गिरिजा प्रसाद कोइराला: एक रहस्यमयी शिखर पुरुष

रमेश वाग्ले

बुधबार, असार १८, २०७६

Reading Time: 4 minutes

गिरिजा प्रसाद कोइराला: एक रहस्यमयी शिखर पुरुष

त्यस्तो मानिस साहसी कहलाउँछ- जसले जीवनमा पटक-पटक दुस्साहस गरिरहन्छ । तिनै दुस्साहसबाट सफलता प्राप्त गर्दै एउटा सफल राजनीतिज्ञ भएर विदा लिएका साहसिक व्यक्ति हुन् गिरिजा प्रसाद कोइराला । कोइरालाले जीवनमा पटक-पटक धोका खाए, तर पराजित भएनन् । चाहे पार्टीभित्रको आन्तरिक राजनीतिमा होस्, या राष्ट्रिय राजनीति, शक्तिशाली पदमा बसेका व्यक्ति पनि गिरिजासँगको लडाइँमा हार्न पुगेका छन् ।

नेपाली राजनीतिमा आस्थाका साथ सिद्धान्त निर्माता अनि दीर्घकालीन भिजन भएका व्यक्तिका रुपमा बीपी कोइरालाको नाम लिने गरिए पनि राजनीतिलाई लामो समय आफ्नै वरिपरि घुमाउन सफल व्यक्तिको नाम लिदा भने राजा महेन्द्र पछि गिरिजा प्रसाद कोइरालाकै नाम अग्रपङ्तिमा आउँछ । ती सबै सफलताका पछाडि कोइरालाको दुस्साहसी स्वभाव नै एउटा कडी बनेको छ । २००३ सालमा विराटनगर जुटमिलमा भएको आन्दोलनको नेतृत्वकर्ताको रुपमा शुरु भएको उनको राजनीतिक यात्रा अविराम २०६५ सालमा राजतन्त्र अन्यपछि मात्र रोकिन पुग्यो । यसबीचमा उनले अनेक ‘धोका’ खाएका छन् ।

कांग्रेसलाई कुन विचारमा हिडाउने, कस्ता कार्यक्रम लिएर अघि बढाउने ? जस्ता विषयका बहसमा उनले कहिलै भाग लिएनन् । देश कस्तो बनाउने भन्ने बहसमा पनि उनले भाग लिएनन् । तर, देश कस्तो बनाउने ? उनले बनाएर देखाए । कांग्रेसलाई कस्तो बनाउने भन्ने पनि उनले बनाएर देखाए । गिरिजाको तही स्वभावले उनलाई नेपाली राजनीतिमा आलोचक र समर्थक दुबैको कित्तामा एक नम्बरमा राखिदिएको छ ।

२१-२२ वर्षको उमेरमा विराटनगर जुटमिलका सबै मजदुरको नेता भएर आन्दोलनको नेतृत्व गरेका नेता कोइराला सकेजति हरेक संघर्षमा भागमा निर्णायक भूमिका निर्वाह गरिहाल्ने स्वभावका थिए । उनले आफूले मानेका मानिसलाई मान्थे, तर उनका सहयोगीमा मात्र सीमित हुने स्वभाव उनमा थिएन । त्यसैको उदाहरण हो २०१५ सालको पहिलो आम निर्वाचन । कांग्रेसको राजनीतिमा निकै माथी पुगेर पनि राजनतन्त्रसँगको साँठगाँठ र जासुसी स्वभावका कारण बीपी कोइरालाले विश्वबन्धु थापालाई चुनावमा हराउन चाहेका थिए ।

त्यो कुरा गिरिजा प्रसाद कोइरालालाई उनले भनेका पनि थिए । तर, हराउन लागेका बीपी कोइराला असफल भए, विश्वबन्धुलाई चुनाव जिताएर गिरिजा प्रसाद सफल भए । जब २०१७ सालमा राजा महेन्द्रले दुईतिहाई बहुमतको सरकारलाई विघटन गरिदिए र निर्वाचित प्रधानमन्त्रीलाई सिधै जेलमा पुर्‍याए, तब विश्वबन्धु कांग्रेस छाडेर राजाको कित्तामा पुगेका थिए । त्यसपछि बीपीले गिरिजा प्रसाददाइ भनेका थिए, खुब नजिकको सम्झेर विश्वबन्धुलाई जिताएको थिइस् नि धोखा खाइस हैन ? त्यसबेला गिरिजा प्रसाद कोइरालाको जवाफ थियो-सान्दाजु, मलाई विश्वबन्धुले धोका दिन सक्छ, तर मेरो विश्वासले त धोका दिँदैन नि !

