यसकारण मनाइन्छ नागपञ्चमी | Khabarhub Khabarhub

यसकारण मनाइन्छ नागपञ्चमी



साउनको शुक्लपक्ष (श्रावण) को पञ्चमी तिथिलाई नागपञ्चमी भनिन्छ । यो दिन आफ्नो गृहद्वार (मूलढोका) का दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाउने विधान पुराणमा छ । यसरी बनाइएको नागको मूर्तिमा घ्यू, दूध आदिले धारा दिई दुवो, धानको लाबा आदि पदार्थहरू चढाई गन्ध, पुष्पादिले पूजा गरी नागको आराधना गर्नुपर्ने उल्लेख छ ।

फेरियो नागपूजाको शैली

नाग वा सर्पको पूजाको विधान अचेल फेरिएको छ । हिजोआज सनातन धर्मावलम्बीहरूले आ–आफ्नो घरको मूलद्वारमा नागको चित्र टाँसेर पूजा गर्छन् । यसरी विधिपूर्वक नागको पूजा आराधना गर्नाले नागहरू प्रसन्न हुने र वर्षभरि सर्प, बिच्छी आदि विषालु जीवहरूको भय नहुने विश्वास गरिन्छ । पुराणमा अष्टनागको प्रसंग पाइन्छ ।

यो दिनलाई नाग वा सर्पप्रति मात्र नभई अन्य जीव वा प्रकृतिसँग आत्मीयता दर्शाउने दिनको रूपमा लिइन्छ । आकाशबाट खस्ने चट्याङले हानि नोक्सानी नपुर्याओस् भन्ने उद्देश्यले वज्रवारकहरूको पूजा गरिन्छ ।

चित्रका संस्कृत मन्त्र गलत

पहिलेपहिले गाउँतिर नागका चित्र लेख्ने मानिस प्रशस्त हुन्थे । हातैले लेखेर रंगरोगन गरी नागको चित्र तयार पारिन्थ्यो । ब्राह्मण, पुरोहितका हातबाट तयार हुने नागका चित्रमा लेखिएका मन्त्रहरू शुद्ध हुन्थे । तर अचेल नागको चित्र छापाखानामा छापिन्छन् । व्यावसायिक दृष्टिले तयार पारिएका ती चित्रमा मन्त्र शुद्ध हुँदैनन् । कतैकतै त चित्र नै गलत हुन्छन् । नाग वा सर्पलाई प्रधानता दिनुपर्नेमा अन्य देवीदेवतालाई महत्त्व दिएर छापिएका चित्र पनि बजारमा पाइन्छन् ।

नागका चित्रमा विशेषगरी दुई मन्त्र लेखिएका पाइन्छन् । पहिलो वज्रवारकहरूको । अर्को अष्टनागका । याद गर्नुहोस् यी दुवै मन्त्र अशुद्ध लेखिएको पाइन्छ ।

अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च । सुमन्तुर्जैमिनिश्चैव पञ्चैते वज्रवारकाः ।।
अर्थात् अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी यी पञ्च बज्रवारक हुन् ।

अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः । कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः।

अर्थात्, अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी नाग आठ प्रकारका छन् ।

नेपाली संस्कृतिमा नागपूजा

नागपञ्चमीका दिन मात्र होइन नेपालका प्रत्येक जातजातिमा अघिपछि पनि नाग वा सर्पको पूजा गर्ने चलन छ । घडेरीको कुनै एक स्थानमा नागका लागि स्थान छुट्याउने र पूजा गर्ने परम्परा छ । नागको मूर्ति नै थापेर वा शिला थापेर नागको थान बनाइन्छ । घर वा कुनै भौतिक संरचनाको जग खन्दा पनि नागको शिरको विचार गरिन्छ । विशेषगरी सोमबार पारेर नागको पूजा गरिन्छ ।

पूजा गर्दा नागको शिर कता छ भनेर विचार पुर्याउनुपर्छ भन्ने मान्यता छ । ज्योतिषशास्त्रका अनुसार भदौदेखि तीन महिना पूर्वमा, मंसिरदेखि तीन महिना दक्षिण, फागुनदेखि तीन महिना पश्चिम र जेठदेखि तीन महिना नागको शिर उत्तर हुने उल्लेख छ ।

विशेषगरी पानीको मूल भएको ठाउँमा नागको बास हुने मान्यता छ । यस्ता ठाउँमा फोहोर गर्नुहुँदैन नागले दुःख दिन्छ वा ‘नाग लाग्छ’ भन्ने विश्वास गरिन्थ्यो पहलेपहिले । त्यसैले पानीका स्रोतहरू स्वच्छ रहन्थे । वातारवरण स्वच्छ रहन्थ्यो ।

वेदमा सर्प

वेदहरूमा नाग वा सर्पका सन्दर्भ प्रशस्त आउँछ । शुक्ल यजुर्वेदमा सर्पको स्तुति गरिएको छ । वेदका मन्त्रहरूमा स्वर्गका ज्योतिर्मय स्थानमा रहेका नदेखिने सर्प, सूर्यको किरणमा रहने सर्प, जलमा रहने एवं प्रत्यक्ष देखिने रूपमा वृक्ष आदिमा रहने सर्प र पृथ्वी, अन्तरिक्ष एवं द्युलोकमा रहने सर्पहरूको वन्दना गरिएको छ । यसैगरी पौराणिक ग्रन्थहरूमा पनि सर्पको महिमा प्रशस्त गाइएको छ ।

पुराणमा नाग

भगवान् शिवको गहनाको रूपमा सर्पको महत्त्व छ भने अर्काेतिर भगवान् विष्णु शेषनागलाई शय्या बनाएर सुतेका छन् । श्रीमद्भागवतमा विष्णुकै रूपमा शेषनागको वर्णन गरिएको छ । शिवपुराणमा वासुकी नाग शिवको कण्ठमा बेरिएर रहेको उल्लेख छ । विभिन्न पुराणमा नागहरूको छुट्टै लोेक ‘नागलोक’ भएको बताइएको छ । साथै नागवंशको बारेमा थुप्रै आख्यान पनि पाइन्छन् ।

मानिससँग सम्बन्ध

प्राचीन ग्रन्थहरूमा मानिस र नागजातिबीचसम्बन्ध कायम थियो भन्ने उल्लेख पनि पुराणमा पाइन्छ । देवमाता अदीतिकी बहिनी कद्रुले नागवंशी कन्या उत्पत्ति गरेकी थिइन् । नागवंशी कन्याहरूको विवाह कश्यप ऋषिसँग भएको पुराणमा उल्लेख छ । यसैगरी भगवान् कृष्णको साथै अर्जुनले नागकन्यासँग विवाह गरेको प्रसंग महाभारतमा आउँछ । श्रीमद्भागवत महापुराण सुनेकालाई याद हुनुपर्छ, सर्प र मानिसको शत्रुता र मित्रताका प्रसंग आउँछन् । अर्जुनका नाति परीक्षितका छोरा जनमेजयसँग नागराजाले मैत्रीसम्बन्ध स्थापना गरेको आदि सन्दर्भ आउँछ । यसबाट पनि नागजाति र मानिसबीचको सम्बन्ध पुरानो भएको प्रमाणित हुन्छ ।

पछिल्लो समयमा पनि भारतका विभिन्न भागमा नागवंशी राजाहरूले राज्य गरेको इतिहासमा उल्लेख छ । तिनका सन्तानहरू अझै पनि भारत र नेपालका विभिन्न भागमा रहेका बताइन्छ । नेपालका केही जातिले पनि आफूलाई नाग जातिका सन्तान भन्छन् ।

शत्रु मात्र होइन मित्र पनि

पृथ्वीमा पाइने प्रजातिहरूमध्ये दुईचार जातका बाहेक सबै सर्पहरू मानिसले सोचेको जति विषालु नहुने विज्ञानले पत्ता लगाएको छ । सर्पलाई मानिसले शत्रुका रूपमा हेर्ने गरेको छ । तर नेपाल कृषिप्रधान देश भएकोले तराई र पहाडी भेगमा बस्ने अधिकांश मानिस सर्पको निकट रहन्छन् ।

सर्पको विष औषधिको लागि पनि प्रयोग हुन्छ । प्राचीन आयुर्वेद ग्रन्थमा सर्पको विषद्वारा गरिने उपचारको उल्लेख गरिएको पाइन्छ भने आधुनिक चिकित्सामा समेत विभिन्न उपचारमा सर्पको प्रयोग गरिन्छ । सबै सर्प विषालु हुँदैनन् र हानि नपुर्याएसम्म सर्पले केही गर्दैन भन्ने सन्देश नागपञ्चमीले दिन्छ । साथै श्रद्धा भक्तिले देवताको रूपमा पूजा गरिने भएकाले पनि सर्प र मानिसबीचको दूरी घटाउन मद्दत गर्छ । साथै पानीका स्रोतलाई स्वच्छ र पवित्र राख्न यो दिनले प्रेरणा दिन्छ ।

नागपञ्चमीको सन्देश

हिन्दू समाजमा नागपञ्चमीलाई नागपूजा गरेर मानिस र सर्पजातिबीच रहेको भयलाई हटाउँदै आत्मीय सम्बन्ध स्थापना गर्ने दिनको रूपमा लिन सकिन्छ । यसैगरी प्राचीन संस्कृति र इतिहासलाई अध्ययन अनुसन्धान गरेर सर्प र मानिसबीचको दूरी हटाउन यस पर्वको ठूलो महत्त्व छ । प्रकृतिको महत्त्व बुझेर यसलाई प्रदूषणमुक्त राख्न पनि यो पर्वले झक्झक्याउँछ । नेपाली समाजमा प्रकृति वा समयबोधक पर्वको रूपमा पनि यो दिनको महत्त्व छ । नागपञ्चमीदेखि नै हिउँद लाग्छ भन्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ७ : ०८ बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।