बहादुर नेपाली सेनाको वीर गाथा « Khabarhub
Logo
२ आश्विन २०७८, शनिबार

बहादुर नेपाली सेनाको वीर गाथा



राज्यको आवश्यकतामा नै सेनाको विस्तार र विकास हुने हो । यही क्रममा गोर्खा राज्यको राजनीतिक इच्छा शक्तिले आफ्नो भू–भाग बढाउने सपना देखेर नै अन्ततः एक संगठित सेनाको विकास भयो । नेपाल राष्ट्रको गौरवशाली संगठनहरूमध्ये सबै भन्दा पुरानोसंस्था हो नेपाली सेना । यस देशको इतिहाससँगै नेपाली सेनाको इतिहास थालनी भएको प्रमाणित भएको छ । यसको आफ्नै विशेषताहरू छन् ।

समय सापेक्ष यो संगठन परिवर्तन र परिमार्जन भई आज यो ‘नेपाली सेना’ को नाममा रहेको छ । यो संस्थाले इतिहासको थालनीदेखि आजसम्म सरकारको आदेश पालना गरी राष्ट्रप्रति लगनशिल, बफादार, राष्ट्रभक्त र कर्तव्यपरायण भई उच्चतम् कीर्ति र यश कमाएको छ । नेपाली युवाहरू चाहे आफ्नै राष्ट्रको सेनामा होउन चाहे विदेशी सेनामा कार्यरत होउन आफ्नो इमान्दारीता, कर्तव्यपरायणता र निस्वार्थ सेवाले ‘वीर गोरखाली’ भनी इज्जत कमाएका छन् ।

कुनै समयको युद्धमा नेपाली सेनाहरू ‘आयो गोरखाली’ भनी अगाडि बढ्दा कुन चाहिं शत्रुको मुटु कम्पन नगरेको होला यहि हो नेपाली सैनिक इतिहासको वास्तविकता र गौरव । इतिहासकालका विभिन्न युद्धभूमिदेखि २० औं शताव्दीको फकल्याण्डको युद्धसम्म वीर नेपालीहरूले आफ्नै पौरख देखाउँदै आएको सत्य र तथ्य हाम्रो सामु छ । नेपाली वीरहरू बरू प्राण अर्पण गर्न तयार नै हुन्छन् तर पछि हट्दैन । यहि वीर गाथा नै नेपाली सेनाको वास्तविकता हो ।

नेपाली सेनामा पनि देशको भौगोलिक कारणले गर्दा परापूर्वको घोडा चढि सेना मात्र हुन सकेन । तत्कालीन नेपाली सेनामा पैदल, घोडचढी र हात्ती सेनाहरू मात्र थिए । पाचौं शताव्दीमा पश्चिममा गण्डकी नदी पारिका विद्रोही सामन्तहरूलाई दवाउन पैदल र हात्ती सेना प्रयोग गरिएका थिए भने आठौं शताव्दीमा नेपाली घोडचढी फौजले उत्तर भारतमा आफ्नो पुरूषार्थ देखाएको थियो ।

यसप्रकार प्राचिन नेपालको सैनिक कार्य सराहनीय थियो । प्राचिनकालदेखिका तीनप्रकारका सेनाहरूमा मध्यकालसम्म राजनीतिक परिवर्तन साथै सैनिक प्रथामा पनि परिवर्तन हुँदै आयो । स्थायी सेनाको सट्टामा जनसहभागिताको आधार एक राज्यको युवाहरूलाई आवश्यकताको आधारमा परिचालन गर्ने प्रथा देखापर्‍यो ।

युवाहरूलाई तत्कालीन हतियारहरू–तरवार, भाला, खुकुरी, खुँडा, धनुष वाँण आदि प्रयोग गर्ने तालिम दिइन्थ्यो । आवश्यकताअनुसार प्रत्येक घरबाट आवश्यक संख्यामा युवाहरू आव्हान गरी युद्धमा परिचालन गरिन्थ्यो । मध्यकालसम्ममा देशभित्र राजपरिवारिक कलह, सामन्तहरूको विद्रोह, विभाजित राज्यहरूबीचका युद्धहरू र विदेशी आक्रमणहरूले गर्दा प्रत्येक राज्यमा सैनिक संगठन अझ बढि दरिलो बनाइयो ।

नेपालमण्डल राज्यका शासक परिवारहरूबीच झगडाको कारण काठमाडौं उपत्यकाले धेरै आक्रमणहरू भोग्नु पर्‍यो । आक्रमणकारीहरूलाई प्रशस्त सम्पति प्रदान गरी फिर्ता पठाइन्थ्यो

तथापि स्थायी सेना संगठन गरिएको आभास भएको छैन् । त्यस समय युवाहरूलाई सैनिक तालिम दिनुको साथै हतियारहरू प्रयोग गर्ने अभ्यास दिइन्थ्यो । विभिन्न मन्दिरहरू र विहारहरूमा समेत हतियारहरू संकलन गरी राखेको थियो । आपत्कालमा घण्टा वा नगरा बजाई आमनागरिक जम्मा गरिन्थ्यो, हतियार हुनेले आफैं ल्याउँथे र नहुनेलाई सरकारको तर्फबाट मन्दिर, विहार वा किल्लामा राखिएका हतियार वितरण गरिन्थ्यो । यसप्रकार मध्यकालमा स्थायी सेना नराखी जनसहभागिताको आधारमा राज्यको सुरक्षा कार्य गरिन्थ्यो । हात्ती सवार फौजबारे यदाकदा मात्र उल्लेख भएकोले सो फौज लोप हुँदै गएको आभास हुन्छ ।

मध्यकालमा सैनिक कारवाही सञ्चालन गरी आय आर्जन गर्ने दृष्टतापूर्ण कार्य हुन थालेको देखिन्छ । पूर्व मध्यकालमा यहाँ तीन राज्यहरू –त्रिशुलीदेखि कुमाउँ गढवालसम्मको खस मल्ल राज्य, त्रिशुलीदेखि कोशीसम्मको पहाडी इलाकामा नेपालमण्डल राज्य र महाभारतदेखि दक्षिणमा बोधगया र गंगा, पूर्वमा कोशी र पश्चिममा गण्डकी नदीबीचमा अवस्थित सिमरोन गढबाट प्रशासित कर्णाट वंशी राज्य थिए ।

ती राज्यहरूमा पनि विशेष गरी नेपालमण्डल राज्यका शासक परिवारहरूबीच झगडाको कारण काठमाडौं उपत्यकाले धेरै आक्रमणहरू भोग्नु पर्‍यो । आक्रमणकारीहरूलाई प्रशस्त सम्पति प्रदान गरी फिर्ता पठाइन्थ्यो । यस्ता घटनाहरूको फलस्वरूप सैनिकिकरण सुरूवात भयो । विशेष गरिकन खस मल्ल राज्यले नेपाल राष्ट्रलाई दुई पक्ष भाषा अर्थात खश भाषा (वर्तमान नेपाली भाषाको पूर्व रूप) र सैनिकिकरण विशेष देन प्रदान गर्‍यो ।

गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण गर्ने अभियान शुरू गरेपछि स्थायी सेनाको आवश्यकता महसुस भयो 

