अर्थशास्त्री प्याकुर्‍यालको जीवन: साहित्यकारदेखि ‘कूटनीतिज्ञ’ सम्म « Khabarhub
Logo
१८ जेष्ठ २०७७, आइतबार

अर्थशास्त्री प्याकुर्‍यालको जीवन: साहित्यकारदेखि ‘कूटनीतिज्ञ’ सम्म



डा. विश्वम्भर प्याकुर्‍यालको परिचय अर्थविदको मात्र छैन । उनी साहित्यकार, कवि तथा गीतकार पनि हुन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका प्याकुर्‍यालसँग ३९ वर्ष अध्यापन गरेको लामो अनुभवसमेत छ ।

प्याकुर्‍यालले पढाएका विद्यार्थीहरु राष्ट्रका गर्भनर, अर्थमन्त्रीदेखि मन्त्रीसमेत भइसकेका छन् । राजेश हमाल, शम्भुजीत बाँस्कोटा लगायत कैयन् सेलिब्रेटीलाई उनले पढाएका छन् ।

गुरु विद्यार्थीका रुपमा चिनिए पनि अहिले धेरैसँग साथीको सम्बन्ध छ प्याकुर्‍यालको ।

अढाइ वर्षअघि म्युजिक नेपालले आयोजना गरेको गीती एल्बम् विमोचन कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भनेका थिए, ‘साहित्यमा पनि हात हालेको, यति राम्रा गीत लेख्ने मान्छे अर्थशास्त्रतिर लाग्दा अर्थशास्त्रले उनको साहित्यिक पाटोलाई थिचिदिएको छ ।’

प्याकुर्‍याल मुस्कुराउँदै भन्छन्, ‘उहाँले भनेको ठीकै त हो, मैले साहित्यमा समय नै दिन पाइनँ ।’

वि.सं. २०२८ सालमा कथा सङ्ग्रह ‘इन्द्रेणीको गुम्बजभित्र’ प्रकाशन भएपछि प्याकुर्‍यालका अन्य कुनै साहित्यिक पुस्तक प्रकाशन भएका छैनन् । तर, अर्थशास्त्रीका रुपमा भने उनका कैयन् पुस्तक प्रकाशन भइसकेका छन् ।

कथा सङ्ग्रह प्रकाशन भएको ४८ वर्षपछि प्याकुर्‍यालको अटोबायोग्राफी बजारमा आउँदैछ । फाइनप्रिन्टले यसै वर्ष प्रकाशनमा ल्याउन लागेको यो अटोबायोग्राफीलाई प्याकुर्‍याल साहित्यिक कृति भन्न रुचाउँछन् ।

‘यसलाई म किन साहित्यिक कृति भन्छु भने, यसमा मैले आफ्नै जीवनका कैयन् पाटाहरु पस्केको छु, साहित्यकारसँगको संगतलाई पनि पुस्तकमा महत्त्व दिएको छु,’ प्याकुर्‍याल भन्छन् ।

उनको अटोबायोग्राफीमा पाठकले पढ्न पाउनेछन्, केही छोपिएका र केही उघारिएका प्याकुर्‍यालका कथाहरु ।

‘पुस्तकमा मैले त्यतिबेलाका चर्चित साहित्यकार र सुगम गायकसँगको संगत पनि केलाएको छु, नारायण गोपालसँगको संगतको त एउटा च्याप्टर नै छुट्याएको छु,’ प्याकुर्‍याल खबरहबसँगको कुराकानीमा प्याकुर्‍याल भन्छन् ।

त्यसो त प्याकुर्‍याल अर्थविद् मात्र होइन, कुशल कूटनीतिज्ञका रुपमा पनि परिचित छन् । त्रिभुवन विश्वविद्यालयमा ३९ वर्ष अध्यापन गराएका प्याकुर्‍यालले पढाएका विद्यार्थीहरु नेपालमा मात्र होइन, विदेशमा समेत उच्च तहमा बसेर काम गरिरहेका छन् ।

३९ वर्ष अध्यापन गर्दा कतिले विद्यावारिधि गरे, त्यसको लेखाजोखा नभएको उनी बताउँछन् । ‘मैले पढाएका विद्यार्थीमध्ये कति अर्थमन्त्री बने, कति मन्त्री त कति गभर्नर बने, तर कति बने भन्ने त लेखाजोखा नै छैन,’ विश्वम्भर आफ्नो त्रिविको अध्यापन काल सम्झन्छन् ।

त्रिविको अवकाशपछि पनि उनी नेपालको अर्थतन्त्र क्षेत्रको ‘रिसर्च’ मा नै व्यस्त छन् ।

सानैदेखि साहित्यमा रुचि राख्ने प्याकुर्‍याल आफ्नो व्यावसायिक जीवनका कारण साहित्यमा भन्दा बढी अर्थशास्त्रलाई समय दिनुपरेको बताउँछन् ।

बर्दियामा जन्मिएका प्याकुर्‍यालले प्राथमिक तहसम्म गुलरियामै नै अध्ययन गरे । त्यसपछि उनी अध्ययनका लागि राजधानी आए । लैनचौरमा रहेको पब्लिक साइन्स कलेज (हालको अमृत साइन्स कलेज) मा भर्ना भए ।

स्कूले जीवनमा उनको रुचि साहित्यतर्फ ढल्किएको थियो । कविताहरु लेखिसकेका थिए । एमए पढ्दै गर्दा उनले आफ्नो पहिलो कथा सङ्ग्रह ‘इन्द्रेणीको गुम्बजभित्र’ प्रकाशन गरेका थिए ।

‘सबैभन्दा विवाद नहुने क्षेत्र मलाई साहित्य हो भन्ने लागेको थियो, मेरो झुकाव पनि यतै थियो, स्कूल तहमा हुँदा कविताहरु लेख्ने गर्थेँ,’ विश्वम्भर सम्झन्छन्, ‘पछि भने पढाइ एकातिर अनि रुचि अर्कोतिर हुँदै गयो, साहित्यसँग दूरी बढ्यो ।’

‘तिमीले भनेका सारा देव छोएर’ लगायत थुप्रै गीत लेखेका विश्वम्भर विद्यार्थी कालमा स्वरसम्राट नारायण गोपाल, गोपाल योञ्जन, दीप श्रेष्ठ, प्रेमध्वज प्रधान लगायत कैयन् लोकप्रिय गायकसँग नजिक थिए । साहित्य क्षेत्रमा पनि केशवराज पिँडालीदेखि, भैरव अर्यालसम्म उनको संगत थियो । संगतले उनलाई कथाकार, कविदेखि गीतकार बनायो ।

‘मैले कथा सङ्ग्रह प्रकाशन गर्दा गीतकार रत्नशमशेर (थापा) दाइसँग शीर्षकमा सल्लाह गरेको थिएँ, त्यो गुन मैले कहाँ भुलेको छु र !,’ विश्वम्भर वि.सं. २०२८ ताकाको समय स्मरण गर्छन् ।

‘मेरो इच्छा त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर विषय लिएर अध्ययन गर्ने थियो तर प्राविधिक कठिनाइले अर्थशास्त्र लिएँ,’ उनी अगाडि थप्छन् ।

उनले अस्कलमा पढ्दा प्रिन्सिपल नेपाली र राजनीति शास्त्र मूल विषय लिएका थिए । जसकारण उनले कीर्तिपुरमा अङ्ग्रेजी साहित्यमा एमएम पढ्न पाएनन् ।

‘मलाई भित्रभित्रै साहित्यतर्फ झुकाव भयो, अर्कातिर पढाइ अर्थशास्त्रतर्फ भयो,’ प्याकुर्‍याल भन्छन्, ‘जब मैले एमए पढ्दै थिएँ, त्यतिबेलासम्म पनि साहित्य क्षेत्रमा सक्रिय थिएँ ।’

प्याकुर्‍यालले रेडियो नेपालका लागि गीति कथा लेखे । यो गीती कथा त्यतिबेला रेडियो नेपालबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम थियो । उनले बासु शशीले प्रकाशन गर्ने ‘सञ्जय’ पत्रिकामा पनि लेखे । नियमित रुपमा गोरखापत्रको शनिवारीय अंकमा कलम चलाए ।

‘गोरखापत्रको शनिवारीय परिशिष्टांकमा त एउटा छुट्टै क्रेज बनेको थियो, यता ४ वर्षे सम्झौतामा लेखेको गीती कथा पनि लोकप्रिय थियो,’ प्याकुर्‍याल सम्झन्छन् ।

उक्त गीती कथा हरेक बिहीवार राति पौने ८ बजे प्रसारण हुन्थ्यो । गाउँगाउँसम्म यसको उत्तिकै लोकप्रियता थियो । त्यतिबेला स्रोतासँग मनोरञ्जनका अन्य विकल्प पनि त थिएनन् ।

भलै उनले साहित्यलाई निरन्तरता दिन पाएनन् ।

‘स्नातकोत्तर सकिएपछि एक वर्षको ‘ग्याप’ पछि जब मैले अध्यापन शुरु गरेँ, त्यसपछि मैले पूरै समय अर्थशास्त्रलाई नै दिनुपर्ने भयो, एकातिर अर्थशास्त्रजस्तो विषय थियो, अर्कातिर एमए पास गर्नासाथ एमएलाई नै पढाउनुपर्ने थियो,’ उनी सम्झन्छन् ।

‘भर्खरै एमए पास गरेको विद्यार्थीले ३ वटा विषय पढाउनुपर्ने भयो, मलाई ठूलो हाँक भयो, बिस्तारै उतै ढल्दै गएँ,’ प्याकुर्‍याल अध्यापनका शुरुवाती दिन स्मरण गर्छन् ।

पछि भने प्याकुर्‍याल अर्थशास्त्रमा खारिँदै गए । नेपालको मात्र होइन, विश्व अर्थतन्त्रको ज्ञान हासिल गर्दै गए । सँगैसँगै उनले अमेरिका गएर दोस्रो डिग्री (स्नातकोत्तर) पूरा गरे । त्रिभुवन विश्वविद्यालय फर्केर विद्यावारिधि(पीएचडी) गरे ।

‘केही वर्षपछि मैले फेरि अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्डमा पोस्ट पीएचडी गरेँ, त्यहाँका विभिन्न विश्वविद्यालयमा लेक्चर गर्ने मौका पाएँ,’ उनी सुनाउँछन्, ‘विदेशमा डिग्री पढ्दा मलाई कताकता पीएचडी गर्न नपाएको मनमा गडिरहेको थियो, त्यसैले मैले अमेरिका गएर पोस्ट डक्टर रिसर्च गरेँ ।’

त्यतिबेला उनले अमेरिकाका कैयन् कलेजमा लेक्चरका रुपमा पढाउने मौका पाएका थिए । ‘त्यो समय नै बेग्लै थियो,’ उनी भन्छन् ।

साहित्य क्षेत्रलाई पछि छोड्दै गए पनि अर्थशास्त्रमा उनले निरन्तर अध्ययन गरे । पछि उनले कैयन् अन्तर्राष्ट्रिय संस्थाहरुसँग अर्थतन्त्र क्षेत्रमा काम गरे ।

‘यसरी काम गर्दै जाँदा मेरा साहित्यका हैन, अर्थशास्त्रसँग सम्बन्धित पुस्तक निस्किन थाले,’ विश्वम्भर हाँस्छन् ।

यतिबेलासम्म नेपालमा मिडियाको उदय भइसकेको थियो । विस्तारै नेपाली मिडियाका माध्यमबाट विश्वम्भर प्याकुर्‍यालको चर्चा हुन थाल्यो । उनी भन्छन्, ‘नेपालमा मलाई मिडियाले चिनाएको हो ।’

आफ्नो अध्ययन र खुबीका कारण देशबाहिर पनि चिनिएका विश्वम्भर गर्वका साथ भन्छन्, ‘अहिले म अमेरिकामा जाँदा कति विद्यार्थीलाई अर्थशास्त्रमा विभागीय प्रमुख भएको भेट्छु, कतै माथिल्लो तहमा मैले पढाएका विद्यार्थी नै भेट्छु, मेरा विद्यार्थी कहाँ छैनन्?’

अझै धेरै कुरा उनले ‘अटोबायोग्राफी’ मार्फत उघार्ने तरखरमा छन् । आफ्नै कथा – केही छोपिएका, केही उघारिएका ।

साहित्यसँगको संगत विस्तारै पातलो हुँदै गए पनि विश्वम्भरको मनमा भने साहित्यप्रतिको झुकाव उत्तिकै छ । त्यो बेलाको साहित्य र संगीतको बजार र अहिलेको बजारमा उनले धेरै भिन्नता देख्छन् ।

डा. विश्वम्भर सुनाउँछन्–‘समाज परिवर्तन भएको छ, हामीले त्यो परिवर्तनलाई स्वीकार गर्न सक्नुपर्छ ।’

हुन पनि केही दशकअघि नेपालमा सुगम संगीतको भयंकर ‘क्रेज’ थियो । नेपालमा गीतको गोरेटो बस्दै गर्दा ‘घुम्तीमा नआऊ है’, ‘ए कान्छा ठट्टै’ मा जस्ता गीत आउनु मानिसका लागि आश्चर्यको कुरा भएको विश्वम्भर बताउँछन् ।

‘त्यो बेला नेपालजस्तो मुलुकमा मनोरञ्जनको अरु माध्यम पनि त थिएन,’ उनी सम्झन्छन् ।

त्यतिबेलाको समय यस्तो थियो कि, घरमा टेपरेकर्डर नहुँदा क्यासेट लगेर रेडियो नेपालको स्टुडियोमा सुन्नुपर्ने अवस्था थियो । फेरि अर्कातिर सुगम संगीतको यस्तो क्रेज बनेको थियो कि, त्यतिबेलाका सुगम गायकलाई क्लासिकल गीत मन पर्दैनथ्यो ।

विश्वम्भर सम्झन्छन्, ‘हामी आफै पनि क्लासिक संगीत सुन्दैनथ्यौँ, त्यतिबेला क्लासिक संगीतको शक्ति नै थाहा थिएन ।’

अहिलेको पुस्तासँग भने पर्याप्त विकल्प भएको प्याकुर्‍याल सुनाउँछन् । प्रविधिले यस्तो सुविधा ल्याइदिएको छ कि, चाहेको गीत एकैछिनमा सुन्न सकिन्छ । त्यसैले उनी अहिलेका पुस्तालाई गाली गर्न नहुने तर्क राख्छन् ।

‘अहिलेको पुस्ताले त थिएटरमा गएर फिल्म हेरे पनि भयो, मन लागेको गीत युट्युबमा सुने पनि भयो, त्यो बेलाको समाजको संरचना र अहिलेको समाज फरक छ,’ उनी भन्छन् ।

अर्थशास्त्रमा लागे पनि उनले संगीतलाई भने पूरै भुल्न सकेका छैनन् । कहिलेकाहीँ समय पाउँदा गीत कोर्ने गर्छन् ।

‘अब कथा र कविता लेख्न त छोडियो तर समय हुँदा गीत लेख्न मन लाग्छ, ती गीतमा पनि कथाको आकार दिन मन लाग्छ,’ बहुआयामिक व्यक्तित्व बनाएका विश्वम्भर सुनाउँछन्, ‘तर, अहिले त समय यसरी फेरिएको छ, अहिलेका गायकसँग संगत छैन, केही गीत त लेखेको छु तर अहिलेको पुस्तासँग म नजिक छैन, नारायण गोपाललाई जस्तो लौ, यो गीत गाइदेऊ भन्न कहाँ मिल्छ त?’

उमेरले सत्तरी पुगिसकेका विश्वम्भरमा अहिले पनि उत्तिकै जोश छ । उनी नेपालको अर्थ व्यवस्था, अर्थतन्त्रका समस्या, विश्व अर्थतन्त्रमा हाम्रो उपस्थितिजस्ता कुरामा निरन्तर पैरवी गरिरहेका हुन्छन् ।

‘सन् १९६९ मा पहिलो गीत रेकर्ड भएको थियो, अहिले पनि मैले धेरै गीत लेख्न सकेको छैन, ५० वर्षमा जम्मा आधा दर्जन राम्रा गीत लेखियो होला,’ प्याकुर्‍याल भन्छन्, ‘हिसाब गर्ने हो भने त वर्षमा एउटा पनि गीत लेख्न सकेको छैन, साहित्यलाई छोड्न पनि सकेको छैन, निरन्तरता दिन पनि सकिएको छैन ।’


भर्खर

0