तीज : आफ्नै आयु बढाउने पर्व

डा. गोविन्द टण्डन

सोमवार, भदौ १६, २०७६

Reading Time: 8 minutes

तीज : आफ्नै आयु बढाउने पर्व

भाद्रशुक्ल तृतीयाको दिनलाई तीजको रूपमा मनाइने प्रचलन नेपालमा छ । यसको उद्भव कहिले भएको हो भन्न ठोस आधार छैन । तर शिवपुराण, लिङ्गपुराण आदि पौराणिक साहित्यहरूमा शिव र पार्वतीबीचको अमरप्रेम र समर्पणका कुराहरूको बारेमा विशद् व्याख्या पाइन्छ । यिनै कथाको आधारबाट तीजको उत्पत्ति भएको अनुमान गर्न गाह्रो पर्दैन ।

संस्कृतभाषाको तृतीया शब्द अपभ्रंस भएर कालान्तरमा “तीज” शब्द बनेको हो । तीजको अर्थ पर्व भन्ने हुन्छ । पर्वको अर्थ हुन्छ जोड्ने, मिलाउने, आत्मीयता ल्याउने, सामाजिकीकरण गर्ने, सामूहिक हितको भावनाले कार्य गर्ने।

विशेषगरी हिन्दुधर्मावलम्बी नारीहरूले धुमधामले मनाउने अत्यन्तै महत्त्वपूर्ण पर्वको रूपमा तीजलाई मानिन्छ । तीजपर्व प्रेम र समर्पण तथा नारी स्वतन्त्रता, नारी जागरण र नारी सशक्तीकरणको प्रतिनिधित्व गर्ने पर्वमध्येको एक पर्व हो भन्दा फरक पर्दैन ।

कतिपय नेपाली महिलामा हामी त पश्चिमा महिलाहरूको तुलनामा निकै पछाडि पो छौँ कि भन्ने लाग्न सक्छ । तर हाम्रा परम्परा, धर्म- सँस्कृति, धार्मिक तथा साँस्कृतिक रूपमा महिलाहरूलाई गरिने आदर-सम्मानलाई हेर्दा पश्चिमा संस्कृतिका महिलाभन्दा नेपाली महिला धार्मिक, साँस्कृतिक एवं सामाजिक रूपले अरूसँग तुलनै गर्न नसकिने गरी अगाडि रहेको अवस्था छ। निकै पछि मात्रै महिलाहरूलाई पछाडि पार्ने, भेदभाव गर्नेजस्ता विकृति आएका हुन् त्यसलाई चेतना जगाएर विद्या, बुध्दि र विवेकको माध्यमबाट निमिट्यान्न पार्न प्रयत्न गर्न सबै जना एक जुट हुनु आवश्यक छ ।

नेपाली संस्कृतिमा महिलाका लागि भाद्रशुक्ल द्वितीयादेखि ऋषि पञ्चमसम्मको चार दिनको पर्वलाई नै तीज नामले सम्बोधन गरिन्छ । नेपालमा मनाइने तीजको आफ्नै मौलिकता र विशेषताहरू छन् ।

तीज नेपाली महिला स्वतन्त्रता तथा सशक्तिकरणको आवाज उठाउने पर्वका रूपमा पनि परिणत हुँदै गएको छ।

छिमेकी मुलुक भारतमा पनि केही प्रान्तहरू- विहार, उत्तरप्रदेश, बङ्गाल, गुजरात र राजस्थान आदि ठाउँहरूमा शिव र पार्वतीको उच्चकोटीको प्रेमप्रसङ्गलाई सौभाग्य र समृध्दिको पर्वको रूपमा लिई तीज पर्व मनाउने गरिएको पाइन्छ । यसलाई “हरितालिका तीज” पनि भन्छन् ।

तीज व्रतोत्सवको महानता हिमालय पर्वतमा आसीन शिव-पार्वतीको जीवनगाथासँग जोडिएकोले नेपाली महिलाहरूको लागि त अझ यो पर्व विशेष पर्व या भनौँ आफ्नै पर्वको रूपमा ग्रहण गरेको पाइन्छ ।

हरितालिका नाम रहनामा पनि शिव-पार्वतीकै कथाप्रसङ्ग जोडिन्छ । नारदले उमेर पुगेकी हिमालय पर्वतकी छोरी पार्वतीलाई वर खोज्ने क्रममा विष्णुलाई अघि सारेको र आमा-बाबु दुवै जनाले विष्णुलाई नै उपयुक्त सम्झी कुरा चलाउन नारदलाई गरेको आग्रह पार्वतीले थाहा पाई आफूले मनले खाएर पति पाऊ भनी लामो समयदेखि हृदयमा सजाएर राखेको शिवबाहेक अरूलाई वरमाला नपहि-याउने सङ्कल्प बुझेका साथीहरूले उनलाई हरेर लगेको हुनाले त्यस पर्व पछि गएर हरितालिका नामले पनि प्रसिध्द भएको चर्चा पाइन्छ ।

छोरीको चाहनाअनुसारै पछि भगवान् शिवसँग पार्वतीको विवाह भएको प्रसङ्गअनुसार तीजको व्रतले चाहेको वर प्राप्त हुने तथा विवाहित महिलाहरूको सौभाग्य र समृध्दि तृतीया र पञ्चमीको व्रतले हुनेजस्ता परम्परा बन्दै आज यो रूपमा तीजपर्वलाई मनाइन्छ ।

अहिले त यातायातका अनेकौँ सुविधाहरू उपलब्ध छन्, संचारका विविध साधनहरू छन् । एकछिन सम्झियौँ त त्यस्ता साधनहरू नभएको बखत आफ्नो-आफ्नो माईतीघरमा तीज मनाउन जानुको कत्रो अर्थ र महत्त्व थियो ?

विवाहित महिलाहरू आफ्नो माईतीघर जाने पर्वको रूपमा पनि तीजलाई लिइन्छ । द्वितीयाको दिन सात्विक फलफूल र मिठाईलगायतका खानेकुरा परिवारका खासगरी महिला सदस्यहरू सँगै बसी खाने र भोलिपल्ट तीजको दिन निराहार व्रत बस्ने र नजिकको शिवमन्दिर वा शिवालयमा गई पूजाआजा गर्ने राती जाग्राम बसी भगवान्को गुणानुवाद गर्ने चलन थियो ।

तीज भनेको धार्मिक एवं सामाजिक प्रवृत्तिको उद्बोधक पर्वजस्तो थियो । तर हिजोआज धार्मिक-आध्यात्मिक पक्ष औपचारकतामा सीमित भएर नाचगान गर्ने, दर खाने त्यो पनि एकदिन होइन एक महिनाअघिदेखि नै खाने। माईतीको दर होइन जता डाकियोस् त्यतै गएर एक होइन अनेकौँ दर खाने गलत प्रवृत्तिको विकासले यसलाई भड्किलो र खर्चिलो बनाइरहेको छ।

तीजमा महिलाहरू भेला भएर एक आपसमा रमाउने, सुख-दु:खका भावनाहरू साटासाट गर्न अनेक विधि र व्यवहारबाट प्रकट गरिन्छ । महिलाले स्वतन्त्रपूर्वक राता लत्ताकपडा पहिरिएर गरगहनाले सजिएर विभिन्न देवीदेवताको मन्दिरमा जाने, पूजा-आजा गर्ने र रमाइलोका लागि आफ्ना दु:ख-सुखको भाव अभिव्यक्त गर्ने किसिमका नाच गान गरी तीजपर्व मनाइन्छ।

