अब देश बनाउन जुटौं, गुमाउन बाँकी समय छैन

डा. युवराज संग्रौला

शुक्रबार, असोज १७, २०७६

Reading Time: 15 minutes

अब देश बनाउन जुटौं, गुमाउन बाँकी समय छैन

लेख लेख्ने विषय सकिएको आभास हुन्छ । यसको तात्पर्य देशमा समस्याहरू सकिएको होइन । देशमा बसेर देश बनाउनुपर्छ भनि सधैँ जिद्धि गर्ने म जस्ता मानिसको आशा मरेर पनि होइन ।

कलम देख्दा आजित भएको ठान्छु । किनभने जति लेखे पनि परिवर्तन टाउको देखाउन लजाए जस्तो लाग्छ । अर्थात देशमा विचारहरूको संकलन गर्ने, विश्लेषण गर्ने र असल विचारहरूलाई ग्रहण गर्ने राष्ट्रिय मनोविज्ञान निर्माण नै हुन सकेन । तर पनि कलमहरू कहिल्यै थाक्नु हुँदैन ।

देशलाई अग्रगतिमा लाने लक्ष्य, नीति, रणनिति र गतिविधिहरूका बारेमा बहस भइरहनुपर्छ । तसर्थ बहसकै लागि केही प्रश्नहरूको निर्माण गर्ने जमर्को गरिएको छ ।

राष्ट्रिय मनोविज्ञान र नागरिक जिम्मेवारी अनुभूति :

नयाँ संविधान जारी भएपछि नेपाली राजनितीमा एउटा पट्टाक्षेप भएको छ । इतिहासको एउटा खण्डलाई पछाडि छोडिएको छ । त्यो राम्रो भयो या भएन सधैँ चलिरहने बहस हो ।

वर्तमानमा बसेर इतिहासको छलफल गर्ने र इतिहासलाई वर्तमानमा बदल्न चाहने मानिसले भविष्यले व्यहोर्नु पर्ने दुर्घटनाको अनुमान गर्न विर्सन्छ ।

त्यसरी नै वर्तमानलाई बिर्सिएर भविष्यको कल्पना गर्नेहरूले भ्रमलाई जीवनको यथार्थता बनाउँछन् । यथार्थ केवल वर्तमान हो । वर्तमानलाई प्रयोग गर्नु जीवनको निर्माण गर्नु हो । वर्तमान यथार्थता हो । वर्तमानलाई सफल बनाउनु नै उन्नत भविष्यको निमार्ण गर्नु हो ।

नेपाली राजनीतिक वृतमा यो यथार्थवादी चिन्तनको निर्माण हुन सकेन । त्यसैले नेपाल तृष्णास्वप्न (यूटोपीया), दुस्वप्न (गलत सपना) भ्रामक सपना (इलुजन) र दुष्ट सपना (इन्जुरस ड्रिम) को शिकार बनेको छ ।

सबै परिवर्तनलाई साकार पार्न राजनीतिलाई देशको स्वार्थ अनुरूप संचालन गर्ने मनोविज्ञानलाई आत्मबोध गर्ने नयाँ नेतृत्व राजनीतिमा उदय हुनु अब आवश्यक छ ।

यथार्थता विमुख मनोविज्ञानको डरलाग्दो डेँगु बाट नेपाली मानिसहरू प्रभावित हुन पुगेका छन् । त्यसैले शासन गर्नेहरू शासनका नाममा औपचारिक बिशेषाधिकारको दोहन गर्न मात्र उत्सुक छन् । शासित हुनेहरू शासनका नाममा शासकले आफूलाई विशेष लाभ प्रदान गरोस भन्ने चाहन्छन् ।

लाभ प्राप्त गर्नेहरू अरुका पीडालाई वेवास्ता गर्छन । लाभ प्राप्त गर्न नसक्नेहरू आफू शासक बन्ने सपना मात्र देख्छन् । मानिसलाई मेहनतको कमाई होइन सस्तो कमाई चाहिएको छ । मानिस आफूले गरेको अपराध, न्यायको लडाई र अरुले गरेको अपराध समाज विरुद्धको आतंक हो भन्ने ठान्छ ।

