अभ्यास गर्यो र खेलाडीले राम्रो मेहनत गरेका छन् । हामीलाई थाहा छ कुवेत बलियो टोली हो ।’

अनुभवी खेलाडीको अभाव

विश्वकप छनोटमा नेपाली टोलीका लागि एक अर्को फ्याक्टर पनि कमजोर पार्न सक्छ । नेपालसँग अनुभवी खेलाडीको कमी छ । जसमा सबैभन्दा सिनियर खेलाडी गोलकिपर किरण चेमजोङ, मिडफिल्डर रोहित चन्द र सुजल श्रेष्ठ बाहेक अन्य खेलाडीले त्यतिधेरै अन्तर्राष्ट्रिय खेल खेल्न पाएका छैनन् । युवा खेलाडीको बाहुल्यता रहेको नेपालका लागि बिहीबारको खेलमा यही अनुभवले समस्या पार्न सक्ने सम्भावना पनि त्यतिकै छ ।

हरेक चार बर्षमा हुने विश्वकपको छनोटको दोस्रो चरणमा स्वत : पुगेको नेपालका लागि कुवेतविरुद्धको खेल विश्वकप छनोटको पहिलो परीक्षा पनि हो । त्यस्तै, कुवेतसँगकै विगत सुधार्ने अवसर पनि बिहीबार कै खेल हो ।

तर, नेपाली टोलीलाई उसैको घरमा पराजित गर्न भने त्यति सजिलो हुने छैन् । कप्तान महर्जन पनि यतिबेला नेपाली टोलीमा अनुभवी खेलाडी कम हुँदा केही असहजा भएपनि नयाँ खेलाडीहरुले आफ्नो शत प्रतिशत दिएर खेल्ने विश्वास व्यक्त गर्छन् ।

‘हाम्रो साइडमा अनुभवी खेलाडीको कम पक्कै छ । यस्तो खेलहरुमा अनुभवले पनि धेरै प्रभाव पार्दछ । तर, पनि हाम्रा खेलाडीहरुले राम्रो खेल्ने छन्,’ महर्जनले भने ।

मैदान पनि बन्न सक्छ बाधक

नेपाली राष्ट्रिय फुटबल टोलीले झण्डै २ महिना अखिल नेपाल फुटबल संघ (उन्फा) कम्प्लेक्सको मैदानमा अभ्यास गरेर कुवेत पुगेको छ । कुवेतसँग विश्वकप छनोट खेल्न गएको नेपाली टोलीलाई कुवेतको मैदान पनि बाधक बन्न सक्ने महर्जन बताउँछन् ।

नेपालमा झण्डै २ महिना आर्टिफिसियल मैदानमा अभ्यास गरेको नेपाली टोलीका लागि नेचुरल मैदानमा खेल्न निकै कठिन हुने आशंका कप्तान महर्जनको छ । आर्टिफिसियल मैदानमा अभ्यास गरेर नेचुरल मैदानमा खेल्दा बल खुट्टामा नबस्नेदेखि मैदानमा चिप्लिने सम्भावना रहने कप्तान महर्जन बताउँछन् ।

खबरहबले यसअघि कुरा गर्दा एन्फा प्रवक्ता किरण राईले नेपाली टोली विश्वकप छनोट खेल्न जानु अगाडि नेचुरल मैदानमा अभ्यास गरेर जाने बताए पनि अन्तत : त्यो हुन सकेन । कप्तान महर्जन भन्छन्,‘खेलको नतिजामा मैदान पनि कारण बन्न सक्छ । हाम्रो हकमा त्यो हुन सक्छ । तर, सम्यमताका अपनाउँदै खेल्नु पर्छ ।’

विश्वकप छनोटमा कुवेतविरुद्ध होला त दोस्रो गोल ?

सन् १९८२ को एसियन गेम्समा नेपाल र कुवेतबीच भेट भएको थियो । उक्त खेलमा नेपाली टोली कुवेतसँग ३–१ गोल अन्तरले पराजित भयो तर, नेपालका लागि कुवेतविरुद्धको उक्त खेल महत्वपूर्ण छ । त्यो खेलमा नेपालबाट वाइबी घलेले एक गोल फर्काएका थिए । घलेको उक्त गोल नै नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा कुवेतविरुद्ध गरेको एकमात्रै गोल हो ।

एसियन गेम्समा नेपाललाई ३–१ ले पराजित गरेको कुवेतले सन् १९८२ मै भएको विश्वकप फुटबल खेलेको थियो । पछिल्लो समय कमजोर बनेको कुवेतविरुद्ध बिहीबार हुने खेलमा नेपाली स्टाइकर जसले गोल गरेपनि त्यो गोल निकै महत्वपूर्ण हुनेछ ।
कुवेतविरुद्धका पछिल्ला भेटमा नेपालले १८ गोल खाँदा गोल गर्न भने सकेको छैन । तर, कप्तान महर्जन खेलमा गोल आवश्यक भएपनि गोल भइहाल्छ र हुँदैन भन्न सक्ने अवस्था नरहेको बताउँछन् ।

‘फुटबल टिम खेल हो । सबै खेलाडी मिलेर खेल्नु पर्छ । हामी नेपालीको एउटा नराम्रो बानी छ । हामी धैर्य गर्नै सक्दौनौं,’ महर्जनले भने,‘हामीले एकदम धैर्यताका साथ खेल्नु पर्छ । सबै टिम आफु जित्न चहान्छ । कहिले काहीँ राम्रो खेल्दा खेल्दै पनि कमजोर टिमसँग हारीरहेको हुन्छ । तर, सहि दिनमा सहि ‘क्लिक’ भइदीयो भने सहज हुन्छ ।’

टिममा युवा खेलाडी रहेकाले उनीहरुले राम्रो खेल्न सके कुवेतविरुद्ध गोल निस्किन सक्ने उनको भनाइ छ ।

आठौं पटक फिफा विश्वकप छनोट खेल्न लागेको नेपाल समूह बि मा रहेको छ । जहाँ कुवेतसहित अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइ छन् । कुवेतमा रहेको नेपाली टोली सेप्टेम्बर २४ भदौमा ताइपेइसँग खेल्नेछ ।

विश्वकप छनोटमा नेपालको कुल प्रदर्शन

जम्मा ३० खेल खेलेको
४ खेलमा जीत
२२ खेलमा पराजय
४ खेल बराबरीमा रोकिएको
३० खेलमा २२ गोल गरेको
र १०० गोल खाएको

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ७ : ०० बजे

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण