ज्ञानकै अभावमा वर्षेनी अर्बौ खर्चिदा पनि जोखिम न्यूनीकरण भएन « Khabarhub
Logo
४ माघ २०७८, मंगलबार

ज्ञानकै अभावमा वर्षेनी अर्बौ खर्चिदा पनि जोखिम न्यूनीकरण भएन



प्रकोप आउन सक्ने संभावना, त्यसले प्रभाव पार्ने क्षेत्र र क्षतिबारे विपद् घट्नु अघि जानकारी प्राप्त हुन सके र त्यस अनुरुप पूर्वतयारी गर्न सकिएमा विपद्बाट हुने ठुलो धनजनको क्षति कम गर्न सकिन्छ ।

विपद् जोखिम न्यूनीकरणले समुदाय, बस्तीको जोखिम विश्लेषण गर्ने, संकटासन्नताका अन्तर्निहित कारण र तिनको निराकरणका उपायहरुबारे स्थानीय समुदायलाई सूसुचित गर्ने र स्थानीय बासिन्दाको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि र विपद् अल्पिकरणका कृयाकलाप अवलम्बन गरी क्षति घटाउन सघाउ पुर्‍याउँछ । यस अर्थमा विपद् पूर्व चेतावनी प्रणाली विपद् जोखिम न्यूनीकरणको एक प्रमुख कार्य हो ।

पूर्व चेतावनी प्रणालीको स्थापना, जोखिम सम्बन्धी ज्ञानको संकलन, विश्लेषण, तिनको प्रभावकारी प्रवाह गर्ने र स्थानीय बासिन्दाको प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने कार्य विपद्बाट हुने क्षति न्यूनीकरण गर्न अपरिहार्य मानिन्छ ।

विपद् पूर्व चेतावनी प्रणाली एउटा प्रकृया हो जसमा सम्भावित हानी, नोक्सानी एवम् क्षति कम गर्न जोखिम क्षेत्रमा रहेका व्यक्ति, समुदाय एवम् संघ, संस्थाहरुलाई पूर्व तयारीमा रहन र समयमा नै उपयुक्त ढंगले कार्य गर्न आवश्यक पर्ने सूचना/पूर्व चेतावनी प्रदान गर्दछ ।

विपद् पूर्व चेतावनीको उद्देश्य मानिसको जीउ र सम्पत्तीको रक्षा गर्नु हो । तसर्थ यो विपद् जोखिम न्यूनीकरण तथा समग्र दिगो विकासको एक अभिन्न अंग हो । एउटा प्रभावकारी पूर्व चेतावनी प्रणालीले समुदायको विपद् जोखिमबारे सम्बन्धित निकाय र बासिन्दालाई जानकारी दिन्छ, विपद् सम्बन्धी पूर्व सूचनालाई उपयुक्त माध्यमबाट समयमै सूचना प्रवाह गर्छ र स्थानीय बासिन्दाको विपद्लाई प्रतिकार्य गर्ने क्षमता अभिवृद्धि गर्दछ । तसर्थ पूर्व सूचना/चेतावनी प्रणाली हो ।

पूर्व सूचना प्रवाह गर्ने मात्र नभै सूचना, चेतावनी प्रवाह पछि के गर्ने, कसरी गर्ने सम्बन्धी क्षमता अभिवृद्धि गर्ने कार्य अनिवार्य रुपमा संलग्न गरिनु पर्दछ।

एउटा प्रभावकारी विपद् पूर्व सूचना प्रणालीले ४ कुरालाई समेट्नु पर्दछः

क) विपद् जोखिम विश्लेषण, लेखाजोखा तथा विपद् सम्बन्धी तथ्यांक संकलन
ख) प्रकोपको अवस्था सम्बन्धी अनुगमन प्रणालीको विकास, क्षमता अभिवृद्धि
ग) उपयुक्त माध्यमबाट जोखिम ज्ञान, सूचनाको प्रवाह। टेलिभिजन, रेडियो, मोबले येप्स, घरेलु साइरेन आदि उपयुक्त मध्यम हुन सक्छन। तर यी मध्यम अपाङ्ग, बृद्ध् बृद्धा मैत्री हुनु आवश्यक छ।
घ) प्रतिकार्य सम्बन्धि राष्ट्रिय प्रदेश, स्थानीय सरकार र स्थानीय बस्ती र बासिन्दाको क्षमता बढाउने ।

विपद् पूर्व चेतावनी प्रणालीका अवयव

नेपालमा पूर्व चेतना प्रणालीको स्थिति

विपद् पूर्व सूचना/चेतावनी प्रणाली ‘प्रकोप–विशेष’ (Hazard-specific) हुनुपर्दछ । त्यसैले प्रभावकारी पूर्व चेतावनी प्रणालीको लागि कुनै स्थानमा आउने प्रमुख प्रकोपबारे तिनको आब्रता (Frequency)स्तर, ढाक्ने क्षेत्र, क्षति पुग्न सक्ने बस्ती, समुदायको संकटासन्नता आदिबारे तथ्यांक संकलन र विश्लेषण गरिनुपर्दछ ।

