चुनौतीको चाङमा नयाँ कप्तान ज्ञानेन्द्र | Khabarhub Khabarhub

चुनौतीको चाङमा नयाँ कप्तान ज्ञानेन्द्र



काठमाडौं – नेपाली क्रिकेटको चर्चित नाम हो, ज्ञानेन्द्र मल्ल (ज्ञानु) । लामो समय खेलाडी र एक दशक उपकप्तानको भूमिका निभाएका मल्ल बुधबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनेका छन् ।

मुस्कानसहित सबै सामू प्रस्तुत हुने मल्लले कप्तानको जिम्मेवारी पाउनु ‘गर्व’ को कुरा भएको बताउँछन् । नेपाली क्रिकेटको भविष्यका साथसाथै नेतृत्व क्षमता प्रमाणीत गर्ने ठाउँमा मल्ल पुगेको विश्लेषण हुन थालेको छ ।

कुशल र सक्षम कप्तानको उपमा पाएका निवर्तमान कप्तान पारस खड्काको स्थानमा कप्तानी सम्हाल्न आएका मल्ल एक दशक पारसले नेपाली क्रिकेटलाई ‘लिड’ गरिरहँदा सहायक ‘लिड’ मा रहे ।

त्यसोत, मल्लमा नेतृत्व क्षमता हुँदा हुँदै पनि पारसको छायाँमा पर्नु परेको कुरा समय–समयमा नेपाली क्रिकेट जगतमा उठ्ने गरेको छ । ज्ञानेन्द्र नेपाली क्रिकेटमा प्राविधिक पक्षमा निपूर्ण खेलाडीका रुपमा पनि चिनिन्छन् । ‘कुनै पनि खेलाडीले आफ्नो देशको राष्ट्रिय टोलीको नेतृत्व पाउनु गर्वको कुरा हो । मेरा लागि पनि यो ‘प्राउड’ मुभमेन्ट हो,’ मल्लले खबरहबसँग भने ।

नेपाल क्रिकेट संघ (क्यान) ले अर्को सूचना जारी नभएसम्म मल्ल कप्तान र अलराउण्डर दिपेन्द्रसिंह ऐरी उपकप्तानको भूमिकामा रहने जनाएको छ । राष्ट्रिय टोलीबाट डेब्यु गरेको १३ बर्षपछि कप्तानको भूमिकामा उभिएका मल्लसामू नेपाली क्रिकेटमा चुनौतिको ‘चाङ’ छ ।

तत्कालका लागि मल्लले विश्व क्रिकेटको ऐतिहासिक क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा मल्ल नेतृत्वको टोलीबाट सकारात्मक नतिजाको अपेक्षा गरिएको छ ।

तर, अहिले नेपाली टोली फर्ममा नरहँदा नेतृत्वमा आएका कप्तान मल्ललाई टोलीको प्रदर्शन माथि उठाउँदै अगाडि बढ्नु पर्ने चुनौती मुख्य छ । नेपालले जुलाई महिनामा सिंगापुरमासम्पन्न टि–२० विश्वकप छनोट एसिया फाइनल यता राम्रो प्रदर्शन गर्न सकेको छैन ।

त्यसपछि नेपालले सिंगापुरमा त्रिकोणात्मक शृङ्खला र ओमानमा भएको पाँच देशिय शृङ्खलामा पनि राम्रो प्रदर्शन गर्न सकेको थिएन । यसैबीच नेपालले फागुनदेखि शुरु हुने विश्वकप–२०२३ छनोट लिग–२ को यात्रा शुरु गर्नेछ ।

शृङ्खलामा नेपालसहित नामिबिया, स्कटल्याण्ड, अमेरीका, ओमान, पपुवा न्यूगिनी र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । उक्त ‘साइकल’ मा नेपालले ३६ बटा एकदिवसिय खेल खेल्नेछ । नेपालले विश्वकपमा छनोट हुन शीर्ष तीन टोलीमा स्थान बनाएर अर्को चरणमा स्थान पक्का गर्नु पर्नेछ ।

योसँगै ४ बर्षका लागि नेपाली क्रिकेट टोलीले पाएको अस्थायी एकदिवसिय मान्यता जोगाउनु पनि मल्ल नेतृत्वको टोलीसामू महत्वपूर्ण चुनौती भएपनि त्यसमा टीमले राम्रो प्रदर्शन गर्ने विश्वास मल्लको छ ।

‘चुनौती पक्कै छ । अहिले एकदिवसिय खेल्नु छ । त्यसमा माथिल्लो स्तरका टिमहरु छन् । त्यसलाई कायम राख्ने चुनौती छ,’ मल्लले भने,‘त्यो ‘साइकल’ यहिँ फेब्रुअरी देखि शुरु हुँदै छ । सबैभन्दा ठूलो चुनौती भनेको एकदिवसियलाई कसरी कायम राख्ने, विश्वकप छनोटमा कसरी हामी अगाडि बढ्ने र विश्वकपमा छनोट हुने भन्ने कुराहरु हुन् जुन अहिलेदेखि नै एक किसिमले एउटा ‘थिम’ निर्धारण गरेर अगाडि बढ्नु पर्छ ।’ मल्ल चुनौतिलाई अवसरका रुपमा प्रयोग गर्दै अगाडि बढ्ने बताउँछन् ।

रोल च्यान्ज !

मल्ल खेलाडी र कप्तानमा फरक रहेको बताउँछन् । उनी आफु खेलाडीमात्रै हुँदा अनुभव र उमेर कम भएको बताउँछन् । तर, विस्तारै समयसँगै अनुभव र क्रिकेट प्रतिको बुझाइले अहिलेको उचाईसम्म पुगेको उनी बताउँछन् ।

‘खेलाडी हुँदा अनुभवको कमी थियो । उमेर पनि कम थियो । त्यस्तो धेरै सोचिँदैन थियो । पछि क्रिकेट खेल्दै गएँ अलिकति बुझ्दै गएँ त्यतिकै जिम्मेवार हुँदै गएँ र पछि उपकप्तान देखि अहिले कप्तानसम्म आइपुगिएको छ,’मल्लले अनुभव साटे ।

तर, एउटा खेलाडी र कप्तानले जहिले पनि मैदानमा सोच्ने कुरा एउटै रहेको उनको भनाइ छ । खेलाडी र कप्तानमा धेरै फरक नभएपनि ‘रोल चेन्ज’ भएको छ ।

मध्यक्रमबाट ओपनरमा ट्रान्सफर्म !

ज्ञानेन्द्र मल्ल उमेर समूहहुँदै सिनियर टोलीसम्म आइपुगेका खेलाडी हुन् । उनले यु–१५, यु–१७ र यू–१९ टोली हुँदै सिनियर टोलीमा स्थान पक्का गरेका हुन् । मल्लले २००६ मा श्रीलंकामा भएको यु–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि त्यहीँ बर्ष नेपालले मलेसियासँग खेलेको ‘फोर डे’ क्रिकेटको टोलीमा अटाएका थिए । तर, मैदान उत्रिने अवसर उनले पाएनन् ।

मल्लको ‘थ्रि डे’ क्रिकेटको डेब्यु भने नामिबियामा २००६ मार्चमा भएको खेलबाट गरेका थिए । तर, ५० ओभरमा मल्लको डेब्यु २००६ मै मलेसियामा भएको एसीसी ट्रफीमा कुवेतविरुद्धको खेलबाट भएको थियो । उक्त डेब्यु खेलमा मल्लले अर्धशतकसहित ७९ रन बनाउँदा नेपालले कुवेतमाथि जित दर्ता गरेको थियो । कुवेतविरुद्धको उक्त खेलमा मल्लले परेश लोहनीसँग नेपाली टोलीको ओपनिङ सम्हालेका थिए । मल्ल कुवेतविरुद्धको खेलमा ‘म्यान अफ दि म्याच’ समेत घोषित भए ।

अहिले ओपनरका रुपमा मैदानमा देखिने मल्ल शुरुवाती दिनमा मध्यक्रम ब्याटिङ गर्थे । उनको मध्यक्रमबाट ओपनरमा ट्रान्सफर भने नेपालले २००६ को एसीसी ट्रफीमा मलेसिया जानु अघि पाकिस्तान भ्रमण गर्दा देखि हो ।

त्यतिबेला नेपालका ओपनर थिए, परेश लोहनी र कनिस्क चौगाइ । चौगाई अमेरीका गएपछि उनी टोलीमै थिएनन् भने लोहनी खेलका दौरान इन्जुअर्ड हुँदा मल्ल र महेश क्षेत्रीको जोडिले पाकिस्तान एकेडेमिसँगको दोस्रो खेलमा ओपनिङ सम्हालेको थियो ।

उक्त खेलमा आफूले पूरा ५० ओभर ब्याटिङ गरेको उनी बताउँछन् । पछि पनि उनी कहिले मध्यक्रम त कहिले ओपनिङमा ब्याटिङ गरिरहेका थिए । तर, पछिल्लो ८–९ बर्ष भने उनी लगातार ओपनरका रुपमा टिममा छन् । उनी आफै पनि आफुले धेरै ओपनिङ पार्टनर परिवर्तन गरेको हुन सक्ने बताउँछन् ।

‘विगत कोट्याउने हो भने अहिलेसम्म सबैभन्दा धेरै ओपनिङ पार्टनर फेर्ने म नै होला,’ मल्लले हाँस्दै…. भने ।

मल्लले सन् २०१५ मा आईसीसी वल्ड क्रिकेट लिग डिभिजन थ्रि मा सिंगापुरविरुद्धको खेलमा शतक प्रहार गरेका थिए । उक्त शतकसँगै मल्ल नेपालका लागि अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने सातौं खेलाडी बनेका हुन् । तर, उक्त प्रतियोगितामा मल्ल तेस्रो नम्बरको ब्याट्सम्यानका रुपमा मैदान उत्रिएका थिए । त्यतिबेला नेपालको ओपनरमा सुवास खकुरेल र नरेस बुढाऐर रहेका थिए ।

अस्ट्रेलियाको भिसा रिजेक्ट ….

नेपालमा अहिले पनि खेलेर जिविकोपार्जन गर्न सकिन्छ भन्ने ग्यारेन्टी छैन् । तर, आजभन्दा दशक अगाडि झन के हुन्थ्यो । राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल कुनै समय क्रिकेटबाट पलायन हुन चहान्थे ।

२०११, २०१२ मा उनलाई यस्तो सोच पनि आएको थियो । सोचमात्रै होइन, मल्लले अस्ट्रेलियाका लागि ‘अप्लाई’ समेत गरेका थिए । तर, भिसा उनले सोचे जसरी आइदिएन, ‘रिजेक्ट’ भयो ।

‘परिवारको दबाब बढ्दो थियो । ‘डिपेन्डेन्ट’मा भएपनि अस्ट्रेलिया जानु पर्छ भन्ने लागेको थियो,’ मल्ल भन्छन्,‘त्यतिबेला अहिलेको जस्तो प्रतियोगिताहरु पनि भइरहेका थिएनन् । बर्षको एक–दुई वटा प्रतियोगिता हुन्थे । अन्य समयमा काम बिहीन बस्नु पर्ने अवस्था थियो ।’

भिसाका लागि भौतारिएका कप्तान मल्ल अहिलेको उचाईमा पुग्नु पर्ने भएकाले नै त्यतिबेला भिसा रिजेक्ट भएको हुनसक्ने मान्छन् । ‘भगवानको कृपाले जे हुन्छ राम्रै हुन्छ । भन्ने पहिलै देखि पनि मान्थे । त्यस्तै भयो जस्तो लाग्छ ।’

पछि विस्तारै क्रिकेटमा पनि लगानी बढ्दै गयो । नेपालमा क्रिकेटले पनि चर्चा पाउन थाल्यो । नेपालले ‘वल्ड क्रिकेट लिग डिभिजन ‘फोर’जित्यौं । डिभिजन थ्री २०१३ र २०१४ मा लगातार जित्दै २०१४ को टि–२० विश्वकपसम्म पुग्यो । जति सफलता क्रिकेटले हात पारिरहेको थियो । त्यसले खेलाडीको जिवनस्तर सुधारमा पनि राहत पुगेको कप्तान मल्ल बताउँछन् ।

