क्युबाबारे तपाईंले नसुनेका १६ रोचक तथ्य | Khabarhub Khabarhub

क्युबाबारे तपाईंले नसुनेका १६ रोचक तथ्य


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पश्चिमी गोलार्धमा पर्ने क्यारेबियन समुद्रमा विभिन्न रोचक इतिहास, भूगोल, सँस्कृति र सामाजिक रितिरिवाज पाइन्छ । क्यारेबियन समुद्रमा रहेको सबैभन्दा ठूलो मुलुक क्युबा पनि यसबाट अछुतो छैन । पश्चिमी गोलार्धमा अवस्थिती रहेको र नेपालजस्ता पूर्वी मुलुकहरुमा खासै चर्चा नहुने भएकाले क्युबाबारे धेरै जानकारीहरु नहुनुलाई स्वभाविक रुपमा नै लिन सकिन्छ । क्युबाबारे हामीले १६ रोचक तथ्यहरु प्रस्तुत गर्ने कोशिस गरेका छौं ।

१) क्यारेबियनको सबैभन्दा ठूलो मुलुक

क्युबा क्यारेबियन सागरमा रहेको सबैभन्दा ठूलो मुलुक हो । क्युबाको क्षेत्रफल करिब १ लाख १० हजार वर्गकिलोमिटर छ । त्यस्तै क्युबा क्यारेबियन सागरमा सबैभन्दा धेरै जनसंख्या रहेको मुलुक पनि हो । क्युबाको जनसंख्या १ करोड १५ लाख आसपास छ । तर, क्युबा क्यारेबियन सागरमा सबैभन्दा धेरै जनसंख्या भएको टापु भने होइन । क्यारेबियन सागरमा सबैभन्दा धेरै जनसंख्या रहेको टापु चाहीँ हास्पिनीओला हो । हास्पिनीओला टापु हैटी र डोमिनिकन गणतन्त्र गरी दुई मुलुकमा विभाजित भएकाले क्युबा सबैभन्दा धेरै जनसंख्या रहेको टापुमा भने पर्दैन ।

२) टापुहरु

क्युबाको जनसंख्या त्यहाँको मुख्य टापुमा केन्द्रित रहेपनि क्युबामा ४ हजारभन्दा धेरै टापुहरु छन् । तर, यस्ता अधिकांश टापुहरुमा मानिसहरुको बसोबास भने छैन । क्युबाको मुख्य टापु क्षेत्रफलका आधारमा क्यारेबियनमा रहेको सबैभन्दा ठूलो टापु त हो नै, त्यो बाहेक क्युबाको प्रशासन रहेको आस्ला डे ला युभेन्टुड क्यारेबियन सागरमा अवस्थित सातौं ठूलो टापु हो । आस्ला डे ला युभेन्टुडमा करिब एक लाख मानिसहरुको बसोबास छ । क्युबाका अधिकांश टापुहरु बस्न लायक छैनन् र ती टापुहरु टापुहरु निर्जन छन् ।

३) गोही

भौगोलिक रुपमा क्युबाको टापुको आकार गोहीको जस्तो छ । त्यस्तै, क्युबामा अन्त कतै नपाइने मौलिक किसिमको गोही पाइन्छ । त्यसैले क्युबालीहरु क्युबाको टापुलाई एल कोकोद्रिलो भन्छन्, स्पेनी भाषामा यसको अर्थ गोही हुन आउँछ ।

४) कोलम्बस

अमेरिका पत्ता लगाएका इटलियन नागरिक तथा महान् स्पेनी खोजकर्ता कोलम्बसले क्युबालाई शुरुमा चीन भनी ठानेका थिए । पृथ्वी गोलो भए पश्चिमबाट पूर्व पुगिने उद्देश्यले यात्रा थालेका कोलम्बस १४९२ मा क्युबाको पूर्वी भेग पुग्दा शुरुमा त्यसलाई चीन ठान्न पुगेका थिए ।

५) ग्वान्टानामो खाडी

क्युबाको दक्षिणी भेगस्थित ग्वान्टानामो खाडीमा अमेरिकी नौसैनिक आधार छ । नौसैनिक आधारसँगै ग्वान्टानामो खाडीमा अमेरिकाले सञ्चालन गर्दै आएको कुख्यात बन्दी गृह समेत छ । त्यहाँ विश्वभरबाट आतंककारी गतिविधिमा लागेका मानिसहरुलाई लगेर थुन्ने गरिन्छ । ग्वान्टानामो खाडीलाई क्युबाले सन् १९०३ मा औपचारिक रुपमा अमेरिकाको जिम्मा लगाएको हो । अमेरिकाले क्युबालाई ग्वान्टानामो खाडीमा नौसैनिक आधार सञ्चालन गर्न दिएबापत हरेक वर्ष ४ हजार अमेरिकी डलर दिने गरेपनि त्यहाँ भएको साम्यवादी क्रान्तिपछि भने क्युबाले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

६) पश्चिमी गोलार्धको एकमात्र साम्यवादी मुलुक

क्युबा पश्चिमी गोलार्धमा रहेको एकमात्र माक्र्सवाद–लेनिनवादमा आधारित एक पार्टी व्यवस्था भएको साम्यवादी मुलुक हो । सन् १९५९ मा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रो र चे ग्वेभाराको नेतृत्वमा तत्कालिन शैनिक तानाशाह फुल्हेन्सियो बाटिस्टाविरुद्ध सम्पन्न भएको सशस्त्र क्रान्तिपछि क्युबा साम्यवादी मुलुक बन्न पुगेको हो ।

७) पुराना कारहरु

क्युबाली साम्यवादी क्रान्ति सम्पन्न भएसँगै अमेरिकाले क्युबामाथि नाकाबन्दी लगाएका कारण क्युबाका सडकमा आधुनिक सवारी साधन प्रयोग हुन कम हुँदै जान थालेका थिए । धेरै नै लामो समयसम्म अमेरिकी नाकाबन्दी खेपेकाले क्युबाको सडकमा धेरै नै पुराना कारहरुमात्र गुड्ने गरेका थिए । अधिकांश त्यस्ता कारहरु भने ट्याक्सीको रुपमा प्रयोग गरिँदै आइएको थियो । अझै पनि क्युबाका सडकमा पुराना कारहरु देख्न सकिन्छ ।

८) अमेरिकातर्फ आप्रवासन

साम्यवादी क्रान्तिलगत्तैका वर्षहरुमा क्युबाबाट हरेक वर्ष दशौं हजारको सङ्ख्यामा क्युबालीहरु अमेरिका जाने गरेका थिए । त्यसको केही दशकसम्म त्यसले निरन्तरता पाइरह्यो । अझै पनि अमेरिकाको फ्लोरिडा राज्यमा क्युबाली मूलका आप्रवासीहरुको ठूलो उपस्थिती रहेको छ । उनीहरुले अमेरिकी समाजमा कुनै न कुनै स्तरबाट योगदान दिइरहेका छन् ।

९) हत्या षड्यन्त्र

क्युबामा साम्यवादी क्रान्ति भएपछि अमेरिकाको जासुसी निकाय सीआईएले क्युबाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोलाई मार्ने विभिन्न ६३८ योजना बनाएको थियो । तर, कुनै पनि षड्यन्त्र सफल हुन सकेन र सन् २०१६ मा कालगतीले क्यास्ट्रोको निधन भयो । एकपटक क्यास्ट्रोले भनेका थिए, ‘यदी हत्याबाट जोगिने कुनै ओलम्पिक प्रतियोगिता हुन्थ्यो भने सबै स्वर्ण पदक मेरो नाममा हुनेथियो ।’

१०) क्युबाली सिगार

क्युबाली सिगार विश्वभर चर्चित छ । क्युबामा उच्चस्तरीय सुर्ती उत्पादन हुने गरेको छ । सोही सुर्तीलाई प्रशोधन गरी सिगार बनाइन्छ । मोटो, बाक्लो कागजले बेरेको र कडा गन्ध आउँने क्युबाली सिगार अहिलेमात्र नभई स्पेनी उपनिवेश रहेकै बखत १६ औं शताब्दीमा पनि क्युबाली सिगार युरोपमा उत्तिकै रुचाइन्थ्यो । अरु त अरु तत्कालिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले क्युबाविरुद्ध नाकाबन्दी लगाउने अघिल्लो रात १९६२ फेब्रुअरी ५ सम्म १२०० भन्दा धेरै आफूलाई मनपर्ने सिगार भेला पारेको बताइन्छ ।

११) मोहितो

आजकल निकै प्रचलनमा रहेको कक्टेल मोहितो क्युबाको राजधानी हवानाबाट शुरु भएको मानिन्छ । केहीले १६ औं शताब्दीको अन्त्यबाट मोहितो पिउने प्रचलन रहेको बताउने गरेका छन् भने केहीले चाहीँ १९ औं शताब्दीमा क्युबाको उखुबारीमा काम गर्न अफ्रिकाबाट ल्याइएका दासहरुले मोहितो बनाउन थालेको बताउँछन् । मोहितो शब्द पनि क्युबाली अचार मोहोबाट आएको हुनसक्ने इतिहासकारहरु बताउाछन् । क्युबामा रहेका बेला महान् लेखक तथा साहित्यकार अर्नेष्ट हमिङ्वेको सबैभन्दा मनपर्ने पेय पदार्थ मोहितो नै थियो । मोहितो अहिले विश्वभर निकै लोकप्रिय मानिन्छ ।