जोखिम–ज्ञानको अभाव नेपालको विपद् व्यवस्थापनको टड्कारो समस्या हो । कतिपय प्राकृतिक प्रकोपहरुको आउने समय, आवृत्ती, पुग्न सक्ने क्षति थाहा पाउन प्राविधिक रुपले पनि मुस्किल पर्छ, जस्तो कि भूइँचालो, चट्याङ, खडेरी, महामारी, हावाहुरी । तर विगतको प्रकोप र विपद्को स्थिति विश्लेषणबाट धेरै हदसम्म तथ्यपरक जानकारी लिन सकिन्छ । बाढी पहिरो जस्ता प्रकोपहरुको त पूर्व सूचना सहजै आंकलन गर्न सकिन्छ । नेपालमा यस सम्बन्धी अध्ययन गर्ने संस्था र प्रवृतीको टड्कारो अभाव छ ।

वार्षिक ५ अर्ब रुपैया भन्दा बढी सरकारी बजेट र यो भन्दा कैयौं गुना बढी अन्तर्राष्ट्रिय/राष्ट्रिय गैर सरकारी संस्थाहरुको बजेट छुट्याइए पनि विपद् जोखिम न्यूनीकरणमा आशातित सफलता प्राप्त गर्न नसकिनुको एक प्रमुख कारण देशको समग्र विपद् जोखिम विश्लेषण तथा लेखाजोखा गरी त्यस अनुरुप पूर्व तयारी, विपद् अल्पिकरणका कार्यक्रम तर्जुमा तथा सरकारका तिनै तहमा विपद् सम्बन्धी संस्थागत क्षमता अभिवृद्धि र स्थानीय तहमा क्षमता तथा सीप विकासका कार्यक्रम नगरिनु हो । यस सन्दर्भमा विपद् पूर्व चेतावनी प्रणालीले विपद् व्यवस्थापनको एक प्रमुख खम्बाको भूमिका खेलेको हुन्छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, रणनीति, पूर्व चेतावनी प्रणालीको राष्ट्रिय ढाँचा तथा राष्ट्रिय आपतकालिन कार्यसंचालन निर्देशिका जस्ता दस्तावेज तयार भए पनि यिनको सहि अबलम्बन व्यवहारिकरुपमा अझै हुन सकेको छैन ।

विपद् ऐनमा व्यवस्था भएको प्राधिकरणको गठन गर्दा पूर्व चेतावनी प्रणाली ‘फोकल प्वाइन्ट’ को पनि व्यवस्था गर्ने जसले यस सम्बन्धी सबै मन्त्रालय र निकायहरुसंग समन्वय गर्न सक्छ । त्यसैगरी सबै तहका सरकारमा विपद् पूर्व चेतावनी प्रणालीको लागि ‘फोकल पोइन्ट’ को व्यवस्था गर्ने जसबाट प्रभावकारी रुपमा नियमनकारी भूमिका निर्वाह हुन सकोस् ।

नेपालमा जलउत्पन्न प्रकोप सम्बन्धि पूर्व सूचना दिने संयन्त्र पहिले भन्दा निकै व्यवस्थित भएको छ, भलै यसमा अझ बढी शुद्धता (precsion) र विश्लेषणमा सूचनाको खाँचो छ । तर यस्ता सूचना वा पूर्व चेतावनी प्रणालीमा हुनुपर्ने अन्य तीन अवयव समावेश छैनन् ।

गैर सरकारी संस्थाहरु मध्ये थोरैले मात्र पूर्व चेतावनी प्रणालीमा सहयोग पुर्‍याएका छन् त्यो पनि आंशिक रुपमा र एक दुई प्रकोप तथा निश्चित ठाउँमा छिरलिएका। यस्ता कार्यक्रमहरुबाट प्रभावकारीरुपमा सूचना प्रवाह र प्रतिकार्यका कार्यक्रम नहुने निश्चित छ । केहि वर्ष अघि इसिमोडको सहकार्यमा पंक्तिकारले बाढी पूर्व चेतावनी प्रणाली सम्बन्धी गरेको एक अध्ययनमा २६ वटा सरकारी तथा गैर सरकारी संस्थाहरु मध्ये ३ वटा मात्र पूर्व चेतावनी प्रणालीका ४ वटै अवयवमा संलग्न रहेको पाइयो । यी संस्थाहरु पनि केहि निश्चित नदी र बस्तीहरुमा मात्र सीमित थिए ।

खडेरी, महामारी, पहिरो, डढेलो, हिमवाढी, सीतलहर, तापलहर जस्ता प्रकोपहरुमा पूर्व चेतावनी प्रणाली अवस्था नाजुक छ । संकटासन्नता तथा क्षमता लेखाजोखा गर्ने बैज्ञानिक संस्था, प्रकोपमा आधारित पूर्व चेतावनी प्रणाली स्थापना गर्ने, सरकारी निकाय, स्थानीय क्षमता अभिवृद्धि गर्ने तथा सूचना प्रवाह गर्ने गैरसरकारी संस्था तथा एक सबल र क्षमतावान स्थानीय सरकारको संयुक्त प्रयासबाट मात्र विपद् पूर्व चेतावनी प्रणालीले मूर्तरुप लिन सक्छ । हामीले के विर्सनु हुँदैन भने प्रभावकारी पूर्व चेतावनी प्रणाली विनाको विपद् व्यवस्थापनका कार्यहरु निस्प्रभावि हुने निश्चित जस्तै छ ।

अबको बाटो

पूर्व चेतावनी प्रणालीको स्थापना तथा प्रभावकारी कार्यान्वयनको लागि निम्न कार्यहरु गर्नु आवश्यक देखिन्छः
१. परिवर्तीत शासकीय संरचना अनुरुप पूर्व सूचना चेतावनी प्रणालीको कार्यगत ढाँचा तयार पार्ने र सरकारका सबै तहको संस्थागत क्षमता सुदृण गर्ने,

२. प्रकोप–विशेषको पूर्व चेतावनी प्रणालीको स्थापना गर्ने,

३. देश, प्रदेश, स्थानीय तहमा वृहत विपद् जोखिम लेखाजोखा गरी जोखिम सम्बन्धी ज्ञानको संकलन, विश्लेषण गर्ने ।

४. प्रकोप अनुसार जोखिम अध्ययन अनुसन्धान गर्ने उपयुक्त अनुसन्धानमूलक निकायसंग समन्वय गरी यस कार्यलाई निरन्तरता दिने । एउटै संस्थाले अध्ययन अनुसन्धान, पूर्वचेतावनी प्रणालीको स्थापना, क्षमता अभिवृद्धि सबै गर्नु त्यति व्यवहारिक देखिदैन । सीमित क्षमता भएका सदावहार परिचित कन्सल्ट्याण्टबाट सबै काम गराउने प्रवृतिले गुणस्तर र दीगोपनामा असर पर्न सक्छ र परेको छ ।

५. पूर्व चेतावनी प्रणालीका ४ वटै अवयवहरुलाई सँगसँगै कार्यान्वयन गर्ने । ती मध्ये कुनै एकको अनुपस्थितिमा पूर्व चेतावनी प्रणाली प्रभावकारी हुदैन ।

६. पूर्व चेतावनी प्रणालीलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कार्यक्रममा अनिवार्य रुपमा समावेश गरिनुपर्छ । यसको प्रभावकारितालाई स्वतन्त्र रुपमा गरिएका बाह्र मूल्यांकनकर्ताद्वारा गरिनुपर्छ । परिचित र खुसी पार्न छानिएका मूल्यांकनकर्ताका प्रतिवेदनले विपद् न्यूनीकरणमा खासै सहयोग नपुग्ने निर्विवाद छ ।

७. कुनै निश्चित प्रकोपको एक वा दुई ठाउँमा गरिएको सानो सफलतालाई निकै बढाइ चढाई गर्ने प्रवृत्तिले वास्तविकता ढाकछोप गर्न सघाउ पुगेको छ । लगानी अनुसारको प्रतिफल र पूर्व चेतावनी प्रणालीका सबै अवयवलाई समेटिएको र सबै अवयवहरु त्यत्तिकै प्रभावकारी छ कि छैनन् हेर्नुपर्दछ ।

८. विपद् ऐनमा व्यवस्था भएको प्राधिकरणको गठन गर्दा पूर्व चेतावनी प्रणाली ‘फोकल प्वाइन्ट’ को पनि व्यवस्था गर्ने जसले यस सम्बन्धी सबै मन्त्रालय र निकायहरुसंग समन्वय गर्न सक्छ । त्यसैगरी सबै तहका सरकारमा विपद् पूर्व चेतावनी प्रणालीको लागि ‘फोकल पोइन्ट’ को व्यवस्था गर्ने जसबाट प्रभावकारी रुपमा नियमनकारी भूमिका निर्वाह हुन सकोस् ।

९. पुर्व चेतावनी प्रणाली लै अपाङ्ग र संग्कटासंन्नाता मैत्री बनाउनु अति आवस्यक छ। यसको लागि सूचना प्रवाह गर्ने माध्यम उपयुक्त हुनु आवश्यक छ।
(लेखकलाई [email protected] मा सम्पर्क गर्न सकिन्छ ।


भर्खर

0