सवल सैनिक शक्ति भएकोले नै खश मल्ल साम्राज्य स्थापना भयो । पूर्व मध्यकालको अन्तमा खस मल्ल र कर्णाटवंशी राज्यहरू अन्त भई नेपाल देश अझ विभाजित भई बाइसी, चौवीसी, तीन नेवार मल्ल (तर जयास्थिति मल्ल क्षेत्रि वंशिय थिए) र त्यसका पछिका नेवार मल्ल भनिएकाहरु क्षेत्रि वंशिय नै थिए । राज्य र पूर्वी सेन तीन राज्यहरू गरी ५२ वटा राज्यहरू स्थापना भए । यसको परिणाममा पहिलाको जस्तो सवल र सक्रिय सेना भुरे राज्यहरूले राख्न सकेन । तत्कालीन भुरे राज्यहरूमा विशेष गरी नेवार मल्ल राज्यहरू धर्म, संस्कृति र कलाकौशलको उन्नयनमा लागे । सैनिक पक्ष जनसहभागितामा आश्रित भए ।

उत्तर मध्यकालमा भुरे राज्यहरूमा स्थायी सेना राख्नुको सट्टामा आवश्यक पर्दा जनसहभागिताको आधारमा जम्मा गरिएका सेना नै प्रयोग गरी समस्या सुल्झाइन्थ्यो । पछि गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण गर्ने अभियान शुरू गरेपछि स्थायी सेनाको आवश्यकता महसुस भयो ।

त्यसैले पृथ्वीनारायण शाहले वि.स. १८१९ मा पाँच कम्पनीहरू( श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी (पछि बर्दबहादुर भनियो) र सबुजको स्थापना गरे । यो कार्य नेपालको सैनिक इतिहासमा विभिन्न पक्षबाट कोशे ढुङ्गा भएको प्रमाणित भएको छ । वि.सं. १६१६ मा भगीरथ पन्तको नेतृत्वमा खडा भएको गोरखाली सेनाले परम्परागत रूपले सैनिक व्यवस्था कायम गरी आएकोमा २०३ वर्षपछि मात्र नेपाली (गोर्खाली) सेनामा पहिलो पटक पाश्चात्य पाराको १०० नाल हतियारको १०० जना संख्या रहने गरी कम्पनी खडा भएको थियो ।

जनसहभागिताको आधारमा भन्दा स्थायी रूपमा स्थापना गरिएका सेनाहरू प्रतिभाशाली र प्रभावशाली देखापर्न थाल्यो । यसैले शासकहरूले स्थायी सेना राख्ने नीति अपनाए । यस्तो नीति कान्तिपुरका राजा जयप्रकाश मल्ल र गोरखाका राजा पृथ्वीनारायण शाहले अपनाए । पछि मल्लवंशको अन्त्य गरी पृथ्वीनारायण शाहले विभाजित देशलाई संगठित गर्ने नीतिमा लागे ।

स्थायी सेनामा कुन कुन जाति राख्न उपयुक्त होला भनी उनले आफ्ना मामा पाल्पाका राजकुमार उद्योत सेनसँग सल्लाह माग्दा खश जातिलाई प्राथमिकता दिनु उपयुक्त हुने सल्लाह दिए तापनि उनले आफ्ना राज्यका सबै जातिका मानिसहरू आफ्ना सेनामा भर्ति गरेको प्रमाणित भएको छ । राजा रणबहादुरको शासनकालमा वाइसी राज्यहरूमाथि आक्रमण गर्न पठाइएका सेनामा पराजित राज्यका मानिसहरू पनि गोरखाली सेनामा राखिएका तथ्य तत्कालीन राजपुरोहित विद्धान शक्ति वल्लभले आफ्नो कृति जय रत्नाकर नाटक मा उल्लेख गरेको पाइन्छ ।

नेपाली सेनाहरूले गुर्गिन खाँ र क्याप्टेन किनलक, नेपाल–तिब्बत–चीन युद्धमा आक्रमणकारी विदेशी सेनाहरूलाई नराम्रोसँग पराजय गर्न सफल भए । त्यस्तै वीरता, साहस र सफलता हासिल गर्दै नेपाली सेनाअगाडि बढ्दै गए 

विश्वको इतिहासले यो प्रमाणित गरेको छ कि कुनै पनि जाति आफ्नो राष्ट्रको रक्षाको लागि दत्तचित्त र प्रतिभाशाली हुन्छन । खाली यो तथ्य हो कि कुनै जाति अर्को जाति भन्दा सैनिक दृष्टिकोणबाट सवल र प्रतिभाशाली हुन्छ र विजय हासिल गर्दछ । प्राचीन र मध्यकालीन सैनिक इतिहास र रणनीति बारेमा यो पनि भनाई छ कि युद्धमा एक सुसंस्कृत र सभ्य जातिलाई असंस्कृत, असभ्य र निर्दयी जातिले विजय हासिल गर्दछ ।

सुसंस्कृत र सभ्य मानिसहरू निर्दयी हुदैनन्, मारकाटमा लाग्दैनन् । असभ्य मानिसहरू आफ्नै फाइदाको लागि निर्दयी र मारकाटमा लागि रहन्छन् । तर वास्तविकतामा मानव समाजको विकासको इतिहासले यो प्रमाणित गरेको छ कि जुन जाति युद्धकलामा निपुर्ण हुन्छ सोही जातिले विजय हासिल गर्दछ । यहि तथ्य हाम्रो सैनिक इतिहासले प्रमाणित गरेको छ ।

नेपाल देशको इतिहासमा पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरू जुन किसिमले युद्धकला र रणनीतिमा लगनशील भई दक्षता हासिल गरे त्यसैको फलस्वरूप गोरखाली सेनाले सफलता हासिल गर्दै अगाडि बढे । तीन नेवार मल्ल राजाहरू भक्तपुरको युद्ध वि.स. १८२६ पछि अन्त भयो । शाह राजाहरूले पराजित क्षेत्रका युवाहरू पनि आफ्नो सेनामा संलग्न गराए ।

यहि अवधिमा नेपाली सेनाहरूले गुर्गिन खाँ र क्याप्टेन किनलक, नेपाल–तिब्बत–चीन युद्धमा आक्रमणकारी विदेशी सेनाहरूलाई नराम्रोसँग पराजय गर्न सफल भए । त्यस्तै वीरता, साहस र सफलता हासिल गर्दै नेपाली सेनाअगाडि बढ्दै गए । पृथ्वीनारायण शाहले सेनामा पदोन्नती युद्धमा देखाएको बहादुरी, रणकौशलता र दक्षताको आधारमा गर्ने नीति अपनाएको कारणले नै गर्दा नेपाली सेनामा कार्य कुशलता र सफलता मिल्दै गयो ।

यस्तो नीति फ्रान्समा नेपोलियन बोनापार्टले अपनाएका थिए तर नेपालमा भने भीमसेन थापा मुख्तियार र जनरल भएपछि जनरल, कर्नेलको पद आफ्नो परिवारमा सीमित राखी कम्पु तथा पल्टनपनि आफ्नो पिता, भाई र भतिजाको मातहतमा राखे । साथै कोत पर्वपछि राणा परिवारको उदय भएपछि सेनामा पदोन्नतीको नीतिमा आमुल परिवर्तन राणाहरूले गरे । राणा शासकहरूले सैनिक उच्च पदहरू आफ्नै परिवारको एकलौटी अधिकार कायम गरे।

नेपाली जवानहरू शुरूमा पञ्जावका महाराजा रणजित सिंहको सेनामा भर्ती भई लाहोरमा काम गरेको हुनाले उनीहरू स्वदेश फर्केपछि ‘लाहुरे’ भन्ने चलन चल्यो 

नेपालको इतिहासमा कुनै पनि युद्धमा सरिक नभई ‘जनरल’ र ‘प्रधान सेनापति’ पद पाउने प्रथम व्यक्ति भीमसेन थापा नै थिए । ‘प्राइम मिनिष्टर एण्ड कमाण्डर–इन–चीफ’ हुने व्यक्ति माथवरसिंह थापा थिए । यहि क्रमलाई राणाहरूले अनुकरण गरे । यहि कारणले गर्दा पछि नेपाली सेनामा समानुपातिक विकास भएन ।