पछि विस्तारै क्रिकेट खेलाडीले आर्थिक सहयोग पनि पाउन थालेको उनको भनाई छ । तत्कालिन क्यान अध्यक्ष टंक आङ्बुहाङको टिमले राजनीतिक पहुचलाई प्रयोग गेरेर क्रिकेटरलाई सम्मान दिने लगायतका कार्यक्रम भित्र्याएको मल्लको दाबी छ ।

‘त्यसअघि क्रिकेटमा जितेर आउँदा पनि सरकारबाट राम्रो सम्मान हुँदैन थियो । तर, एसीसी ट्रफी जितेर आउँदा खेलाडीलाई सरकारका तर्फबाट सम्मान स्वरुप आर्थिक सहयोग दिइएको थियो,’ मल्लले भने ।

पुवुदु दासानायकेले देखाएको सपना !

मल्ल अहिले पनि भन्छन्,‘राष्ट्रिय टोलीमा अटाउँदा लागेको थिएन, क्रिकेटर बन्छु भनेर । जुनियरमा खेल्यौं । त्यति चाँडै सिनियर टोलीमा पर्छु भन्ने लागेको थिएन सिनियर टिममा आयो । उपकप्तान बन्छु भन्ने लागेको थिएन् । रेगुलर खेलाडी भइसकेपछि विश्वकप पुगिन्छ है भन्ने पनि लागेको पनि थिएन ।’

जतिबेला नेपाली क्रिकेट टोली डिभिजन पाँचबाट अगाडि बढ्न संघर्षरत थियो । त्यहिँ बेला नेपाली क्रिकेट टोलीको प्रशिक्षकका रुपमा सन् २०११ मा श्रीलंकन मुलका क्यानडेली नागरिक पुवुदु दासानायके ।

शुरुमा उनलाई ६ महिनाका लागि टिमको प्रशिक्षकको जिम्मेवारी दिइएको थियो । पछि उनी २०१५ सम्म नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहे । उनले यो ४ बर्षको आफ्नो कार्यकालमा नेपाली क्रिकेटले नसोचेको उचाईमा पुर्याइ दिए ।

कप्तान मल्लकै शब्दलाई सापटी लिने हो भने पनि ‘पुवुदुले नेपाली क्रिकेट टोलीले फरक तरिकाले सोच्न थाल्यो । विश्वकप सम्म पुग्न सकिन्छ भन्ने सोच पलायो र पछि टि२० विश्वकप सम्म पुग्यौं पनि ।’

मल्लले भने,‘ विश्वकपसम्म पुग्ने त्यो बाटो हेर्ने हो भने पनि त्यहाँ पुग्ने पनि सोच्दै नसोचेको कुरा थियो । त्यहाँ पुग्नु एक सपना साकार भएजस्तो लागेको थियो ।’

मल्लले विश्वकप २०१४ को स्मरण गर्दै भने,‘बंगलादेशमा होटल देखि नै छुट्टै माहौल थियो । स्टेडियममा पुग्दा नेपालीको साथ देखेर दंग परेका थियौं । स्टेडियममा रहेका सबै नेपालीहरु उठेर राष्ट्रिय गान गाउँदा माहौल पनि अविस्मरणीय नै थियो । त्यो एक सपना थियो । जुन पुरा गर्दा आफुले पनि केही योगदान गर्न पाएकोमा गर्व महसुस भएको थियो ।’

विश्वकपमा पनि नेपालले यादगार बनायो । आफ्नो पहिलो खेलमा हङकङ ८० रनको शनसनि पूर्ण जित हात पारेको थियो । दोस्रो खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई ९ रनले पराजित गरेको नेपाल नेट रनरेटमा बंगलादेशसँग पछि परेपछि विश्वकपबाट बाहिरिएको थियो ।

मिडियाले मिस लिड गर्‍यो !

सन् २०१४ को विश्वकप खेलेर फर्किएपछि नेपाली क्रिकेट एक लयमा अगाडि बढ्ने धेरैले अनुमान गरेका थिए । खेलाडीको पनि अपेक्षा त्यहिँ थियो । तर, अभिभावक संस्था सहि तरिकाले अगाडि बढ्न नसक्दा नेपाल क्रिकेट संघ (क्यान) ले साढे तिन बर्ष अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिबन्ध भोग्नु पर्यो ।

अघिल्लो महिनामात्रै क्यानलाई आईसीसीले शसर्त निलम्बन फुकुवा गरेको छ । सन् २०१४ को विश्वकप खेलेर फर्किइसकेपछि खेलाडीहरु आफ्नो सेवा सुविधा बढाउनु पर्ने लगायतका माग राख्दै कप्तान पारस खड्काको नेतृत्वमा क्यानविरुद्ध खेलाडी आन्दोलित भएका थिए ।

तर, पछि उक्त घटनाले ठूलो रुप लिँदै जाँदा सन् २०१६ मा क्यानमाथि आईसीसीको प्रतिबन्ध लाग्न पुग्यो । उक्त घटनाक्रमले नेपाली क्रिकेटको विकासमा असर गरेको कप्तान मल्लको भनाई छ ।

‘नेपाली क्रिकेट माथिबाट एक्कै पटकमा तल झरे जस्तो लाग्यो । जुन हिसाबले क्रिकेट अगाडि बढेको थियो । सबै जना व्यक्तिगत स्वार्थबाट माथि उठेर त्यहिँ हिसाबबाट अगाडि बढ्न जरुरी थियो,’ मल्लले भने ।

मल्ल अहिले त्यो घटना जानेर वा नजाने भएको घटनाका रुपमा अथ्याउँछन् । ‘त्यसमा कतिपयक कुराहरु नजानेर पनि भएको थियो । खेलाडीको तर्फबाट के भन्न चहान्छु भने त्यो बेलामा हाम्रो सोच क्यानलाई निलम्बन नै गर्ने, क्यानलाई हटाउने ‘डिजल्ब’ नै गर्ने भन्ने थिएन,’ उक्त घटनाक्रमको विकासबारे कप्तान मल्लले भने, ‘हाम्रो सोच के थियो भने क्यानको काम गर्ने तौर तरिका राम्रो भएन, खेलाडीलाई दिइरहेको सेवा सुविधा अप्रयाप्त भयो भनेका थियौं । तर, ‘हिट अफ दि मुमेन्टमा’ पत्रकारका तर्फबाट यसको मतलब के क्यान हट्नै पर्ने भन्ने हो ? भन्ने प्रश्नमा आयो त्यहिँबेला हाम्रो क्याप्टेनले पनि अँ त्यो पनि एउटा विकल्प हो भन्नदिनु भयो ।’

पारसको उक्त अभिव्यक्तिलाई मिडियाले ‘डाइभर्ट’ गरेर क्यान राम्रो छैन, क्यान विघटन हुनु पर्छ भन्ने माग खेलाडीले राखेको भनेर प्रचार गरेको मल्लको आरोप छ ।

अहिले क्यानले पुर्नजिवन पाएको छ । ‘जान अन्जान यस्तो क्रिकेट माहौल बन्छ भन्ने सोचेका पनि थिएनौं तर, हुन पनि पुग्यो । अब सकारात्मक सोच्नु पर्छ । राम्रै हुन्छ भन्ने पनि छ ।’

अबको चुनौति

क्यानले पुनरजर्म पाएको छ । नेपाली क्रिकेट टोलीले अस्थायी एकदिवसिय मान्यत पाएको छ । तर, घरेलु संरचना शुन्य हुँदा आगामि दिनमा नेपाली क्रिकेटबाट भने अपेक्षा ठूलो रहेको कप्तान मल्ल बताउँछन् ।

