मुस्लिमहरुको पवित्र महिना रमजान कि रमादान ? « Khabarhub
Logo
५ आश्विन २०७८, मंगलबार

मुस्लिमहरुको पवित्र महिना रमजान कि रमादान ?



तस्वीर– पीटीआई

एकजना साथीसँग सरकारी विदाबारे क्याजुअल कुराकानी भइरहेको थियो । ‘इद कहिले हो ?’ इद आउन लागेको थाहा थियो, विदा कहिले हो थाहा थिएन, ‘खै २३ गते विदा दिएको छ क्यारे सरकारले त !’ उसले जवाफ दियो । (पछिमात्र सरकारले २२ गतेका लागि विदा दियो ।)

‘इदसँगै रमजान पनि सकिन्छ है ?’ उसले सोध्यो ‘हो त’ मेरो जवाफ । उसको अर्को प्रश्नले भने मेरो दिमागमा अचानक प्रभाव पार्यो, ‘साँच्चै हिम्मु, यो रमजान हो की रमादान ?… कसैले रमजान पनि भन्दा रहेछन्, कसैले फेरि रमादान भन्दा रहेछन्, साँच्चै हो चाहिँ के ?’

सायद धेरैलाई यो प्रश्नको जवाफ थाहा नहुन सक्छ । धेरैले वास्ता पनि नगरेका होलान् । तर, उसको प्रश्नले भने निकै गम्भीर बनायो । उसको प्रश्न जायज पनि छ ।

किनकि, इस्लामिक क्यालेण्डरको नवौं महिनालाई भाषागत आधारमा नेपालीकरण गर्दा ‘रमजान’ हुन आउँछ । यही महिनालाई अरबहरु रमादान भन्छन् । यो महिना मुसलमानहरूले दैनिक ‘रोजा’ बस्ने गर्दछन्, ‘नमाज’ पढ्छन्, इत्यादि ।

प्रश्नको जवाफ एक वाक्यमा सीधै भन्दा ‘नेपाली भाषामा प्रयोग हुने इस्लामिक वा इस्लामसँग जोडिएका शब्दहरू अरबी नभई दक्षिण एसियामा प्रभावशाली रहेको फारसी भाषाबाट प्रभावित छन् ।’

फारसी भाषा बोल्ने र यसैलाई प्रचलनमा ल्याउन चाहने मुसलमान शासकहरूले दक्षिण एसियामा धेरै नै लामो समय शासन गरेको हुनाले फारसी भाषा र सँस्कृतिले दक्षिण एसियामा गहिरो छाप छोडेको छ । सोहीअनुसार दक्षिण एसियामा प्रयोग हुने इस्लामिक शब्दहरू फारसीकृत भएका छन्, जसबाट नेपाली मुसलमानहरू तथा उनीहरूले गर्ने शब्द चयन पनि अछुतो छैन ।

एउटा धेरै नै सामान्य उदाहरण, दक्षिण एसियाली मुसलमानले ईश्वरलाई ‘खुदा’ पनि भन्ने गरेका छन् । इस्लामिक परम्पराअनुसार ईश्वरका ९९ नाम छन्, तर ‘खुदा’ शब्दले ईश्वर जनाउँछ भनेर कहिँ कतै भनिएको छैन । खुदा शब्द फारसी भाषाबाट प्रभावित छ । फेरि दक्षिण एसियाली मुसलमान र विश्वका अन्य मुसलमानले मान्ने ईश्वर एउटै हुन् । ‘खुदा’ भनेको बेग्लै ‘ईश्वर’ अनि ‘अल्लाह’ भनेको बेग्लै ईश्वर भनेर नबुझियोस् ।

अर्को उदाहरण, अरबी भाषामा इस्लामको ५ स्तम्भ शहादा, सलात, जकात, स्वाम र हज भनिएको छ, नेपाली लगायतका दक्षिण एसियाली मुसलमानले यी ५ स्तम्भलाई क्रमशः कलमा, नमाज, जकात, रोजा र हज भन्ने गर्छन् ।

पछिल्लो समय उग्र र एकदमै पुरातन शैलीको इस्लामिक व्यवस्था लागू हुनुपर्छ भन्ने इस्लामिक मान्यता राखेर मध्यपूर्वको इस्लामिक व्यवस्थाबाट प्रभावित भई अभियान शुरु गरेका केही समूहले दक्षिण एसियाली मुसलमानलाई फारसी भाषाका इस्लामिक शब्द प्रयोगलाई ‘हराम’ कै दर्जा दिएर त्यस्ता शब्द प्रयोग नगर्न उर्दी नै जारी गर्दै आएको पनि सुनिन्छ

