क्यान्सरको उपचारमा सरकारी-निजी क्षेत्रको हातेमालो जरुरी | Khabarhub Khabarhub

क्यान्सरको उपचारमा सरकारी-निजी क्षेत्रको हातेमालो जरुरी


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व क्यान्सर दिवसको अवसरमा सोमबार मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँयो । दिवसकै अवसरमा खबरहबडट्कमले आयोजना गरेको ‘क्यान्सर विशेषज्ञसँग बसह’ कार्यक्रममा नेपालमा विभिन्न अस्पतालमा कार्यरत क्यान्सरका विशेषज्ञ चिकित्सकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालमा क्यान्सर रोगको वर्तमान अवस्था, क्यान्सरका कारण, क्यान्सरका उपचार विधि तथा क्यान्सरका विरामीहरुको समस्या लगायतका विषयमा छलफल गरिएको थियो । खबरहबडट्कमका सम्पादक जीवराम भण्डारीले चिकित्सकहरुसँग क्यान्सरका विषयमा पछिल्लो समय नेपालमा देखिएका विषयमा संवाद गरेका थिए ।

कार्यक्रममा क्यान्सर केयर नेपालका अध्यक्ष एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन कुमार पिया, सार्क फेडेरेसन अफ अंकोलोजिस्टका अध्यक्ष राजेन्द्र प्रसाद बराल, कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरी, सिभिल अस्पतालका रक्तरोग विशेषज्ञ डा.विशेष पौड्याल उपस्थित थिए ।

 

त्यसैगरी कार्यक्रममा बीपी कोइराला, मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजय चन्द्र आचार्य, त्रिवि शिक्षण अस्पतालका क्यान्सर शल्य चिकित्सक डा. योगेन्द्र प्रताप सिंह, भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अंकोलोजिस्ट डा. रोशन प्रजापति, पूर्वाञ्चलन क्यानसर अस्पतालका मेडिकल डाइरेक्टर विरेन्द्र यादव, नेपालमा मेडिसिटी हस्पिटल शल्यचिकित्सक डा. सुनिल कुमार शर्मा, वीर अस्पतालका क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्य सहभागी थिए । कार्यक्रम सगरमाथा टेलिभिजन र खबरहबडटकमको फेसबुक लाइक पेजमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

क्यान्सरका विषयमा कस्ले के भने ?

डा.मदन कुमार पिया

नेपालमा क्यान्सरको सरकारी तथ्यांक छैन । तर अस्पतालवेसमा मात्रै केही तथ्यांकहरु छन् । खानपान र जीवनशैली धेरै परिवर्तन भएको छ, जसले क्यान्सरका बिरामीहरु बढेका छन् । नेपालमा फोक्सोको क्यान्सर पहिलो नम्बरमा छ । यस्तै दुई नम्बरमा पाठेघरको क्यान्सर छ ।
क्यान्सर विश्व क्यान्सर डे मनाउनुको मुख्य उद्देश्य जनचेतना जगाउने, रोकथाम गर्ने र औषधि उपचार गर्ने हो ।

पछिल्लो समय क्यान्सरको बारेमा जनचेताना पनि बढ्दै गएको छ । केही स्वास्थ्य समस्या भयो भने मानिसहरु अस्पतालमा जँचाउन आइहाल्छन् । नेपालमा क्यान्सरका कारण वार्षिक १९ हजारको मृत्युदर छ, त्यो ढिलो उपचारमा आएकै कारण उनीहरुको मृत्यु भएको हो । क्यान्सरका बिरामीहरु समयमा उपचार गर्न आएमा यो मृत्युदर कम हुने उनको तर्क थियो ।

डा. राजेन्द्र प्रसाद बराल

संवादकै क्रममा डा. राजेन्द्र प्रसाद बरालले भने– ‘हामी सबै जीवित प्राणीमा कोशिकाहरु हुन्छन् । त्यो कोशिकका अनियन्त्रित रुपमा वृद्धि हुनु क्यान्सर नै क्यान्सर हुनु हो । क्यान्सरमा उमेरको हदबन्दी छैन । क्यान्सर जुनसुकै उमेरकालाई हुन्छ ।’

उनले क्यान्सर बच्चादेखि वृद्धाहरुमा पनि लाग्ने बताए । नेपाल जस्तो विकास उन्मूख देशहरुमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर बढ्दै बताए । अहिले हामी सबै मिलेर वृहत रुपमा विश्व क्यान्सर दिवस मनाइरहेका छौं । तर हामीले आज मात्रै क्यान्सर दिवस मनाएर हुँदैन । यसका लागि हामीले हरेक दिन क्यान्सर दिवस मनाउने बतावरण बनाइनुपर्छ ।

उनले भने ‘५० प्रतिशत क्यान्सर प्रिभेन्टिभ छ त्यसैले जीवनशैली परिवर्तन गर्न सकेमा ५० प्रतिशत क्यान्सर निको विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको छ ।’ राज्यले क्यान्सरका रोगीलाई दिने सहुलियत हात्तिको मुखमा जिरा मात्रै हुने उनको तर्क थियो ।

डा. वीरेन्द्र यादव

हाम्रो जस्तो विकासोन्मूख देशमा अहिलेको अवस्थामा पनि धेरै ठाउँमा क्यान्सरका बिरामीको लागि उपचारको पहुँच छैन । मान्छेलाई सहज र सुलभ उपचारको पहँुच छैन । अझै पनि धेरै बिरामीहरु क्यान्सर भएको अन्तिम अवस्थामा मात्रै अस्पतालमा आइपुग्छन् ।

नेपालीको सोच भारतमा मात्रै राम्रो उपचार हुन्छ भन्ने तर, नेपाली चिकित्सक र नेपाली अस्पतालमा विश्वास अझैँ कम छ । क्यान्सरको रोकथाम सरकारी तवरले मात्रै हुँदैन । निजी र सरकारी क्षेत्रलाई सँगै लान नसकेसम्म क्यान्सरलाई जित्न सकिदैन ।

डा. सुनिल शर्मा

क्यान्सर हुने वित्तिकै क्यान्सरका रोगीहरुमा मेरो जिन्दगी विग्रियो भन्ने भावना हुन्छ । मानिसम आर्थिक र मानसिक भारले क्यान्सर समस्याको रुपमा देखिएको छ । क्यान्सर सम्बन्धी सचेतना राजनीतिज्ञहरुले उठाउनुपर्ने हो । सरकारले अब क्यान्सर नीति बनाउनुपर्छ ।

नेपालका मिडियाहरुले क्यान्सरको ६० प्रतिशत उपचार हुन्छ भन्ने जानकारी सहित सकारात्मक सूचना दिनुपर्छ । क्यान्सर भएपछि बिरामीहरुमा यसलाई जित्नसक्छु भन्ने भावना हुनुपर्छ । विरामीलाई आत्मविश्वास हुनुपर्छ । अहिले नेपालमा उत्कृष्ट क्यान्सर विशेषज्ञ तथा जनशक्ति र उपचारका उपकरण समेत रहेका छन् । राज्यले प्राइभेट सेक्टरलाई सौतेनि व्यवहारले मात्रै हेर्नुभएन ।

डा. विशेष पौडेल

नेपालमा रगतजन्य रोगको विषयमा नेसनल डाटा छैन । नेपालमा रगतको क्यान्सर एकदमै बढी छ । जनमानसमा रगतको क्यान्सर लाग्ने वित्तिकै बाँच्न सकिंदैन भन्ने भ्रम छ ।

रगतको क्यान्सर लाग्दा जतिसक्दो छिटो उपचार गर्नुपर्छ । क्यान्सर रोग केही होइन भन्ने मान्यता राख्नुपर्छ, तर समयमै भने अस्पताल तथा चिकित्सकको परामर्शमा पुग्नैपर्छ । नेपालमा रगत सम्बन्धि रोगमा उपचार गर्ने विशेषज्ञ चिकित्सक कम भए पनि भएका चिकित्सकहरुबाट उत्कृष्ट सेवा प्रदान हुँदै आएको छ । नेपालमै रगत सम्बन्धि रोगको उपचार सम्भव छ, विदेश जानु पर्दैन ।

डा.सुदीप श्रेष्ठ

हरेक वर्ष क्यान्सरका बिरामी बढ्दै गएका छन् । नेपालमा सबै क्यान्सरको उपचार सम्भव छ, तर अझैपनि क्यान्सर डरलाग्दो रोग हो सोच छ । क्यान्सर निको हुने बिरामीहरु समाजमा खुलेर आउनुहुन्न ।

क्यान्सरको कारण मृत्यु भएका र दुःख पाएकाको समाचार आउँछ तर निको भएको सामाचार आउँदैन जसले पनि बिरामीहरु नेपालको उपचारमा विश्वास गर्दैनन् ।

प्राइभेट सेन्टरलाई हामीले चाहेर प्राइभेट अस्पताल बनाएको होइन । हामीले बिरामीलाई विदेश जानबाट रोक्नुपर्छ । त्यसका लागि सरकारी तवरबाट पनि विभिन्न कार्यक्रमहरु ल्याइनुपर्छ ।

डा. विजय चन्द्र आचार्य

नेपालमा बिरामीको भावना सबैभन्दा पहिला मानिसहरु क्यान्सर भएपछि ्त्यसको एन्सर छैन भन्ने सोच्छन् । यो रोगलाई आर्थिक रुपमा महंगो छ भन्निछ । क्यान्सरको उपचारको मोडालिटि धेरै थरिको हुन्छ । यसको उपचार लामो समय उपचारमा रहुनुपर्छ । अन्य रोगजस्तो एकपटक अस्पताल गएर हुँदैन ।

यो रोगका बिरामी बाचुन्जेल अस्प्ताल जानुपर्छ । त्यसले आर्थिक भार बढ्छ । जसका कारण क्यान्सर पत्ता लागेका कतिपय बिरामी उपचार सुरु गरेपछि परिवारले छोडेर समेत हिड्छन् । नेपालीहरुले रोग लाग्दा हेला गर्ने प्रवृत्ति छ । हामीले विपि कोइराला मेमोरिलय क्यानसर अस्पताल खोल्नुको उदेश्य उपचार गर्ने हो । हाम्रो अस्पतालको डाटाले राष्ट्रिय पक्षेपण गर्छ ।

सेवाको हिसाबले रेडियोथेरापी सर्जरी र किमोथेरापी अत्याधुनिक उपकरणका साथ सेवा उपलब्ध गराएका छौं । सर्जरीको हकमा ठूला ठूला सर्जसी गराइरहेका छौं । हामीले नेपालभरीका सबै जिल्लाहरुमा संयन्त्र बनाएर सचेतना दिइरहेका छौं । बिरामी धेरै समय नर्ससँग बिताउनुपर्छ नर्सले दिने सल्लाह महत्पूर्ण हुन्छ त्यसका लागि हामीले अंकोलोजिस्ट नर्सहरु पनि परिचालन गरेका छौं ।

क्यान्सर अस्पतालले १४ वर्षभुनि र ७० वर्ष माथिका लाई सहुलियत दिएको छ । हामीले सर्भिस मात्रै दिएर हुँदैन क्यान्सर प्रतिष्ठान बनाउनुपर्छ । अनुसन्धान गर्नुपर्छ । अब राज्यले नेसनल क्यानसर निति बनाउनुपर्छ । क्यान्सरलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ । हाम्रो सेवा प्राइभेटमा भन्दा कम छैन ।

डा. विवेक आचार्य

नेपालमा क्यान्सरका रोगी बढ्नुको कारण अस्वास्थकर जीवनशैली नै हो । अर्को अल्कोहलले पनि असर गर्छ, त्यस्तै खानेकुराहरु हामीले ध्यान दिनु पनि उत्तिकै जरुरी छ । पोलेको, नुन चर्को जस्ता सामान्य कुराबाट समेत क्यान्सर हुन्छ भन्ने हेक्का राख्नुपर्छ । क्यान्सर रोगबाट बच्न खानामा लसुन र वेसार हाल्नुपर्छ । यसले पनि केहीहदसम्म सहयोग मिल्छ ।

हाम्रो वीर अस्पतालमामा आउने विरामीलाई फ्रिमा किमो गरेका छौं । २० हजारसम्म निशूल्क गरेका छौं । सरकारले क्यान्सर अस्पतालको संख्या बढाउनुपर्छ । सरकारले निति नियम बनाउनुपर्छ । धेरै जनसंख्या काठमाडांैमा छ र डाक्टरहरु पनि यहि केन्द्रित छन् । सरकारले निजीसँग मिलेर ७ प्रदेशमा नै क्यान्सरका अस्पताल संचालन गर्नुपर्छ ।

डा. योगेन्द्र प्रताप सिंह

त्रिवि शिक्षण अस्पताल क्यान्सरको डाइनोशिसदेखि उपचारमा अग्रणी भूमिकामा छ । प्रसूतिगृह अस्पतालमा महिलाको मात्रै हुन्छ, कान्ति बालमा बालबालिकाको मात्रै हुन्छ । हाम्रो टिचिङ अस्पतालमा फोक्सो क्यान्सरका बिरामी बढी छन् । डाइनोशिसको सेवा नभएको ठाउँमा क्यान्सर पत्ता लगाउन सकिंदैन ।

पहिला बिरामी हुँदा अस्पताल जादैन थिए । नेपालमा अझै पनि बिरामी नभइ अस्पताल जाने चलन छैन । क्यान्सरबारे सचेतना सधै जगाउनुपर्छ । नेपालमै क्यान्सरको उपचार सम्भव छ । क्यान्सरको समयमा उपचार भयो भने निको हुन्छ । हामीले वार्षिक एक सय जना स्तन क्यान्सर बिरामीको उपचार गर्दा पहिला ५० प्रतिशत निको हुन्थ्यो भने अहिले ७० प्रतिशत निको हुन्छ ।

डा. विष्णुरथ गिरि
कान्ति बाल अस्पतालमा आउने क्यान्सरका बालबालिका रगतसँग सम्बन्धित क्यान्सर बढी हछन् । त्यसबाहेक न्यूरोब्लास्टोमा, आँखाको क्यान्सर लगायतका बिरामी छन् । २०५४ सालबाट क्यान्सरको उपचार गराउनेको संख्या ५० थियो अहिले ४ सयको हाराहारीमा छन् ।

डा. रोशन प्रजापति

भत्तपुर क्यान्सर अस्पतालमा पहिला अन्तिम अवस्थामा मात्रै बिरामी आउनुहुन्थ्यो तर अहिले मानिसहरुमा सचेतना जागेको छ । अहिले आउने बिरामीको संख्या पनि बढेको छ ।

क्यान्सरको शंका लागेपछि बिरामीहरु जचाउन आउनुहुन्छ । नेपालमा पुरुष भन्दा महिलाहरु क्यान्सर रोगी बढी छन् । महिलामा हुने क्यान्सर घरमै जाचेर पनि पत्ता लगाउन सकिन्छ । तर अस्प्तालमा आउने कतिपय बिरामीहरुमा हेर्दा नै क्यान्सरको लक्षण देखा परेको हुन्छ । वर्षमा एकपटक क्यान्सर परीक्षण गरेका क्यान्सर निको हुने सम्भावना बढ्छ । राज्यले क्यान्सरको उपचारमा भन्दा पनि जनचेतनामा खर्च गर्नुपर्छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : ३० बजे

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको