कीर्तिमानी खेलाडी सन्तोषी भन्छिन् : आफ्नो रहर पूरा गर्दा देशलाई पदक जितेँ « Khabarhub
Logo
१७ फाल्गुन २०७७, सोमबार

कीर्तिमानी खेलाडी सन्तोषी भन्छिन् : आफ्नो रहर पूरा गर्दा देशलाई पदक जितेँ



काठमाडौं – सन्तोषी श्रेष्ठ, सोमबारसम्म एथलेटिक्स संघ तथा खेलाडी र उनको घर परिवार र नातागोताका मान्छेले मात्रै सुनेको जानेको नाम थियो। तर, मंगलबार बिहानै उनले यस्तो कीर्तिमान बनाइन् जसले उनलाई एकाएक कीर्तिमाधारी खेलाडीको पहिचान दियो ।

सन्तोषीले दशरथ रंगशालाको सेन्थेटिक ट्रयाकमा भएको १० हजार मिटरको दौडमा भारतीय खेलाडीलाई पराजित गरेकी थिइन् । अनि उनी नेपाली एथलेटिक्स र सागको इतिहासमा नेपालका लागि स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनिन्।

त्यो पनि मात्रै एक मिलिसेकेन्डले । उनले १० हजार मिटरको दुरी ३५ मिनेट ७.९४ सेकेन्डमा पुरा गरिन् ।

उनी भारतीय खेलाडी कविता यादवलाई पराजित गर्न सफल भएकी थिइन् । कविता यादव सन्तोषीले सुनेको नाम थियो । तर, पहिलो पटक उनीसँग आफ्नै देशमा दौडिँदै थिइन् ।

सन्तोषीले सुनाइन् ‘रमाइलो लागिरेहको छ । शुरुमा त म नर्भस भएकी थिए । तर, ट्याकमा दौडिँदा अन्य कुराहरु भन्दा पनि मेरो लागि सोच्ने व्यक्तिहरुको बारेमा सोचे।’

स्वर्ण पदक जितेर हर्षित देखिएकी सन्तोषीले खबरहबसँग उनले भनिन्, ‘म जस्तै थुप्रै महिलाहरुका बारेमा सोचे । मेरो लागि सबैभन्दा ठूलो कुरा यहिँ हो भन्ने सोच बनाएर दौडिए।’

धादिङको ज्वालामुखी गाउँपालिका सुनखानी घर भएकी सन्तोषीले स्कुल पढ्दा देखि नै दौडमा रुचि राख्थिन् । उनले कहिलै पनि आफ्नो कीर्तिमानी स्वर्ण जित्न सक्छ् भन्ने सोचेकि थिइनन् ।

तर, एथलेटिक्समा स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनेकी उनले सागमा सक्दो राम्रो गर्ने योजना बनाएर बन्द प्रशिक्षणमा जुटेको बताइन् । जीतले दिएको खुसी आउँदा दिनलाई लिएन सन्तोषी निकै उत्साहित छिन् ।

त्यो भन्दा पनि उनी आफुलाई नयाँ रुपमा समाजमा आफ्नो पहिचान बनाउन सफल भएकी छन् । नेपालमा विभागीय क्लबका खेलाडीहरुको ब्रचश्व छ । जताततै विभागीय टोलीको ब्रचश्व भइरहँदा विभाग भन्दा बाहिर रहेकी सन्तोषीले स्वर्ण जित्दा धेरै त अचम्म पनि लागि रहेको छ ।

‘सधै विभागमात्रै हावी भयो भन्ने सुनिन्थ्यो । तर, म ‘सिभिल’ भएरै पनि स्वर्ण जित्न सक्छ भन्ने प्रमाणीत गर्न खोज्थे,’ अनुसन्धान प्रोजेक्टमा काम गरेकि सन्तोषीले खबरहबसँग भनिन् ।

सानैदेखिको खेल क्षेत्रमा रमाउने रहर पूरा गर्दै राष्ट्रका लागि केहि गर्न सकेकोमा उनी द‌ंग छन् । ‘देशका लागि केहि गर्नुपर्छ भन्ने भावना थियो । यहीँबाट शुरु भएको छ । देशको शिर उचो राख्ने गरी आगामी दिनमा मेरो प्रदर्शन रहनेछ,’ प्रफुल्लीत मुद्रामा उनले भनिन् । सागमा स्वर्ण दिलाएर देशको नागरिकको जिम्मेवारी पूरा गरेको जस्तो लागिरहेको छ । उनले आफ्नो रहर पूरा गर्न खेल्ने गरेपनि अहिले यही आफ्नो रहर देशको पदक बनेर आउँदा खुसी लाग्ने पनि बताइन ।

दशरथ रंगशालाको ट्रयाकै ट्याक कुरा गर्दै जाँदा सन्तोषीका साथिभाइ र परिवारका सदस्यहरु पनि भेटिए । उनले भेट्ने हरेक व्यक्तिले उनको प्रशंसा गर्दै बधाई दिँदै अंगालो मारे ।

सन्तोषीका बुबा आमा आए उनका प्रशिक्षक चन्द्र गुरुङले बुबा आमालाई ढोग भन्दै थिए । तर, उनले आमालाई सिधै अँगालो हालिन । आमाले छोरीको अनुहार मुसार्दै खुसी भइन् ।

‘मलाई त आज एकदमै खुसी लागिरेहेको छ,’ सन्तोषीकी आमाले भनिन् ।

छोरीको सफलता बारे आमाले खुसी व्यक्त गरेपनि सन्तोषीका बुबा भने बोल्न अघि बढे । उनले आफ्नी छोरीले देशको गौरव बढाएको भन्दै खुसी व्यक्त गरे ।
कौतुहलता लिएर छोरीको खेल हेर्न रंगशाला पुगेका उनले सन्तोषीले स्वर्ण जितेको झण्डै डेढ घण्टा पछिमात्रै उनीसँग खुसी साट्न पाए ।

‘छोरीले अहिलेसम्म महिलामा ल्याउन नसकेको स्वर्ण जितेकी छन् । देशको गौरव बढाएकोमा खुसी छु,’ सन्तोषीका बुबाले भने ।

‘सन्तोषीले स्कुलदेखि दौडिएको मेहनत खेर जाँदैन भन्ने मलार्य लागेको थियो । स्वर्ण ल्यउँछ भन्ने म भन्दै आएको थिए । तर, अरु मानिसहरु स्वर्ण जित्छ नभनि हालौं भन्थे,’ छोरीलाई जितको बधाई तथा शुभकामना दिन पुगेका सन्तोषीका बुबाले भने ।

प्रोजेक्ट अफिसरका रुपमा एनजीओमा काम गरिरहेकी सन्तोषीलाई काम भन्दा पनि खेलमा चाँसो बढेपछि उनी खाइपाइ आएको काम छाडेर दौडिन थालिन् । तर, पढाई नभइ हुँदैन भन्ने बुझेकी उनी अहिले पव्लीक हेल्थमा स्नातकोत्तर गर्ने लक्ष्यमा छिन् ।

सन्तोषीलाई आफु बेरोजगार हुँदा घर परिवारलाई दु:ख भएको बताउँछिन् । खाइपाइ आएको जागिर छाडेर खेलमा लागेकी उनले सोचे अनुसारको सफलता हात पारेपनि घर परिवारलाई आर्थिक रुपमा सहयोग गर्न नसकेकोमा दुख लागेको बताइन् ।

‘म खेलमा लागेर घर परिवार, भाइ सबैलाई दु:ख भइरहेको छ । काम गरेर अगाडि बढ्नु पर्ने मान्छे त्यतिकै छु । मलाई यस्तै अवस्थामा पढाई लेखाई साथमै राखेर पनि खेल्न सकिन्छ भन्ने प्रमाणित गर्नु थियो । त्यो पुरा भयो,’ सन्तोषीले भनिन् ।

उनले खेलाडीलाई व्यवसायिक बनाउन सके सफलता हात पर्ने पनि बताइन् । खेलका लागि खेलाडीले ज्यान दिएर लागेपनि उसलाई हातमुख जोड्न समस्या हुने सन्तोषीको बुझाई छ ।


भर्खर

0