नमाज शब्द दक्षिण एसियाली मुसलमानले बहुतै प्रयोग गर्छन्, दक्षिण एसियाली मुसलमानले दैनिक ५ पटक पढ्ने नमाज र विश्वका अर्बौं मुसलमानले दैनिक ५ पटक (फजर, दुहुर, असर, माग्रेब र इसा) को समयमा पढ्ने सलात एकै हुन्, फरक छैनन् । नमाज शब्द सँस्कृतबाट (नमः र अज शब्द मिलेर) आएको भनिन्छ, तैपनि फारसी भाषाका विद्वान्हरु पार्सिक भाषाबाट फारसीमा नमाज शब्द आएको भन्छन् । हुनुपनि सँस्कृतका यस्ता धेरै शब्द पार्सिक र आवेस्तानी हुँदै फारसी भाषामा पुगेका छन् ।

दक्षिण एसियाली मुसलमानले कलमा गर्दा पनि ‘ला ईलाह इल्लाल्लाह, मोहम्मदून रसूलअल्लाह’ भन्छन्, अन्य मुसलमानले शहादा भन्दा पनि ‘ला ईलाह इल्लाल्लाह, मोहम्मदून रसूलअल्लाह’ नै भन्छन् ।

दक्षिण एसियाली मुसलमानहरू मोहम्मद सल्लल्लाहू अलैह वसल्लमलाई ‘पैगम्बर’ भन्ने गरेका छन्, अरबहरु ‘रसूलल्लाह’ भन्छन् । फारसी भाषामा पैगाम अर्थात् सन्देश लिएर आउने अर्थमा पैगम्बर भनिएको हो । रमादान र रमजान पनि त्यस्तै नै हो ।

एउटा कुरा स्पष्ट पार्न जरुरी देखियो, यहाँ लेखक – जो आफैं गैर मुसलमान हो – ‘कुरआनमा यो शब्द लेखिएको छ, सोही कारण यो शब्दको प्रयोग गरिनु हुन्न’ भनेर कुनै स्वार्थ बोकेर, कुनै अमुक अभियानको पक्ष वा विपक्षमा वकालत गरिरहेको छैन ।

तैपनि पछिल्लो समय उग्र र एकदमै पुरातन शैलीको इस्लामिक व्यवस्था लागू हुनुपर्छ भन्ने इस्लामिक मान्यता राखेर मध्यपूर्वको इस्लामिक व्यवस्थाबाट प्रभावित भई अभियान शुरु गरेका केही समूहले दक्षिण एसियाली मुसलमानलाई फारसी भाषाका इस्लामिक शब्द प्रयोगलाई ‘हराम’ कै दर्जा दिएर त्यस्ता शब्द प्रयोग नगर्न उर्दी नै जारी गर्दै आएको पनि सुनिन्छ ।

******

तीब्र इस्लामीकरण भए पनि फारसी भाषा र सँस्कृतिले आफ्नो मौलिकता एक हदसम्म जोगाएर राखेको छ । इस्लामीकरण भए पनि त्यहाँका अन्य क्षेत्रहरू हालका इराक, लिबिया, सिरिया, जोर्डन, इजिप्ट, ट्युनिसिया, अल्जेरिया, मोरक्को जस्तो गरी फारस अरबीकरण हुन सकेन ।

भौगोलिक सामिप्यता र धार्मिक प्रभावका कारण फारसी भाषा मध्यपूर्वका अन्य भाषा र सँस्कृतिजस्तै सदियौं अगाडि लोप भइसक्नुपर्ने हो । तर, फारसी भाषाको मौलिकता अझै पनि जीवित नै छ भने यस भाषामा अरबी भाषाको प्रभाव आश्चर्यजनक रुपमा नै कम छ । बरु फारसी भाषाले दक्षिण एसिया, बाल्कन, मध्य एशिया, एशिया माइनर, दक्षिणपूर्वी एसियालगायतका भाषामा आफ्नो अत्यन्त गहिरो छाप छोडेको छ । त्यसमा अवश्य पनि नेपाली भाषाको नाम आउँछ नै ।

******

यो बीच एउटा कुरा स्पष्ट पारौं, फारसी भाषा र अरबी भाषाको मूल एउटै होला भन्ने धेरै मानिसमा भ्रम हुनसक्छ, कारण, दुबै भाषाका लिपी एउटै लाग्छन् । इरान, अरब देशहरुजस्तै मध्यपूर्वमा रहेको, मुसलमानहरू बसोबास गर्ने इत्यादि कारणले दुबै भाषाको मूल एउटै हो भन्ने ठान्नु अस्वाभाविक छैन ।

तर होइन, फारसी भाषा जति नेपाली भाषासँग नजिक छ, त्यो भन्दा धरै गुणा अरबीभन्दा टाढा छ । साँच्चै भन्दा, अरबी र फारसीको सम्बन्ध कहिँ कतै मिल्दैन । केही इस्लामिक शब्द र भौगोलिक सामिप्यताले पारेको सामान्य प्रभाव बाहेक फारसी र अरबीको सम्बन्ध छैन । फारसी भाषा भारोपेली भाषा परिवारको हिन्द–इरानेली शाखामा पर्छ, अझ हिन्द–इरानेली शाखाको पनि पश्चिम–इरानेली उपशाखामा पर्छ ।

जसरी हिन्दी र नेपाली भाषा सँस्कृति भाषाबाट प्रभावित छन्, त्यसैगरी फारसी भाषा आवेस्तानीबाट प्रभावित छ । पुरानो आवेस्तानी भाषा र वैदिक सँस्कृत भाषा धेरै मिल्ने विद्वान्हरु बताउँछन् ।

अर्कोतर्फ अरबी भाषा चाहिँ अफ्रो–एशियाली भाषा परिवारको सामितीय शाखामा पर्छ । यसअनुसार फारसी र अरबीको सम्बन्ध छैन ।

सातौं शताब्दी, अरबमा जब मुसलमानहरूको ताकत र प्रभाव एकपछि अर्को गरी बढ्दै थियो, त्यही समय पश्चिम एसियामा दुई दुश्मन साम्राज्यहरू निरन्तर लडिरहेका थिए । ती थिए, अहिलेको एशिया माइनर एवं लेभान्तसम्म फैलिएको ब्याइजन्टाइन साम्राज्य र मोसोपोटेमिया एवं फारसदेखि खोरसानसम्म फैलिएको ससानी साम्राज्य ।

ब्याइजन्टाइन साम्राज्य ग्रिक संस्कृतिमा आधारित रहेर प्राचीन रोमन साम्राज्यको जगमा स्थापना भएको इसाई साम्राज्य थियो, ससानी साम्राज्य चाहिँ फारसी सभ्यताको जगमा जरस्तुथ्री सँस्कृतिमा आधारित रहेर स्थापना भएको थियो ।

त्यो समय दुई साम्राज्यहरु एक–अर्काविरुद्ध लडिरहने, तर एकले अर्कालाई जित्नै नसक्ने अवस्थामा थिए । यही कारण दुवैको शक्ति क्षीण हुँदै गइरहेको र आन्तरिक अस्थिरता चर्किएको बेला दक्षिणी छिमेकमा हालै प्रादूर्भाव भएको नयाँ एवं शक्तिशाली धार्मिक–राजनीतिक र सैनिक संगठन तथा अनेक जातिहरुलाई एकतावद्ध गरी अघि बढिरहेका मुसलमानहरू भने धेरै नै प्रभावशाली बन्दै गइरहेका थिए ।

यीनै अरब मुसलमानहरूसँग ससानी साम्राज्य एकपछि अर्को युद्धमा पराजित हुँदै गयो । यो घटनाक्रमको विकास इस्लाम धर्मका प्रवर्तक मोहम्मद सल्लल्लाहू अलैह वसल्लमको निधनलगत्तै स्थापना भएको रशिदून खिलाफातको समय अर्थात् सातौं शताब्दीमा भएको थियो ।

ससानी साम्राज्यविरुद्ध रशिदून सैनिक अभियानका क्रममा युफ्रातेज नदीको पश्चिमी किनारमा अवस्थित कसिदिया शहरमा मुसलमानहरुले ससानी साम्राज्यको फौजलाई पराजित गरे । यो निर्णायक युद्धमा पराजय पश्चात दास बनाइएका ससानी साम्राज्यका पूर्व सैनिक अधिकारी अबु लुलुआले सन् ६४४ मा रशिदून खिलाफातका दोश्रा खिलाफ उमर इब्न खत्तबको हत्या गरिदिए । त्यसपछि तेस्रा रशिदून खिलाफ उथमान इब्न अफ्फानले फारसको बाँकी भूमिलाई सन् ६५१ मा पूर्ण रुपमै पराजित गरे ।

यसपछि ससानी साम्राज्यको पतनसँगै फारसमा अरबहरुको शासन शुरु भयो । रशिदून खिलाफात अन्तर्गत अरब शासनकालमा अरबी प्रभावसहित फारसमा नयाँ सभ्यता, सँस्कृति र धार्मिक रीत स्थापना भयो । ठूलो संख्यामा फारसीहरु मुसलमानका दास बनाइए, फारसी भाषामाथि दमन गरियो, जरस्तुथ्री सभ्यता मासियो, फारस केही समयपछि नै इस्लामीकरण तर्फ लाग्यो ।

त्यसपछि अनेक राजनीतिक र आर्थिक कारणबाट असन्तुष्ट मशर (इजिप्ट) तथा इराकको कुफा शहर (हालको नज्जाफ) का विद्रोहीले उथमान इब्न अफ्फानको घरमा घेराबन्दी गरी सन् ६६१ मा उनको हत्या गरेसँगै इस्लामिक विश्वमा तीब्र ध्रुवीकरण उत्पन्न भयो । त्यसलगत्तै अली इब्न अबी तालिब चौथो खिलाफ त बने, तर उनको विरुद्धमा तीब्र गुटबन्दी र युद्ध कै अवस्था सिर्जना भयो ।

गुटबन्दीसँगै खिलाफका रुपमा अली इब्न अबी तालिबको शासन ५ वर्ष नपुग्दै उथमान इब्न अफ्फानका सन्ततीले हालको सिरियाली राजधानी दमास्कसमा शासन स्थापित गरे । यसलाई उम्मेयद खिलाफात भनियो । यही कालमा उम्मेयद शासन सिन्ध, ब्याक्ट्रिया, कोर्दोबा (हालको स्पेन), माग्रेबसम्म फैलियो । उम्मेयद खिलाफात धार्मिक कम र राजनीतिक ज्यादा रहेकाले फारसमा साँस्कृतिक रुपमा ज्यादै दमन शोषण गर्न थाल्यो । फारसी भाषा प्रयोगमा बन्देज नै लाग्यो । यो समयमा फारसी भाषा लोप हुने अवस्थामा पुगेको थियो ।

उम्मेयद अरब शासकको अनेक सामाजिक र सांस्कृतिक दमनविरुद्ध खोरसान र फारसबाट उम्मेयद खिलाफातविरुद्ध अब्बासिद क्रान्ति शुरु भयो । यी अब्बासिदहरु मोहम्मद सल्लल्लाहू अलैह वसल्लमका काकाका सन्तती थिए ।

सन् ७५० मा अब्बासिदका समर्थकहरुले उम्मेयद खिलाफातलाई अपदस्थ गरी शासन शुरु गरे । पराजित उम्मेयद शासन कोर्दोबा र उत्तर अफ्रिकामा सिमित हुन गयो ।

अब्बासिद कालमा अरबी तथा गैर अरबी सँस्कृतिको तीब्र विकास भयो । दरबारमा तुर्केली, फारसी तथा अन्य भाषा र संस्कृतिका मानिसहरूको प्रभाव बढ्दै गयो । यो समय फारसी भाषामाथि त्यतिधेरै दमन भएन, बरु यो समय फारसी भाषाले उन्नत हुने मौका पायो । अनेक सामाजिक, साँस्कृतिक एवं वैज्ञानिक क्षेत्रमा महत्वपूर्ण खोजी अध्ययन भएकाले अब्बासिद काललाई इस्लामको स्वर्ण युग पनि भनिन्छ ।

कालान्तरमा फारसमा अब्बासिद शासन कमजोर बन्दै गएपछि फारसीहरुले फरसका विभिन्न क्षेत्रमा नयाँ राज्य र अधिराज्यको स्थापना गरी आफ्नो शासन आफैँ चलाउन लागे । समयक्रमसँगै मध्य एशियाका दास सिपाहीबाट आएका तुर्केली ममलूक शासकहरूले पनि फारसमा शासन गरे । यो बेलामा फारसी राष्ट्रियताको विकास हुँदै जान थालेपछि फारसी भाषाको पुनरुत्थान शुरु भयो ।

फारसी त्यस क्षेत्रको महत्वपूर्ण भाषाको रुपमा विकास हुँदै गयो । जुन शासकले पनि फारसमा शासन गरे, उनीहरुले आफ्नो सँस्कृति र भाषा फारसी जनतामाथि लाद्नुभन्दा आफैँ फारसीकृत भए ।

१० औँ शताब्दीसम्म फारसी भाषामा अरबी प्रभाव एकदमै धेरै थियो । दैनिकजसो प्रयोग हुने शब्द समेत अरबीकरण भएका थिए । धेरै लामो समय अरब शासन व्यहोरेको फारसमा अरबी भाषाको प्रभाव हुनु अस्वाभाविक पनि थिएन ।

******

फिरदौसी भन्ने फारसी कविले सन् ११ औँ शताब्दीको को पहिलो दशकमा एक अभूतपूर्व कृति सार्वजनिक गरे । फिरदौसीले ३० वर्ष लगाएर लेखेको ‘शाहनामे’ अर्थात् ‘राजाहरुको किताब’ नामक महाकाव्यले फारसी भाषामा क्रान्ति नै ल्याइदियो ।

५० हजार भन्दा बढी श्लोक समावेश यो महाकाव्य महाभारत पछिको दोस्रो ठूलो काव्य हो भने एकै लेखकले लेखेको सबैभन्दा ठूलो काव्य हो । यो काव्यमा फारसको ऐतिहासिक कहानी समावेश छ । यसलाई कुनै पनि भाषाको पुनर्जागरण गर्न लेखिएको सबैभन्दा महत्वपूर्ण कृति मानिन्छ ।

यो काव्यमा उनले त्यसबेला फारसी भाषामा प्रचलित अरबी शब्दलाई फसरसीकरण गर्न सकेजति सबै गरे । दैनिक प्रयोग हुने हरेक अरबी शब्दको फारसीकरण मात्रै गरेनन्, अरबीबाट फारसीलाई चोख्याउन नयाँ फारसी शब्दको प्रवर्तन समेत गरे । यसबाट फारसीमा नयाँ ‘शब्दभण्डार’ निर्माण भयो । फारसी भाषा सुन्दर र परिस्कृत बन्यो । योसँगै फारसी भाषा फारसमा मात्र नभई मध्य एशिया र भारतीय उपमहाद्वीपसम्म फैलियो । फारसी मात्रै नभएर मध्य एशियाका तुर्कहरुले समेत फारसी भाषालाई प्रचलनमा ल्याए ।

******

१० औँ शताब्दीमा हाल अफगानिस्तानको गजनी शहर रहेको स्थानबाट फारसीकृत तुर्केली मूलका मामलुक दासहरु गजनभी शासकहरूले शासन चलाउने गर्थे । यही शासनकालमा दक्षिण एसियामा फारसी भाषाको प्रभाव शुरु भयो ।

११ औँ र १२ औँ शताब्दीमा हाल अफगानिस्तानको गोर क्षेत्र आसपासबाट गुरिद वंशले शासन चलाउँथ्यो । शुरुमा यी गुरिदहरु महायानी बौद्ध धर्मावलम्बी थिए, ११ औँ शताब्दीको पूर्वार्धतिर मुसलमान भए । यिनीहरू पनि फारसीकृत भएका थिए । १२ औँ शताब्दीमा यो गुरिद वंशको शासन यति शक्तिशाली थियो कि, यसले त्यसबेलाको संसारकै सबैभन्दा समृद्ध क्षेत्रमध्येको गंगाको मैदानमा रहेका राज्यहरूमाथि नियमित आक्रमण गरी अमूल्य धनमाल लुटेर लैजाने गथ्र्यो ।

१२ औँ शताब्दीका उत्तरार्धमा गुरिद वंशका शासक मुइजद्दिन मोहम्मद गोरीले आफ्नो शासन सिन्धु नदी पारीसम्म फैलाउने महत्वकांक्षा लिएर भारतवर्षमा रहेका राजपूत, हिन्दू तथा बौद्ध राज्यमा आक्रमणलाई तीब्रता दिन थाले । हिन्दू शासकको तीब्र प्रतिरक्षाका बावजुद गुरिद शासन सुदूर पूर्व बंगालसम्म पुग्यो ।

भारतवर्षको प्रशासन चलाउन मुइजद्दिन मोहम्मद गोरीले कुतुबद्दिन अबियाक नाम गरेका तुर्केली मामलुक सैनिक अधिकारीलाई जिम्मा दिएका थिए । सन् १२०६ को पूर्वार्धमा मुइजद्दिन मोहम्मद गोरीको हत्या भएसँगै कुतुबुद्दिन अबियाकले दक्षिण एसियामा पहिलो मुसलमान साम्राज्यको आधार तयार पारे, यसलाई दिल्ली सल्तनत भनियो ।

दिल्ली सल्तनतका शासकहरू फारसी भाषा र सँस्कृतिबाट धेरै नै प्रभावित भएकाले उनीहरूसँगै दक्षिण एसियामा फारसी भाषाको प्रभाव बढ्न शुरु भयो । दिल्ली सल्तनतका कानूनी भाषा फारसीबाट प्रभावित भयो, प्रशासनमा पनि फारसी भाषाकै प्रभाव पर्न गयो । समाजको उच्च तहमा रहेका मानिसहरूले फारसी भाषालाई प्रयोग गर्न थाले । यो बेलामा उत्तरी भारतमा सुरेशानी प्राकृत भाषा क्रमशः अपभ्रंश भई अझ सरल बन्दै नयाँ भाषाहरूमा विकसित हुँदै गइरहेको थियो । यही बेलाबाट दक्षिण एसियाली भाषाहरूमा फारसी भाषाको प्रभाव पर्न शुरु भएको विद्वान्हरु बताउँछन् ।

******

१४औँ शताब्दीको अन्त्यतिर हालको उज्बेकिस्तानमा अवस्थित शाख्रिसब्ज शहरमा एकजना महान् तर अत्यन्त क्रुर सैनिक अधिकारीले जन्म लिएका थिए । नाम थियो, तैमुर । एक खुट्टा गुमाएकाले उनलाई तैमुरलन अर्थात लङ्गडा तैमूर भनेर पनि चिन्ने गरिन्छ । उनले आफूलाई मंगोलहरुका महान् शासन चंगेज खाँको सन्तती रहेको बताउने गर्थे ।

१४ औं शताब्दीको अन्त्यतिर समरकन्द शहरका तत्कालीन मंगोल शासकको पतन भएपछि उनले त्यहाँको गद्दीमा कब्जा गरे । फारसीकृत तुर्केली–मङ्गोल जातिका उनले फारस, मध्य एशिया, मेसोपोटामिया, उत्तर पश्चिम भारत, खोरसानलगायतका विशाल भूभाग कब्जा गरी तैमुरी वंशको शासन शुरु गरे ।

तिनै तैमुरी वंशका शासक उमर शेख मिर्जाका छोरा जाहिरद्दिन मोहम्मद बाबरले १५२३ मा दिल्ली सल्तनत अन्तर्गत तत्कालीन लोदी वंशका सुल्तान इब्राहिम लोदीलाई पानिपतको युद्धमा हराएर भारतवर्षमा मुगल साम्राज्यको आधार तयार पारे । मुगल साम्राज्यको कालमा भारतीय उपमहाद्वीपमा फारसी भाषाको विकास र विस्तार अभूतपूर्व गतिमा अघि बढ्यो । केही अघिसम्म ‘प्रेस्टिज ल्याङ्वेज’ रहेको फारसी अब जनजिब्रोको भाषा बन्यो । भारतवर्षमा भाषामात्र नभएर कला, सङ्गीत, वास्तु लगायतका सामाजिक क्षेत्रमा फारसी सँस्कृतिको अभूतपूर्व विकास भयो ।

भारतीय उपमहाद्वीपमा फारसी साहित्यको क्षेत्रमा एकपछि अर्को आयाम थपिँदै गए । दक्षिण एसियामा फारसी भाषा अत्यन्त समृद्ध भयो भने अनेक किसिमका साहित्य र पुस्तकहरु छापिए । यो बेला मुसलमान मात्र नभई हिन्दूहरूलाई समेत फारसी भाषातर्फ आकर्षित गरियो । शैक्षिक केन्द्रहरूमा फारसी भाषाको पढाई हुन लाग्यो । योसँगै भारतीय उपमहाद्वीपका भाषामा फारसी भाषाको प्रभाव पनि बढ्दै गयो ।

 

सन् १६३९ मा तत्कालीन मुगल सम्राट शाहजहाँले दिल्लीमा शाहजहाँवाद नामक प्रशासनिक केन्द्रको निर्माण गरी त्यहीँबाट शासन चलाउन लागे । योसँगै मुगल साम्राज्यको राजधानी आगराबाट दिल्ली सर्यो । शाहजहाँवाद नजिकै एउटा बजार बसाइएको थियो । धेरैजसो सैनिकले बजारमा आउजाउ गर्ने भएकाले यसलाई उर्दू बजार अर्थात् सैनिकहरुको बजार नाम दिइएको थियो ।

यहाँ अनेक भाषा, सँस्कृति र सामाजिक स्तरका मानिसहरुले भीड हुने थथ्र्यो । एकातिर बजार आउजाउ गर्ने सैनिकहरु फारसी भाषाबाट प्रभावित रहेको र अर्कोतिर स्थानीय भाषा बोल्ने मानिसहरुले समेत बजारमा आवतजावत गर्ने गरेकाले यो बजारमा नयाँ मिश्रित भाषाको प्रादुर्भाव भयो । फारसी र स्थानीय भाषा मिश्रित भई यही बजारमा उत्पन्न भएको भाषालाई ‘जबान ए उर्दू’ अर्थात् सैनिकको भाषा भनियो । पछि मुगल शासकले ‘उर्दू’ भाषालाई राजकीय मान्यता नै दिएर प्रचलनमा ल्याए ।

******

मुगल साम्राज्यको पतन पछि बेलायती शासकले भारतवर्षमा शासन गरे । यो शासनकालमा ‘फुटाउ र राज गर’ भन्ने नीति अन्तर्गत भारतका मुसलमान र हिन्दूलाई विभाजित गर्नका लागि फारसीबाट प्रभावित भएको उर्दू भाषालाई प्राथमिकता दिने थालियो । बेलायती शासकले एकातिर मुगल साम्राज्यको विरासतको रुपमा दक्षिण एसियामा रहेको फारसी भाषालाई निमिट्यान्न पार्न अंग्रेजी र अर्कोतिर बहुसंख्यक हिन्दूलाई ‘साइड लगाउन’ नस्तलिक लिपीमा लेखिने फारसीकृत उर्दू भाषालाई प्राथमिकता दिँदै गए ।

यो अवधिसम्म उर्दू भाषा दक्षिण एसियामा मुसलमानहरूको पहिचानको भाषा बनिसकेको थियो । सन् १९४७ मा भारतीय उपमहाद्वीपमा बहुसंख्यक मुसलमानका लागि भनी स्थापना गरिएको पाकिस्तानले उर्दूलाई राजभाषाको दर्जा दियो । उबेलाको पूर्वी पाकिस्तान, हालको बंगलादेश स्वतन्त्र बन्नुको एउटा कारण पाकिस्तानले उर्दू भाषालाई जबरजस्ती लादेकै कारण भाषा विद्रोह हुनु पनि रहेको थियो ।

******

नेपालमा मुसलमानहरुको आगमन व्यापारीका रुपमा भएको पाइन्छ । सन् १४९१ देखि सन् १५०१ सम्म तत्कालीन कान्तिपुरका राजा रत्न मल्लाको निमन्त्रणामा मुसलमानहरु काठमाडौं प्रवेश गरेका बताइन्छ । १४ औं शताब्दीको अन्त्य, १५ औं शताब्दीको शुरुसम्म कश्मीरमा शासन गरेका शाह मिरी वंशका मुसलमान शासक सिकन्दर शाह मिरीको नेतृत्वमा कश्मीरका हिन्दुहरुलाई इस्लामीकरण गर्ने तीब्र अभियान चलाएका थिए । त्यसबेला त्यहाँका अधिकांश हिन्दूहरु मुसलमान धर्ममा लागेका थिए ।

सिकन्दर शाह मिरीको वंश फारसी–तुर्केली मूलको इतिहासकारहरु बताउँछन् । सोही कारण त्यसबेलाका कश्मीरी मुसलमानहरु पनि फारसीकृत भएका थिए । सोही कारण नेपाल प्रवेश गर्ने शुरुआती मुसलमानहरु पनि फारसीकृत भइसकेको बताइन्छ ।

त्यसबाहेक भारतवर्षमा मुगल शासनकालका विभिन्न समयक्रममा विभिन्न कारण ठूलो सङ्ख्यामा मुसलमानहरु नेपाल प्रवेश गरेका थिए । मुगल कालमा भारतवर्षका मुसलमानहरु फारसीकृत भइसकेकाले त्यसबेला नेपाल प्रवेश गर्ने मुसलमानहरु पनि फारसीकृत भइसकेका थिए भन्ने अनुमान लगाउन सकिन्छ ।

पछिल्लो समय भारतवर्षको इस्लामिक सँस्कृतिबाट पनि नेपाली मुसलमानहरु निकै नै प्रभावित छन् । दक्षिण एशियाली मुसलमानहरुले मध्यपूर्वका कट्टर शैलीको इस्लाम धर्ममा आस्था राख्ने गरेका छैनन् । यद्यपि पछिल्लो समय उहाबी, देओबन्दी, सालाफी विभिन्न किसिमको इस्लामिक विचारधाराले दक्षिण एशियाली मुसलमानलाई प्रभावित बनाउँदै आएको देखिन्छ ।

दक्षिणी एशियामा इस्लाम धर्म आध्यात्मिक किसिमको सुफी मतबाट प्रभावित छ । सुफी इस्लामिक दुनियाँमा उदार मत मानिन्छ । आध्यात्मिक किसिमका हुने भएकाले यस्ता मुसलमानहरु भाषा, कला र सँस्कृतिमा कट्टरतालाई पछ्याउँदैनन् । एउटा सामान्य उदाहरण, दक्षिण एशियाली मुसलमानहरु साब–ए–बारात मनाउँछन् ।

यो विशुद्ध सुफी सँस्कृति हो भने साब–ए–बारात आफैँमा फारसीकृत शब्द हो । इस्लामिक पात्रोको आठौं महिना सबआनको १४ र १५ तारिखको रात आफ्ना पापहरु अल्लाहले माफी गरिदिउन् भन्नाका लागि विशेष प्रार्थाना गर्ने परम्परा छ । सालाफी र अन्य इस्लामिक मत मान्ने अरबहरु यसलाई मान्दैनन् ।

त्यस्तै, दक्षिण एशियाली मुसलमानहरुले इस्लामिक क्यालेण्डरको तेश्रो महिना अर्थात् रबी अल अव्वलमा मोहम्मल सल्लाल्लाहू अलैह वसल्लमको जन्मदिन मिलाद उन नबी मनाउने गर्छन् । अरब इस्लामिक सँस्कृतिमा कुनै पनि जन्मदिन मनाउन नहुने विचार रहिआएकाले अरबहरु यसलाई मान्दैनन् ।

त्यसबाहेक अधिकांश दक्षिण एशियाली मुसलमानहरुले आफूलाई सुन्नी भनेर चिनाएपनि ठूलो सङ्ख्यामा अशुरा मनाउँछन् । अशुरा आफैँमा शिया सँस्कृति हो । इस्लामिक क्यालेण्डर (पात्रो)को पहिलो महिना मुहर्रमको १० तारिखमा मनाइने अशुरामा चौथो इस्लामिक खिलाफ तथा शिया इस्लामका पहिलो इमाम अली इब्न अबी तालिबका छोरा हुसैन इब्न अलीले कार्बालाको युद्धमा शहादत पाएको सम्झनामा शोक मनाउने प्रचलन छ । दक्षिण एशियाली मुसलमानहरुले आफूलाई सुन्नी भनेर चिनाएपनि अशुरा मनाउने गरेका छन् ।

दक्षिण एशियाली मुसलमानहरुले सुफी मतबाट प्रभावित भएको इस्लामिक सँस्कृति मान्ने गरेकाले पनि दक्षिण एशियामा फरसी भाषाको विरासत कायमै रहेको हुनसक्ने बताइन्छ ।

त्यस्तै, भारतीय उपमहाद्वीपका मुसलमानहरूले इस्लामिक शब्दहरू अरबी भाषा भन्दा पनि फारसी भाषाबाट आयात गरेका छन् । धेरै शताब्दी लामो समयसम्म फारसी भाषाबाट प्रभावित भएका मुसलमानहरूले फारसी भाषाका इस्लामिक शब्दहरू प्रयोग गर्नु अस्वाभाविक पनि होइन । नेपाली भाषाका इस्लामिक शब्दहरू पनि दक्षिण एसियाली अन्य भाषाजस्तै फारसी भाषाबाट प्रभावित छन् । सोही कारण नेपाली मुसलमानहरु पनि अन्य दक्षिण एशियाली मुसलमानहरुजस्तै फारसीकृत इस्लामिक शब्दहरु प्रयोग गर्छन् । त्यसैले नेपालमा रमादानलाई रमजान भन्ने गरिन्छ ।


भर्खर

0