मुख्यमन्त्रीहरूको आफूखुसी विदेश भ्रमणमा | Khabarhub Khabarhub

मुख्यमन्त्रीहरूको आफूखुसी विदेश भ्रमणमा


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेशका मुख्यमन्त्रीहरू कूटनीतिक निकायलाई खबरै नगरी विदेश भ्रमणमा जान थालेका छन्। कोही मुख्यमन्त्री गैरआवासीय नेपालीको सम्मेलनमा भाग लिन त कोही भगिनी सम्बन्ध कायम गर्न भन्दै आफूखुसी विदेश भ्रमणमा निस्किएका हुन्। उनीहरूको भ्रमणलाई लिएर कूटनीतिक क्षेत्रमा बहस हुन थालेको अन्नपूर्ण पोस्टमा खबर छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग दुईपक्षीय वार्ता गरिरहँदा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल गान्सुको लान्झाओ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल सछुवान (सिचुवान) मा थिए।

मुख्यमन्त्रीहरूले चिनियाँ अधिकारीसँग गरेको वार्ताबारे कूटनीतिक निकाय बेखबर छ। उनीहरूको भेटमा कूटनीतिक प्रतिनिधिको उपस्थिति पनि थिएन। बेइजिङस्थित दूतावासका अधिकारीले मुख्यमन्त्रीको भ्रमणबारे जानकारी भए पनि अन्य विषयमा अनभिज्ञता प्रकट गरे। उनीहरुको गतिविधि र भेटघाटलाई नेपाली दूतावासले ‘नोट’ गरेको छैन। साथै भगिनी सहर सम्बन्धमा साक्षी बस्न पनि दूतावासका अधिकारी गएका छैनन्।

सरकारले भ्रमणबारे जानकारी नराख्ने हो भने सबैले आफ्नै तरिकाले कूटनीति चलाए भइहाल्यो भन्दै परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले गम्भीर चासो देखाएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

बेइजिङस्थित नेपाली दूतावासका अधिकारीले प्रारम्भमा भ्रमणबारे जानकारी नभएको बताए। परराष्ट्र मन्त्रालयमा सम्पर्क गरेको केही घन्टापछि दूतावासका अधिकारीले आफैं सम्पर्क गरेर भने, ‘राजदूतलाई भ्रमणबारे जानकारी आएको रहेछ। हामी उहाँहरूसँग सम्पर्कमा छौं।’ भ्रमणबारे प्रदेश सरकारले नै हेर्ने र पछि परराष्ट्र अधिकारीलाई जानकारी दिने गरेको ती अधिकारीले बताए।

‘मुख्यमन्त्रीको भ्रमणमा हामी सम्पर्कमा हुन्छौं तर सबै सहकार्य र प्रक्रियामा सहभागी हुँदैनौं,’ बेइजिङस्थित दूतावासका प्रवक्ता हरिशचन्द्र घिमिरेले भने, ‘उहाँहरूले केके गर्नुभयो, उहाँहरूसँगै जानकारी लिएर अर्को दिन दिनेछु।’

उनले यस्ता भ्रमणबारे दूतावासभन्दा पनि परराष्ट्रको प्रदेश हेर्ने महाशाखा जानकार हुने बताए। मुख्यमन्त्रीको भ्रमणमा सहयोग गर्न दूतावास सम्पर्कमा रहेको पनि उनले जानकारी दिए।

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले बुधबार सछुवान र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम गरे। उनले त्यहाँका गभर्नरलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि निमन्त्रणासमेत गरेका छन्। मुख्यमन्त्री पोख्रेलले छेन्दु-भैरहवाबीच सीधा हवाई उडानको प्रस्ताव राखेका थिए। तर, दूतावासलाई यस्ता एजेन्डाबारे जानकारी छैन।

‘हामीले कुरा राखे पनि राजनीतिज्ञले ढिम्किनै दिँदैनन्’, परराष्ट्रका एक अधिकारीले भने, ‘जे ल्याउनुहुन्छ, हवस् राम्रो छ भन्दिने हो। उहाँहरू जनप्रतिनिधि, हामी निजामती।’ यस्ता विषयमा प्रदेश र केन्द्र सरकारबीच समन्वय हुनुपर्ने अर्का अधिकारीले बताए।

दुई सहरबीच भगिनी सम्बन्धबारे परराष्ट्र सचिव शंकरदास बैरागीले भने, ‘भगिनी सहर मन्त्रिपरिषद्बाट पारित गरेपछि मात्र हुन्छ। अन्यथा गर्न मिल्दैन। सायद पारित भएको होला। हेर्नुपर्छ।’

यसअघि गत वैशाख ३० मा प्रदेश ३ ले पनि गान्सु प्रान्तसँग भगिनी सम्बन्ध जोडेको थियो। काठमाडौंमा भएको गान्सु-नेपाल आर्थिक तथा व्यापारिक सहयोग प्रवद्र्धन मेलामा दुई पक्षबीच सम्बन्ध गाँस्ने समझदारीपत्रमा हस्ताक्षर भए पनि परराष्ट्रलाई जानकारी थिएन। समझदारीपत्रमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गान्सु प्रान्तका गभर्नर ताङ रेन्जिएनले हस्ताक्षर गरेका थिए। नेपालमै भएको सम्झौतामा समेत परराष्ट्रको उपस्थिति थिएन।

भगिनी सम्बन्ध गाँसिएसँगै व्यापार र कृषि क्षेत्रको विस्तार, पर्यटन प्रवद्र्धन, सूचना प्रविधि, भौतिक पूर्वाधारमा सहयोग पुग्ने हुनाले सरकार लचिलो बनेको दूतावासका प्रवक्ता घिमिरेको भनाइ छ। यसअघि काठमाडौं महानगरले नै चीनका लान्झाउ, सियान, ल्हासा, सेन्जेन, छेन्दु लगायत सहरसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ।

गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा प्रदेश ३ का मुख्यमन्त्री पौडेल चीन भ्रमणमा रहको कार्यवाहक मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए। ‘भ्रमणमा केही महत्वपूर्ण सम्झौता हुनसक्छ,’ उनले भने, ‘त्यहाँ सहकार्यसम्बन्धी सम्झौता हुनेछन्।’

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ६ : ३५ बजे

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको