डाक्टरलाई नारायणगोपाल भन्थे-दुखेर म चिच्याउँदिन बरु गीत गाइदिन्छु !

मिर्गौला रोगको उपचार होइन, लाग्नै दिन हुन्न-डा.काफ्ले

रिता लम्साल

शनिबार, साउन १८, २०७६

Reading Time: 9 minutes

डाक्टरलाई नारायणगोपाल भन्थे-दुखेर म चिच्याउँदिन बरु गीत गाइदिन्छु !

‘नेपालमा कामै नलाग्ने विषय किन पढेको ?’ २०३८ सालमा रुसबाट मिर्गौला रोग (नेफ्रोलोजी)मा मास्टर्स सकेर आएपछि डा ऋषि कुमार काफ्लेलाई स्वास्थ्य सेवा विभागका कर्मचारीले गरेको प्रश्न हो यो ।

सरकारी छात्रवृत्ति अन्तर्गत रुसमा नेफ्रोलोजी पढेर विशेषज्ञ डाक्टर बनेर नेपाल फर्किएका काफ्लेलाई सरकारी अधिकारीले गरेको यो प्रश्नले अचम्मित बनाएको थियो ।

‘सरकारी छात्रवृत्तिमा नेफ्रोलोजी पढेर स्वास्थ्य सेवा विभागमा जागिर दिनुस् भन्दा त्यहाँका महानिर्देशकले भन्नुभयो ‘ए बाबु यो के विषय पढेको यस्तो विषय पढेर तिमीलाई कहाँ जागिर दिने ? बेकारमा किन पढेको ? सोध्नु पर्दैन थियो ?’ भनेपछि म त अचम्मित भए, ‘डा.काफ्लेले भने, ‘केही समय अन्य अस्पतालहरुमा फिजिसियन र मेडिकल अफिसरको काम गरे । २०४३ सालपछि बल्ल सरकारले मिर्गौला रोगको उपचारका लागि मलाई खोज्यो ।’

२०४३ सालमा वीर अस्पतालमा आफ्नो अध्ययन अनुसार विशेषज्ञ सेवा दिन शुरु गरेका डा.काफ्ले हाल नेपालकै चर्चित मिर्गौला रोग विशेषज्ञको रुपमा परिचित छन् ।

१० वर्ष सरकारी अस्पतालमा काम गरेपछि उनले राष्ट्रिय मिर्गौला उपचार केन्द्र स्थापना गरी मिर्गौलाका बिरामीहरुलाई डायलाइसिस सेवा दिँदै आएका छन् ।

उनी अहिले मिर्गौला रोगका बिरामीको उपचारमा मात्रै होइन ‘मिर्गौला रोग लाग्नबाट बचौं र बचाऊ’ भन्दै ‘मिर्गौला बचाऊ अभियान’ लिएर जनचेतनामूलक कार्यमा समेत लागेका छन् ।

कक्षा टप्दै पढें, एसएलसीमा उमेर पुगेन 

डा.काफ्ले २०११ सालमा रामेछापमा जन्मिएका हुन् । उनले कक्षा ४ सम्म सालु सेतीदेवी प्राथमिक विद्यालयमा पढे । उनी राम्रो स्कुलको खोजीमा रामेछापको सदुमुकाममा रहेको गौरीशंकर उच्च माविमा पढ्न गए । त्यहाँ उनले पाँच कक्षा अध्ययन नगरी ६ कक्षामा भर्ना भए । तर त्यहाँपनि ७ कक्षा पास हुन नपाउँदै उनलाई परिवारले काठमाडौंमा पढ्न पठाए ।

७ कक्षाको परीक्षा नै नदिएका काफ्ले काठमाडौंको पद्मोदय माध्यमिक विद्यालयमा ८ कक्षामा भर्ना भए ।  कक्षा टप्दै १४ वर्षकै उमेरमा १० कक्षा पुगेका काफ्लेले एसएसलीमा उमेर कम हुँदा झण्डै परीक्षा दिनबाटै बञ्चिन हुनु पर्यो‍ । त्यतिबेला एसएलसी परीक्षामा सहभागी हुन १५ वर्ष पूरा भएको हुनुपर्ने नियम थियो । तर उनले चोर आइडिया लगाएर परीक्षा फर्ममा आफूलाई एकवर्ष जेठो बनाएर एसएलसी दिए । उनले २०२५ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरे ।

‘स्कुल परिवर्तन गर्दै कक्षा टप्दै पढे, एसएलसी दिने समयमा उमेर नै पुगेन, सरकारले एसएलसी दिन तिम्रो उमेर पुग्दैन एकवर्ष उमेर बढाएर आउँ भन्नुभयो,’ डा.काफ्लेले भने, ‘मैले पनि एकवर्ष उमेर आफैले बढाएर फर्म भरेर एसएलसी दिएँ ।’

दशैंमा नयाँ कपडा पाउँदाको खुसी 

बाल्यकालमा डा.काफ्लेले नयाँ कपडा लगाउन दशैं कुनुपर्ने हुन्थ्यो । एकवर्ष पछि नयाँ कपडा लगाउन पाउँदाको खुसी उनी अझैं सम्झन्छ । तर आफ्नो बाल्यकालको त्यो खुसी अहिलेका बालबालिकामा नभएको उनी बताउँछन् ।

‘बाल्यकालमा त नयाँ लुगा पाउन दशैं आउनुपथ्र्यो । वर्षमा एकपटक लुगा र जुत्ता पाउँदाको खुसी सम्झदा अहिले आनन्द लाग्छ, अहिले जति महंगो कपडा लगाएपनि त्यो एकजोर कपडा पाउँदाको खुसी मिल्दैन’ डा.काफ्लेले भने, ‘ त्यो बेला पेटभरी मासु खान दशैं कुर्नुपथ्र्यो, नयाँ कपडा पनि पाइन्थ्यो, दशैंको महत्व निकै ठूलो थियो । अहिले समय निकै परिवर्तन भयो बालबालिकाहरुलेसमेत कपडा ब्राण्डेड खोज्छन् । हामीलाई त ब्रान्डेड भनेकै थाहा थिएन ।’

परिवारको इच्छामा डाक्टर

एसएलसी पास भइसक्दा पनि उनले भविष्यमा के बन्ने ? उच्च शिक्षामा कुन विषय अध्ययन गर्ने ? भनेर सोचेका थिएनन् । डा.काफ्लेले नसोचेपनि उनको परिवारको इच्छा डाक्टर बनाउने थियो । परिवारकै योजना अनुसार उनले डाक्टर बन्न २०२६ सालमा विज्ञान संकाय अन्तर्गत बायोलोजीमा आइएसी गरे ।

तर उनको आइएस्सीमा भने सोचे अनुसारको नतिजा आएन । उनी सेकेण्ड डिभिजनमा पास भए । आइएस्सी सकेपछि २०३९ सालमा उनले सरकारी छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि रुसमा जाने अवसर पाए ।

काफ्लेले रुसमा एकवर्ष भाषा सिकेर ६ वर्ष मेडिसिन विषय पढे । उनले ३ नेफ्रोलोजीमा मास्टर्स पनि सके । डा.काफ्लेले मिर्गौला रोगको विषयमा पनि अरुले भनेकै भरमा अध्ययन शुरु गरेका थिए ।

त्यतिबेला नेपालमा मिर्गौला रोग विशेषज्ञ चिकित्सक एकजना मात्रै थिए । उनलाई रुसमा अध्ययनरत आफूभन्दा सिनियरहरुले मिर्गौला रोगको विषयमा पढ्न सल्लाह दिए ।

अग्रज र साथीहरुकै सल्लाहमा मिर्गौला रोगको विषयमा मास्टर्स सकेर २०३८ सालमा नेपाल फर्किए ।

नेपाल फर्किएपछि उनले आफुले अध्ययन गरेको विषयमा काम गर्न भने पाएनन् । किनकी उनले पढेको विषयको रोगका बिरामीका लागि नेपालमा उपचार गराउन सुरुवात नै भएको थिएन । उनले केहीवर्ष फिजिसियन र मेडिकल अफिसर भएरै काम गर्न बाध्य भए ।

फिल्म हेर्दा हेर्दै बिरामी जाँच्न जाँनुपर्दा

उनी सरकारी सेवामा स्थायी भएपछि २०४१ सालदेखि ४३ सालसम्म पोखराको गण्डकी क्षेत्रिय अस्पतालमा काम गरे । पोखरामा कामगर्दा शनिबारको दिन पनि कहिलेकाँही अस्पताल जानुपथ्र्यो । त्यतिबेला फिल्म हलमा फिल्म हेर्दाहेर्दै बिरामी जाँच्नु परेको डा.काफ्लेलाई अझै सम्झना छ ।

‘शनिबार परिवारसँग फिल्म हेर्न गएको थिए, एकजना बिरामीको उपचार गर्नुपर्‍यो भनेर फोन आयो फिल्म हेर्नै छाडेर बिरामी बचाउँन गए,’ डा.काफ्लेले भने, ‘केहीदिनपछि बिरामी ठिक भएर फर्किदा खुसी लाग्यो ।’

पोखरामा काम गर्दैगर्दा वीर अस्पतालमा मिर्गौला रोगका बिरामीका लागिसरकारले डायलासिस मेसिन उपलब्ध गराउने भयो ।

स्वर सम्राट नारायण गोपाल पनि मिर्गौलाका बिरामी थिए । उनी वीर अस्पतालमा डायलाइसिस गर्न समय–समयमा जान्थे । स्वर सम्राट नारायण गोपाललाई डा.काफ्ले, डा सुधा खकुलेर लगायतले डायलाइसिस गराउथे

वीर अस्पतालमै डायलाइसिस सेवा सञ्चालन हुनेभएपछि भने सरकारले डा.काफ्लेलाई खोज्यो । २०४४ सालमा डायलाइसिस सेवाका लागि अल इन्डिया इन्टिच्युटमा ६ महिने तालिममा पठाएर सरकारले २०४५ सालमा वीर अस्पतालमा पहिलो पटक डायलाइसिस सेवा शुरु गर्‍यो । त्यसपछि भने उनले आफ्नो विशेषज्ञता अनुसारको सेवा दिन पाए ।

स्वर सम्राट नारायण गोपालको डायलाइसिस 

वीर अस्पतालमा दुईवटा मेसिनबाट मिर्गौलाका बिरामीको नेपालमै निशुल्क डायलाइसिस सेवा शुरु भयो । सो क्रममा डा.काफ्ले लगायतका चिकित्सकले स्वर सम्राट नारायण गोपालदेखि नायक शिव श्रेष्ठका पिताकोसमेत डायलाइसिस गराए ।

त्यतिबेला बिरामीलाई डायलाइसिस सेवा दिने मेसिन अहिलेको जस्तो राम्रो थिएन । डा आफ्लेका अनुसार डायलाइसिस गर्दा बिरामीहरु स्वर रोकिन खोजेजस्तो भएर चिच्याउथे । स्वर सम्राट नारायण गोपाल पनि मिर्गौलाका बिरामी थिए । उनी वीर अस्पतालमा डायलाइसिस गर्न समय–समयमा जान्थे । स्वर सम्राट नारायण गोपाललाई डा.काफ्ले, डा सुधा खकुलेर लगायतले डायलाइसिस गराउथे ।

एकदिन डायलाइसिस गराउने क्रममा चिकित्सकहरुले स्वर सम्राट नारायण गोपाललाई भने, ‘डायलाइसिस गराउँदा ब्लडप्रेसर कम हुन्छ त्यो समयमा बिरामीहरु चिच्याउँछन् । तपाई भने नचिच्याउँनुस् है’। डा.काफ्ले र खकुरेललाई नारायण गोपालले मुस्काउँदै जवाफ दिए, ‘डाक्टर साहेव म चिच्याउँदिन बरु गीत गाइदिन्छु नि !’

डायलाइसिस गराउँदै गर्दा नारायण गोपालले देखाएको संगितप्रतिको यो प्रेम डा.काफ्ले अझै सम्झन्छन् ।

यस्तै नायक शिव श्रेष्ठका बाबुको डायलाइसिस गराउँदा दुईसय आफन्त अस्पताल परीसरमा जम्मा भएको डा.काफ्लेलाई अझै सम्झना छ ।
अस्पतालमै थुनिदाँ !

नेपालमा राजतन्त्र थियो । चिकित्सकहरुलाई सरकारी अस्पतालमा काम गर्न त्यति सहज थिएन । २०४६ सालमा पछिको राजनीतिक आन्दोलनका कारण सरकारले कफ्र्यु लागिरहन्थ्यो । त्यतिबेला काम गर्दागर्दै कफ्र्यु लाग्दा अस्पतालमै थुनिएको डा.काफ्ले सम्झन्छन् ।

‘२०४६/४७ सालको आन्दोलपछि हामी काम गर्दागर्दै कफ्र्यु लाग्थ्यो,हामी अस्पतालमै थुनिन्थ्यौं,’ डा.काफ्लेले भने, ‘अन्य व्यक्तिहरु कफ्र्यु खुलेपछि घर जान्थे, हाम्रो फेरि अस्पतालमै ड्यिुटी गर्ने समय हुन्थ्यो । कतिपटक त एम्बुलेन्समै घर गइन्थ्यो ।’

सोही आन्दोलनपछि नेपालको चिकित्सा क्षेत्रमा पनि सुधार भएको डा.काफ्ले बताउँछन् ।

२०४६/४७ सालको आन्दोलन अघि एउटा रोगका विषेशज्ञ चिकित्सकले मुटु, मिर्गौला, नर्मल बिरामी सबै हेर्नुपर्ने बाध्यता थियो,’ डा.काफ्लेले भने, ‘त्यो आन्दोलनमा चिकित्सकहरु पनि होमिए, त्यसपछि नेपालको चिकित्सा क्षेत्रमा पनि सुधार आयो । विषेशज्ञ चिकित्सकले आफ्नो विशेषज्ञता अनुसार कै काम गर्न पाउन थाले । नेपालमा विशेषज्ञ सेवा नै छैन भन्थे तर प्रजातन्त्र स्थापना भएपछि स्वास्थ्य क्षेत्रमा पनि सुधार आयो र विशेषज्ञ सेवा विस्तार भयो ।’

सरकारी जागिर छाडेर मिर्गौला उपचार केन्द्र 

करिव १० वर्ष सरकारी सेवामा रहेका काफ्लेले २०५३ सालमा सरकारी अस्पतालको जागिर छाडे । वीर अस्पतालमा डायलाइसिस सेवा पाउने भएपनि डायलाइसिस सेवाका लागि चाहिने औषधिदेखि पानीसम्म बिरामी आफैले किन्नुपर्ने बाध्यता थियो । बिरामीको त्यो बाध्यता देखेर डा.काफ्ले चिन्तित हुन्थे । उनले सबै सेवा अस्पतालभित्रै हुनेगरी डाइलाइसिस सेवा शुरु गर्ने उदेश्यले २०५३ सालमा आफैले राष्ट्रिय मिर्गौला उपचार केन्द्र स्थापना गरी सेवा दिन शुरु गरे ।

‘अस्पतालमा निशुल्क सेवा भएपनि डायलाइसिस गराउने बिरामीले आफैले डायलाइसिस गर्ने सामाग्री किन्नुपथ्र्यो, उनीहरुलाई निक्कै गाह्रो हुन्थ्यो, सरकारी अस्पतालमा औषधि उपचारका सामाग्री किन्ने व्यवस्था थिएन,’ डा.काफ्लेले भने, ‘ बिरामीले भोग्नुपरेको त्यो दुःख देखेर हामीले निजी क्षेत्रमा डायलाइसिस सेवा दिने भनेर हेल्थ केयर फाउन्डेसन नेपाल नामक गैरसरकारी संस्था स्थापना गरी सेवा दिन शुरु गर्‍यौं ।’
डा.काफ्लेको टिमले सोही संस्थामार्फत राष्ट्रिय मिर्गौला उपचार केन्द्र सञ्चालन गर्ने निर्णय गरे तर न उनीहरुसँग पैसा थियो न डायलाइसिस मेसिन ।

२०४५ सालमा जन्मिएकी छोरी मालश्री भने बाबुजस्तै डाक्टर बन्न चाहन्थिन् । तर मालश्रीको एमबीबीएस अध्ययन पूरा नहुँदै १० वर्ष अघि निधन भयो । र्‍याफ्टिङमा जाँदा उनको ज्यान गयो ।

डायलाइसिस मेसिनका लागि डा.काफ्लेको टिमले जर्मनका वियाटे फोक्ट नामक एक व्यक्तिले केन्द्रलाई पुरानो डायलाइसिस मेसिन दिन तयार भए । त्यपछि उनीहरुले आफ्नै केन्द्रमा डायलाइसिसका बिरामीलाई सबै उपचार सामाग्रीसहित ३५ सयमा डायलाइसिस सेवा दिन शुरु गरे ।

हाल राष्ट्रिय मिर्गौला उपचार केन्द्रले ८५ वटा डायलाइसिस मेसिनबाट सयौं बिरामीका लागि काठमाडौं लगायत अन्य जिल्लाहरुमा समेत डायलाइसिस सेवा दिदै आएको छ ।

छोराले डाक्टर बन्न चाहेन, छोरी बाँचिनन्

२०४० सालमा विवाह गरेका डा.काफ्लेको एक छोरा र एक छोरी थिए । २०४१ मा जन्मिएका जेठो छोरा बाबुको व्यस्तता देखेर डाक्टर बन्न चाहेनन् । उनले इन्जिनियरिङ पढे । र हाल अमेरिकामा छन् । २०४५ सालमा जन्मिएकी छोरी मालश्री भने बाबुजस्तै डाक्टर बन्न चाहन्थिन् । तर मालश्रीको एमबीबीएस अध्ययन पूरा नहुँदै १० वर्ष अघि निधन भयो ।

‘छोरीले नेपालगञ्ज मेडिकल कलेजमा पढ्दै थिइन्, एमबीबीएस पहिलो वर्षमा पढ्दैगर्दा कर्णालीमा र्‍याफ्टिङ गर्न गइछिन् त्यतिबेला र्‍याफ्टिङ बोट पल्टिएर १० वर्षअघि निधन भयो,’ डा.काफ्लेले मलिन हुँदै भने, ‘स्विमिङ पनि राम्रो गर्थिन्, तर हुने कुरा नटर्ने रहिछ । अहिले हामी बुढाबुढी घरमा छौं । छोरा बिहे गरेर अमेरिकामा इन्जिनियर छ ।’

जनचेतनामा लाग्ने योजना

लामो समयदेखि मिर्गौला रोगको क्षेत्रमा कार्य गर्दै आएका डा.काफ्ले मिर्गौला रोगकै विषयमा जनचेतनामुलक कार्यमा लाग्ने योजनामा छन् । मिर्गौला रोग लागेपछि उपचार भन्दा मिर्गौला रोग लाग्नै नदिन जनचेतना दिनु अहिलेको आवश्यकता भएको डा.काफ्ले बताउँछन् ।

‘मेहनतले मान्छेलाई सफल व्यक्ति बनाउँछ, हामीले कर्म गर्दै जानुपर्छ,’ डा.काफ्लेले भने, ‘मिर्गौला रोगी बढ्दै गएका छन् त्यसैले मिर्गौला बचाउँने अभियानमा लाग्ने मेरो योजना छ ।’

भर्खर

0