रक्तक्यान्सर लागेका ३५ प्रतिशत बालबालिकाको हुँदैन उपचार « Khabarhub
Logo
७ असार २०७८, सोमबार

रक्तक्यान्सर लागेका ३५ प्रतिशत बालबालिकाको हुँदैन उपचार



काठमाडौं– कान्ति बाल अस्पतालको शय्या नम्बर ८५ मा रहेका ७ वर्षीया बालक वेल्सन भारती आफ्नी आमा कवितासँग मोबाइलमा लुडो खेल्दै थिए । काभ्रेको बनेपाको एक विद्यालयमा कक्षा एकमा पढ्दै गरेका वेल्सनले विद्यालय जान र साथीहरुसँग खेल्न पाएका छैनन् ।

४ महिनादेखि वेल्सनको खेल्ने साथी, उनका आमाबुबा र पढ्ने ठाउँ अस्पतालकै शय्या हो । रक्त क्यान्सरका कारण वेल्सन गत कात्तिक २५ गतेदेखि कान्ति अस्पतालमा भर्ना भएर उपचारत छन्  ‘गत कात्तिक २४ गते भाइटिकाको दिन घरमा खेल्दा खेल्दै शरीरमा निलो डाम देखियो । बनेपा अस्पतालमा रगत परीक्षण गर्दा रक्तकोशिका नै भेटिएन,’ वेल्सनका बुबा सुरेन्द्र राज भारतीले भने, ‘कात्तिक २५ गते यहाँ ल्याएर परीक्षण गरियो, यहाँ ल्याएपछि थाहा भयो, छोरालाई ब्लड क्यान्सर (रक्तक्यान्सर) भएको रहेछ ।’

छोरालाई क्यान्सर भएको थाहा पाएपछि भारतीका दम्पती छोराकै उपचारका लागि अस्पतालमै छन् । स्कूल जान र साथीहरुसँग खेल्न नपाउँदा वेल्सन आमासँगै खेल्छ र अनेक प्रश्नहरु सोधिरहन्छ । उनकी आमा कविता आफ्नो मन सम्हाल्दै छोरालाई खुसी पार्न वेल्सनसँगै खेल्दै उसका प्रश्नहरुको जवाफ हाँसेर दिने प्रयात्न गर्छिन् ।

‘जतिबेला पनि बोलिरहन्छ, अनेक प्रश्नहरु गर्छ, कहिले खेल्छ, कहिले पढ्छ, कलरहरु गर्छ ।’ वेल्सनकी आमा कविताले भनिन्, ‘छोरालाई छिट्टै निको गराउन पाए हुन्थ्यो ।’

कविताले आफ्नो कुरा हामीसँग राख्दैगर्दा वेल्सन पनि बोल्न थाले, ‘म त बोलिरहन्छु ।’ उ हाँस्दै फेरि लुडोको गोट्टी चलाउन थाल्यो ।
‘ठूलो भएपछि बाबु के बन्ने ? भन्देउ त दिदीलाई’ सविताले छोरालाई फकाउँदै आग्रह गरिन् ‘ठूलो भएपछि… साइन्टिस बन्ने हो । उनले हाँस्दै जवाफ दिए।

‘साइन्टिस बन्न त पढ्नुपर्छ खै त पढेको, खेलेर बसेको देख्छु त ?’

‘किताब घरमै छ, घरमा गएपछि पढ्ने अनि साइन्टिस भन्ने हो म त ।’ उनले मुस्काउँदै जवाफ दियो । वेल्सनको जवाफ अस्पतालको वार्डभरी गुन्जियो ।

उनको बोली र चञ्चले स्वभाव देखेर कसैले विश्वास गर्न सक्दैनन्, वेल्सन बिरामी छ । वेल्सनको बोली र स्वभावले उ भित्रको रोग देखिदैन तर चिकित्सकहरुले वेल्सनको क्यान्सर निको हुने सम्भावन ५० प्रतिशत मात्रै रहेको बताएका छन् ।

वेल्सनकै शैय्याको नजिकको शैय्यामा सुनसरीकी साढे ३ वर्षीया साहारा विश्वकर्मा छिन् । दिसापिसाब गर्नै छाडेकी साहाराको घाटीमा गाँठागुठी र निलो दाग देखिएपछि उनका बुबा सागर विश्वकर्माले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगे । अस्पतालले शुरुमा दिशापिसाब निकालिदियो र केही औषधि दिएर घर पठायो । तर डाक्टरले दिएको औषधिले साहारालाई निको भएन । विश्वकर्माले गाउँकै एक क्लिनिकमा जाच्न लगे, क्लिनिकले पनि औषधि दियो तर साहारालाई त्यो औषधिले पनि छोएन ।

छोरीको स्वास्थ्य अवस्था विग्रदै गएपछि विश्वकर्माले २०७४ सालको फागुन १० गते महाराजगञ्जको कान्ति बाल अस्पतालमा ल्याए । कान्ति अस्पतालमा परीक्षण गर्दा विश्वकर्मा छाँगाबाट खसेजस्तै भए, जब छोरीलाई ब्लड क्यान्सर भएको थाहा पाए ।

‘छोरीले दिशापिसाब गर्न छाडेपछि अस्पताल लगियो औषधिले ठिक भएन, कान्ति अस्पतालमा ल्याएरे बोनम्यारा गर्दा मेरो होस् उड्यो । छोरीलाई ब्लड क्यान्सर भएको रहेछ ।’ साहाराका बुबा सागर विश्वकर्माले सुनाए ।

विश्वकर्माले त्यतिबेला क्यान्सर भएपछि निको हुँदैन भन्ने सुनेका थिए । तर छोरीको सास हुँदासम्म विश्वकर्माले आसा मारेनन् । उनले एलोपेथिक उपचार छाडेर छोरीको ज्यान बचाउँन करिव १० महिनासम्म नेपाल र भारतका विभिन्न आयुर्वेदिक अस्पतालहरुमा उपचार गराउन थाले ।
आयुर्वेदिक उपचारले केही साता ठिकभएजस्तो भयो तर साहाराको स्वास्थ्य अवस्था पुनः विग्रदै गयो ।

छोरीको स्वास्थ्य अवस्था विग्रिन थालेपछि विश्वकर्माले दुईसाता अघि पुनः कान्ति अस्पतालमा ल्याएर उपचार सुरु गरेका छन् ।

‘नेपाल र भारत गरेर ७,८ वटा अस्पतालहरुमा लगे, केही समय मात्र ठिक हुन्थ्यो, दुईसाता भयो यहाँ भर्ना गराएको अहिले अलि सुधार भएको छ’ विश्वकर्माले भने, ‘डाक्टरहरुले २ वर्ष ३ महिनासम्म नियमित औषधि खाएपछि ठिक हुने सम्भावना छ भन्नुभएको छ ।’ छोरीको उपचारका लागि सामाजिक सञ्जालमार्फत अपिल गरेर रकम संकलन गरी उपचार गराइरहेको विश्वकर्माले बताए ।

साहाराको ब्लडमा ९० प्रतिशत क्यान्सरका तत्वहरु रहेको उनको उपचारमा संलग्न चिकित्स डा. विष्णुरथ गिरीले बताए ।

‘पहिला आउँदा नै उपचार सुरु गरेको भए, निको हुने सम्भावना बढी हुन्थ्यो, कहिले एलोपेथिक, कहिले आयुर्वेदिक उपचारमा जाँदा साहाराको क्यान्सर ठिक भएको छैन,’ डा. गिरीले भने, ‘ उसको ब्लडमा ९० प्रतिशत क्यान्सर छ, उपचारमा ढिलो भएपछि धेरै डोजको औषधि प्रयोग गर्नुपर्छ । जोखिम उच्च हुन्छ ।’

वेल्सन र साहरा त प्रतिनिधि मात्र मात्रै हुन् । रोग पहिचान भएपछि पनि समयमा उपचार नगराउँदा ब्लड क्यान्सरबाट धेरै बालबालिकाले अकालमै ज्यान गुमाउन परेको छ ।

कान्तिमा आउने धेरै बिरामीमा रक्त क्यान्सर

कान्ति बाल अस्पतालमा आर्थिक वर्ष २०७४/७५ मा १ सय ७४ जना नयाँ क्यान्सरका बिरामी उपचारत छन् । जसमा रक्त क्यान्सरको बिरामी धेरै रहेको कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. सुधिर सापकोटाले बताए ।