आफ्नोपनलाई असभ्यता र नक्कल गर्नुलाई आधुनिकता ठान्छ । उसका यी प्रवृतिले सामाजिक चेतना पतन भएको छ । सामाजिक चेतना पतन भएको समाजमा मुर्खहरूले शासन गर्दछन् । डेनीस कथाकार चाल्र्स एन्डरसनले यही अवस्थालाई बादशाहका ‘नयाँ लुगा’ को कथामा रूपान्तरित गरेका छन् ।

चेखमले यही चेनताहीन समाजका मानिसका प्रवृतीलाई ‘जर्नेलको कुकुर’ मा रूपान्तरित गरेका हुन् । चेतनाहीन, भावुक र अकर्मन्य मानिस तानाशाह भन्दा खतरनाक हुन्छ भनि ‘अपराध र सजाय’ मा रासकोल्नीकोभलाई दिग्भ्रमित पात्रको रूपमा प्रस्तुत गरेका हुन । अहिले नेपाली समाज यीनै प्रवृतीबाट प्रभावित छ ।

अर्थात नेपाल नकारात्मक मनोविज्ञानको शिकार हुन पुगेको छ । अल्पज्ञान र पाखण्ड नकारात्मक मनोविज्ञानका कारण हुनः ‘नित्या किन रोए ?’ भन्ने एउटा दार्शनीक फिल्ममा पाखण्डीको राम्रो परिभाषा छ । जसले दार्शनीक सिद्धान्त निर्माण गर्‍यो, उसलाई अर्को मानिस त्यही सिद्धान्तको आख्यान दिन खोज्छ । यस्तालाई भनिन्छ पाखण्डी ।

पाखण्ड, घमण्ड दुस्साहस र दुस्ट्याँइको मिश्रणबाट बनेको गुलियो विवाद हो । निल्दा स्वादिलो हुन्छ , निलिसक्दा घाँटी बाँधिन्छ । जब समाज पुरातनबाट आधुनिकतातर्फ लम्कने क्रममा अगाडि बढ्छ, यस्तो चरणमा समाज पाखण्डको शिकार हुन्छ ।

यस्तो पाखण्ड अल्पज्ञानले निर्माण गर्दछ । सोक्रेट्सलाई अपराधी देख्ने पाखण्डीहरू जस्तै अहिले नेपालमा पाखण्डीहरूको विगविगी छ । उनीहरू ज्ञानीको सिकार गर्छन ।

अहिलेको नेपालको सिंगो चित्र यही होइन ? यो परिणाम हो अल्पज्ञानको । हिजो ज्ञान थिएन । हिजो इतिहासले हस्तानतरण गरेका मूल्यलाई आत्मसात गरेर मानिसहरू जीवनयापन गर्थे । अहिले मानिसले कखरा पढेको छ । उसले पुरानो कोट फ्याँक्यो । तर नयाँ सीएको छैन । त्यसैले उ नाँगो छ ।

‘जाँचपड्तालबाट सही सावित नभएको जीवन बाँच्न लायकको होइन’ भनि सोक्रेटसले के भनेका थिए उनले मृत्युदण्ड पाए । ‘अब भगवान छैनन् हामीले मारी दियौँ, अब हामीले माव नैतिकताकै बलमा बाँच्नुपर्छ’ भनेर मात्र के भनेका थिए, उनलाई समाजले पागलखानामा हालि दियो ।

नेपाल अहिले यस्तै अल्पज्ञानीको पकडमा छ । यस्तो समाजमा त्यस्ता थोरै अल्पज्ञानीले जनमत निर्माण गर्छन, जसले अराजकतालाई परिवर्तनको सघांर ठान्छन् ।

उनीहरू सबै समाजका स्वच्छन्दताको निमार्ण गर्न चाहन्छन् । उनीहरूमा देशभक्ति मरेको हुन्छ । उनीहरूमा मानवता मरेको हुन्छ । उनीहरू नितान्त व्यक्तिवादी हुन्छन् । उनीहरू अवसरवादी हुन्छन् । उनीहरू राजनीतिको डोरी हातमा राखेर समाजमा शासन चलाउछन् । उनीहरूले गरेका अपराध महानता हुन्छन् ।

अहिलेको नेपालको सिंगो चित्र यही होइन ? यो परिणाम हो अल्पज्ञानको । हिजो ज्ञान थिएन । हिजो इतिहासले हस्तानतरण गरेका मूल्यलाई आत्मसात गरेर मानिसहरू जीवनयापन गर्थे । अहिले मानिसले कखरा पढेको छ । उसले पुरानो कोट फ्याँक्यो । तर नयाँ सीएको छैन । त्यसैले उ नाँगो छ ।

उ आफ्नो कोट सीलाउन होइन, नाँगो हुनु सभ्यता हो भनि अड्डी कसेर तर्क गरिरहेको छ । नेपाली समाजको मूल चरित्र यहि हो ।

कसरी प्रभावित भएको छ परिवर्तन र विकास ?

अल्पज्ञानी ‘नेपाली दिमाग’ले विकास भनेको पहाडमा डोजर चलाउनु हो भन्ने मात्रै बुझेको छ । त्यसैले विकास गर्नेहरू अरबको पेट्रोल/डिजेल किनेर जापानी र चिनियाँ डोजरमा हालेर पहाड भत्काइरहेका छन् ।

स्कुलहरू नेपाली सस्कृति र इतिहास मासेर ‘पश्चिमी सभ्यता ’ सिकाई रहेका छन् । पश्चिमी सभ्यता जो उपनिवेशको आधार बन्यो , त्यसबाट प्रभावित बौद्धिकता अंग्रेजी भाषामा दम देख्छ । अब कटन उत्पादन आवश्यक छैन, गरीबीको अपमान गर्दै नाँगीने सभ्यताको प्रवर्धन गर्ने ‘ग्रन्च पैन्ट’ लाई सरकारले पुस्तकको भन्दा थोरै भन्सार लगाएको छ ।

त्यही सभ्यतालाई स्थापित गर्न ‘खुल्ला यौन बजार’ लाई कानूनी मान्यता दिने कार्यक्रम र कानुन बन्दैछन् । यही हो विकास ?

अल्पज्ञानले ‘शक्तिको प्राप्ती’ लाई लक्ष्य बनाउछ । शक्तिको प्राप्ति गर्ने खुट्किला राजनीतिलाई बनाउछ । राजनीतिको यो भर्‍याङ्ग पैसाले किनिन्छ । पैसा ‘गलत धन्दाबाट’ आर्जन गर्न छिटो र सजिलो हुन्छ ।

यसले भ्रष्ट्राचारलाई भर्‍याङ्ग बनाउछ । भ्रष्ट्राचारको लागि समाजलाई नैतिकताहीन जत्थामा रूपान्तरण गर्नुपर्छ । यसले मानिसको चेतना ध्वस्त गर्दछ । त्यसैले ब्रिटीस विद्धान लर्ड वेवीङ्गटन म्याकाउलेले भनेका थिए ‘भारतमा ब्रिटिस उपनिवेशलाई स्थाई बनाउनु छ भने भारतको नैतिकतालाई ध्वस्त बनाउनुपर्छ । नैतिकता ध्वस्त बनाउन सस्कृतिलाई ध्वस्त बनाउनुपर्छ । सस्कृतिलाई ध्वस्त बनाउने हो भने, इतिहासलाई ध्वस्त बनाउनुपर्छ ।’

वातावरण दुषित गर्नेका विरुद्ध, कर नतिर्ने उद्योग सेवा र ठेकेदारका विरुद्ध, भ्रष्ट्राचार गर्ने कर्मचारी, प्राध्यापक, चिकित्सक, आदिका विरुद्ध मुद्धा नै लाग्दैन, लागेपनि पालो आउदैन, पालो आएपनि उसैका पक्षमा निर्णय हुन्छ ।

के देखिएको छ भने , यी सबै चीजहरूलाई ध्वस्त बनाउनु मानिसको दिमागलाई सोँच्न सक्ने र विचारधारा बोक्न सक्ने क्षमताबिहिन बनाउनुपर्छ । अहिले नेपालमा विचार शून्यता छ । जब राजनीतिमा विचार शून्यता हुन्छ विकासको लक्ष्य, विकासको लाभकर्ता र विकासको रणनीतिको निर्देशन के ले गर्दछ ? विकास यस्तो अवस्थामा लहड बन्न पुग्दछ ।

यस्तो विकासको पर्याय ‘भ्रष्ट्राचार’ बन्दछ । भ्रष्ट्राचार विकराल समस्या बन्दछ । चाणक्यले भनेका छन यस्तो अवस्थामा भ्रष्टाचार यती व्यापक हुन्छ की भ्रष्ट्राचार भ्रष्ट्राचार देखिन छोड्छ । यस्तो अवस्थामा भ्रष्टाचार माछाले पानी खाए जस्तै हो । के माछाले पानी खानु अस्वाभाविक देखिन्छ ।

नेपाली समाजका हरेक क्षेत्रमा भ्रष्ट्राचार व्याप्त छ । प्रधानमन्त्री ओलीले यसका विरुद्ध लड्ने आँट गरे । तर उनलाई हरेक क्षेत्रमा घेराबन्दी गरिदिए । परीणाम शिक्षा अशिक्षामा, विकास विनासमा खर्च भ्रष्ट्राचारमा, विज्ञता पाखण्डमा, प्रशासन अव्यवस्थामा परिणत हुँदैछन् । न्याय दिशाहीन बन्न पुगेको छ ।

वातावरण दुषित गर्नेका विरुद्ध, कर नतिर्ने उद्योग सेवा र ठेकेदारका विरुद्ध, भ्रष्ट्राचार गर्ने कर्मचारी, प्राध्यापक, चिकित्सक, आदिका विरुद्ध मुद्धा नै लाग्दैन, लागेपनि पालो आउदैन, पालो आएपनि उसैका पक्षमा निर्णय हुन्छ ।

अतः विकास भ्रष्ट्राचार बाट प्रभावित भएको छ । भ्रष्ट्राचार विचार शुन्यतामा मौलाएको छ । विचार शुन्यता अल्पज्ञानको बाँझोपन हो ।

कसरी सम्भव हुन्छ विकास ?

सन् १९७८ को विशाल परिवर्तनको घोषणा पुर्व चिनियाँ नेता तङ्ग सियाओपिङ्गले सिंगापुरका प्रख्यात नेता लि क्वान युसँग परामर्स गरेका चर्चाहरू सुनिन्छन् र त्यस बेला ली क्वान युले तङ्गलाई जनताको ‘आर्थिक उत्पादकत्व’ बृद्धि गर्न सल्लाह दिएका थिए भनिन्छ ।

त्यसका लागि उनले शिक्षाको स्तर, प्रयोगीकता र अन्वेषणात्मकता विकास गर्नुपर्ने सल्लाह पनि दिएका थिए भनिन्छ । यही सत्यलाई जापानले पनि पुष्टी गरेको छ । नेपालको दुर्भाग्य ‘शिक्षाको महत्व, स्तर र प्रयोगीकता’ प्रतिको उदासीनतामा निहित रहेको कुरामा छलफल गर्नुपर्ने आवश्यकता नै छैन ।

नेपाली विश्वविद्यालयहरू ‘अल्पज्ञानी’ निर्माण गर्ने गोठघर बनेका छन् । चाकरीबाज वेइमानहरू विश्वविद्यालयका पदाधिकारी बन्नका लागि दोडधुप गर्छन ।

उनीहरूको त्यहाँ पुग्ने उद्देश्य ५ वटा छन् ।

(क) विदेश डुल्ने,

(ख) विभिन्न समितिहरू बनाई बैठक भत्ताबाट दैनिक हजारौ आर्जन गर्ने,

(ग) सवारी, तेल आदीको सुविधा लिने,

(घ) ठेक्काबाट लाखौ आर्जन गर्ने,

(ङ) सम्बन्धन र विद्यार्थी कोटा बेचेर आर्जन गर्ने ।

प्राज्ञिक मानिसले यसो गर्दैन, त्यसैले उसलाई कसैले चिन्दैन । नेपाली शिक्षाले उत्पादनसीलता निर्माण गर्दैन । यसमा ४ किसिमका विद्यार्थी हुन्छन् ।

(क) डिग्री प्राप्त गरी घोकेर सरकारी जागीरमा पसेर जीवनको न्युनतम सुरक्षा प्रत्याभुत गर्न चाहने नवीनतम ज्ञानको खोजीमा नलाग्ने सामान्य मानिस, जो राज्यको शक्तिबाट आफ्नो पहिचान निर्माण गर्ने व्यक्तिवादी अभिलाषा राख्दछ । (

(ख) राजनीतिलाई हतियार बनाई कमाउन र विना अध्ययन डिग्री प्राप्त गर्न चाहने स्वार्थी मानिस, जो चन्दा असुल गर्ने, क्रान्ति गर्ने र परिवर्तन गर्ने ढाँट कुरा गर्छ ।

(ग) पढाईलाई जवानीको विलासीता बनाउने चाहना बाट प्रभावित कानमा मुन्द्रा, विचित्रको कपाल, नाडिमा एककिलोको ब्रासलेट, पाखुरामा विचित्रको ट्याटु, विचित्रका दाह्री जुँगा र विचित्रका लुगा लगाएको प्रेमी, लहडी, झगडालु जिम्मेवारहीन छोराछोरी ।

(घ) त्यस्ता थोरै विवेकशील छोराछोरी जो सिर्जना गर्न चाहन्छन् । माथिल्ला ३ किसिमकालाई उत्पादनसितलता आवश्यक छैन । अन्तिम एक किसिमकाले चाहेर पनि प्राप्त गर्न सक्दैनन् ।

नेपालमा शिक्षाको हालत प्राणहीन बनेको छ । जसले निर्माणमा, सेवामा र सिर्जनामा नेतृत्व गर्न सक्तैन त्यस्ता मानिस शिक्षाबाट उत्पादन भईरहेका छन् । अत : जबसम्म शिक्षाको गुणस्तरमा आमुल क्रान्तिको निर्माण गर्न सकिन्न समाजको विकास सम्भव हुँदैन ।

यस समस्याको अनुभूति सिंगापुरका ली क्वान र चीनका तङ्ग सीयाओले गर्न सक्दा, नेपाली राजनीतिक नेतृत्वले त्यसो गर्न किन सकेन ? यी दुई नेताले, देशको समृद्धिप्रति आँफु जिम्मेवार रहेको ठाने, र त्यसप्रति कर्तव्यनिष्ठ हुनुपर्ने आत्मबोध गरे । तर उनीहरू अलौकिक मानिस थिए त्यस्तो आत्मबोध गर्न ? उनीहरू अलौकिक थिएनन् भने, के कुराले शिक्षामा क्रान्ति प्रेरित गर्‍यो ?

धेरै मानिसले भनेका छन्, उनीहरू जनतालाई राष्ट्रमा मालिक ठान्थे र देशभक्ति उनीहरूको प्रेरणादायी ताकत थियो । नेपालमा राजनीतिको अभिष्ट राजकीय पदको प्राप्ति हो भन्ने अल्पज्ञान सिर्जीत पाखण्ड प्रेरणाको स्रोत बन्न पुग्यो ।

यसो किनभयो भने राजनीतिक शक्तिभित्र सामन्ति प्रवृति यथावत रह्यो । परिणाम स्वरूप राजनीति मानिसको उन्नतिको संयन्त्र बन्न सकेन ।

राष्ट्रको विकास सडक निर्माण गर्नु मात्र होइन । बनाएको सडकलाई सभ्यतापूर्वक र अनुशासनपूर्वक संचालन वा प्रयोग पनि गर्नु हो । तर जब समाजले आफ्नो संस्कृतिलाई बेवास्ता गर्छ, उसले आर्थिक गतिविधिलाई भ्रष्ट्राचारका आयाममा बदल्छ ।

मानिसको आर्थिक उत्पादकत्वको विकासमा जबसम्म राज्य व्यवस्था केन्द्रित हुन सक्तैन, तबसम्म मानिसको जीवनमा आर्थिक समुन्नतीको आधार निर्माण गर्न सकिन्न । यथार्थ के भन्न सकिन्छ भने सामाजिक संस्कार, राज्यको आर्थिक विकास र मानवीय समग्र अवस्थाको रूपान्तरण व्यक्तिको (प्रत्येक व्यक्तिको) उत्पादकत्व र उत्पादनको प्रगतिबाट मात्र गर्न सकिन्छ ।

नेपालको राजकीय सत्ता यसप्रति अकर्मण्य मात्र होइन, अचेत देखिएको छ । यसैकारणले नेपाली समाज आर्थिक विश्रृङ्खलता, अनुशासनहिनता र अराजकताको चरम सिकार भएको छ । राजनीतिले यस अराजकताबाट प्रशस्त लाभ उठाएको छ ।

अतः विकासका बाहिरी गतिविधि देखाउने दाँतमात्र बनेका छन् । राज्यका औपचारिक निकायहरू सबै यस किसिमको आर्थिक अराजकताबाट आर्जन गरिरहेका छन् । यस्तो अवस्थामा व्यक्तिको उत्पादकत्व उन्नयन गर्ने शिक्षा राज्यको प्राथमिकता बन्न सक्तैन ।

अतः राज्य प्रणालीको एव राजनीतिक प्रणालीमा रहेको सोचाई प्रणालीको परिवर्तन बिना आर्थिक विकास सम्भव हुँदैन र आर्थिक विकासको समृद्धिको बाटो नहिडी राजनीतिक स्वायत्तताः पनि सम्भव हुँदैन ।

के संविधानमा उल्लेखित समाजवाद उन्मूख बाटो राजनितिक प्रतिबद्धताको अभिव्यक्ति हो ? अहिले सम्म राजनितिक दलहरूले देखाएका प्रवृतिहरूको विश्लेषण गर्ने हो भने, त्यो अभिव्यक्ति इमानदारीता पूर्वक आएको हो भन्न सकिन्न ।

नेपालमा अहिले मूलत तीन खालका राजनीतिक शक्तिहरू सतहमा देखिन्छन् ।

(क) राजतन्त्र नै राज्यको संरक्षक शक्ति हो, त्यसैले इतिहासलाई बदल्न आवश्यक छैन भन्ने एउटा समूह छ । यसको प्रभाव छैन भन्ने कुरा भन्नु झुट्टो हुन्छ । तर यस समूहमा व्यापक अनिश्चितता छ ।

राजतन्त्रको नेतृत्व कसले गर्दछ ? यो समूह एउटा प्रस्ट पूर्ण रूपमा अस्पष्ट छ । त्यो हो राजतन्त्र विस्थापित राजालाई स्थापित गर्न वा राज्यको स्थायी संरक्षकत्वका लागि चाहिएको हो ? यसमा दूईवटा मतहरू यस समूहमा छन् ।

एकथरी भन्छन्, विस्थापित राजाले स्थापित हुने नैतिक धरातल राख्दैनन् । पहिलो कारण उनी उद्योगपती र व्यवसायी हुन् । राजाले व्यापार गर्न मिल्दैन । त्यसैले राजवशीय परिवारबाट राजाको खोजी हुनुपर्छ । अर्काथरी भन्छन् विस्थापित राजाका पूर्वजले देशको निर्माणमा भूमिका र योगदान दिएका छन्, त्यसैले शंकाको सुविधा दिनुपर्छ ।

कसलाई राजा बनाउने, राजा ज्ञानेन्द्रलाई, पारसलाई वा हृदयन्द्रलाई ? जुनसुकै अवस्थामा पनि, राजंसस्थाको पुर्नस्थापनाले राजनितिक अस्थिरताको प्रश्नमा मात्र आफ्नो सार्थकता प्रकट गर्छ, जनसमृद्धिको प्रत्याभूति यसले गर्दैन ।

(ख) परम्परावादी एवं प्रगतिशील उदारवादी शक्तिको अहिले वर्चस्व सतहमा कायम छ । यस शक्तिलाई लोकतान्त्रिक शक्ति भनिन्छ । यसलाई जनसमर्थन प्राप्त छ , तर यसले जनतालाई दिनुपर्ने कुरा दिन असफल छ । यसको लोकप्रियता कमजोर बन्दैछ । त्यसका कारण थुप्रै छन् ।

त्यसमध्ये

(१) आपसी द्वन्द्व र एकले अर्कालाई विस्थापित जेसुकै गर्न सक्ने नकारात्मक प्रवृति,

(२) आफ्नै पार्टी भित्र चरम विभाजन गुटइत्तरलाई समूह नष्ट गर्ने प्रवृति,

(३) विचार शून्यता वा विचार विसर्जनवाद मुख्य कारण हुन ।

यही शक्तिले ‘समाजवादउन्मुख ’ बाटो संविधानमा राखे पनि त्यो बाटोको प्रयोग भएको छैन । शिक्षा , स्वास्थ र विविध अन्य व्यवसायिक क्षेत्रमा चरम नवउदारवाद हावी छ । यसैकारण यस समुहले लोकप्रियता गुमाई रहेको छ ।

(ग) तेश्रो समूह हो क्षेत्रीयतावादी, जातीवादी र पृथकता वादी समूह । यो समूह विदेशी शक्तिबाट संरक्षित छ र उसको उद्देश्य नेपाली जनताको समृद्धि हुँदै होइन । अतः यसलाई समाजवादको कुनै माया छैन ।

मानिसको आधारभूत विकासमा राज्यको भूमिका अहम हुन्छ ।

(१) सबैभन्दा पहिला समाजमा हरेक व्यक्तिको भौतिक अस्थित्व चुनौतिहिन रहनुपर्छ । हिंसा र आक्रमणबाट प्रत्येक व्यक्तिको जीवन सुरक्षित रहनुपर्छ ।

(२) दोस्रो कुरा हो, प्रत्येक व्यक्तिको मानव मुल्य संरक्षित रहनुपर्छ । व्यक्तिले आफ्नै स्वतन्त्र पहिचान सहित समाजमा आफ्नो भूमिका सुरक्षित गर्न पाउने अवस्था विद्यमान रहनुपर्छ ।

(३) तेश्रो कुरा हो व्यक्तिले आफ्नो स्वइच्छाले जीवन यापन गर्न पाउने स्वतन्त्रताको प्रत्याभूति ।

(४) यी तीनवटा अवस्थाको प्राप्ति व्यक्तिको प्राथमिक अवसर हो । यसले व्यक्तिको उत्पादकत्वलाई समृद्ध र उत्पादनलाई मौलिक र उत्कृष्ट बनाउँछ ।

(५) प्रत्येक व्यक्तिले उत्पादनका स्रोत वा समृद्धिका अवसरमा निर्वाध पहुँच प्राप्त गर्न पाउनुपर्छ ।

यी आधारभूत प्रत्याभूतिहरूले नै समाजवाद उन्मूख बाटोको निर्माण गर्ने हुन् । अतः संविधानको मर्मलाई विचार गर्दा नेपालको राज्य प्रणालीले ‘नव–उदारवाद’ का कुनै पनि रूपलाई स्वीकार गनै इन्कार गरेको छ ।

माथिका ५ आधारभूत अवस्थाको प्रत्याभूति गर्नु ‘राज्यको प्राथमिक तथा अपरिहार्य’ दायित्व हो । तर राज्य संयन्त्रले अवलम्बन गरेका वित्तिय प्रणाली, आर्थिक विकासका योजना र तिनीहरूको कार्यन्वयन विकास नीति र रणनीतिले राज्य समाजवाद उन्मूख बाटोमा हिँडिरहेको देखिँदैन । एकाध नीति र कार्यक्रमहरू शिला खोजेझैं खोज्दा भेटिएलान्, तर राज्यका कार्यक्रमहरू घोषित संवैधानिक मर्म अनुरूप छैनन् ।

त्यसमा पनि संवैधानिक ढाँचालाई भत्काउने खेलहरू घनिभूत रूपमा भइरहेका छन् । अन्तर्राष्ट्रिय राजनीतिक मञ्चका खेलाडीहरूको बीचको प्रतिस्पर्धा तीव्र र व्यापक भएको छ । यस्तो अवस्थामा नेपालको अस्तित्वका लागि राष्ट्रिय एकता अपरीहार्य हुन्छ । तर यी प्रत्येक समूहभित्र, एसियाको समृद्धि विरोधी, दक्षिण एसियालाई सभ्यता विरोधी र हिमालयन दर्शन र संस्कृति विरोधी शक्तिहरूको घुसपैठ व्यापक रूपमा भएको छ ।

यही घुसपैठले नेपालको शिक्षालाई दिशाहीन बनाएको छ । नेपालको इतिहासलाई विस्मरणको अवस्थामा पुर्‍याएको छ । नेपालको राजनीतिलाई विचारहीन र विसर्जनवादको संघारमा पुर्‍याएको छ र नेपाली संस्कृतिलाई ग्रंन्ज प्यान्ट जस्तै बनाएको छ ।

राष्ट्रको विकास सडक निर्माण गर्नु मात्र होइन । बनाएको सडकलाई सभ्यतापूर्वक र अनुशासनपूर्वक संचालन वा प्रयोग पनि गर्नु हो । तर जब समाजले आफ्नो संस्कृतिलाई बेवास्ता गर्छ, उसले आर्थिक गतिविधिलाई भ्रष्ट्राचारका आयाममा बदल्छ ।

तसर्थ, नेपाली समाजको रूपान्तरण र आर्थिक समृद्धिको लागि

(१) सर्वप्रथम नेपाली देशभक्तिपूर्ण मनोविज्ञान निर्माण गर्ने शिक्षाको निर्माणका लागि क्रियाशीलता निर्माण गर्नुपर्छ । त्यस्तो शिक्षाका केही विशेषता छन् ।

पहिलो विशेषता हो, त्यस्तो शिक्षालाई विज्ञानको ज्ञान र अनुसन्धानप्रति मुखरित बनाउनुपर्छ । त्यो शिक्षाले इतिहासको विश्लेषण गर्ने क्षमता विकास गर्नुपर्छ । त्यसले प्रविधिको प्रयोग गर्नुपर्छ र विद्यार्थीको उत्पादकत्व क्षमताको निर्माण गर्नुपर्छ ।

(२) राष्ट्रका स्रोतहरूमा आधारित उत्पादन प्रणालीको विकास गर्नुपर्छ र त्यसले आयातलाई प्रतिस्थापन गरी निर्याततर्फ जाने पद्धतिलाई ग्रहण गर्नुपर्छ ।

(३) त्यसकालागि मानव स्रोत ढुकुटी निर्माण गर्नुपर्छ र त्यसो गर्दा ‘हर व्यक्तिलाई’ उत्पादन प्रणालीमा सरीक गर्ने रणनीति अवलम्बन गर्नु पर्दछ।

(४) विकासका यी सबै गतिविधिमा समान पहुँच र अवसर निर्माण गर्न

(क) वस्तुगत अध्ययनमा आधारित कानूनको निर्माण गर्दै

(ख) तिनीहरूको व्याख्या गर्ने न्यायपालिका र कार्यन्वयन गर्ने राज्यका संयन्त्रहरूमा कानूनी शासनको संस्कृती निर्माण गर्ने अभियानलाई प्राथमिकता दिनुपर्छ ।

(५) समाजमा अराजकता, हिंसा, अपराध र अपचलन निर्माण गर्ने र राष्ट्रको सुरक्षाविरुद्ध क्रियाशील तत्वलाई निर्मुल गर्ने न्यायप्रणाली निर्माण गर्नु आवश्यक छ ।

यी सबै परिवर्तनलाई साकार पार्न राजनीतिलाई देशको स्वार्थ अनुरूप संचालन गर्ने मनोविज्ञानलाई आत्मबोध गर्ने नयाँ नेतृत्व राजनीतिमा उदय हुनु अब आवश्यक छ । वर्तमानको निर्माण र स्वच्छता नै उन्नत भविष्यको आधार हो । यो महान् भनाई प्रसिद्ध लेखक लियो टोल्सटोयको हो ।

भर्खर

0