विभाजित नेपाललाई एकीकरण गर्ने अभियानमा दु्रततर गति आएपछि नेपाली सेनामा संख्यात्मक वृद्धि गर्न आवश्यक हुन गयो । पृथ्वीनारायण शाहले पाँच कम्पनी स्थापना गरेपछि निरन्तर रूपमा वि.स. १८७१–७३ को कम्पनी सरकारसँगको युद्धसम्म सेनाको संख्या बढाउँदै गयो ।

विशेषगरी चौबीसी र बाइसी राज्यहरूलाई विजय गर्न बृहत तयारी गर्न थालियो । सोहीअनुरूप विभिन्न नयाँ कम्पनीहरू गठन गरियो । अझ छिमेकी देशहरूसँगको युद्धकालमा स्थायी सेनाले मात्र नपुगी झारा प्रथा (अस्थायी) द्वारा असंख्य सेनाको संगठन गर्नु परेको थियो । नेपाल कम्पनी सरकारको युद्धपछि तेस्रो नेपाल भोट युद्ध वि.स.१९११ बाहेक नेपालले कुनै पनि बाह्य युद्धमा सरिक हुन परेन ।

वीर नेपाली सेनाले आफ्नो राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता र स्वतन्त्रताको लागि मात्र होइन, नुनको सोझो गर्नको लागि पनि त्यतिकै बहादुरी र साहसका साथ आपूmलाई युद्धमा होमी आफ्नो वीरता देखाएका थिए र देखाउँदै छन् । विदेशी सेनामा भर्ती भएका नेपाली युवाहरूले खटाइएका युद्ध क्षेत्रमा बडा संयमतापूर्वक आफ्नो कार्य सम्पन्न गर्न कहिल्यै पछि परेका थिएन र पर्दैन पनि ।

नेपाली जवानहरू शुरूमा पञ्जावका महाराजा रणजित सिंहको सेनामा भर्ती भई लाहोरमा काम गरेको हुनाले उनीहरू स्वदेश फर्केपछि ‘लाहुरे’ भन्ने चलन चल्यो । त्यहि चलनले जो कोही पनि नेपाली विदेशमा जागिर खान गयो भने ‘लाहुरे’ भन्ने चलन रहेको छ । ती नेपाली युवाहरू हङकङ, ब्रुनाई, बेलायत, भारत जहाँसुकै सेना भई काम गर्नेलाई ‘लाहुरे’ भन्ने गरिएको छ ।

उनीहरूले विशेष गरिकन वृटिश गोरखा रेजिमेण्टमा काम गर्दा जुन इमान्दारी, बहादुरी र कर्तव्यपरायणता देखाए त्यसबाट विश्वको सैनिक इतिहासमा ख्याति प्राप्त गरेका छन् । जर्मन सम्राट विलियम कैजरसमेत वीर गोरखाली सेनादेखि तर्सन्थे । प्रथम विश्वयुद्धमा नेपाली सेनाले देखाएको बहादुरी र प्रभावले गर्दा दोस्रो विश्वयुद्धअगाडि नेपाललाई आफ्नो पक्षमा लिई वीर गोरखालीहरू आफ्नो सेना समावेश गर्ने भित्रि मनसायले प्रधानमन्त्री जुद्ध शम्शेरलाई जर्मनी, इटाली, जापान, फ्रान्स आदि विभिन्न देशबाट तक्माहरू प्रदान गरियो ।

तर नेपालीहरू आफ्ना छिमेकी हितैषी अंग्रेज सरकारलाई सहयोग गरी नेपालीहरूले तत्कालीन ब्रिटिश गोर्खा फौजबाट विभिन्न युद्धमा अतुलनीय बहादुरी तथा साहस प्रदर्शन गरेवापत ब्रिटिश साम्राज्यले अति गौरवमय तक्मा ‘भिक्टोरिया क्रस’ प्रथम विश्वयुद्धमा दुई जनालाई र दोस्रो विश्वयुद्धमा १० जनालाई प्रदान गरेको थियो ।

नेपाली शासकहरूले आफ्नो मातृभूमिमा उपयुक्त प्रकारले उद्योगधन्दाहरू विकास गरी जीविकोपार्जन गर्ने अवसर स्वदेशमा नै नेपाली युवाहरूले पाएको भए विश्व युद्धहरूको समयमा नेपालका लाखौं तन्नेरी युवतीहरू विधवा हुनु पर्दैन्थ्यो 

त्यसैगरी नेपाली सेनाबाट लड्ने योद्धाहरूले ‘मिलिटरी क्रस’ तक्मा पाएका थिए । नुनको सोझो गर्नु नेपालीको महान विशेषता हो । स्वतन्त्र भारतलाई पनि समस्या पर्दा नेपालले सैनिक सहयोग प्रदान गरेको थियो । सन् १९६५ मा भारत–पाकिस्तान युद्ध हुँदा भारतस्थित गोरखाली सेनाका जवानहरूले निडरताका साथ युद्धभूमिमा सहभागी भई आफ्नो जीउ ज्यानको बलिदान दिई कर्तव्यपरायणताको सराहनीय परिचय दिएका थिए ।

त्यस्तै प्रकारले संयुक्त अधिराज्य र अर्जेन्टिनाबीच भएको युद्धमा पनि ब्रिटिश गोरखा रेजिमेण्टका जवानहरूले फकल्याण्डको रणभूमि इराक र अफगानिस्थानमा समेत अति सराहनीय भूमिका खेलेका थिए । यसरी नेपाली जवानहरूले विश्वका विभिन्न रणभूमिमा अति साहस, पराक्रम, बहादुरी र रणकौशल देखाई नेपाललाई ‘वीर गोरखालीहरूको देश’ भनी चिनाए ।

शासनको बागडोरमा रहेकाहरूले नेपाली युवाहरूलाई जीविकोपार्जन गर्न पाइनेस्थिति स्वदेशमा खडा नगरी दिएकोले ति वीर युवाहरूले विदेशीहरूको सेवामा लागेर पनि कहिल्यै आफूलाई जागिर दिने कसैलाई विश्वासघात गरेनन् । नेपाली शासकहरूले आफ्नो मातृभूमिमा उपयुक्त प्रकारले उद्योगधन्दाहरू विकास गरी जीविकोपार्जन गर्ने अवसर स्वदेशमा नै नेपाली युवाहरूले पाएको भए विश्व युद्धहरूको समयमा नेपालका लाखौं तन्नेरी युवतीहरू विधवा हुनु पर्दैन्थ्यो ।

यो तथ्य नेपालको जनमानसको इतिहासको अति दुःखद पक्ष हो । तथापि नेपालीहरूको विशेषता हो नुनको सोझो गर्नु। वि.स. १६१६ देखि आजको दिनसम्म नेपाली सेनाले अविछिन्न रुपले नेपाली माटोको खातिर नुनको सोझो गर्दै आएको छ । लिग लिग कोटबाट सुरुनै गोरर्खा एडय बनायो अनि ग्रेटर नेपाल बनाउन हजारौ जीवा बलिदानी गर्‍यो । यो नेपाल पुर्खाहरुले खडा गरेको सैनिक बल्ड बैंक पनि हो । माटोको सेवाको लागी जीवन आहती दिने सम्पुर्ण ज्ञात अज्ञात सहिद सिपाहीप्रति हार्दिक श्रदान्जली अपर्ण गर्दै सेना दिवस २०७५ लाई सलाम ।

(नेपाली सेनाको पूर्व व्रिगेडिएर जनरल रहेका लेखक बस्न्यातले नेपालको सैनिक इतिहासमा विद्यावारिधी(पिएचडी) गरेका छन्)


भर्खर

0