उनले भने, ‘कान्ति अस्पतालमा उपचारत क्यान्सरका बिरामीमा सबैभन्दा बढी ब्लड क्यान्सरका बिरामी छन् । अहिले ७० जना ब्लड क्यान्सरको बिरामीले कान्तिमा उपचार गराइरहेका छन् ।

रोग पत्ता लागेका ३५ प्रतिशत बिरामीले उपचार गराउँदैनन्

कान्ति बाल अस्पतालमा धेरैजसो बिरामीहरु देशभरका विभिन्न अस्पतालबाट रिफर भएर आउने बिरामीहरु हुन्छन् । क्यान्सरको शंकामा उपचारका लागि आउने केही बिरामीहरु रोग पत्ता लागेपछि पनि उपचार नै नगराइ घर फर्कने गरेको डा. सापकोटाले बताए ।

‘क्यान्सरका बिरामीहरुमा ३५ प्रतिशत बिरामी रोग पत्ता लागेपछि उपचार नगराइ घर फर्किन्छन् । यसरी घर रोग पत्ता लगाएपछि घर फर्किनेहरुमा गाउँगाउँबाट आउनेहरु र आर्थिक रुपमा विपन्नहरु छन्,’ डा. सापकोटाले भने, ‘बालबालिकाको क्यान्सर समयमै पत्ता लगाएर उपचार शुरु गरे ५० प्रतिशत क्यान्सर ठिक हुन्छ तर उपचार नै नगराइ घर फर्किदा बालबालिकाहरुको अकालमै मृत्यु भइरहेको छ ।’
अस्पतालमा आउने अधिकांश विबामीहरु विभिन्न अस्पतालमा धाएर सम्पति र समय सक्काएपछि अन्तिम अवस्थामा आइपुग्ने गरेको डा. सापकोटाले बताए ।

के हो रक्त क्यान्सर ?

शरीरमा रहेको हड्डीभित्रको मासी (वोनम्यारो) ले रगतमा हुने रातो, सेतो रक्त कोष र प्लेटलेट बनाउने गर्छ । शरीरमा सेतो रक्तकोष अनियन्त्रित रुपमा फैलदा हड्डीमा रहेको मासीलाई असर पर्छ । सेतो रक्तकोष बढी उत्पादन भएमा त्यसले काम गर्न सक्दैन । तर अत्याधिक रुपमा सेतो रक्तकोष बढ्दै जान्छ र रातो रक्तकोष र प्लेटिलेट उत्पादन हुने स्थानसमेत ओगट्छ । जसको कारण राता रक्तकोष र प्लेटिलेट उत्पादन हुन सक्दैन । शरीरमा सेतो रक्तकोषको अनावश्यक वृद्धि हुनु नै रक्त क्यान्सर हो ।

किन हुन्छ बालबालिकामा रक्तक्यान्सर ?

बालबालिकामा हुने रक्त क्यान्सरको पुष्टि गर्न सकिने कारण नभएको चिकित्सकहरु बताउँछन् । तर गर्भअवस्थामा आमाले अपनाउने जीवनशैली र वातावरणको प्रभावले पनि शिशूको भ्रूण विकास राम्रोसँग नहुँदा रक्तक्यान्सर हुनसक्ने डा. सापकोटाले बताए ।

‘यही कारणले बालबालिकामा रक्तक्यान्सर हुन्छ भन्ने पत्ता लगाउन सकिँदैन तर अहिले जुन रुपमा क्यान्सरका बालबालिका बढेका छन्, त्यो गर्भअवस्थामा आमाको जीवनशैली र वातावरणको प्रभाव पनि हुन्छ’ डा. सापकोटाले बताए ।

बालबालिकामा यस्तो लक्षण देखिए क्यान्सर हुनसक्छ

लगातार ज्वरो आउने ।
शरीर सेतो हुँदै जाने ।
शरीरको विभिन्न भागबाट रगत बग्ने ।
हातखुट्टाका जोर्नीहरु दुख्ने ।
शरीरमा निला डामहरु देखिने ।
शरीरको वजन घट्दै जान्छ ।
खाना नरुच्ने ।
सेतो रक्तकोषको अभावमा रोगहरुसँग लड्ने क्षमतामा कमी आउँछ र विभिन्न संक्रमक रोगहरु लाग्छ ।
घाँटी, छाती, कलेजो र पेट सुन्निन सक्छ ।
टाउँको दुख्ने, वान्ता हुने काम्ने, वहोस हुने समस्या देखिन्छ ।
आलस्यता बढ्छ ।
यस्ता लक्षणहरु क्यान्सरको संकेत भएकाले यी लक्षणहरु देखिएमा समयमै क्यान्सर रोग विशेषज्ञसँग परामर्श र उपचार गराउनुपर्ने डा. सापकोटा बताउँछन् ।

कुन उमेरमा क्यान्सर देखिए बढी जोखिम ?

डा. सापकोटाका अनुसार एक वर्ष भन्दा कम र १० देखि १८ वर्षभित्रका बालबालिकामा क्यान्सर देखिएमा उनीहरु क्यान्सरको उच्च जोखिम हुन्छन् ।

यस्तै दुईवर्षदेखि ९ वर्षभित्रको उमेर समूहका बालबालिकामा क्यान्सर भएमा उनीहरुमा निको हुने सम्भावना बढी हुने डा. सापकोटाको भनाइ छ ।

रक्त क्यान्सरको उपचार यसरी गरिन्छ 

रक्त क्यान्सर भएका बालबालिकालाई औषधि वा विभिन्न रसायनिक पदार्थहरु मुख, नसा, ढाड वा अन्य माध्यमबाट शरीरमा दिई उपचार गरिन्छ । क्यान्सरको सम्भावित लक्षण देखिएका बालबालिकाको वोनम्यारो (हड्डीभित्रको मासी) निकालेर परीक्षण गरिन्छ । वोनम्यारो परीक्षण गर्दा मासीमा २० देखि २५ प्रतिशत भन्दाबढी क्यान्सरको कोशिकाहरु देखिएमा क्यान्सर भएको पुष्टी गरिने डा. सापकोटाले बताए ।

वोनम्यारो गर्दा क्यान्सर भएको पुष्टी भएपनि शरीरको कुन अंगमा क्यान्सर भएको हो भन्ने थाहा हुँदैन । शरीरको कुन अंगमा क्यान्सर भएको हो भन्ने पत्ता लगाउन फ्लो साइट्रोरोट्री अर्थात हड्डीको परीक्षण गर्नुपर्छ । जसलाई मेडिकलको भाषामा डाइनोसिस भनिन्छ ।

नेपालमा टेकुमा रहेको राष्ट्रिय जनसवस्थ्य प्रयोगशालामा कुन क्यान्सर लागेको हो भन्ने परक्षिण गराइन्छ । तर त्यो क्यान्सर कुन स्टेज वा कति जोमिखपूर्ण छ भन्ने पत्ता लगाउने प्रविधि नेपालमा नभएको डा. सापकोटाले बताए ।

‘क्यान्सरका बिरामी कति जोखिममा छ भन्ने पत्ता लगाउने प्रविधि नेपालमा छैन त्यसैले हामी मेरुदण्डको भागबाट निकालेको बिरामीको मासीलाई भारतमा परीक्षणका लागि पठाउँछौं’ डा. सापकोटाले भने, ‘त्यहाँबाट आउने रिपोर्टको आधारमा नेपालमा उपचार गर्छौं ।’

रक्त क्यान्सर भएका बालबालिकालाई ६ महिनासम्म जोड बढी भएको औषधि प्रयोग गरिन्छ । त्यसैले क्यान्सरका बिरामीले उक्त समयअवधिभर अस्पतालमा भर्ना भएरै बस्नुपर्ने डा.सापकोटाले बताए । बालक र बालिकामा रक्त क्यान्सरको उपचार गर्ने समय अवधि फरक– फरक हुने डा. सापकोटाको भनाइ छ ।

‘रक्तक्यान्सर भएका बालिकाको २ वर्ष र बालकको ३ वर्ष उपचार गराउनुपर्ने हुन्छ । उनीहरुले उक्त समयअवधिमा नियमित औषधि सेवन, ३ महिनामा एकपटक इन्जेक्सन लगाउने र सातामा एकपटक रगत परीक्षण गर्नुपर्ने हुन्छ,’ डा. सापकोटाले भने, ‘यसरी नियमित चिकित्सको निगरानीमा रहेर उपचार गराउँदा क्यान्सर कम भएको छ, छैन, औषधिले काम गर्‍यो गरेन थाहा हुन्छ ।’


भर्खर

0