सगरमाथाको वातावरणमा आएको परिवर्तन भोगेका ज्ञानेन्द्रको अनुभव

सगरमाथा आरोहण फेसन बन्यो, आरोही बढ्दा मेला जस्तो देखियो

एकराज बास्तोला

शनिबार, साउन १८, २०७६

Reading Time: 6 minutes

सगरमाथाको वातावरणमा आएको परिवर्तन भोगेका ज्ञानेन्द्रको अनुभव

काठमाडौं– सन् २००७ मा आरोही ज्ञानेन्द्र श्रेष्ठ सगरमाथा आधार शिविरमा सम्पर्क अधिकृत नियुक्त भएका थिए । आधार शिविरमा सम्पर्क अधिकृतको रुपमा उनले वर्षौयता पर्यटकको आवागमन र त्यहाँको पर्यावरणमा आएका परिवर्तनलाई नजिकबाट नियालिरहेका छन् । सगरमाथा आधार शिविरमा रहँदा उनले हजारौं आरोही, पर्यटकसँग भेट गरिसकेका छन् ।

धेरै गर्मी, जाडो वा वर्षा भइरहेको समयमा हिमाल आरोहण एकदमै धेरै खतरनाक हुने गर्छ । हिउँदमा हिउँ पर्ने भएकाले हिमाली क्षेत्रको वातावरण अझ खराब हुन्छ । त्यसैले वसन्त र शरद ऋतु नेपालमा हिमाल अरोहणका लागि उपयुक्त मानिन्छ । यही समयमा ज्ञानेन्द्र श्रेष्ठजस्ता कर्मचारीहरु सगरमाथा आधार शिविरमा रहने गर्छन् ।

मार्चदेखि मे महिनासम्म तीन महिना वसन्त ऋतु रहन्छ भने शरद ऋतु सेप्टेम्बर महिनाको उत्तारार्द्धदेखि डिसेम्बर महिनाको शुरुसम्म अढाई महिना रहन्छ । यो हिमाल आरोहण गर्ने दोश्रो उपयुक्त समय हो । वर्षा ऋतुपछि मौसम सामान्य हुन्छ । त्यसैले शरद ऋतु प्रकृतिको सुन्दर दृश्य अवलोकन र हिमाल आरोहणका लागि उपयुक्त हुन्छ ।

सम्पर्क अधिकृत श्रेष्ठ मौसम परिवर्तनका कारण सगरमाथामा परिरहेको असरका साक्षी हुन् । ‘हिमाल वरिपरीको वातावरणमा धेरै नै परिवर्तन भइसकेको छ ।’ उनी भन्छन्, ‘सन् २००७ मा म आधार शिविर पुग्दा हिउँको स्तर यति धेरै थियो कि कसैले पनि त्यहाँ हिँडेको देखिन्नथ्यो । अहिले पर्यटक र आरोहीहरु बिना कुनै अफ्ठ्यारो हिउँमाथि हिँडिरहेका हुन्छन् ।’

यसको अर्थ सगरमाथामा हिउँ र बरफको आयतन घट्दै गइरहेको छ । हरेक वर्ष हिउँको स्तर कम हुँदै गइरहेको छ । उनका अनुसार आधार शिविरमा यो स्पष्ट देखिन्छ ।

उनले हिमाली भेगको मौसम अवस्थामा आएको अनपेक्षित परिवर्तनले हिमताल फुट्ने अवस्था निम्त्याइरहेको तर्फ समेत ध्यान दिइरहेका छन् । सगरमाथा आधार शिविर वा त्यसभन्दा माथि ५० भन्दा बढी हिमतालहरु छन् ।

सम्पर्क अधिकृतका रुपमा ज्ञानेन्द्र श्रेष्ठले पर्यटक र आरोहीका सयौं कथाहरु सुनेका छन् । उनका अनुसार उनले सुनेका हरेक कथाहरु आफैंमा फरक छन् । हरेक आरोही अरुभन्दा भिन्न र विशेष हुने उनको भनाइ छ ।

तर, सगरमाथा आरोहण पछिल्लो समय आफ्नो व्यक्तिगत सपना पूरा गरी आफूलाई अरुभन्दा फरक देखाउने किसिमको प्रवित्तिका रुपमा विकसित भइरहेको प्रति भने उनी सन्तुष्ट छैनन् । उनका अनुसार ३०–४० वर्ष अघिभन्दा अहिले सगरमाथा आरोहण धेरै नै सहज छ ।

परिवर्तित र परिष्कृत वातावरणमा सामान्य क्षमता भएको व्यक्ति-चाहे महिला हुन् वा बृद्ध मानिस – ट्रेकिङ कम्पनीले उपलब्ध गराएका आधुनिक प्रविधि र अक्सिजनको सिलिण्डर बोकेका शेर्पाहरुको सहयोगमा सजिलै सगरमाथाको शिखरमा पुग्न सक्छन् । टुर र ट्राभलको व्यावसायीकरणले हिमाल आरोहणलाई अहिले धेरै नाफा हुने व्यापारका रुपमा स्थापित गरेको छ ।

टुर र ट्रेकिङ कम्पनीहरुले सगरमाथा आरोहण गर्न आवेदन दिनेहरुलाई जसरी भएपनि सगरमाथाको शिखरमा पुर्‍याई प्रायोजक, पैसा लगानी गरिदिनेहरु, समर्थकको स्वार्थ पूरा गर्ने गरेका छन् । उनी भन्छन्, ‘यसअघि मानिसहरु आफ्नो अभिलाषाका लागि सगरमाथा आरोहण गर्थे र असफल भएपनि अरु नै समय पुनः आरोहणको प्रयास गर्ने भन्दै चित्त बुझाउँथे ।

अहिले सगरमाथा आरोहण फेसनको रुपमा विकसित भइरहेको छ । पैसा खर्च गर्नुस् उनी तपाईं विश्वको सर्वोच्च शिखरमा पुग्नुस् । सबैकुरा सरकार र आरोहीलाई प्रायोजन गर्ने टे«किङ कम्पनीले व्यवस्था मिलाइदिन्छन् ।

सरकारले सगरमाथाका विभिन्न क्याम्पमा खम्बा र डोरी टाँगिदिएको छ । सगरमाथा आरोहणका क्रममा थाकेका वा बाटो बिराएका आरोहीलाई यसबाट ठूलो सहयोग पुग्छ । यसैकारण सगरमाथा आरोहण कुनै गाउँको मेलाजस्तो बनेको छ, हरेक वर्ष आरोहीको सङ्ख्या पनि बढ्दै गइरहेको छ । उनले खबरहबसँग भने ।

हिमाल आरोहणको गैरजिम्मेवारपूर्ण व्यावसायीकरणका कारण हरेक वर्ष सगरमाथा आरोहण गरेको दाबी गर्ने जाली आरोहीको सङ्ख्या पनि बढ्दै गएको श्रेष्ठ पुष्टि गर्छन् । उनी हिमाली भेगको वातावरण खराब बन्दै गइरहेको र हिमाल आरोहण गरेको दाबी गर्ने जाली आरोहीहरुको संख्या पनि बढ्दै गइरहेकाले सरकारले सम्पर्क अधिकृतहरुलाई अपडेट गरिरहनुपर्ने सल्लाह दिन्छन् । त्यस्तै, सम्पर्क अधिकृतहरु पनि सगरमाथाको आधार शिविरमा पूरै आरोहण सिजनभर रहिरहे यस्ता जाली आरोहीको संख्यामा कमी आउने उनी बताउँछन् ।

पछिल्लो समय मानिसहरु सहजै सगरमाथाको शिखरमा पुग्ने अनी आधार शिविर फर्केर के के न उपलब्धी हासिल गरेँ भन्ने प्रवृत्ति रहेको उन्दै उनी सरकारले विशेष संयन्त्र बनाएर सगरमाथा आरोहणलाई अझ चुनौतिपूर्ण र रोमाञ्चक तुल्याउनुपर्ने बताउँछन् ।

निश्चित प्रक्रिया पूरा नगर्दासम्म सरकारले कसैलाई पनि सगरमाथा आरोहण गर्न दिन नहुनेमा उनको जोड छ । पछिल्लो समय पर्वतारोहणमा कुनै अनुभव नभएका वा थोरैमात्र अनुभव भएका मानिसहरु पनि सगरमाथा आरोहण गर्न तम्सिने गरेको उनी बताउँछन् ।

उनको सगरमाथा आरोहणको कहानी पनि रोचक छ । उनी राष्ट्र सेवक कर्मचारीहरुको पहिलो सगरमाथा आरोहण दलका सदस्यको रुपमा सगरमाथा आरोहण गरेका थिए ।

उनको टिममा लीलामणि पौडेल, सन्तकुमार महर्जन, खिमलाल गौतम, तुलसीराम भण्डारी , सुबिर, हरि ढकाल, सुरथ पौडेल, हरिप्रसाद गुरागाईं र पदमबहादुर भण्डारी थिए । उनीहरुले नेपाल पर्यटन वर्ष २०११ को अवसरमा सन् २०११ मे १८ मा सगरमाथा आरोहण गरेका थिए ।

उनी उक्त टिमको सदस्य बन्नुमा गौरव प्रकट गर्छन् । धेरैले उनीहरुको सगरमाथा आरोहण अभियान सफल हुनेमा शंका गरेका थिए । कुनै साहसी खेलाडी जस्तो नभई कर्मचारीको रुपमा कार्यालयमा काम गर्ने भएकाले मानिसहरुले उनको सगरमाथा आरोहण गर्ने उनीहरुको क्षमतालाई हाँसोमा उडाएको समेत उनी सुनाउँछन् । सगरमाथा आरोहण उनीसँगै उनको टिममा रहेका अरु सदस्यलाई पनि चुनौतिपूर्ण नै थियो ।

चुचुरोतर्फ जाने क्रममा क्याम्प ४ मा पुग्दा एक्कासी मौसम खराब भयो र हामीले त्यहीँ दिन बिताउनुपर्ने भयो । अर्को दिन रातिको समयमा मौसममा केही सुधार देखियो र हामीले मे १७ सन् २०११ बेलुकीको ८ बजे हामी अघि बढ्यौं । उनी अफ्नो अनुभव सुनाउँछन् ।

अर्को दिन मे १८ सन् २०११ बिहानको ६ बजेतिर उनीसहितको टिम सगरमाथाको चुचुरोमा पुग्यो । त्यो अनुभवको वर्णन गरिसाध्य नभएको उनी बताउँछन् । सबैकुरा उनीभन्दा तल थिए । उनलाई अझ स्मरण छ, आकाशका ताराहरु पनि उनको नजिक देखिन्थे त्यसपछि उनलाई आभाष भयो, ८८४८ मिटरको उचाइले मानिसलाई कतिसम्म प्रभाव पार्ने रहेछ भन्ने ।

केही मिनेट चुचुरोमा बिताएपछि उनलाई आधार शिविर फर्किने चिन्ता भयो । उनी सगरमाथाको शिखरबाट ओर्लिनुभन्दा चढ्न सजिलो रहेको उनी सुनाउँछन् । सगरमाथाबाट तल ओर्लिने क्रममा आरोहीको शारीरिक क्षमता धेरै नै घट्ने र तल ओर्लिने क्रममा आरोहीले अक्सिजन लगायतका कुरामा अझ धेरै ध्यान दिने भएकाले ओर्लिने बेला केही असहज जस्तो हुने उनको भनाइ छ ।

उनको सानो सल्लाह पनि छ, यदी सरकारले सगरमाथा आरोहणका लागि मे महिनाको शुरुबाट बाटो खोल्ने हो भने यो बाहिर हल्ला गरिएजस्तो ट्राफिक जाम कम हुनेथियो ।

भर्खर

0