नेपाली फिल्मको दुःख– न राम्रो कथा, न गतिलो निर्देशन !

अर्घेलो थापा

सोमवार, साउन २०, २०७६

Reading Time: 5 minutes

नेपाली फिल्मको दुःख– न राम्रो कथा, न गतिलो निर्देशन !

काठमाडौं – गत वर्ष रिलिज भएको चलचित्र ‘कायरा’ बक्स अफिसमा नराम्रोसँग पछारियो । फिल्मले रिलिजअघि राम्रै चर्चा पाएको थियो । तर, दर्शकको मन बुझाउन सकेन यो फिल्मले । आर्यन सिग्देललाई हेर्न हलसम्म पुगेका दर्शकले आर्यनलाई उल्टो गाली गरे ।

गाली नगरुन् पनि कसरी ! आखिर आर्यनकै ‘कमब्याक’ फिल्म भएकै कारण त हलसम्म गएका थिए दर्शक । यो फिल्मको सबैभन्दा कमजोर पक्ष यसको कथा हुन पुग्यो ।

अहिले आर्यन भन्दैछन्, ‘म आफ्नो प्रोजेक्टका लागि एक वर्षदेखि कथाको खोजीमा छु, एउटा कथा अलिअलि चित्त बुझेको छ, यहाँ राम्रो स्किृप्ट नै पाउन गाह्रो छ ।’

उनको यो भनाइबाट पनि प्रष्ट हुन्छ, आर्यन अब सकभर दर्शकबाट गाली नखाने फिल्म बनाउन चाहन्छन् तर आफूले चाहेजस्तो फिल्म निर्माणका लागि स्किृप्ट पाइरहेका छैनन् उनले ।

केही वर्षअघिसम्म पनि विदेशी फिल्मबाट नेपाली फिल्म जस्ताको तस्तै उतार्ने प्रवृत्ति हाबी थियो । यसो गर्दा एउटा फाइदा के हुन्थ्यो भने स्किृप्ट लेखनमा सामान्य ज्ञान भएका लेखकले आफूले बुझ्ने भाषा (खासगरी हिन्दी) का सिनेमा जस्ताको तस्तै नेपाली भाषामा साभार गर्थे र आफू चर्चित लेखक हुँ भन्दै गर्व गर्थे ।

त्यसरी साभार गरेर निर्माण गरिएका फिल्मले वाहवाही पनि पाउँथे । किनकि, विदेशी फिल्मको पहुँचमा नपुगेका दर्शकलाई ती फिल्मको कथा नयाँ लाग्थ्यो ।

ती लेखकहरु गुमनाम भइसकेका छन् ।

अहिले समय फेरिएको छ । दर्शकसँग नेपाली मात्र होइन, विश्वका जुनसुकै फिल्म पनि चाहेको समयमा हेर्न पाउने सुविधा छ । त्यसैले दर्शक थप ‘चुजी’ भएका छन् ।

विकल्प पाएपछि नेपाली फिल्मका दर्शक त्यतै विकल्पतिर पल्केका छन् । अब दर्शकले मनोरञ्जनका लागि नेपाली फिल्म नै रोज्नुपर्ने अवस्था छैन । यसकारण नेपाली फिल्मले दिनानुदिन दर्शक गुमाउँदै गएको छ । फिल्ममेकरहरु भने नेपाली फिल्मको यो अवस्थालाई विदेशी फिल्मको ‘आक्रमण’का रुपमा हेरेका छन् ।

अभिनेता दयाहाङ राई भन्छन्, ‘हामीसँग बल्ल फिल्म कल्चरको विकास हुँदैछ, यो कल्चर स्थापित एक पुस्ता लाग्न सक्छ, मलाई चाहिँ के लाग्छ भने भोलि हाम्रो फिल्मको बजार अझै ठूलो हुन्छ ।’

दयाहाङ अहिले फिल्मले नेपाली मौलिकताका कथा र विदेशको फिल्म मेकिङमा भर पर्नुपरेका कारण चाहेजस्तो फिल्म बन्न नसकेको बताउँछन् । उनका अनुसार घरेलु फिल्ममा नेपालीको मनोविज्ञानलाई प्रस्तुत गर्न हामी चुकेका छौँ । फिल्म मेकिङ त एउटा पक्ष रह्यो । अर्को कुरा त नेपाली फिल्ममा राम्रा स्किृप्टको पनि उत्तिकै खाँचो छ ।

नेपालमा मौलिकताको खोजी भइरहँदा फिल्म मेकिङ भने हलिउडका फिल्मकै जस्तो गरी गर्न खोजिन्छ । यसले गर्दा घरेलु फिल्मको ट्रेन्ड एक खाले ‘मसला’ बनिरहेको छ । फिल्मको कथामा मौलिकताको खोजी त गरिएको छ तर मेकिङका हिसाबले दर्शकलाई चित्त बुझ्ने फिल्म बन्न सकेका छैनन् । गत वर्ष रिलिज भएको फिल्म ‘गोपी’ पनि यही कारणले विवादमा तानियो । अझ यो फिल्मले ‘राष्ट्रिय अवार्ड’ नै हात पारेपछि त फिल्मको विरोधमाथि झन् विरोध भयो ।

समीक्षक हुँदै निर्देशक बनेका दीपेन्द्र लामाले निर्देशन गरेको र अर्का समीक्षक सामीप्यराज तिमल्सिनाले स्किृप्ट लेखेका कारण पनि फिल्मप्रति धेरैको स्वभाविक अपेक्षा थियो ।

तर, फिल्मले धेरेको आशामाथि बिर्को लगाइदियो ।

मौलिकताको घनचक्करमा परेको नेपाली फिल्म उद्योगमा नयाँपनको त खोजी भइरहेको छ । तर मौलिक भनिएका कथालाई पनि दर्शकले साथ दिएका छैनन् । किनकि, दर्शकले नेपाली फिल्मप्रति विश्वास गुमाउँदै गएका छन् ।

हालै रिलिज भएको एक फिल्म हेरेर हलबाट बाहिरिएका एक दर्शक भन्दै थिए, ‘फिल्म राम्रै होला भनेर हलसम्म आयो, जहिले खिस्स भइन्छ, फिल्मको कथा नै अल्झेको हुन्छ ।’

दर्शकहरुको पनि प्रायः गुनासो के रहन्छ भने नेपाली फिल्म कथामा नै चुकेको छ । फिल्म हेर्न गएका दर्शक पनि टाउको दुखाउँदै हलबाट बाहिरिनुपर्ने अवस्था छ । घरेलु दर्शकले नेपाली फिल्मलाई बिदाइ गर्दै जानुको कारण यही हो । फिल्मको सम्पादन पनि ‘ड्राफ्ड’ मै सकाइन्छ ।

केही दशकअघिसम्म ‘चोरी’ का कथामा बनेका फिल्मले हलवाला, वितरक तथा निर्मातालाई कमसेकम लगानीमा ‘सुरक्षित’ राख्थे । तर, अहिले कुनै फिल्म चोरी गरेर बनाउनु भनेको सीधै फ्लप फिल्म बनाउनुजस्तै भएको छ । नायिका केकी अधिकारीले हिन्दी फिल्म ‘मुम्बई एक्सप्रेस’ को कथालाई तानतुन पारेर ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेपछि फिल्म त फ्लप भयो नै । चोरी गरेकै कारण उनको विरोध पनि भयो ।

यसरी विरोध खेप्नेमा केकी एक्ली भने होइनन् । गत वर्ष प्रतीक्षित बनेको फिल्म ‘लभ स्टेशन’ पनि चोरी गरिएको खुलेपछि व्यावसायिक रुपमै घाटा बेहोर्नुपर्‍यो ।

पहिले नेपाली फिल्म चोरीकै कथामा निर्माण भएका भए पनि तारिफ पाउँथे । तर, अहिले राम्रो कथाका लागि फिल्म लेख्ने परिपाटी छैन । नेपालमा राम्रा फिल्म लेखक नै नभएको धेरैको गुनासो छ । केही पूर्णकालीन लेखकले उस्तै फिल्म बनाइरहेका छन् ।

पूर्णकालीन फिल्म लेखनमा लागेका प्रदीप भारद्वाज सुनाउँछन्, ‘हामीले लेखेको फिल्म निर्माण भएर आइसक्दा अर्कै भइसक्छ, दोष हामीले पाउँछौँ ।’

उनले लेखेका फिल्म व्यावसायिक रुपमा असफल छन् । भलै उनी अहिलेका व्यस्त लेखकमध्ये एक हुन् ।

‘यहाँ नयाँ लेखकलाई प्रोत्साहन गर्ने चलन छैन, उही गुटमा मेकरहरु रमाइरहेका हुन्छन्, नयाँले मौका नपाउने पुरानाले नयाँपन दिन नसक्ने कारणले पनि राम्रा फिल्म बन्न सकेका छैनन्,’ एक फिल्मकर्मीको भनाइ छ ।

त्यसो त नेपालमा राम्रा फिल्म बन्न नसक्नुको कारण फिल्मको स्किृप्ट मात्र होइन । धेरै निर्देशकहरु यस्ता छन्, जसले राम्रा फिल्म मेकिङ प्रोसेस पनि बुझेका हुँदैनन् । उनीहरुले जस्तो स्किृप्टमा पनि झुर फिल्म निर्माण गर्छन् ।

निर्देशक निश्चल बस्नेतलाई भने फिल्मको स्किृप्ट राम्रो छ भने जस्तो झुर निर्देशकले बनाए पनि फिल्ममा कमसेकम कथा त हुन्छ भन्ने लाग्छ ।

तर, यहाँ कथा नै तोडमोड गर्ने निर्देशकको दबदबा छ । उनीहरु कथा मोड्न मात्र होइन, लगानीकर्ताको दिमाग ‘फ्राइ’ गरेर फ्लप कथा र फ्लप फिल्ममा लगानी गराउन पनि उत्तिकै चतुर छन् ।

भर्खर

0