कांग्रेस जिल्ला सभापतिको भेला : गुटले निम्त्याएको विवाद, देउवालाई एक्ल्याउने प्रयास | Khabarhub Khabarhub

कांग्रेस जिल्ला सभापतिको भेला : गुटले निम्त्याएको विवाद, देउवालाई एक्ल्याउने प्रयास



काठमाडौं–यतिबेला नेपाली कांग्रेस आन्तरिक विवादमा अल्झिएको छ । कांग्रेसमा नेतृत्व नै विभाजित भइरहेको बेलामा सभापति शेरबहादुर देउवा इत्तरका जिल्लासभापतिहरु छलफलमा जुटेका छन् । कांग्रेसका जिल्ला सभापतिहरुको बैठक आज(बुधबार)देखि काठमाडौंमा शुरु भएको छ ।

भेलामा केन्द्रीय सदस्यसमेत बुथबाटै निर्वाचित भएर आउनुपर्ने, समानुपातिक र समावेशी कोटाबाट बढिमा २ पटकसम्म मात्रै सांसद बन्न पाउने विषयमा छलफल हुने भेलाको अगुवाइसमेत गरिरहेका कांग्रेस काठमाडौंका जिल्ला सभापति सवुज वानियाले जानकारी दिए । सबै जिल्ला सभापतिहरुलाई बैठकका बोलाइएको भन्दै उनले भने,–‘सबै जिल्लाका सभापतिहरुलाई खबर गरिएको छ, कम्तिमा ५० भन्दा बढि जिल्लाका सभापतिहरु सहभागी हुने अपेक्षा छ ।’

महासमिति बैठकको हलमा उठेको विषय केन्द्रीय स्तरका नेताहरु पनि महाधिवेशन प्रतिनिधि बन्न बुथबाटै निर्वाचित भएर आउनुपर्ने विषय र समानुपातिक र समावेशी कोटाका विषयमा गम्भीर छलफल हुने उनले बताए ।

काठमाडौं कांग्रेसका सभापति वानियाले बैठकका पार्टीको विशेष महाधिवेशनका विषयमा पनि छलफल हुनसक्ने बताए ।

जिल्ला सभापतिहरुको भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका सभापति भने सहभागी हुने छैनन् । भेलालाई केही व्यवस्थित पार्न केही दिनपछि सार्न गरिएको प्रस्ताव अस्वीकार भएकाले आफूहरु यो भेलामा सहभागी नहुने भक्तपुर जिल्ला कांग्रेस सभापति दुर्लभ थापाले बताए । उनले जिल्ला सभापतिहरुको भेलाले सभापति देउवालाई कमजोर बनाउने भन्दै पार्टीको हीतविपरित हुने भेलामा आफुहरु सहभागी नहुने स्पष्ट पारे ।

सभापति देउवा पक्षका मानिने मकवानपुरका जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले समेत बुधबार हेटौँडामा पत्रकार सम्मेलन गरी अहिलेको भेला ‘बेमौसमको बाजा’ भएको बताएका छन् । उनले बारा र पर्सामा विपदमा परिरहेकाहरुलाई के गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेलामा देशभरका सभापतिहरुलाई दुःख दिने काम गरेको भन्दै आलोचना गरे । उनले पार्टीका शीर्ष नेतृत्वलाई मर्यादित ढंगबाट आफ्नो असहमति केन्द्रीय कार्यसमितिमा राख्न र आगामी महाधिवेशनबाट आफ्ना मतलाई स्थापित गर्न सुझाव दिए ।

महासमिति र केन्द्रीय समिति कुन शक्तिशाली ?

गत असारमा केन्द्रकै पहलमा हेटौँडामासमेत जिल्ला सभापतिहरुको भेला सम्पन्न भएपछि संस्थापन इत्तरका सभापतिहरुको भेला नुवाकोटमा भयो । मंसिरमा भएको नुवाकोटको भेलाले स्थानीय तहका कांग्रेस नेताहरुले उठाएको आवाजलाई सम्बोधन गर्ने गरी महासमिति बैठकमा उठाउन निर्णय गर्‍यो ।

गत पुषमा सम्पन्न भएको कांग्रेस महासमिति बैठकमा केन्द्रीय स्तरका नेताहरुसमेत बुथबाटै निर्वाचित भएर आउनुपर्ने विषय जिल्ला सभापतिहरुले उठाएपछि तरंगित बनेको बैठकमा सहमति हुन नसकेपछि महासमितिकै बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको मागअनुसारको विधान बनाउने भन्दै बैठक टुङ्ग्याएका थिए ।

तर त्यसपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकले जिल्ला सभापतिहरुसँग नेतृत्वले गरेको बाचाअनुसारको निर्णय गरेन । बरु केन्द्रीय सदस्यहरु सिधै महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्थाहितको कांग्रेसको विधान पारित गर्‍यो । अघिल्लो महिना कांग्रेसका ५६ जना जिल्ला सभापतिहरुले सामुहिक रुपमै विज्ञप्ति निकालेर केन्द्रीय समितिले गरेको निर्णय सच्याउन माग गरेका थिए ।

उनीहरुले केन्द्रीय समितिको निर्णय नसच्याए विषेश महाधिवेशन बोलाउन पनि माग गरेका थिए । तर केन्द्रीय समितिले कुनै निर्णय नगरेपछि रुष्ट बनेका संस्थापन इतरका जिल्ला सभापतिहरुले आज (बुधबार) का लागि विषेश भेला बोलाएका हुन् । कांग्रेसको विधानअनुसार महासमिति बैठकले विषेश महाधिवेशनसम्मको निर्णय गर्नसक्ने अधिकार राख्छ । तर केन्द्रीय समितिले पार्टीका दैनिक कामकारबाही सञ्चालनलगायतका विषयमा निर्णय गर्ने अधिकार राख्छ ।

गुटले जन्माएको विवाद

देखिने विवाद महासमितिको निर्णय केन्द्रीय समितिले उल्ट्याएको विषय भएपनि अन्तर्यमा भने पार्टीको नेतृत्व तहमा देखिएको विवादले जिल्लासम्म प्रभाव पारेको आँकलन गर्न गार्‍हो छैन । विधान संसोधन मस्यौदा महासमिति बैठकले एकमतले पारित गर्न नसक्दा केन्द्रीय समितिमा पुगेको मस्यौदाका केही बुँदामा सभापति देउवा र वरिष्ठ नेता पौडेलकाबीच विवाद बढेपछि केन्द्रीय समितिमा लम्बेतान बैठक चलेको थियो ।

केन्द्रीय समिति बैठकमा समेत केन्द्रीय सदस्य बुथबाटै निर्वाचित भएर आउनुपर्ने वा नपर्ने र समानुपातिक, समावेशी कोटाबाट मनोनित हुने व्यवस्था निरन्तर कायम राख्ने वा समयसिमा तोक्ने भन्ने विषयमै विवाद चलेको थियो । तर अन्तिममा पौडेल र देउवाबीच सहमति भएपछि विधान सर्वसम्मत रुपमा पारित भएको थियो ।

देउवालाई एक्ल्याउने प्रयास

जिल्ला सभापतिहरुको भेलामा सभापति देउवा पक्षका सभापतिहरु मात्रै अनुपस्थित हुने देखिएको छ । पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौला समुह र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु भेलामा उपस्थित हुनुले सभापति देउवालाई एक्ल्याउने प्रयास हुने देखिएको हो ।

यद्यपी सबै जिल्ला सभापतिहरुलाई भेलामा बोलाइएको काठमाडौंका जिल्ला सभापति वानियाले बताए । सबैलाई बोलाइएको भएपनि देउवा पक्षका सभापतिहरु बाहेक अन्य जिल्लाका सभापतिहरु भेला हुँदा देउवालाई समस्या हुनसक्ने देखिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १ : ३४ बजे

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

 काठमाडौं– धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार