के हो इथियोपिया-इरेट्रिया विवाद ? « Khabarhub
Logo
६ असार २०७८, आइतबार

के हो इथियोपिया-इरेट्रिया विवाद ?



लामो समयदेखि तनावग्रस्त सम्बन्ध रहेका अफ्रिकी मुलुकहरु इथियोपिया र इरेट्रियाबीच अन्ततः शान्ति तथा सुमधुर सम्बन्धको विकास हुने संकेत देखिएको छ ।  दुई दशकदेखि यी दुई मुलुक सीमामा जारी युद्ध लडिरहेका थिए । समथर तथा उर्बर जमिन रहेको सीमा क्षेत्रमा आफ्नो प्रभुत्वका लागि दुई मुलुकबीच भएको युद्धले एक लाख भन्दा धेरै मानिसहरुको ज्यान लिइसकेको छ भने अरु कैयौं घाइते तथा बेपत्ता छन् ।

तर, इथियोपियाको नयाँ प्रधानमन्त्रीमा आबिये अहमद चुनिएसँगै उनी आफ्नै मुलुकबाट सन् १९९३ मा औपचारिक रुपमा छुट्टिएको छिमेकी मुलुकसँग सम्बन्ध सुधार गर्न अग्रसर भएका हुन् । यसैको पहिलो कदमस्वरुप उनले इरेट्रियाको राजधानी असामारा पुगी स्वतन्त्र भएयता त्यहाँको शासन चलाइरहेका राष्ट्रपति इसियास अफ्वेर्कीसँग गत जुलाई ८ र ९ मा शिखर वार्ता गरे ।

त्यस्तै, प्रधानमन्त्री अहमदको निमन्त्रणामा राष्ट्रपति अफ्वेर्की इथियोपिया भ्रमणमा आएका थिए । उनलाई सडकमा लाखौं इथियोपियन नागरिकले स्वागत गरेका थिए । यी घटनाक्रमले दुई मुलुकबीचको सम्बन्धमा नाटकीय परिवर्तन आउने सकारात्मक लक्षण देखियो ।

के हो त इथियोपिया–इरेट्रिया विवाद ?
१९ औं शताब्दीको अन्त्यतिर इरेट्रिया इटालीको उपनिवेश बन्यो । दोश्रो विश्वयुद्धका क्रममा इरेट्रिया बेलायतको कब्जामा गयो । सन् १९५२ मा संयुक्त राष्ट्रसंघले इरेट्रियालाई तत्कालीन इथयोपियन साम्राज्यको एक संघको दर्जा दिइयो । तर, इरेट्रियामा स्वतन्त्रताको पक्षमा इरेट्रियन लिबरेसन फ्रन्टलगायतका समूहले विद्रोह शुरु गरे । त्यसैबीचमा सन् १९६२ मा इथियोपियाले इरेट्रियालाई सम्राट हेइले सालिसको नेतृत्वमा रहेको साम्राज्यको एक प्रान्तको रुपमा गाभ्यो । यसक्रममा इरेट्रियामा स्वतन्त्रताको पक्षमा छापामार युद्ध तीब्र बन्दै गयो ।

सन् १९७४ मा सैन्य ‘कु’ मार्फत् इथियोपियन साम्राज्यको पतन भयो र इथियोपियामा सोभियत संघ समर्थित समाजवादी सैनिक शासन शुरु भयो । त्यसलगत्तै तत्कालीन इरेट्रियासहित इथियोपियाभर एक भन्दा धेरै मोर्चामा गृहयुद्ध थालियो ।

इरेट्रियामा र इथियोपियाका अन्य क्षेत्रमा जारी छापामार युद्धलाई रोक्न ‘डेर्ग’ भनिने इथियोपियाको तत्कालीन सैनिक सरकारलाई सोभियत संघले सक्दो सहयोग पनि ग¥यो । तर, सन् १९८० को दशकको अन्त्यतिर विघटनको संघारमा पुगेको सोभियत संघले इथियोपियालाई दिँदै आएको सैनिक सहयोग रोक्यो ।

यसबाट सन् १९९१ मा इथियोपियाको सैनिक सरकार पतन भयो भने इथियोपियाको जनक्रान्तिकारी गणतान्त्रिक मोर्च भनिने एकभन्दा धेरै युद्धरत समूहको गठबन्धन गृहयुद्धमा विजयी भयो र इथियोपियाको शासन सम्हाल्यो । यता त्यहीबेला इरेट्रियामा पनि इसियास अफ्वेर्कीको नेतृत्वमा रहेका इरेट्रियाका छापामार लडाकू समूह इरेट्रियन जनमुक्ति मोर्चाले पनि राजधानी असमारा कब्जा गरे । यतिबेलासम्म इरेट्रिया र इथियोपियाको सत्तामा पुगेका दुबै छापामारबीच मैत्रिपूर्ण सम्बन्ध थियो । पछि सन् १९९३ मा इरेट्रियामा भएको जनमत संग्रहमा स्वतन्त्रताको पक्षमा बहुमत आयो । जसलाई राष्ट्रसंघले मान्यता पनि दियो ।

कालान्तरमा इरेट्रियाका लडाकु र इथियोपियाका लडाकुबीच खुला रुपमा मतभेद देखिन थाल्यो । इथियोपियाको जनक्रान्तिकारी गणतान्त्रिक मोर्चको प्रभावशाली घटक टेग्रायान जनमुक्ति मोर्चा र इरेट्रियाको इरेट्रियन जनमुक्ति मोर्चा इथियोपियाली गृहयुद्धमा एक अर्काका साझेदारका रुपमा सक्रिय थिए । तर, यिनीहरुबीच १९९० को दशकको मध्यतिर आएर तीब्र मतभेद शुरु भयो । इरेट्रियन जनमुक्ति मोर्चा बहुजातीय तथा बहुभाषिक इरेट्रियन राष्ट्रियताको पक्षमा देखियो भने टेग्रायान जनमुक्ति मोर्चा इरेट्रियामा बसोबास गर्ने टिग्रान्या जातीको आत्मनिर्णयको पक्षमा देखियो ।

यसबाट इथियोपिया र इरेट्रियाका सरकारबीच पनि तीब्र मतभेद शुरु भयो । यसैक्रममा सन् १९९८ मा सीमा विवाद, आर्थिक तथा व्यापार नीति र अरु निहुँ झिकेर दुई मुलुकबीच रक्तपातपूर्ण युद्ध भयो ।  सन् २००० मा अल्जेरियाको राजधानी अल्जियर्समा सम्झौता हुनुअघिसम्म चलेको युद्धमा एक लाख भन्दा धेरै मानिसहरुले ज्यान गुमाए भने अरु लाखौं घरबारविहीन तथा घाइते भए । लाखौं मानिसहरु अझै बेपत्ता छन् ।

सन् २००० मा दुई मुलुकबीच अल्जियर्समा एकले अर्कामाथि बल प्रयोग नगर्ने, सीमाविवाद आयोगमार्फत समाधान गर्ने तथा बन्दी बनाइएका एक अर्काका नागरिकलाई रिहा गर्ने सम्झौता त भयो तर यो सम्झौता लागू हुन सकेन । पुनः दुई मुलुकबीचको सीमामा युद्ध सुरु भयो ।

त्यसपछि अवस्थामा तलमाथि हुँदै आएपनि गतवर्ष दुई मुलुकबीचको सम्बन्धमा महत्वपूर्ण विकास भयो । गत वर्षको फेब्रुअरीमा चौतर्फी विरोध र आलोचनाका बीच इथियोपियाको सत्तारुढ इथियोपियन जनक्रान्तिकारी गणतान्त्रिक मोर्चका अध्यक्षले हेइलमरियम डेसालेग्नले राजीनामा दिए । त्यसपछि इथियोपियाको सबैभन्दा शक्तिशाली पार्टीको अध्यक्ष बन्न आइपुगे आबिये अहमद अली । उनले पार्टीको अध्यक्षता सम्हालेसँगै उनी गत अप्रिलमा इथियोपियाको प्रधानमन्त्रीमा निर्वाचित पनि भए । धेरै नै उदार र वर्तमान संस्थापनमा अधिक शंसोधनको पक्षमा रहेका अहमद इथियोपियन सत्तामा आइपुगेपछि इरेट्रियासँग शान्ति सम्झौताका लागि तयार भए ।

उनी इरेट्रिया गई त्यहाँका राष्ट्रपतिसँग सम्झौता गर्न तयार भए । त्यस्तै, इरेट्रियाका राष्ट्रपति इसियास अफवेर्की पनि आफ्नै परिबन्धका कारण इथियोपियासँग सम्बन्ध सुधार गर्नुपर्ने पक्षमा थिए । उनी पनि शान्ति सम्झौताका लागि तयार भए अनि त्यसै अनुरुप वातावरण मिलेका कारण दुई मुलुकबीच सम्बन्धमा सकारात्मक विकास भयो ।

उता इरेट्रिया स्वतन्त्र भएयता त्यहाँको सत्तामा रहेका राष्ट्रपति इसियास अफ्वेर्कीले निकै कठोरतापूर्वक त्यहाँको सत्ता चलाइरहेका छन् । त्यहाँको सत्तालाई उत्तर कोरियाली सत्तासँग तुलना गर्ने गरिन्छ । त्यहाँ मानवअधिकार, प्रेस स्वतन्त्रता वरियतामा विश्वकै सबैभन्दा खराब मध्येको एकमा आउँछ भने त्यहाँको सत्ताले नगरिकलाई यातना दिने, ज्यादती गर्ने, हत्या गर्ने, बेपत्ता पार्ने तथा अरु किसिमबाट प्रताडित बनाउने गरेको प्रतिवेदन सार्वजनिक हुने गरेका छन् । यसैकारण इरेट्रिया क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा एक्लिँदै आएको छ ।

यता इथियोपिया भने पूर्वी अफ्रिकाको सबैभन्दा ठूलो आर्थिक तथा कुटनीतिक शक्तिको रुपमा रहेको छ । सुडान युद्ध, डार्फरको द्वन्द्व, दक्षिण सुडानको गृहयुद्ध लगायतको मध्यस्थता पनि इथियोपियाले नै गर्दै आएको छ । अर्थिक क्षेत्रमा पनि इथियोपिया उदार हुने प्रयत्न गर्दैछ । इथियोपिया यसअघि केन्द्रिकृत योजनामा आधारित अर्थव्यवस्थामा आमूल परिवर्तन गर्ने क्रममा पनि छ ।

यता इरेट्रिया पनि अन्तर्राष्ट्रिय क्षेत्रमा एक्लोपनबाट मुक्त हुन चाहन्छ । त्यस्तै, इरेट्रिया मुलुकमा जारी टिग्रान्या जातीको युद्धबाट पनि छुटकारा पाउन चाहन्छ । इरेट्रियाले इथियोपियासँग सम्बन्ध सुमधुर बनाउन सके आर्थिक क्षेत्रमा पनि केही फाइदा देखेको छ । अन्तर्राष्ट्रिय मान्यताका लागि पनि इरेट्रियाले इथियोपियासँग सकारात्मक सम्बन्धको स्थापना गर्नबाहेक दोश्रो विकल्प छैन ।

दुई मुलुकबीच पूर्ण शान्ति स्थापना भएमा इथियोपियाको क्षेत्रीय प्रभुत्व अझै बढ्नेछ भने आर्थिक रुपमा पनि इथियोपियाले केही फाइदा लिने छ । यता इरेट्रियाका लागि पनि शान्ति अत्यावश्यक छ । इथियोपियासँग सकारात्मक सम्बन्धले सर्वप्रथम इरेट्रियाले अन्तर्राष्ट्रिय क्षेत्रमा थप मान्यता तथा भूमिका पाउनेछ । पूर्वी अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्रसँगको सम्बन्धको विकासले इरेट्रियामा केही हदसम्म आर्थिक रुपमा सम्बृद्ध हुनेछ ।


भर्खर

0