आदिकालदेखि दशैं नमनाउने ललितपुरको खोकना गाउँ

दशैंअवधिभर मनाइन्छ जात्रा

सविना कार्की

शुक्रबार, असोज १७, २०७६

Reading Time: 4 minutes

आदिकालदेखि दशैं नमनाउने ललितपुरको खोकना गाउँ

काठमाडौं–जताततै दशैंको उमंगले छाएको छ । गाउँघरमा यतिबेला कमेरो र रातो माटोले घर पोत्न चटारो भइरहेको छ ।

परदेशदेखि मानिसहरु स्वदेश फर्किरहेका छन् । राजधानीमै भएकाहरु पनि दशैं मनाउन सामान किनमेल गर्दै गाउँघरतिर लागिरहेका छन् ।

हिन्दू धर्मावालम्वीहरुले दशैंलाई महान पर्वका रुपमा पनि लिइन्छन् । दशैं हर्ष र उमंगको पर्व पनि हो । हुँदा खाने र हुने खाने सबैले आफ्नै तरिकाले दशैं मनाउन्छन् ।

टाढा पुगेका परिवारका सदस्य भेला हुने, मिठो मसिनो खाने र साथीसङ्गीसँग भेटघाट समेत गराइदिन्छ दशैंले ।

नेपालमा पनि दशैं नमनाउने समाज होला र ? सुन्दा अचम्म लाग्न सक्छ । तर उपत्यकाभित्रै एउटा यस्तो गाउँ पनि छ, जहाँ दशैंले कहिल्यै छुदैँन ।

काठमाडौंबाट ५ किलोमिटर दुरीमा रहेको ललितपुर जिल्लाको खोकना गाउँको रहनसहन छुट्टै छ । न त दशैंको चटारो न त चहलपहल नै ।

वरिपरी हरियाली धान । बीचमा रहेको खोकना गाउँ । अहिले त शहरकै रुपमा विकसित भइसकेको देखिन्छ ।

राम्रा लुगा, मिठो खाना अनि मान्यजनको हातबाट टीका र आर्शिवाद लिएर मनाउने नेपाली महान् चाड दशैंले वर्षैपिच्छे उमंग थप्ने गरेपनि खोकनाबासीलाई त्यसले केही रंग भर्दैन।

नेपाली भएरै पनि किन दशैं मनाउँदैन त खोकानाले भन्ने प्रश्नमा स्थानीय रविन्द्र महर्जन भन्छन्, ‘पुर्खाहरुले पनि मनाउँदैनन् थिए दशैं, हामीले पनि त्यही परम्परालाई स्वीकार्दै अघि बढेका हौं।’

नेपालीहरुले दशैंका लागि घटस्थापनाका दिनबाटै घरघरमा जमरा राख्ने चलन पनि छ । यो समुदायले दशैंमा न त जमरा राख्छ न त टीका नै लगाउँछ ।

दशैं मनाउने मामिलामा छुट्टै परम्परा बोकेर अघि बढेको उनको भनाइ छ । ‘अन्य समुदाय भन्दा खोकना समुदायले मनाउने दशैं निकै फरक छ’ खबरहबसँगको कुराकानीमा महर्जनल भने ‘यो समुदायले पशु काटेर बली दिने काम गर्दैन्, टीका लगाउने घरमा जमरा राख्ने काम पनि गर्दैन।’

अष्टमी र नवमीका दिन नेपालीहरुले घर र मन्दिरमा बोका, खसी, भेडा च्याङ्ग्रा काट्ने र दुर्गा भगवानको पुजा गर्ने पनि गर्छन् । यसलाई बलि चढाउने पनि भनिन्छ ।

सोह्रश्राद्धको सुरुवातसँगै गाउँदेखि शहरसम्म मानिसहरु दशैंका लागि खसीबोका खोज्न हिड्छन् । तर खोकाना समुदायले आजसम्म पशुलाई बलि दिने गरेको छैन ।

नेवार समुदायको बसोबास रहेको यो समुदायका १ हजार ५६ घरधुरीहरु छन् । दशैंको अवधिभर हजारौं खसी र राँगा वलि दिइने गरिन्छ, तर उनीहरुले काटमार गर्दैनन् ।

आफैले पालेको पंक्षी सन्तानसरह मान्ने कारण काटमार नगरेको बताउँछन् स्थानीय हरि महर्जन । ‘हाम्रो समुदायमा चाहिँ बलि गुठीले मात्र दिन्छ’ उनी भन्छन्, ‘कसैले पनि काटमार गर्दैनौं त्यसकारण पनि शान्ता छ खोकना।’

दशैंका रुपमा सिकाली जात्रा

चारैतिर दशैंको रौनक छाइरहँदा खोकनामा भने जात्रा शुरु भइरहेको छ । खोकनावासी आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिनबाट पूजापाठ गर्न शुरु गर्छन् ।

नेपालका अन्य समुदायले मनाउने दशैं जस्तै उनीहरुले दशैं अवधिमा सिकाली जात्रा मनाउँछन् ।

दशैं अवधिभर खोकनामा विभिन्न देवी देवताको रुप धारण गर्ने, सिकाली जात्रा, रुद्रायणी देवीको नाच, घ्याम्पो जात्रा, रुद्रायणी देवीको खट चल्ने गर्छ । यो उनीहरुको मौलिक परम्परा पनि हो ।

यसरी मनाउँछन् जात्रा

आश्विन शुक्ल चतुर्थीदेखि आश्विन शुक्ल सप्तमीसम्म मनाइने यस जात्राको आफ्नै छुट्ट किम्बदन्ती इतिहास बोकेको उनीहरु बताउँछन् ।

जात्राको पहिलो दिनराँगा काट्ने, ३ गुठीमा बडेमानको १-१ वटा राँगो काट्छ र गुठीमा जानेहरुको भोज हुन्छ । त्यस्तै दोस्रो दिन खोकनावासीहरु घर घरमा सानो भोज गर्छन् जसमा परिवारसँग बसि विभिन्न परिकारहरु राखि भोज खाने गर्छन् ।

तेस्रो दिनमुल जात्रा हुन्छ । त्यसदिन खोकनाको मुख्य मन्दिर श्री रुद्रायणी माईको मन्दिर हुन्छ । राति करिब साढे ३ बजेदेखि श्री रुद्रायाणीमाईलाई खतमा राखी सिकाली चौर लगिने र ३ वटा गुठीका ध्याम्पो जुनमा कालो जाँड राखेको हुन्छ त्यसलाई राति नै सिकाली मन्दिर लगिन्छ ।

त्यससँगै चौथो दिनको जात्रा शुरु हुन्छ । ठूलो मैदानमा विभिन्न मुकुट लगाएका देवी देवताको जात्रा हुन्छ । जसलाई सिकाली जात्रा भनिन्छ । दिउँसोको ४ बजेदेखि मुकुट लगायका देवीदेवताहरु नगर परिक्रमा गराई पुजा गरिने चलन छ ।

अन्तिम अर्थात् पाचौं दिन देवी देवताको नाँच देखाउने प्रचलन रहेको छ । मुकुट लगाएका देवताहरु जस्तै भैरव, कार्की, कुमारी, व्रमायणी, हनुमान, शक्ति आदिले दिनभर पौराणिक नाँचहरु देखाउँछन् र यससँगै जात्रा सकिने स्थानीय श्याम महर्जनले बताए ।

तर खोकनाबासीले करिब एक साताअघि बाटै पाहुना बोलाउने, मिठो मसिनो खाने कुरा जुटाउने तयारी थाल्ने उनको भनाई छ ।

मल्लकालका राजा अमर मल्लले रुद्रायणी देवीको स्थापना गरेपछि यहाँका मानिसहरु इन्द्रयाणी देवीको पूजापाठ र आराधाना गर्दै दशैं नमनाउने प्रचलन रहेको स्थानीय बुढापाकाहरु बताउँछन् ।

परदेश पुगेका परिवारका सदस्य समेत जात्रालाई सम्झेर फर्कि आउने गरेको स्थानीयहरुको भनाई छ ।

भर्खर

0