चाडपर्व समाज र संस्कृतिलाई जीवित राख्ने उर्जा हुन्

दीपक शर्मा

बिहिबार, असोज १६, २०७६

Reading Time: 6 minutes

चाडपर्व समाज र संस्कृतिलाई जीवित राख्ने उर्जा हुन्

संस्कृति कुनै पनि समाज र मानिसको परिचयको केन्द्रविन्दु हो । संस्कृतिले मानव स्वभाव,चिन्तन र समाज विकासमा प्रत्यक्ष प्रभाव राख्दछ । मानव विकासको विविध चरणबाट निर्माण गरिएका विविध पद्धतिको समष्टी नै संस्कृति हो ।

समाजमा लिखित कानूनको विकास भन्दा धेरै अगाडि पनि अमन-चयन, सद्भाव र सौहार्दता कायम नै थियो, जसको श्रेय संस्कृतिलाई दिन सकिन्छ ।

मानव समुदायले जीवन निर्वाह गर्ने सम्बन्धमा आफूले विकास गरेका विभिन्न भौतिक एवम् अभौतिक पक्षहरुको योग नै संस्कृति हो ।

मानव जातिले आदिमकाल देखि आजको दिनसम्म आइपुग्ने क्रममा विकास गरेका भाषा, प्रविधि, धर्म, चाडपर्व,पोशाक, मूल्य मान्यता, प्रथा, परम्परा आदि इत्यादी संस्कृति भित्र पर्दछन् ।

नेपालको संस्कृति नीति २०६७ ले नेपालको राष्ट्रिय संस्कृतिलाई यसरी व्याख्या गरेको छ ‘वर्तमान नेपालको सिमाभित्र इतिहासको विभिन्न कालखण्डमा बसोबास गरेका विभिन्न मानव समुदाय वा मानव समुदायहरुले सिर्जना गरेर छाडेका र हाल बसोबास गरिरहेका विभिन्न जाती एवं समुदायका पुर्खाहरुले सिर्जना र अवलम्बन गरी हामीलाई जिम्मा लगाएर गएका भौतिक अभौतिक सम्पदाहरु र त्यस अनुरुपको जीवनशैलीको समष्टिगत रुप नै नेपालको राष्ट्रिय संस्कृति हो ’ ।

संस्कृतिको सबैभन्दा महत्वपूर्ण अवयवमा चाडपर्वहरु पर्दछन् । चाडपर्व मानव समाज र संस्कृतिलाई सदा जीवित एवं क्रियाशिल तुलाइरहने महत्वपूर्ण ऊर्जा हुन् ।

पुर्खा तथा आचार्यहरुले आफनो संस्कृतिक जनजीवनलाई सरस र सुन्दर बनाउन प्रत्येक महिनामा वा समयको अन्तरालसंगै विभिन्न तिथि मितिसँग समन्वय कायम राखी जुन चाडवाड, व्रतपर्व, उत्सब, जात्रा, मेलाका परम्पराहरु सिर्जना गरी ती संग सम्बन्धित धर्म, कर्म, आचारविचार, भोजन, मनोरन्जन आदिका प्रक्रिया बनाए त्यसले हरेक समाजका आफनै खाले पर्व र महोत्सवहरु निर्माण भए ।

समग्र नेपालका वर्षभरिका धेरै दिन प्रायः कुनै न कुनै धर्म-संस्कृतिले रंगिएका पर्व, उत्सव अनि यसभित्रका खुसी र उमंगका दिनहरु नै पर्दछन् ।

नेपालको बारेमा विद्धवान् कर्क प्याट्रिकले भनेका पनि छन् ‘नेपाल त्यस्तो देश हो जहां घरभन्दा धेरै मन्दिर छन, मान्छे भन्दा ज्यादा भगवान छन् र वर्षका ३६५ दिनभन्दा धेरै चाडपर्वहरु छन् ’ । उनको यस भनाईले हाम्रो सांस्कृतिक वैभताको परिचय खोल्छ ।

जीवनलाई विविध भावमा डोर्‍याउँदै नेपाली संस्कृतिलाई निरन्तरता दिई जीवन्त राख्न उत्पेरित गरिरहने माध्यम नै हाम्रा चाडपर्वहरु हुन् । प्राय चाडपर्वहरु एकातिर प्रकृतिसँग तादम्यता राख्दछन् भने अर्कोतिर परस्पर सद्भाव, सम्मान र सहिष्णुतालाई आत्मसात गरिरहेको देखिन्छ ।

के बुढाबुढी, के केटाकेटी, के धनी, के गरीब सबैलाई आआफ्नो औकात र गच्छे अनुसार चाडपर्व जात्रा मनाउनमा आस्था, श्रद्धा र गौरव हुन्छ ।

यसैले दुनियाँभरमा सबभन्दा प्राचीनतम देखिने चाडपर्व, जात्रादेखि लिएर अनेकन चाखलाग्दा चाडपर्व जात्राहरु आफ्नो चोखोपन र विशेषता बटुलेर हाम्रो देश नेपालमा परम्परागत रुपमा सुरक्षित हुन पाएका छन् ।

चाडपर्व र हाम्रो संस्कृतिको गतिशिलतालाई सांस्कृतिक विज्ञ सत्यमोहन जोशी यसरी व्याख्या गर्दछन् ‘नेपाली संस्कृतिको क्रमिक विकासमा नेपाली जातिले आफ्नो चाडवाड, व्रतपर्व, उत्सवजात्रा र मेलाप्रति दर्शाएको विश्वास, श्रद्धा, परम्पराहरु, धारणा, विचार रितिथिति आदिको पनि महत्वपूर्ण स्थान छ ।

हामीले राम्ररी गहिरिएर हेर्ने हो भने हाम्रो सांस्कतिक जीवनको स्तर र सांस्कृतिक विशिष्टता विश्वमा सगरमाथा झैं नै उच्च रहेको छ तथा यसमा नेपाली चोखोपनकै आत्मा निहित भइराखेको छ ’ ।

समाजको सांस्कृतिक एवं धार्मिक जीवनमा चाडपर्वको यहि विशेषताले गर्दा संसारको जुनसुकै भागमा पनि कुनै न कुनै रुपमा यसको प्रचलन पाइन्छ । जुनसुकै समाजको सांस्कृतिक जीवनमा चाडपर्व एक प्रमुख अंगका रुपमा क्रियाशिल रहेको देखिन्छ ।

यतिखेर हामी सबैलाई दशैंको माहोलले छपक्कै छोपिसकेको छ । असोज महिनाको शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन पूजापाठ र मनोरन्जन गरेर मनाइने नेपालीहरुको सबैभन्दा महत्वपूर्ण, लामो र ठूलो चाड हो दशैं ।

सनातन धर्मालम्बीहरुको बसोबास भएका सबै स्थानमा आफनो परम्परागत विधिमा दशैं मनाईन्छ । नेपालमा यस पर्वले धार्मिक कर्मकाण्डसंगै सांस्कृतिक र पारिवारिक घेरालाई अझ प्रगाढ बनाउने गरेको छ ।

दशैं पर्वमा देवी भवानीको पूजापाठ, भक्तिभाव बढी हुने भएकाले शक्तिपूजाको ठूलो महिमा हुन्छ । देवी महात्मय, देवी शप्तशती लगायतका धर्मग्रन्थहरुले महामाया देवी भवानीकै स्तुति गरेका छन् ।

शक्तिरुपी दुर्गा भवानीकै प्रादुर्भावबाट देवी र मनुष्यहरुलाई सतत सताउने भएका शम्भु, निशम्भु, महिषासुर असुरहरुको विनाश हुन्छ । सत्यको विजय हुन्छ र असत्यको हार हुन्छ । त्यसैले दशैं पर्व सत्यको जीतको विजयमहोत्सव पनि मानिन्छ ।

नेपाली समाजमा विजयादशमीको शुभ उपलक्ष्यमा एकले अर्कालाई शुभकामना व्यक्त गर्ने चलन पनि छ । यो चाडले नेपालको ग्रामीण परिवेशमा पूर्नताजगी भरिदिन्छ । पारिवारिक मिलनका साथै आपसी सौहार्दता वृद्धि गर्न पनि यो पर्वले प्ररित गर्ने गरेको छ ।

दशैं पर्व नेपालमा मात्र होइन, नेपालीहरु बसेको विश्वको जुनै ठाउंमा पनि उस्तै धुमधाम र हस्रोउल्लासका साथ मनाईन्छ ।

बाग्लुङको कालीका भगबती मन्दिर अनि कारिकोटमा पनि दशैंको अवसरमा विशेष पूजाआजा हुने गरेका छन् । दशैंका अवसरमा देशभरका दशैंघर, देवस्थल,र विभिन्न शक्तिपीठ, मौला र कोतहरुमा पूजाआजा गरी मनाइने गरिन्छ ।

संस्कृति र संस्कार कुनै पनि मानिस र समाजको परिचयको स्रोत हो । यदि संस्कृतिको नाश भयो भने त्यसले त्यो समाज र मानिसको पहिचान पनि गुमनाम भएर जान्छ । पछिल्लो समयमा नेपालमा नेपाली संस्कृति,सम्पदा र परम्परा माथि चौतर्फी हमलाहरु भएका छन् ।

सबैभन्दा दुख्द तथ्य यो छ की कुनै अमुक विदेशी धार्मिक संस्थाको कार्यक्रमलाई राज्यको स्रोत दुरुपयोग गरेको सरकार यस कुरामा प्रत्यक्ष संलग्न देखियो ।

यसमा तथ्यका रुपमा उदाहरण प्रस्तुत गर्नुपर्दा गुठी विधेयक, सुर्खेत गाईप्रकरण र पशुपंक्षी मन्त्रालयबाट प्रायोजित विज्ञापन । यी सब घटनालाई जोडेर हेर्दा नेपाली परम्परा, सांस्कृतिक र धार्मिक मान्यतामा आँच ल्याउन खोजिएको छ ।

यी सबले सरकारको मनसाय बुझिन्छ । सरकारमा भएका केहि नेता तथा तिनका मतियारहरुको त नेपाली संस्कृति र परम्परालाई एकसूत्रीय रुपमा बदनाम नै गर्ने खालका गतिविधि गरेका देखिन्छन् ।

जस्तै कुनै समुदायलाई लक्षित गरी हिन्दु धर्म छोड्न गरिएको सार्वजनिक अपिल । विरोधाभास फेरि कत्रो छ भने त्यही नेता मन्दिर पुगेर पूजापाठको तस्वीर राख्छ अनि संस्कृतिका श्लोक विना उसको कुनै कुरा शुरु नै हुदैन् ।

हाम्रो संविधानले गाईलाई राष्ट्रीय जनावरको रुपमा चित्रित गरेको छ तर केही नेताहरु गाईको वध गर्ने कुरालाई घरिघरि अघि सार्ने प्रयास गर्दे आएका छन् ।

तर त्यै नेता फेरि आफनो सुद्धिका लागि भैंसी पूजामा लीन भएको हामीले नै देख्नु परेको छ । समाज र नेपाली संस्कृति विथोल्न तिनले कतिवटा मुखौटा बोकेर बांचिरहेका छन् हामी अन्दाज लगाउन सक्छौ ।

अहिले समग्र देश चाडपर्वको रौनकमा रंगिरहेको छ र यससंगै हामी नेपाल भ्रमण वर्ष २०२० को निकटमा आइपुगेका छौ । पर्यटन हाम्रो अर्थतन्त्रको ‘लाइफलाइन’ हो भन्दा पनि हुन्छ ।

पछिल्लो समय हामी नेपालीहरु माझ पनि घुमफिर गर्नुपर्छ भन्ने संस्कृतिको विकास भएको छ । यसले आन्तरिक पर्यटनमा पनि टेवा पुग्छ नै । भनिन्छ दशैं पुस्तकले दिने ज्ञान भन्दा एउटा यात्राले दिने अनुभव उच्च हुन्छ।

यात्राका दौरान देखिने समाज र संस्कृतिले हामीलाई जानकारी र नयां अनुभव सिकाइरहेका हुन्छन । यो अवसरलाई देश चिन्ने र चिनाउने माध्यमका रुपमा पनि उपयोग गरौ । हामी .मध्ये धेरैजना सामाजिक संजालमा पनि छौ र यसबाट विश्वसंग जोडिएका छौ ।

यसलाई हाम्रो समाज र संस्कुतिलाई विश्वभरि पुर्‍याउने माध्यमका रुपमा उपयोग गरौ । संस्कृतिको फैलावटले मानिसको पहिचान पनि विस्तार हुन्छ ।

र अन्त्यमा, तपाईहरु सबैलाई आउँदै गरेको विजयादशमी, शुभ दिपावली र छठ पर्वको एकमुष्ठ हार्दिक–हार्दिक शुभकामना ।

भर्खर

0