महरा प्रकरण– ‘पीडित महिला’को उजुरी नआउँदा बीचमै रोकियो अनुसन्धान | Khabarhub Khabarhub

महरा प्रकरण– ‘पीडित महिला’को उजुरी नआउँदा बीचमै रोकियो अनुसन्धान


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिइसकेका कृष्णबहादुर महरामाथि लागेको यौन दुराचारको आरोपमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नै अन्यौलमा परेको छ ।

प्रहरी कन्ट्रोल रुम नम्बर (१००)मा आएको फोनको आधारमा प्रारम्भिक जाँचबुझ गरेको प्रहरी थप छानबिनका लागि पीडित पक्षको उजुरीको प्रतिक्षामा छ ।

प्रहरीले अहिलेसम्म घटनास्थलबाट सबूत प्रमाण संकलनको काम गरेको छ । संकलित सबूत प्रमाणको फरेन्सिक जाँचका लागि केन्द्रीय विधि बिज्ञान प्रयोगशाला पठाउने प्रक्रिया पनि शुरु गरेको थियो । तर, पीडित पक्षले ‘सहयोग’ नगर्दा फरेन्सिक परीक्षणको कार्य पनि अगाडि बढाउन नसकिएको प्रहरी अधिकारीले बताए ।

‘हामीले घटनासँग सम्बन्धित मुचुल्का उठाएर मात्रै संकलित सबूत प्रमाणलाई फरेन्सिक जाँचका लागि पठाउन मिल्छ । यस्तो मुचुल्कामा पीडित पक्षको प्रारम्भिक बयान, घटनास्थलको अवस्था र घटनाको विवरण उल्लेख गरिन्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने, ‘तर, हामीले पीडित पक्ष (महिलामाथि यौन दुराचारको आरोप लगाउने महिला)सँग थप छानबिनका लागि उहाँको बयान र उजुरी चाहिने भनेका छौं । उहाँले न बयान नै दिनुभएको छ, न त उजुरी नै ।’

प्रहरीले के–के प्रमाण फेला पार्‍यो ?

संघीय संसद सचिवालयको स्वास्थ्य युनिटमा कार्यरत एक महिला कर्मचारीले सभामुख (हाल राजीनामा दिएका) कृष्णबहादुर महराले आफूमाथि आफ्नै कोठामा आएर बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् ।

आइतबार राति महराले आफ्नै कोठामा आएर बलात्कार प्रयास गरेको ती महिलाको आरोप थियो । सोमबार साँझ उक्त प्रकरण सार्वजनिक भएपछि महराले मंगलबार सभामुख पदबाट राजीनामा दिएका छन् ।

ती महिलाले आइतबार राति नै करिब सवा ९ बजेतिर प्रहरीको कन्ट्रोल रुमको नम्बर (१००)मा फोन गरेर आफूमाथि बलात्कार भएको जानकारी दिएकी थिइन् ।

आइतबार राति नै काठमाडौंको तीनकुनेस्थित महिलाको डेरामा पुगेको प्रहरीले पीडित भनिएकी महिलालाई राति नै स्वास्थ्य परीक्षण गर्न भनेको थियो । आइतबार राति नै प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाउन खोजे पनि महिलाले ‘सहयोग’ नगरेको खबरहबको सम्पर्कमा आएका महानगरीय प्रहरी बृत्त बानेश्वरका एक अधिकारीले जानकारी दिए ।

‘हामीले उहाँको प्रारम्भिक उजुरी लिएर घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाउने भनेका थियौं । तर, उहाँले यस विषयमा भोलि (सोमबार) मात्रै कुरा गरौंला भन्नुभयो । पीडित पक्षले नै तत्काल अनुसन्धान आवश्यक नपर्ने भनेपछि हामीले पनि धेरै कर गरेनौं,’ बानेश्वर बृत्तका प्रहरी अधिकारी भन्छन्, ‘सोमबार दिनभर नै उहाँको कोठामा ताला लगाइएको थियो । पछि साँझ मात्रै मिडियामा उहाँले बोलेको भिडियो देखियो । मंगलबार बिहान गएर हामीले उहाँको कोठाबाट सबूत प्रमाण संकलन गरेका हौं ।’

प्रहरीका अनुसार पीडित भनिएकी महिलाको कोठाबाट केही थान रक्सीका बोत्तल, रक्सी पिउन प्रयोग भएका गिलास, फुटेको चस्माको सिसा र फ्रेम, जुत्ताको तलुवा, भान्सामा प्रयोग भएका केही भाँडाकुँडा सबूत प्रमाणको रुपमा बरामद गरिएको छ ।

त्यसबाहेक प्रहरीले पीडित भनिएकी महिलाको डेरा क्षेत्रमा पर्ने सीसीटीभी क्यामेराको फुटेज निकालेर पनि विश्लेषण गरेको छ । तर, अहिलेसम्म उपलब्ध प्रमाण मात्रैको आधारमा अनुसन्धान प्रक्रियालाई अगाडि बढाउने अवस्था नदेखिएपछि पीडित पक्षको उजुरी कुरेको प्रहरी अधिकारीको भनाइ छ ।

‘यो घटनामा न कुनै प्रत्यक्षदर्शी छन्, न त घटना भएको देखाउने खालका कुनै दृश्य छन् । अनुसन्धानका लागि प्रमाण मान्न सकिने कुरा पीडित पक्षको उजुरी र बयान नै हो,’ महानगरीय प्रहरी परिसर काठमाडौंका अधिकारी भन्छन्, ‘पीडित पक्षको बयानका आधारमा हामीले अहिलेसम्म उपलब्ध सबूत प्रमाण र सीसीटीभी फुटेजलाई जोडेर विश्लेषण गर्ने हो । फरेन्सिक जाँचका लागि आरोपित पक्षको ब्लड स्याम्पल लिने हो ।’

उजुरी नआउँदा बीचमै रोकियो अनुसन्धान

महरामाथि यौन दुराचार प्रकरण सार्वजनिक भएदेखि नै प्रहरी महानिरीक्षक (आईजी) सवेन्द्र खनालकै ‘लिडिङ’मा अनुसन्धान शुरु भएको थियो ।

महरा प्रकरणको अनुसन्धानका लागि आईजी खनालले गृहसचिव प्रेम कुमार राई तथा गृहमन्त्री रामबहादुर थापा (बादल)को सल्लाह पनि लिएका थिए ।

गृहमन्त्री बादल र सचिव राईले ‘निर्धक्क भएर सत्यतथ्य छानबिन गर्न’ भनेपछि आईजी खनालले महानगरीय प्रहरी आयुक्त डीआईजी शैलेश थापा क्षेत्री र महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रमुख एसएसपी उत्तम सुवेदीलाई बोलाएर अनुसन्धान प्रक्रियाका बारेमा छलफल गरेका थिए ।

सोही छलफलपछि आईजी खनाल, महानगरीय प्रहरी आयुक्त थापा र काठमाडौं प्रहरी प्रमुख सुवेदीलाई ‘डाइरेक्ट रिपोर्ट’ गर्ने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा सबूत प्रमाण संकलन गर्ने र सीसीटीभी फुटेजको विश्लेषण गर्ने मात्रै काम भएको छ । पीडित महिलाले उजुरी नदिएसम्म थप अनुसन्धान प्रक्रिया अगाडि बढाउन नसकिने प्रहरी अधिकारी बताउँछन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १ : १२ बजे

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना