जसले रिक्सा चलाएरै छोरीहरूलाई ‘डिग्री’ पढाए … « Khabarhub
Logo
२० मंसिर २०७७, शनिबार

जसले रिक्सा चलाएरै छोरीहरूलाई ‘डिग्री’ पढाए …



काठमाडौं – कवि दैवज्ञराज न्यौपानले कविता ‘किसानको रहर’ मा भन्छन् – नगरी काम पुग्दैन खाना साँझ र बिहान ।

धादिङका राम केसीलाई भने साँझ र बिहान मात्र काम गरेर मात्र पुग्दैन । उनी बिहानैदेखि साँझसम्म रिक्साका ‘पैडल’ घुमाइरहन्छन् ।

गुजारा चलाउन उनलाई दिनरात पसिना पुछ्दै काम गर्नुपर्छ । परिवार पाल्न उनका लागि रिक्सा ‘सहारा’ बनेको छ । साथी बनेको छ ।

झण्डै बीस वर्षअघि राम विदेश जाने भन्दै कम्मर कसिरहेका थिए । विदेश गएर भएपनि पैसा कमाउने कि भनेर म्यानपावर धाउन थालेका थिए । त्यही बेला उनलाई कसैले सुझायो – काठमाडौंमा रिक्सा चलाएर पनि राम्रै कमाइ गर्न सकिन्छ ।

त्यसदिन देखि त्यो रिक्सा उनको परिवारको साथी बनेको छ । उनका लागि विदेशको विकल्प बनेको छ ।

राजधानीको बसन्तपुरको छेउमा पार्किङ गरेर राखिएका रिक्साको लाइनमा रामको रिक्सा पनि पालो कुरेर बसिरहेको थियो । छेउमै लेखिएको थियो, ‘पाँचवटा मात्र पार्किङ गर्न मिल्ने ।’

त्यहाँ ठ्याक्कै पाँचवटै रिक्सा थिए, लाइनमा ।

बिहीवार दिउँसो पनि रिक्सा चालकहरु यात्रुको प्रतीक्षामा थिए । घाम बिस्तारै पारिलो बन्दै गइरहेको थियो । रामले यताउता हेरिरहेका थिए । शायद उनी कोही यात्रुको प्रतीक्षामा थिए ।

बाटोमा हिँड्नेलाई सोध्न भ्याएका थिए – ‘कहाँसम्म जाने होला ?’

घरिघरि उनको अनुहारमा एक्कासी न्यास्रोपन देखिन्थ्यो । पक्कै पनि उनलाई बसन्तपुरमा अरुलाई झैँ त्यहाँ घाम तापेर बस्ने चाहना थिएन ।
‘खाना खाएर आएपछि टिप नै लागेन ।,’ रामले निन्याउरो मुख बनाउँदै सुनाए ।

छेउमा उनका अरु रिक्सावाल साथीहरु ठट्टा गर्दै बसिरहेका थिए । रामले साथीहरुतिर हेर्दै सुनाए, ‘कहिलेकाहीँ त दिनमा सातपटकसम्म टिप गर्न भ्याउँछु, त्यो दिन सातसय जति कमाइ हुन्छ, खुशी लाग्छ ।’

दिनमा कति कमाइ हुन्छ भन्ने ठ्याक्कै टुङ्गो चाहिँ हुँदैन । कहिले आफ्नै कमाइले चित्त बुझाउँछ । त्यो दिन उनीमात्र होइन, परिवार पनि खुशी हुन्छन् ।

‘दिनमा चार हजारदेखि पाँच हजारसम्म कमाइ हुन्छ, नेपालीहरु ट्याक्सी चढ्छन्, विदेशी यात्रु रिक्सा चढ्न पनि रुचाउँछन्,’ रामले हाँस्दै सुनाए, ‘साँझ गएर परिवारसँग समय बिताउन पाएको छु, राम्रै गुजारा चलिरहेको छ ।’

स्थायी घर धादिङ । कुलेश्वर बस्छन् काठमाडौंमा ।

गाउँमा जन्मेका रामलाई खेतीपाती बाहेक अरु काम खासै आउँदैनथ्यो । गाउँतिर हुँदा खेतीपातीमा भने उनी निकै जिम्मेवारीका साथ काम गर्थे । परिवारको आर्थिक पाटो त्यति बलियो थिएन । ‘परिवारको आर्थिक अवस्था राम्रो थिएन, पढ्न पाइन ।’, रामले आफ्नो बाल्यकाल सम्झे ।
उनलाई सामान्य लेखपढ गर्न समेत आउँदैन । खेतीकिसानी गर्ने बुबाआमासँग मनग्गे आम्दानी हुने कुरा पनि भएन । बा–आमाले पनि त्यही सिकाए, जे उनीहरुले जानेका थिए । अर्थात्, खेतीकिसानी ।

उनलाई सधै लाग्थ्यो, ‘ठूलो भएर धेरै पैसा कमाउँछु, बालबच्चालाई राम्रोसँग पढाउँछु ।’

कताकता आफूले पढ्न नपाएको भुटो उनमा स्पष्टै देखिन्थ्यो ।

बिहेपछि काठमाडौं

गाउँ धादिङको धुनीबेशीमा हुँदा नै रामले बिहे गरे । त्यतिबेला उनी बीस वर्षका थिए । घरप्रति जिम्मेवार त उनी पहिलेदेखि नै थिए । त्यसमाथि फेरि जहान थपिइन् । बच्चाहरु थपिए ।

‘आफूले त पढिएन, दुई छोरीहरुले राम्ररी पढून् भनेर काठमाडौं आएर काम गर्ने सोच बनाएँ ।’, रामले त्यो समय स्मरण गरे, जतिबेला उनी गाउँ छोड्ने तरखरमा थिए ।

काठमाडौं त आए । तर, यहाँ के काम गर्ने ? उनले गाउँमा सिकेको किसानी कामको खासै महत्त्व पनि थिएन । उनलाई कामको चिन्ताले पिरोल्न थाल्यो काठमाडौंमा ।

उनको मनमा सल्किन्थ्यो, ‘परिवारलाई यतै काठमाडौं छोडौँ । म विदेश लागूँ ।’

उनले सुनाए, ‘शुरुमा काम नपाउँदा निकै आत्तिएँ, धेरै ठाउँमा काम खोज्दै गएँ तर कतै काम पाइएन ।’, यतिबेला राम फिस्स हाँसे ।

यही पीडा उनले साथीहरुलाई सुुनाए । साथीहरुले उनलाई रिक्सा चलाउन सुझाए । परिस्थिति यस्तो बनेको थियो कि, उनलाई रिक्सा चलाउनु राम्रो ‘विकल्प’ लाग्यो ।

‘गाउँमा हलो समाएको बानीले के रिक्सा चलाउन सकिन्थ्यो, केही दिन त मैले सीधा रिक्सा चलाउन पनि सकिनँ, उल्टै लड्थेँ,’ उनले सुनाए, ‘सजिलो त कुन काम होला र ! तर लगातार लागिपरेमा जे काम पनि गर्न चाहिँ सकिन्छ ।’

कमाउन थालेपछि छोरीहरुको चिन्ता

रामले कमाउन थालेपछि विदेश जाने सोच बिस्तारै सेलाउँदै गयो । उनले आफ्ना दुई छोरीलाई निजी स्कुलमा भर्ना गरे । तर, कमाउने जिम्मा झन् थपियो किनकि अब कमाउन सकिएन भने छोरीहरुको पढाइ अगाडि बढाउन गाह्रो पर्छ ।

‘दिनभरी रिक्सा चलाउँदाको थकान त छँदैछ, रातभरि पनि मनमा अनेकौँ कुरा खेलेर निद्रा लाग्दैनथ्यो ।’, उनी फिस्स हाँसे ।

त्यो समय थियो, २०४५÷०४६ सालको । त्यतिबेला काठमाडौंमा बेलाबेलामा आन्दोलनहरु भइरहन्थे । लडाइँ हुन्थ्यो । उनले त्यो बेला सम्झिँदै सुनाए – ‘आन्दोलनका बेला बाहिर निस्किन पनि डर थियो, तर कोठाबाट बाहिर निस्किन्थेँ म ।’

ज्यानप्रतिको मोह कसलाई नहोला र ? तर परिवारका लागि रिस्क लिनु नै थियो उनलाई ।

त्यो बेला कमाइ पनि राम्रै हुन्थ्यो । आन्दोलनले गर्दा सवारी साधन खासै चल्दैन थिए । तर मानिसहरुलाई आवतजावत गर्नैपर्ने । जसकारण रिक्सा चढ्नेहरुको भीड नै हुन्थ्यो । ‘त्यो बेला चार सयको हाराहारीमा रिक्सा चल्थे र पनि काम मारामार नै हुन्थ्यो ।’, उनले सम्झे ।

फेरि उनी फुर्किए । त्यो बेलाको कमाइले अहिले पनि खुशी बनाइदियो उनलाई । या त, त्यो उनको परिवारप्रतिको स्नेह थियो ।

छोरीहरुले दिएको खुशी

छोरी सुष्मा र अनिताले उनलाई खुशी दिए । राम्रो अंक लिएर छोरीहरु पास हुँदा उनको मन खुशीले भरिन्थ्यो । ‘दुःख गरेर जम्मा गरेको रकमले छोरीहरुको पढाइमा खर्च गरेँ, उनीहरुले राम्रो पढ्दा म खुशी नहुने कुरै भएन नि !’

सन्तानको प्रगतिमा कसको मन खुसी नहोला र ? रिक्सा चलाएरै उनले एक छोरीलाई स्नातकोत्तर र अर्की छोरीलाई स्नात्तकसम्मको शिक्षा दिएका छन् ।

‘अहिले एउटी छोरी बैंकमा जागीर खान्छे, एउटी स्कूलमा पढाउँछे,’ जोसिएरै उनले सुनाए ।

जीवनसाथीको सधैको साथ

रामले जीवनको यो मोडको पछाडि आफ्नी जीवनसाथीको पनि महत्वपुर्ण हात रहेको सुनाए । परिवार कसरी चलाउने, कसरी अघि बढ्ने भन्ने कुरामा श्रीमतीको पनि उस्तै भूमिका रहने उनी सुनाउँछन् ।

उनले सुनाए, ‘पुरुषहरु त कमाउने मात्र हो, श्रीमानले कमाएको रकमलाई कसरी प्रयोग गर्ने भन्ने कुरामा श्रीमतीकै हातमा हुन्छ ।’

कुनै बेला पेट पाल्नकै लागि विदेशमा जाने सोच बनाइरहेका राम अहिले भने ‘रिक्सा चालक’ बनेका छन् । परिवारसँगै काठमाडौंमा बसिरहेका छन् । मासिक एक लाखसम्म कमाइ गर्ने बताउँछन् । ‘विदेशमा गर्ने दुःख नेपालमा गर्ने हो भने जीवन सजिलै चल्दोरहेछ, काम गर्न पढेको हुनैपर्छ भन्नै छैन, मनदेखि चाहना मात्र हुनुपर्‍यो’, उनले सुनाए ।


भर्खर

0