इतिहास बन्यो गुराँसे स्याउ | Khabarhub Khabarhub

इतिहास बन्यो गुराँसे स्याउ


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– एक समय दैलेख र सुर्खेत जिल्लाको सीमा क्षेत्र रानीमत्ता–गुराँसे स्याउका लागि प्रख्यात थियो । घर–घरमा स्याउका बगैंचा देखिन्थे । यात्रुहरु स्याउको स्वाद चाख्नकै लागि त्यहाँ विश्राम लिने गर्दथे । गुराँसेको स्याउले दैलेख, सुर्खेत र नेपालगञ्जसम्म बजार पाएको थियो । दैलख, जाजरकोट, कालीकोट र जुम्ला लगायतका जिल्लाबाट तराई झर्ने मुख्य नाका भएकाले यहाँ स्याउको स्वाद नलिने कमै थिए । कोशेलीका रुपमा पनि यात्रुहरुले स्याउ किनेर लैजान्थे ।

गुराँसेको स्याउ भने अब इतिहास बनिसकेको छ । पछिल्लो एक दशकयता गुराँसे–रानीमत्ता क्षेत्रमा स्याउका बोट देखिन छाडेका छन् । लटरम्मै फलेका स्याउ देखेका त्यतिबेलाका पैदल यात्रीहरु आजभोलि बोट समेत नदेख्दा अचम्मित छन् । गुराँसे बजार भारतीय स्याउले ओगटेको छ ।

गुराँसे लेकाली हावापानी भएको क्षेत्र हो । विसं २०४० मा दैलेखको माथिल्लो गाइबान्ना, रानीमत्ता र गुराँसेका बासिन्दाले ‘रेड गोल्डेन’ जातको स्याउ रोपे । बगैंचा बनाउन ऋण सापट गरी जुम्लादेखि बोटहरु खरिद गरे । शुरु–शुरुमा रामै्र फल्यो । स्याउबाट मनग्य कमाउने कृषकको आशा धेरै वर्ष टिकेन । बोटहरु सुक्दै गए । तापमान वृद्धिकै कारण स्याउ बगैंचा फाँडेर ४० भन्दा बढी कृषकहरु अहिले व्यावसायिक तरकारी गरिरहेका छन् ।

सेरी गाइबान्नाका कृषक रुद्रप्रसाद पौडेलले कृषि विकास बैंकबाट झिकेको ऋण नतिर्दै स्याउका बोटहरु सुकेको गुनासो गरे । “बचेका बोटको फल पनि राम्रो लागेन, हावापानीले मेल नखाएपछि बगैंचा फाड्नुपर्‍यो,” उनले भने – “अहिले आलु, काउली, बन्दा, मुला लगायतका तरकारी खेती गरेका छौं ।” किसानले १५ देखि ५०० बोटसम्म रोपेका थिए । “प्रतिबोट रु ५० मूल्य परेको थियो, पचास एकाउन्न सालदेखि स्याउ खेती बिगँरदै गयो, सुक्न र राम्रो फल नलागेपछि बगैंचा मास्यौं,” पौडेलले भने ।

“शुरुका वर्षहरुमा स्याउ राम्रै फलेको थियो, एउटै बोटले ६०० जति दाना दियो,” अर्का कृषक दीपक पौडेलले भने – “शुरुतिर रसिलो थियो । पछि दाना स–साना भए । स्वाद पनि हराउँदै गयो ।”

यहाँको ३०० रोपनीमा दुई हजार ५०० स्याउका बोट रोपिएको थियो । कतिपय कृषकले बोट खरिद गर्दा लागेको ऋण तरकारीको आम्दानीले तिरे । स्याउ खेती गर्दा लिएको रु १० हजार ऋण तिर्न नसक्दा बैंकले स्थानीयवासी प्रेम ढकालको जग्गा नै लिलाम गरेको थियो । उनले सबैभन्दा बढी ५०० बोट रोप्नुभएको थियो । स्याउका लागि हावापानी अनुकूल नहु“दा पे्रमजस्ता थुप्रै विपन्न कृषकले ऋण तिर्न सकेनन् । “बगैंचा बनाउ“दा यसरी डुबिएला भन्ने पत्तै पाइएन, बैंकले जग्गा जफत गरिदियो,” ढकाल गुनासो गरे– “शुरुका केही वर्ष राम्रै फल्यो । त्यतिबेला सुर्खेत–दैलेख सडक थिएन । पैदल हिँडेर स्याउ बेच्न सुर्खेत झर्नुपदथ्र्यो । जब सडक आयो, तब स्याउ फल्न छाड्यो । ऋणमा मात्रै डुबायो ।”

एकाउन्न सालमा सुर्खेत–दैलेख सडकको ट्र्याक खुल्यो । त्यसअघि पैदल आउजाउ गर्नुपथ्र्यो । गुराँसेबाट थोक मूल्यमा खरिद गरी डुंगेश्वर, घोडाबास, चुप्रा, धरमपोखरा, गोठीकाडावासीले बिक्रीका लागि लैजान्थे । रुख सुक्दै जानु, दाना पनि राम्रो नलाग्नु, स्वादिष्ट नहुनु, बेमौसममा फुल्न र फल्न थालेपछि किसानले स्याउ मासेका हुन् । लेकाली हावापानी भए पनि पछिल्ला वर्ष गुराँसेमा गर्मी बढ्दै गएको छ जसको प्रत्यक्ष असर मध्यपहाडी क्षेत्रमा फल्ने स्याउ हराउँदै गएको छ ।

समुद्री सतहबाट गुराँसे रानीमत्ता दुई हजार १९८ मिटर उचाइमा अवस्थित छ जुन सुर्खेतसँग सीमा जोडिएको दैलेखको दक्षिणी गुराँस गाउँपालिकामा पर्दछ । कृषि ज्ञान केन्द्र दैलेखका कृषि प्रसार अधिकृत नरेन्द्र थापाले ‘रेड गोल्डेन’ जातको स्याउलाई बढी चिस्यान आवश्यक पर्ने बताए । “रेड गोल्डेन जातलाई हिउँ बढी पर्ने र बाहै्र महीना लेकाली हावापानी हुने क्षेत्र उपयुक्त मानिन्छ,” उनले भने– “जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गयो । त्यसकै परिणाम गुराँसेको हावापानी स्याउका लागि प्रतिकूल बनेको हो ।”

कृषकले स्याउको फल नपाए पनि तरकारीबाट राम्रो प्रगति गर्दै आएका छन् । सुर्खेत–दैलेख सडक कालोपत्रे भएपछि यहाँबाट सुर्खेत एक घण्टामै पुगिन्छ । तरकारी खेतीबाटै अधिकाँश कृषकले सुर्खेत उपत्यकामा घर–घडेरी किनेका छन् तर, मौसममा आएको फेरबदलले मुख्य आयस्रोत तरकारी खेतीमा प्रत्यक्ष असर पुग्न थालेकामा कृषक चिन्तित छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  २ : ०२ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले