‘कोशिश गर्नेहरुको कहिल्यै हार हुँदैन’

एमबीबीएस नपढेर यही क्षेत्र रोजेँ, आखिर हामीमा खुशी 'म्याटर' गर्दोरहेछ

अर्घेलो थापा

बुधबार, असोज १५, २०७६

Reading Time: 11 minutes

‘कोशिश गर्नेहरुको कहिल्यै हार हुँदैन’

बच्चा बेलामा केकी अधिकारीलाई आफ्नो नाम फिटिक्कै मन पर्दैनथ्यो । बाबासँग उनले बारम्बार गुनासो गरिरहन्थिन् – ‘किन यस्तो अप्ठेरो नाम राखिदिएको बाबा? अरु कुनै नाम राख्दिनू पर्दैन?’

बाबासँगै स्कूल र घर गर्ने फुच्ची केकीलाई बाबाले सधै भन्नुहुन्थ्यो – किन राख्ने अर्को नाम? यस्तो राम्रो छ नाम छ, तिम्रो नाम एकपटक सुनेपछि मान्छेले भुल्दैन । दुईपटक त पक्कै सोध्छ । त्यही भएर यो नाम युनिक छ ।

नाम मन नपरे पनि बाबाको कुरामा केकी ‘कन्भिन्स’ भइहाल्थिन् । साथीभाइलाई दोहोर्‍यार ना भन्नुपर्दा फेरि वाक्क हुन्थिन् । तर, अहिले भने उनलाई संसारकै सबैभन्दा सुन्दर नाम यही लाग्छ ।

केकी अर्थात् मयूर ।

बुबा (बद्री अधिकारी) ले आफ्नी छोरी केकीको नाम यही सुन्दर अर्थका कारण राखिदिएका थिए । ‘यस्तो राम्रो अर्थ छ, छोरीजस्तै राम्रो,’ उनलाई लागेको थियो ।

अहिले केकीको नाम उनका लाखौं फ्यानका लागि परिचित बनेको छ । अर्कातिर केकीलाई पनि यो नाम आजभोलि त सर्वप्रिय लाग्छ ।

‘बाबाले क वर्णबाट नाम खोज्नुभएको थियो, शब्दकोशमा खोज्दै जाँदा यो नामको अर्थ मन परेपछि राखिदिनुभएको रे!,’ केकी भन्छिन् ।

‘हो कुनै समय मलाई मेरो नामसँग समस्या थियो, पहिलोपटक सुन्दा कसैले पनि शुद्धसँग उच्चारण गर्न सक्दैनथ्यो,’ केकीले थोरै मुस्कान मिश्रित आवाजमा थपिन्, ‘बाबाले यति माया गरेर राखिदिएको नाममा सानो बेलामा म जत्ति इरिटेड कोही हुँदैनथ्यो ।’

केकी आफ्नो नामसँगको त्यो गुनासो सम्झेर तीन सेकेन्ड हाँसिन् ।

०००

आफ्नै नामले वाक्कै भएकी केकीलाई कहिल्यै लागेको थिएन कि, भोलिका दिनमा म कलाकार हुन्छु । किनकि, उनको सपना डाक्टर बन्नु थियो सानैदेखिको ।

यतिबेला डाक्टर बनेको भए केकीलाई कुनै अस्पतालमा बिरामी जाँच्दै गरेको भेटिन्थ्यो । कलाकार बनिन्, पर्दामा भेटिन्छिन् ।

डाक्टर नबनेर किन कलाकारिता रोजिन् त? केकी भन्छिन् –‘आफू केमा खुशी हुन्छ, त्यो अन्तर्मनमा थाहा हुँदो रहेछ, खुशी लाग्ने चीज चाहिँ गर्नुपर्छ, मैले यही क्षेत्रमा खुशी पाएँ ।’

‘म त लहलहैमा यता आएकी थिएँ । पछि सिरियस्ली यही क्षेत्रमा लागेँ,’ उनले शुरुवाती समय सम्झिन् ।

काठमाडौंको बाल सिर्जनालय स्कूलमा पढ्दा केकी सधै प्रथम हुन्थिन् । बाबा बद्री अधिकारी स्कूलका प्रिन्सिपल थिए ।

‘मलाई स्कूल लेभलमा कस्तो प्रेसर थियो भने फस्ट हुँदा पनि धर नपाउने विद्यार्थी के,’ केकीले ती दिन सम्झँदै खबरहबसँग भनिन्, ‘फस्ट गर्लको आफ्नै प्रेसर हुने क्या, झन् प्रिन्सिपलको छोरी भएपछि सबैले सजिलै डाक्टर बनिहाल्छ भन्नुहुन्थ्यो ।’

उनी विज्ञान र गणितमा पनि जान्ने थिइन् । त्यसैले बाल मानसपटलमा डाक्टर नै बन्छु भन्ने थियो उनलाई ।

‘डाक्टर नै बन्छु भन्ने परेको भन्दा पनि पारिएको रहेछ,’ सुनाइन् ।

एमबीबीएसको तयारी गरिरहेका बेला लहलहैमा अभिनय पनि थालेको बताउँछिन् केकी । पछि चलचित्र ‘मसान’ मा काम गरेपछि त उनको चर्चा पनि हुन थाल्यो ।

केकीले प्लस टु पढेपछिको समय थियो त्यो ।

फेलियर भएर पनि कि जितिन्छ, कि सिकिन्छ । म हारिन्छ भन्नेमा कहिल्यै विश्वास गर्दिन । अन्ततोगत्वा मान्छेलाई चाहिने भनेकै खुशी रहेछ, त्यो खुशी मैले अहिले पाएकी छु ।

‘खासमा म पढाइमै व्यस्त थिएँ, जिन्दगीलाई कसरी स्टेबल गर्ने भन्ने थियो, एक्टिङ पनि थालेकी थिएँ, तर अभिनयमा म सिरियस थिइनँ नि त,’ केकीले सुनाइन् ।

उनलाई त्यतिबेलै लागेको रहेछ, फेरि २ वर्ष चलेर म भोलि चलिनँ भनेँ? दर्शकले मलाई पत्याउनुभएन भने? ‘यो क्षेत्रमा तन, मन र धन लगाएर त म धेरै पछि पो आएँ, शुरुमा त न म सिरियस थिएँ न परिवार हुनुहुन्थ्यो,’ उनले आफ्नो करिअरको शुरुवाती फेज सुनाइन् ।

‘त्यही भएर त मैले एमबीबीएसको तयारी छोडेकी थिइनँ नि,’ भनिन् ।

पछि उनले एमबीबीएस त गरिनन् तर एमबीएमा ग्राजुयट गरिन् । उपराष्ट्रपति नन्दबहादुर पुनबाट ग्राजुयसनको प्रमाणपत्र लिँदा चर्चा समेत भएको थियो केकीको ।

‘बाल्यकालका सपनाहरु देखाइएका सपनाहरु रहेछन्, म चाहिँ ‘ल अफ एट्रयाक्सन’ मा खुबै विश्वास गर्छु,’ केकीले कला क्षेत्र नै रोज्नुको कारण खुलाउँदै भनिन्, ‘मलाई के लाग्छ भने यो ब्रह्माण्डले तपाईंले चाहेको क्षेत्रमा पुर्‍याएरै छाड्छ, शायद मेरो पनि अभिनय नै सपना थियो ।’

उनले दुवै हात हल्लाउँदै फेरि एक वाक्य थपिन् –‘थ्याङ्कस् गड मैले बेलैमा आफ्नो सपना चिनेँ, कसैले ढिला आफूलाई चिन्छन् र पछुताउँछन् ।’

आफूले काम गर्दा खुशी मिल्छ भने त्यही नै सपना हो भन्ने केकीलाई लाग्छ । कला क्षेत्रमा आउँदा रिस्क थियो, भविष्यको निश्चितता थिएन तर पनि उनले यही क्षेत्रमा आफूलाई हिँडाइन् ।

‘अन्तिममा आएर आखिर खुशी म्याटर गर्दोरहेछ, मैले यो क्षेत्रमा खुशी पाएँ, परिवारको पनि साथ पाएँ,’ केकीले भनिन्, ‘अब चाहिँ यत्ति हो कि, म जीवनको अन्तिम समयसम्म पनि यही क्षेत्रमा काम गरिरहेकी हुनेछु, कुनै बेला यो मेरो रहर थियो होला, अब जीवन भइसकेको छ ।’

यही क्षेत्रमा निरन्तरता दिन सकियोस् भनेर उनले चलचित्र निर्माणसँगै पर्दापछाडि बसेर पनि काम गर्ने सोच बनाएको बताउँछिन् । ‘भोलि मेरो पनि नायिका बन्ने समय सकिन्छ, नयाँ आउनुपर्छ, हिजो हामी पनि त्यसरी नै आएका हौँ, यही क्षेत्रमा जीवन दिन सकियोस् भनेर निर्माणमा हात हालेकी हुँ,’ उनले एकै सासमा भनिन् ।

केकीलाई के पनि विश्वास छ भने, उनी अभिनय मात्र होइन, चलचित्रको पर्दाबाहिर रहेर पनि उत्तिकै खटिएर काम गर्न सक्छिन् । नेपालमा निर्मातालाई एउटा चलचित्र निर्माण गर्न त्यति सजिलो नभएको उनको बुझाइ छ ।

‘एउटा कलाकारले स्किृप्टअनुसार काम गरे पुग्यो, तर निर्माताको थाप्लोमा यति धेरै काम आइपर्छ कि, तुलना गर्नै सकिँदैन, हुन त यस्तो नेपालमा मात्र होला, पर्दापछाडि रहेर चलचित्रमा काम गर्दा व्यस्तता बढ्छ,’ केकीले थपिन्, ‘तर पर्दापछाडि बसेर पनि राम्रो काम गर्न सक्ने रहेछु, ममा पनि व्यवस्थापन गर्न सक्ने खुबी छ भन्ने लाग्न थालेको छ ।’

कुनै समय केकीका लागि अभिनय सामान्य रहर मात्र थियो । अहिले उनको जीवनको अभिन्न अंग बनेको छ ।

‘टिनएजमा सौच्ने तरिका र अहिले सोच्ने तरिका फरक हुने रहेछ, त्यतिबेला त मलाई मेरो प्यासन के हो भन्ने पनि थाहा थिएन, टिनएजमा कामलाई सिरियस लिने भन्ने पनि त हुँदैन रैछ,’ उनले सुनाइन् ।

केकीले अभिनय राम्रो गर्छिन् । तर, जस पाउँदिनन् । बरु उनलाई दर्शक र मिडियाले ‘बौद्धिक नायिका’ भनिदिन्छन् । डिग्री होल्डर केकीलाई यो ‘उपाधि’ पनि धेरै भएको हो कि भन्ने लाग्छ कहिलेकाहीँ ।

‘बौद्धिक भनेर मलाई बढी नै स्पेस दिइएको हो कि झैँ लाग्छ, कसैले केही नबोलेको ठाउँमा मैले थोरै बोल्दा पनि स्पेस पाएँकी हुँ कि भन्ने लाग्छ,’ केकीले थपिन्, ‘हुन त बौद्धिक भन्ने कुरा पनि दृष्टिकोणमा फरक पर्ने कुरा हो, कसैलाई सानो कुरा गर्ने बौद्धिक लाग्छ, कसैलाई ठूलो कुरा गर्ने बौद्धिक लाग्छ ।’

‘साँच्चै भन्ने हो भने मैले यो सम्मान दर्शक र मिडियाबाट यत्तिकै पाइरहेकी छु, खासमा मैले केही ठूलो जिम्मेवारी लिएर केही पनि गर्न सकेकी छैन,’ उनले भनिन् ।

आजभोलि उनलाई लाग्न थालेको छ, बरु सामान्य कुरा गर्ने तर इमान्दारिताका साथ भन्ने । अरुलाई खुशी बनाउन नबोल्ने ।

बौद्धिकताको भारी केकीलाई कहिलेकाहीँ चाहिँ निकै गह्रौँ हुन्छ । एकपटक त उनले दयाहाङ राईसँग अभिनय गरेको एउटा विज्ञापनका कारण पनि विवाद खेप्नुपरेको थियो । सामाजिक सञ्जालमा महिला अधिकारकर्मीले खेद्नु खेदेका थिए ।

‘त्यो प्रतिक्रिया हाम्रा लागि एकदमै महत्त्वपूर्ण थियो, मेरा लागि अलार्मजस्तै भयो,’ केकीले सुनाइन् ।

केकी आफै पनि महिला हिंसाविरुद्ध आवाज उठाउँछिन् । तर, समाज चाहिनेभन्दा बढी उग्र भएको हो कि भन्ने पनि लाग्छ । उनी भन्छिन् – ‘फेमिनिस्ट’ हुनु र ‘एक्स्ट्रिमिस्ट’ हुनुमा फरक छ ।

‘कहिलेकाहीँ हामीले अरुभन्दा पनि मान्छे भएर सोच्नुपर्ने हुन्छ, कहिलेकाहीँ हामी सही र गलत नबुझीकनै लेखिरहेका हुन्छौँ,’ केकीले थपिन्, ‘कतिपय अवस्थामा त एउटाले राम्रो तरिकाले भन्न खोजेको हुन्छ, तर अर्कोले आफ्नो परिस्थितिअनुसार अर्कै तरिकाले बुझ्छ ।’

‘मलाई आजकाल के लाग्छ भने सबैको बुझाइ परिस्थितिअनुसार फरक हुन सक्छ, त्यसैले कसैलाई केही भन्दिनँ,’ उनले थपिन् ।

आफूले अभिनय गरेको मनपर्ने चलचित्र सम्झनुपर्ने भयो भने ‘मसान’ को नाम लिन्छिन् केकी । ‘आफूले अभिनय गरेका सबै चलचित्र मलाई उत्तिकै प्यारा लाग्छन्, तर मैले ‘मसान’ मा काम गरेपछि यो क्षेत्रप्रति सिरियस बनेँ, त्यसैले पनि यो चलचित्र बढी प्रिय लागेको होला,’ केकीले सुनाइन् ।

उनी आफूले हरेक फिल्ममा केही न केही अलग गर्ने कोशिश गरेको बताउँछिन् । एउटै गाउँले भूमिका भए पनि कसरी फरकपन दिन सकिन्छ भन्नेमा आफू लागेको उनको भनाइ छ ।

आफूले अभिनय गरेका धेरै चलचित्र ठूलो दर्शकमा नपुगेको हो कि भन्ने केकीलाई लाग्छ । प्रदर्शनका क्रममा रहेको चलचित्र ‘छ माया छपक्कै’ बाट भने उनले बढ्ता आशा देखाइन् ।

‘हो, मैले अभिनय गरेका धेरै चलचित्रले राम्रो प्रतिक्रिया पाए तर धेरै दर्शकमाझ पुग्न सकेनन्, ‘छ माया छपक्कै’ मार्फत भने मैले मेरो काम ठूलो दर्शक समूहलाई देखाउन पाउनेछु भन्ने लागेको छ,’ केकीले आफ्नो कपाल मिलाउँदै सुनाइन्, ‘यो चलचित्र मेरो करिअरका लागि महत्त्वपूर्णमध्ये एक हो, किनकि कलाकारका हिसाबले धेरै दर्शकले मेरो काम हेरोस् भन्ने लोभ सधै रहने रैछ ।’

स्कूलकी ‘फस्ट गर्ल’ केकीले आजभोलि भने खासै पुस्तक पढ्दिनन् । त्यसो त उनीसँग त्यति फुर्सत पनि हुँदैन । ‘साँच्ची डिग्री सकिएपछि त मेरो पुस्तक पढ्ने बानी पनि हटेछ, फुर्सद हुँदा कहिलेकाहीँ पढ्छु,’ केकीले सुनाइन् ।

उनले पढेको पछिल्लो पुस्तक हो, गुलाबी उमेर ।

‘कस्तो लाग्यो पुस्तक?,’ हामीले सोध्यौँ ।

‘अमर न्यौपाने मलाई मनपर्ने लेखक हो, उहाँले ‘गुलाबी उमेर’ को विमोचनका लागि फोन गर्दा उहाँकै उपन्यास ‘सेतो धरती’ पढिरहेकी थिएँ,’ केकीले त्यो संयोग सम्झिन् ।

संयोग कस्तो थियो भने, केकीको एकदमै मनपर्ने लेखक थिए अमर । चलचित्र ‘छ माया छपक्कै’ को शूटिङका बेला उनले समय हुनासाथ उनकै उपन्यास पढिरहेकी थिइन् । अचानक अमर न्यौपानेको फोन आयो ।

‘उहाँकै पुस्तक पढेर भावमा डुबिरहेका बेला फोन आउँदा कस्तो हुन्छ होला, त्यो वर्णन गर्न सकिन्न,’ उनले अनुहार थप उज्यालो बनाइन् र थोरै मुस्कानका साथ सुनाइन्, ‘उहाँले गुलाबी उमेरको विमोचनमा निम्ता गर्नुभयो, मैले हुन्छ भनेँ किनकि मेरा लागि त्यो नयाँ अनुभव पनि थियो ।’

‘अरु सबै काम छोडेर पुस्तक पढ्न थालेँ, एक हप्ता छुट्याएँ,’ उनले आफ्नो उत्सुकता सुनाइन् ।

अभिनयसँगै फिल्म मेकिङमा पनि व्यस्त केकीलाई अहिले समय मिलाउन गाह्रो छ । चलचित्र ‘छ माया छपक्कै’ पछि उनी अर्को चलचित्र ‘झिङ्गे दाउ’ को तयारीमा लाग्ने बताउँछिन् ।

उनले कला क्षेत्रमा यतिबेला ‘ट्रायल एण्ड इरर’ को अवस्था भएको बताउँछिन् ।

‘हामीसँग हाम्रो चलचित्र कस्तो हुनुपर्छ भन्ने स्पष्ट धारणा अझै बनिसकेको छैन, हामी त सिकाइकै क्रममा छौँ,’ केकी नेपाली चलचित्रको वर्तमान अवस्था केलाउँदै भन्छिन्, ‘हामी सबैले सिक्दै चलचित्र बनाइरहेका छौँ ।’

उनी भन्छिन् – ‘फेलियर भएर पनि कि जितिन्छ, कि सिकिन्छ । म हारिन्छ भन्नेमा कहिल्यै विश्वास गर्दिन ।’

त्यसो त केकीले चलचित्र निर्माणमा हात हालेको धेरै भएको छैन । सन् २०१० मा यो क्षेत्र रोज्दा केकीलाई आफू निर्मात्री बन्छु भन्ने लागेको थिएन । उनको सपना पछि गएर निर्देशक बन्ने पनि छ अहिलेलाई ।

‘निर्देशनमा यत्तिकै हात हाल्नेभन्दा पनि अनुभवसँगै केही समयको सिकाइपछि निर्देशन पनि गर्न सकिन्छ । निर्देशकको काम सजिलो पनि हुँदैन । अरुले त निर्देशकको अन्डरमा काम गर्ने न हो,’ केकीले थपिन्, ‘यसका लागि म अझै तयार छैन, थप अध्ययन आवश्यक छ तर मेरो लिस्टमै भएको चीज हो, सपना हो ।’

‘अझै विपना भइसकेको छैन,’ उनी मुस्कुराइन् ।

एकछिन उनी बोलिनन् । फेरि थपिन्, ‘भन्छन् नि, कोशिश गर्नेहरुको कहिल्यै हार हुँदैन ।’

यो उनको त्यही सपना थियो, जुन सपना उनले बुझ्ने भएपछि देखेकी थिइन् । जुन सपनाले उनलाई निष्फिक्री खुशी दिएको छ । ‘अन्ततोगत्वा मान्छेलाई चाहिने भनेकै खुशी रहेछ, त्यो खुशी मैले अहिले पाएकी छु, डाक्टर भएको भए नपाउन पनि त सक्थेँ नि ।’

भर्खर

0