१२) स्वास्थ्य

क्युबाको स्वास्थ्य क्षेत्र नेपालजस्तो तेश्रो विश्वका मुलुकका लागि उदाहरणीय नै मानिन्छ । त्यहाँ हरेक प्रकारका स्वास्थ्य सेवा निःशुल्क रहेका कारण अमेरिकाबाट समेत मानिसहरु त्यहाँ स्वास्थ्य उपचारका लागि जाने गरेका छन् । क्युबाले अफ्रिका, एशियामा रहेका मुलुकहरुमा पनि चिकित्सकहरु पठाएर सेवा दिने गरेको छ । क्युबामा चिकित्सा शिक्षा पनि निःशुल्क छ । विश्वको सबैभन्दा ठूलो चिकित्सा अध्ययन प्रतिष्ठान ल्याटिन अमेरिका मेडिकल स्कूल पनि क्युबाको राजधानी हवाना मै छ । स्वास्थ्य सेवा राम्रो भएकाले त्यहाँको औषत आयू पनि अरु मुलुकको भन्दै धेरै उच्च छ ।

१३) एक वर्षे साक्षार अभियान

साम्यवादी क्रान्ति लगत्तै सन् १९६१ मा क्युबाले एकवर्षे साक्षार अभियान घोषणा गर्यो । यो अभियानअन्तर्गत लाखौं विद्यार्थी, शिक्षक र पढेलेखेका नागरिकहरु गाउँगाउँमा गई किसान र ग्रामिण भेगका निमुखा मानिसहरुलाई अक्षर चिनाउन लागे । त्यसपछि क्युबाको साक्षारता दर ह्वात्तै बढ्यो हाल क्युबामा शिक्षा पूर्ण रुपमा निशुल्क र प्रारम्भिक शिक्षा अनिवार्य छ । क्युबाको साक्षारता दर पनि ९९ प्रतिशतको हाराहारीमा छ ।

१४) सबैभन्दा सानो चरा र सबैभन्दा पुरानो माछा मन्जुआरी

क्युबा वातावरण र वन्यजन्तुका लागि पनि उत्तिकै प्रख्यात छ । संसारकै सबैभन्दा सानो चरा बी हमिङ बर्ड क्युबामै पाइन्छ । त्यस्तै, संसारकै सबैभन्दा पुरानो जिवित प्रजातिको माछा मन्जुआरी पनि क्युबामा पाइन्छ । त्यस माछाको बनावट स्तनधारी जीवको जस्तै छ ।

१५) क्रिसमस

ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा अधिकांश क्याथोलिकहरुको बसोबास रहेकाले त्यहाँका मानिसहरुले क्रिसमसलाई धेरै ठूलो चाडका रुपमा मनाउँदै आएका छन् । तर, क्युबामा भने त्यस्तो छैन । साम्यवादी क्रान्तिपछि सन् १९६८ मा क्युबाले क्रिसमसको दिन दिँदै आएको सार्वजनिक विदा कटौती गरेको थियो । पछि सन् १९९७ मा मात्र क्युबाले क्रिसमसलाई विदाका रुपमा आफ्नो पत्रोमा औपचारिक अंकित गरेको थियो । त्यसलगत्तै हुन लागेको क्याथोलिक धर्मका सबैभन्दा ठूला धर्मगुरु पोप जोन पल द्वितीयको भ्रमणलाई ध्यानमा राख्दै क्रिसमसलाई विदाका रुपमा पात्रोमा अंकित गर्न थालेको हो । यद्यपि क्रिसमस नमनाएको तीन दशकपछि मात्र विदाका रुपमा क्रिसमसलाई अकिंत गरिएपछि पनि त्यहाँ क्रिसमसलाई धेरै महत्व दिएर मनाइँदैन ।

१६) खेलकुद

क्यारेबियन क्षेत्रमा फुटबल र क्रिकेट एकदमै लोकप्रिय खेलहरु हुन् । तर, क्युबामा भने त्यस्तो छैन । नजिकैको मुलुक जमैकाबाट एकपछि अर्को गरी महान् क्रिकेट खेलाडी उत्पादन हुने गरेका छन् । तीबाहेक क्युबाकै सँस्कृतिसँग मिल्ने अर्जेन्टिना, मेक्सिको, कोलम्बियालगायतका मुलुक फुटबलमा निकै अगाडि छन् । तर, क्युबामा भने न त फुटबल न त क्रिकेट यी दुईमध्ये कुनै पनि खेल लोकप्रिय छैनन् । क्युबामा बास्केटबल, बक्सिङ र बेसबल खेल अत्यन्त लोकप्रिय मानिन्छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ७ : ०५ बजे

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)

१० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएपछि…

सिरहा– सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै परीक्षकको नेपाली विषयको