‘क्यानलाई पनि चुनौति हुन्छ । क्रिकेटबाट यतिधेरै अपेक्षा छ कि अब हामीले एउटा खेल पनि हार्नु भएन । मान्छेले जो सँग खेल्दा पनि जित्नु पर्छ भन्ने ‘एक्स्पेक्टेसन’ गरिरहेका छन,’ मल्ल भन्छन्,‘क्यानमा सबैको ध्यान छ । कसरी अगाडि बढेको छ भन्ने पनि धेरैले ध्यान दिन्छन् । नयाँ विधन अनुसार सरकार, आईसीसी र क्यानले मिलेर अगाडि बढ्नु पर्छ ।’

ओडिआई स्टाटस जोगाने भनेको जितेरै जोगाउने भएपनि घरेलु संरचना हुनु एकदमै आवश्यक रहेको मल्लको बुझाइ छ । अब नेपालले ओडिआई जोगाउन जितेर मात्रै नहुने हुँदा ‘स्टक्चर’ बलियो बनाउन क्यान लाग्नु पर्ने कप्तानको भनाई छ ।

मैदान अभाव, प्रादेशीक टिमसमेत नहुँदा र अर्को समस्याको कुरा ‘डेज’ क्रिकेट नहुँदा पनि सोचे अनुरुप खेलाडी आउन नसकेको मल्लले बताए ।

‘यसलाई ‘प्रोफेस्नल सेट अप’बाट अगाडि बढाउनु पर्छ । अहिले ‘कमर्सियल सेट अप’ भइरहेको छ । ‘प्रोफेसनल सेट अप’ भएपछि खेलाडीहरु क्लबबाट नियमित खेलिरहेका हुन्छन् । खेलाडीहरु व्यस्त हुन पाए उनीहरुमा परिपक्वता पनि आउँछ,’ मल्लले भने,‘स्कुल क्रिकेट पनि छैनन् । पहिले हुन्थे तर, अहिले संरचनागत रुपमा क्रिकेट हुन सकेको छैन् । प्रशिक्षक र प्राविधिकहरुको अपग्रेड पनि हुन जरुरी छ ।’

युवा खेलाडीले जिम्मेवारी लिन सके १० बर्षमा टेस्ट राष्ट्र

अहिले नेपाली क्रिकेट टोलीले अस्थायी एकदिवसिय राष्ट्रको मान्यता पाएको छ । तर, यसको अवधी अबको ढाई बर्षमात्रै बाँकी रहेको छ । तर, नेपाली क्रिकेट टोलीको लक्ष्य भने एकदिवसीय मान्यतालाई स्थायी बनाउँदै टेस्ट राष्ट्रका रुपमा अगाडी बढ्ने हुनु पर्ने कप्तान मल्ल बताउँछन् ।

एकदिवसिय मान्यता अनि टेस्ट मान्यता जितेरमात्रै पाइदैन ।, त्यस अनुरुपका मापदण्डहरु पनि पुरा गरेको हुनु पर्छ । त्यसका लागि हुन सक्छ, घरेलु संरचना बलियो भएको हुनु पर्ने होला, खेलाडी प्रयाप्त रुपमा हुनुपर्ने जस्ता मापदण्ड हुन सक्छन् मल्लले भने ।

‘१० बर्षको समय ठिकै हुन्छ । अहिले कर्पोरेटबाट पनि साथ पाएको छ । सरकार र आईसीसीको पनि साथ छ । व्यवस्थापन सहि हुने हो र सबै कुरा सहि तरिकाले अगाडि बढ्न सक्यो भने टेस्ट राष्ट्र बन्न सक्छ,’ मल्लले भने,‘अब आउने खेलाडीले कसरी आफ्नो जिम्मेवारी पुरा गर्छन भन्नेले पनि यसमा भूमिका खेल्छ ।’

 

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ४ : ०७ बजे

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको

साँगा-धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको

देशलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ : नेता पौडेल

काठमाडौं–  नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नयाँ वर्षमा

असल नियतको अँगालो हिंसा होइन : प्रकाश दुतराज

काठमाडौं– केही दिन अगाडि पोखराको एक महोत्सवमा गायक प्रकाश दुतराजलाई

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै