नारायण गोपालबारे तीन भ्रम– रानी ऐश्वर्य, मदिरा र घमण्ड | Khabarhub Khabarhub
Logo
७ माघ २०७६, मंगलबार

नारायण गोपालबारे तीन भ्रम– रानी ऐश्वर्य, मदिरा र घमण्ड



खास गरी स्वरसम्राट नारायण गोपालका बारेमा दुईवटा कुरा भइरहने गर्छन् ।

धेरैले नारायण गोपाललाई घमण्डी थियो भनेर भन्ने गर्छन् । तर, उनी घमण्डी थिएनन् । उनको व्यवहार चाहिँ धेरै साथी बनाएर हिँड्ने, धेरै मान्छेसँग घुलमिल गर्ने खालको थिएन ।

यसकारण पनि हुनुपर्छ, मान्छेले नारायण गोपाललाई घमण्डी भन्ने गर्थे ।

उनीसँग नजिक भएको मान्छेलाई चाहिँ उनी कति गज्जबका मित्र थिए भन्ने थाहा हुन्थ्यो । उनका बारेमा नकारात्मक कुरा पत्रिकामा पनि पढियो ।

वास्तवमा भन्ने हो भने अस्पतालमा रगत चढाएर अस्पतालको शैय्यामा लडिरहेका बेला पनि हामीलाई हँसाउने गर्थे ।

अझ यहाँ त कतिपय नाम चलेका प्रचलित व्यक्तिहरुले पनि नारायण गोपालमाथि आरोप लगाउने गर्छन् । तर, त्यस्तो होइन । बरु उनी स्वाभिमानी थिए । कतै त नारायण गोपालले केही नपाएका हुनाले उनी स्वाभिमानी हुन् भन्ने लेखेको पनि देखियो । तर, यो चाहिँ गलत कुरा हो ।

सामान्य मान्छेले झैँ नारायण गोपालले पनि कुनै इच्छा नै नराख्ने भन्ने होइन । तर उनले कति कुरामा इच्छा राख्थे । तर, आफ्ना लागि इच्छा राखेको पाइँदैन । उनले अन्तरंग कुराहरु म र मजस्तै नजिकिएका व्यक्तिसँग गरे । मलाई कहिल्यै लागेन कि, उनी इच्छा नै नभएका व्यक्ति थिए ।

रेडियो नेपालले जुराइदिएको संगत

नारायण गोपाल रेडियो नेपालमा निरन्तर जसो आउने गर्थे । एमए पढ्दाताका म पनि रेडियो नेपालमा सधै जसो लेख्ने गर्थेँ । विदेशमा भएका नेपालीका लागि भनेर हामीले कविताको कार्यक्रम तयार पार्ने गर्थ्यौ‌ ।

कहिलेकाहीँ मैले रुपक पनि लेख्थेँ । गीतीकथा पनि लेखिरहेको हुन्थेँ । रेडियोको संगतले म, विश्वबल्लभ र नारायण गोपाल खुबै नजिकिँदै गयौँ ।

हामी रेडियो नेपालपछि न्यूरोडतिर लाथ्यौँ । त्यहाँ एउटा मासु पसल पनि थियो । मलाई याद भएसम्म त्यहाँ काल्चाको मासु पसल थियो । त्यहाँ खुबै मीठो खसीको मासु, ग्रेभी र चिउराको परिकार पाइन्थ्यो । हामी त्यहाँ जान्थ्यौँ ।

बिस्तारै मेरो र नारायण गोपालको संगत बाक्लिँदै गयो । केही समयपछि म अमेरिका पढ्नका लागि जाने भएँ । त्यतिबेला नारायण गोपालले घर बनाउन थालेका थिए ।

नारायण गोपालको स्वरमा ईश्वरीय शक्ति थियो

नारायण गोपालका गीत सबै उत्तिकै लोकप्रिय छन् । उनको स्वरमा एउटा अचम्मको जादु थियो । ईश्वरीय शक्ति थियो । उनले गोरखापत्रको समाचारलाई पनि गीत गाएर सुनाऊ भन्यो भने बडो गज्जबले गीत बनाइदिन्थे ।

भन्न त मान्छेले भन्ने गर्छन्, गीत भनेको संगीत, स्वर शब्दको संगम हो । तर, नारायण गोपालको स्वरमा बेग्लै जादु थियो ।

अमेरिकाबाट फर्केर आएपछि फेरि संगत बढ्यो

म अमेरिकाबाट फर्केर आएपछि नारायण गोपालसँग मेरो मित्रता झनै बढ्यो । वीर अस्पतालको ओछ्यानसम्म पनि हामीसँगै भयौँ । म अमेरिकाबाट फर्केर आउँदा उनी सांस्कृतिक संस्थानको जनरल म्यानेजर भइसकेका थिए ।

जबसम्म उनमा चेतना थियो, त्यो बेलासम्म पनि हामीसँगै रह्यौँ । मेरो संगतको आधारमा भन्दा उनी निकै सम्मानित व्यक्ति थिए ।

हामी पछिल्लो समय सधैजसो भेट्यौँ । म उनको घरमा गएर घण्टौँ बिताउने गर्थेँ । म आउने भनेपछि घरमा पनि त्यसरी नै व्यवस्था गर्थे । कहिलेकाहीँ म जाँदा उनले इतिहासका पुस्तक पढेर बसिरहेका भेटिन्थे । उनी एक्लो हुँदा पुस्तक पढ्ने गर्थे ।

सांस्कृतिक संस्थानबाट रिटायर्ड भएपछि दिनभरि घरमा एक्लै हुन्थे । उनकी श्रीमती (पेमला गुरुवाचार्य) पनि जागीरमा जानुहुन्थ्यो ।

बेरोजगार हुँदा रक्सी धेरै पिए ।

केही समय उनी बेरोजगार बसे । मलाई लाग्यो यसरी एक्लै बेरोजगार भएर बस्यो भने उनको सिर्जनाशीलता घट्छ । घरमा एक्लै बस्दा डिप्रेसन हुन्छ । बेकारको छटपटी हुन्छ ।

त्यसपछि मैले नै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुसँग कुरा गरेर उनको जागीरका लागि आग्रह गरेँ ।

उहाँहरुले पनि यो कुरालाई मेरो अनुरोधलाई सकारात्मक रुपमा लिनुभयो ।

त्यसपछि मैले नारायण गोपाललाई भनेँ – तपाईंलाई त्रिभुवन विश्वविद्यालयलले एक वर्षका लागि सह–प्राध्यापकका रुपमा अनुबन्ध गर्न खोजेको छ ।

मैले यसो भन्दा नारायण गोपाल पनि प्रसन्न भए । मलाई अहिले पनि सम्झना छ ।

उनले भने, ‘मेरो दरबन्दी ललितकला क्याम्पसमा हुने गरेर यदि विश्वविद्यालयले त्यो निर्णय गर्छ भने मेरो सहमति छ ।’

धेरै पछिसम्म पनि उनले त्रिविले सिफारिस गरेको भनेर खुशी पनि जनाए ।

केही समयपछि उनलाई सञ्चार मन्त्रालयमा सल्लाहकारका रुपमा नियुक्त गरेको थियो । मलाई लाग्दैन कि, नारायण गोपाललाई केहीमा पनि चासो थिएन भन्ने होइन ।

भन्नेले यस्तो पनि भन्ने गर्छन् ।

केही कुरामा पनि चासो नै नराख्ने खालको स्वभाव उनमा थिएन । बरु कतिपयले व्यक्तिले त्यतिबेला नारायण गोपालको अन्तर्वार्ता लिन खोजे । नेपाल टेलिभिजनको भर्खरै उदय भएको थियो । पत्रिकाहरु प्रकाशन हुन्थे । तर, उनले अन्तर्वार्ता नै दिएनन् ।

मलाई पनि लागेको हो, त्यो अन्तर्वार्ता ‘अर्काइभ’ बनाएर राख्न सकिन्थ्यो ।

तर, नारायण गोपालसँग अन्तर्वार्ता लिँदा पनि ‘मुड’ बुझ्नुपर्ने हुन्थ्यो ।

अहिले पनि युट्युबमा भेट्न सकिन्छ, स्वर्णिम सन्ध्या कार्यक्रमका केही झलक ।

यो कार्यक्रमको नाम मैले नै चयन गरेको थिएँ । मलाई अहिले पनि सम्झँदा खुशी लाग्छ । हामीले त्यतिबेला नेपाल प्रज्ञा प्रतिष्ठानमा एकल गायन कार्यक्रमको आयोजना गर्‍यौँ ।

नारायण गोपाललाई ‘अप्रोच’ गर्दाखेरि उनको मानसिक स्थिति के छ, कुन मुडमा छ भन्ने ख्याल गर्नुपर्ने हुन्थ्यो । हो, उनी अलिक मुडी स्वभावका मान्छे चाहिँ हुन् ।

त्यो रमाइलो एउटा किस्सा…

हामीले विश्वकप सँगै हेर्थ्यौं । खेल त हेर्थ्यौ‌ं । तर, उनले कुन टिमलाई समर्थन गरिरहेका छन् भन्ने नै थाहा हुँदैनथ्यो । यसो विचार गरर्‍यो, उनी खुशी भएर ताली बजाए भने यही टिमलाई सपोर्ट गरेको होला भन्ने लाग्थ्यो । अरु टिमलाई हामीले मन पराएर ताली बजायौँ भने उनी रुष्ट हुन्थे ।

हामीजस्तो नजिक भएको मान्छेलाई त उनको इच्छा के थियो भन्ने बुझ्न गाह्रो हुन्थ्यो । बाहिरको आँखाबाट हेर्दा विभिन्न किसिमका टिप्पणी गर्दा त्यति पक्कै न्यायिक हुँदैन ।

ऐश्वर्यसँग सम्बन्ध थिएन, यो हल्ला कहाँबाट आयो

मैले नारायण गोपाललाई चिनेर उनको मृत्युको क्षणसम्मको अवस्थामा उनी घरमा आफ्नी श्रीमती (पेमला) बाहेक अरुसँग सम्बन्धबारे थाहा पाइन । मलाई यस्तो जानकारी नै कहिल्यै भएन । युट्युबमा र अन्य कतिपय ठाउँमा राजपरिवारसँग उनको नाम जोडिएको देखिन्छ । मेरो हिसाबमा यो शतप्रतिशत गलत कुरा हो ।

नारायण गोपालले एकपटक सुनाएका थिए ।

एकपटक राजपरिवारले नारायण गोपालका गीत सुन्न चाहे । कार्यक्रम तय भयो । कार्यक्रम हुने भनेपछि नारायण गोपाल पनि पुगे । तर, त्यहाँ उनलाई कसैले चासो नै दिएनन् । न राजपरिवारका तर्फबाट केही लिनुहुन्छ भनेर सोधे ।

नारायण गोपालको मुड अफ भयो । उनी उठेर हिँडिदिए । नारायण गोपाल पानीपोखरीको उकालोमा पुगिसकेका थिए ।

केही मान्छे आएर भने – ‘सरकारको सवारी हुने बेला भयो, तपाईं किन उठेर हिँड्नुभयो?’

नारायण गोपालले स्वास्थ्यको समस्या देखाउँदै भने – ‘मलाई लूज मोसन (झाडापखाला) छ तत्कालै घर जानुपर्ने भयो ।’

यो घटना नारायण गोपालले मलाई शेयर गरेका थिए । उनले त्यतिबेला ती मान्छेले अनुरोध गर्दा पनि कार्यक्रममा नगएको बताए ।

उनले कुनै कुराको चासो नै नदिने मान्छे थिए । राजपरिवारसँग उनी नजिक पनि थिएनन् । यस्तो हल्ला कसरी आयो, कहाँबाट आयो भन्नेले मलाई आश्चर्य बनाउँछ ।

उनको कोहीसँग सम्बन्ध थियो भन्ने मलाई एक प्रतिशत पनि विश्वास लाग्दैन । कसैसँग सम्बन्ध हुन्थ्यो भने थाहा हुन्थ्यो, हामीलाई थाहा नभए अरु कसलाई थाहा हुन्थ्यो ?

अस्पतालको बेडमा पनि ५५५ चुरोट हुन्थ्यो

झण्डै ७ वर्ष उनी बिरामी भए । तर, बिरामी भएको हामी कसैलाई भनेनन् । हो, पछि उनले मदिरा सेवन गर्न छोडेका थिए । तर, चुरोटको लत उनले छोड्न सकेनन् ।

अस्पतालको बेडमा हुँदा पनि उनको कमिजमा ५५५ नाम गरेको चुरोटको प्याकेट हुन्थ्यो । चुरोटका अम्बली रहेका नारायण गोपालले अस्पतालको शैय्यामा भने चुरोट पिउँदैन थिए तर गोजीमा भने चुरोट टुँटाउँदैनथे ।

रक्सी नखाई गीत गाउँदैनन् भन्ने हल्ला फैलाए

नारायण गोपालका बारेमा अनेक हल्ला चल्ने गर्छन् । उनले रक्सी नखाई गीत गाउनै सक्दैनन् भन्ने मान्छेको धारणा थियो । तर, त्यस्तो उनको स्वभाव थिएन ।

म तपाईंहरुलाई दुईवटा किस्सा सुनाउँछु ।

हामीले सांस्कृतिक कार्यक्रमसहित त्रिभुवन विश्वविद्यालयको जन्मोत्सव मनाउने योजना बनायौँ । मध्यान्तरभन्दा अघि विद्यार्थीको प्रस्तुति रहने र पछि नारायण गोपालको एकल कार्यक्रम गर्ने तय भयो ।

धेरैले सल्लाह दिए – उहाँलाई ड्रिङ्क्सको व्यवस्था गर्नुपर्छ ।

तर, उनले मानेनन् । त्यो दिन कार्यक्रममा उनले अल्कोहल खान मानेनन् ।

फेरि पछि हामीले स्वर्णिम सन्ध्या कार्यक्रम आयोजना गर्दा उनी त अझ बिरामी थिए । खोकी पनि लागेको थियो, हल्का जोरो पनि आएको थियो ।

त्यतिबेला कार्यक्रम शुरु हुनुपूर्व श्रीमतीले पनि ब्ल्याक लेभल ल्याएर बस्नुभएको थियो तर नारायण गोपालले एक थोपो पनि पिएनन् ।

मलाई सम्झना भएसम्म बरु कार्यक्रम सकिएपछि साथीहरु बसन्त चौधरी, सम्भुजीत बाँस्कोटा लगायत एभेरेष्ट होटल पुगेर हामीले थोरै ड्रिङ्क्स गरेका थियौँ ।

उनले ड्रिङ्क्स पिए पनि व्यवहारमा कहिले अल्कोहल लागेको जस्तो देखाउँदैनथे ।

ठमेल टोलमा एउटा रेष्टुराँ थियो, अक्सर हामी गइरहन्थ्यौँ । नारायण गोपालले कहिलेकाहीँ पेडा या बर्फी खान्थे । स्वास्थ्यको चाहिँ ख्याल गर्दैनथे । गुलियो खाएपछि रक्सी खाइदिन्थे ।

उनी भन्थे – स्वीट्सपछि ड्रिङ्क्स गर्दाको मजा तिमीहरुले पाएकै छैनौ ।

स्वरसम्राट नारायण गोपाल । तस्वीर– गूगल ।

जीवनको अन्तिम इच्छा…

नारायण गोपालले आफ्ना कति इच्छा पूरा नपाएको गुनासो गर्थे । उनले आफ्नो घरलाई संगीत र साहित्य क्षेत्रमा नै लगानी गर्न भन्थे ।

घरमा छोराजस्तै पालेर राखेका काशीराम थिए । म जानुभन्दा अगाडि नै आउँछ भन्ने थाहा पाएपछि उनले रक्सी किन्न पठाइसकेका हुन्थे । काशीराम पनि एउटा व्यक्ति हो । जसलाई मैले पनि जीवनभर बिर्सन सक्दिनँ ।

वीर अस्पतालको शैय्यामा हुँदा नगेन्द्र थापा र म सँगै थियौँ । नारायण गोपालले आफ्नो मृत्यु देखिसकेका थिए ।

उनी लामो समयदेखि बिरामी परेका थिए । पहिलोपटक बिरामी हुँदा पेमलाले फोन गरेर बोलाउनुभएको थियो । त्यतिबेलासम्म पनि नारायण गोपालले आफ्नो बिमारबारे कसैलाई भनेका थिएनन् ।

त्यतिबेला म मोटर चढाएर उनको घर पुगेँ । राति नै अस्पताल लग्यौँ । त्यसपछि उनी बिरामी हुन थाले ।

कहिलेकाहीँ अस्पतालमा उनको ‘फ्रस्टेसन’ एक्लै सुन्न नसक्दा म अरु साथीलाई पनि लिएर जान्थेँ । म एक्लै जाँदा नारायण गोपालले भन्थे –किन साथी लिएर नआएको ?

उनले अन्तिम समयमा पनि संगीत र साहित्यकै बारेमा कुरा गरिरहेका थिए ।

मलाई उनले भनेको अझै याद छ, ‘मेरो घरलाई संगीत र साहित्यका लागि खर्च गरे हुन्छ । श्रीमतीसँग सल्लाह गर्नू, उसका लागि घरको एउटा कोठा छुट्याउनु, काशारामको ख्याल गर्नू ।’

अन्तिम इच्छाअनुरुप नारायण गोपालको नाममा ‘नारायण गोपाल संगीत कोष’ स्थापना भएको छ । यसले मलाई निकै खुशी तुल्याएको छ ।

प्रस्तुति/भिडियो/तस्वीर– अर्घेलो थापा/खबरहब


भर्खर

0