दाजु बीपीलाई भनेजस्तै गिरिजा प्रसादले आफ्नो विश्वास वा आफूलाई लागेको बाहेक अरु कहिल्यै केही गरेनन् । स्वदेशी, विदेशी, पार्टीभित्र आफ्नो गुटका, अर्को गुटका सबैसँग सुझाव लिने, तर काम आफ्नो शैलीमा मात्र गर्नु गिरिजा प्रसाद कोइरालाको आइडेन्टिटी नै बनेको थियो । सरकार वा पार्टीका विषयमा सुझाव धेरै जनासँग बुझिसके पछि उनले लिने निर्णय कसैसँग मिल्यो भने त्यो संयोगमात्र हुने गर्थ्यो ।

गरीब, दु:खी होस् वा दुःख पाए भन्दै पुगेको कार्यकर्ता, उनले सहयोग गरेपछि ‘यति भए पुग्छ ?’ भन्दै प्रश्न गरेर दिल खोले सहयोग गर्थे । उनको यही स्वभाव संगठनका लागि अचुक अस्त्र बन्यो र जीवनकालभरी उनलाई पछि पार्न सक्ने प्रतिस्पर्धी कांग्रेसमा जन्मिनै सकेन । एकपटक साख गिर्यो भने पार्टीलाई कसरी माथि उठाउनुपर्छ, कहाँ कहाँ विग्रिएको हो र त्यसलाई सुधार्न कहाँ कहाँ के गर्नुपर्छ भनेर तत्काल निर्णय मात्र हैन, एक्सनमै जाने एक्सन लिडर थिए गिरिजा प्रसाद कोइराला ।

त्यसैले पनि कोइरालाका कटु आलोचक समेत अगाडी परेको अवस्थामा विरोधीका रुपमा टिक्न सक्दैनथे । या त अगाडी पर्ने हैसित गुमाएर टाढा हुन्थे, नभए उनकै समर्थकका रुपमा काम शुरु गर्थे ।

नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी कुनै नेताको पुत्ला दहन भएको छ भने त्यो गिरिजा प्रसाद कोइरालाकै होला । सडक तथा सदनमा विपक्षीले गर्ने विरोध होस् वा मिडियामा भएका आलोचना, उनी सबैलाई सहज रुपमा लिन्थे । मिडिया र सार्वजनिक मञ्च भन्दा व्यक्ति व्यक्तिसँग गरिने डिल र संगठनका बलमा परिस्थित आफ्नो अनुकुल बनाउने कोइरालाले जीवनमा लामो भाषण कहिलै गरेनन् । छोटो भाषण गर्ने कोइरालाको जीवनको उत्तरार्ध मिडियाका लागि सबैभन्दा आकर्षणको व्यक्तिका रुपमा वित्यो ।

२०४८ पछि सत्ता राजनीतिमा उदाएका गिरिजा प्रसाद करिव एक दशकसम्म सर्वाधिक आलोचना हुने पात्र पनि बने । सार्वजनिक छवि आलोचित हुँदाहुँदै पनि संगठनभित्र लोकप्रिप रहिरहन सक्नु कोइरालाको महत्वपूर्ण र रहस्यमयी विशेषता थियो । २०५९ सालमा राजा ज्ञानेन्द्रले शक्तिअभ्यास शुरु गरेपछि २ वर्ष अन्योलपूर्ण विताएका गिरिजा प्रसादले त्यही २ वर्षको बदलामा राजतन्त्रको जरो उखेलेर छोडिदिए ।

कोइरालाको अगुवाइमा आएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता अहिलेको संविधानले मुख्य उपलब्धिका रुपमा स्वीकार गरेको छ । धर्मनिरपेक्षतालाई उपलब्धि मान्न नसकिने बहस अहिले उनकै पार्टी कांग्रेससहित देशमा चलिरहेकै छ । तर, बाँकी विषयहरु उपलब्धि मानिदासम्म कोइरालाका लागि नेपाली राजनीतिमा ‘शिखर पुरुष’को उपाधीमा ‘च्यालेञ्ज’ गर्ने अर्को पात्र देखिएको छैन ।

भर्खर

0