अहिले त यातायातका अनेकौँ सुविधाहरू उपलब्ध छन्, संचारका विविध साधनहरू छन् । एकछिन सम्झियौँ त त्यस्ता साधनहरू नभएको बखत आफ्नो-आफ्नो माईतीघरमा तीज मनाउन जानुको कत्रो अर्थ र महत्त्व थियो ? कोही घण्टौ हिँडेर पुग्थे भने कोही एक-दुई दिन लगाएर माइतीघर पुग्थे । हो, तीजको एक दिन अगाडि आफ्नो माइतमा विभिन्न परिकारयुक्त दर खाइ पारिवारिक माहोलमा रमाउने प्रचलनमा हिजोआज जुन किसिमले झण्डै एक महिना अगाडिदेखि नै अनेक ठाउँमा दर खाने चलन फेसनकै रूपमा आउनुलाई उपयुक्त भन्न मिल्दैन । यो त तीजको नाममा विकृति हो भने फरक पर्दैन।

नेपालमा कुनै समय सतीप्रथाको चलन थियो । श्रीमानको मृत्यु भएपछि केही अपवादबाहेक श्रीमती भर्खरकी युवती नै भए पनि श्रीमान्सँगै चितामा मृत्युवरण गर्नु पर्थ्यो । धर्मको नाउँमा कस्तो विकृति ? यस्तो जमानामा श्रीमानको आयु लम्बिनु भनेको श्रीमतीको आयु पनि लम्बिनु थियो। अर्को अर्थमा भन्नु पर्दा श्रीमानको आयुसँग श्रीमतीको आयु पनि गाँसिएको थियो। यो इतिहासलाई बुझ्यौँ भने तीजको महत्त्व बुझिन्छ

तीज सात्विक पर्व हो र भोलिपल्ट भगवान् शिवको भक्तिपूर्वक पूजा-आजा गरिने पर्व भएकोले अघिल्लो दिनको भोजन पनि सात्विक हुनु पर्ने हो ।  तर हिजोआज राजसी तथा तामसी भोजन सरोवर हुन जाँदा तीज र यसभित्रको धार्मिक-आध्यात्मिक महत्त्व नै मटियामेट हुने अवस्थामा पुग्न गएको छ । सही ज्ञानको अभावमा तीज औपचारिकतामा मात्रै सीमित हुने त होइन भन्ने अवस्था बढ्दै गएको छ।

तीजलाई अहिलेको परिवेशमा मात्रै हेर्नु हुन्न । अहिले झट्ट सुन्दा महिलाले पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्नु पर्ने अनि पतिले भने श्रीमतीको नाममा व्रत बस्ने परम्परा नभएकोले तीजको बेला समय-समयमा प्रश्न उठ्ने गरेको छ कि यो विभेद भयो भनेर । यसलाई आजको आँखाले हेर्नु हुँदैन ।

नेपालमा कुनै समय सतीप्रथाको चलन थियो । श्रीमानको मृत्यु भएपछि केही अपवादबाहेक श्रीमती भर्खरकी युवती नै भए पनि श्रीमान्सँगै चितामा मृत्युवरण गर्नु पर्थ्यो । धर्मको नाउँमा कस्तो विकृति ? यस्तो जमानामा श्रीमानको आयु लम्बिनु भनेको श्रीमतीको आयु पनि लम्बिनु थियो। अर्को अर्थमा भन्नु पर्दा श्रीमानको आयुसँग श्रीमतीको आयु पनि गाँसिएको थियो। यो इतिहासलाई बुझ्यौँ भने तीजको महत्त्व बुझिन्छ।

कसैलाई श्रीमतीको लागि व्रत बस्ने इच्छा लागे बस्न सकिन्छ । कहीँ पनि बस्न हुन्न भनेर लेखेको छैन । बस्न सकिन्छ। किनभने समाजमा महिला/पुरुष दुबैको उत्तिकै सहभागिता र हिस्सेदारी छ । फरक यत्तिमात्र हो कि दुबैको आ-आफ्नै सीमा र परिधि छ।

दरको कुरा गर्दा अघिल्लो दिन जे पायो त्यही टन्न खाएर व्रत बस्नु स्वास्थ्यको लागि हानिकारक हुन सक्छ। त्यस्तै व्रतको नाउँमा कठोर व्रत जसले आफ्नो शरीरलाई हानी गर्छ, त्यसलाई पनि प्रोत्साहन दिनु हुँदैन । शरीर रह्यो भने मात्र संसार देख्न पाइन्छ, धर्म-कर्म गर्न पाइन्छ भन्ने विचारलाई सदैव ध्यान राख्नु जरुरी छ ।

यही समयमा तीज मनाउनुको कारण भने एक त चर्तुमासको समयको कारण अरू महत्त्वपूर्ण विवाह, व्रतबन्धजस्ता कार्य नहुनाले फुर्सतको समय, अर्को कृषि प्रधान मुलुकमा मुख्य खेतीपाती अर्थात् धान रोपी सकेर चटारो कम भएको समय पर्ने भएकाले यसलाई नेपाली महिलाहरू बडो हर्षिल्लासपूर्वक मनाउँछन् ।

तीज नेपाली महिला स्वतन्त्रता तथा सशक्तिकरणको आवाज उठाउने पर्वका रूपमा पनि परिणत हुँदै गएको छ।

तीज भाद्रशुक्ल द्वितीयादेखि सुरु भएर तृतीयाको दिन तीज र पञ्चमीको दिन सप्तर्षि- १.कश्यप २. अत्रि ३. भारद्वाज ४. विश्वामित्र ५. गौतम ६. जमदग्नि र ७. वशिष्ठको पूजन नगरेसम्मकै अवधिभित्र एक किसिमले भन्ने हो तीजकै माहोल हुन्छ।

रजस्वलाको बेला जे पायो त्यो गर्न नहुने तथा जसलाई पायो त्यसलाई छुन नहुने भन्ने प्रचलन र परम्परा रहेको कारण त्यस अवधिमा जानी/नजानी कुनै त्यस्ता कर्म भएका छन् भने त्यसबाट हुने मानसिक त्रासलाई मनमा पाली नराख्न प्रत्येक वर्ष आउने ऋषिपञ्चमीको दिन गरिने स्नान र त्यस दिन गरिने ३६५ वटा दतियूँन एवं पञ्चगव्यसहितको पूजाविधिले त्यो मानसिक तनावलाई हिलिङ्ग(Healing) गरिेहेको हुन्छ, जुन आफैमा महत्त्वपूर्ण छ भन्नै पर्छ।

रजस्वलामा छोइछाइको विषयमा वहस हुन सक्ला तर यसैगरी प्रायश्चित्त हुने/गरिने अन्य पर्वविषयमा वैज्ञानिकताको गन्ध पाउन सकिन्छ । पाँच दिन ( कहीँ चार दिन) सम्म महिलाहरूलाई आराम गर्न दिने रजस्वला अवधिलाई बुझेमा कति वैज्ञानिक कुरा हाम्रा पूर्वजहरूले गरिदिएका रहेछन् भन्ने ज्ञानको झल्को पाइन्छ । त्यस अवधिमा जे पायो त्यही गर्न थालियो वा छुन थालियो भने घर, परिवार वा समाजले अरू दु:ख दिन्छन् भनेर पूर्णत: आरामको लागि केही बारबन्देजजस्तो लगाइदिनु आफैमा विज्ञानसम्मत छैन र ?

पशुपतिनाथको मन्दिरमा यस दिन लाखौँ महिलाहरू रातो सारी र गरगहनाहरूले सजिएर बिहानैदेखि दर्शनको लागि भीड लागेको हुन्छ। त्यस दिन पशुपतिनाथमन्दिर प्राङ्गणभित्र पुरुषको लागि निषेध गरिएको हुन्छ।

पशुपतिक्षेत्र विकास कोषको संयोजन, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा हजारौँ स्वयंसेवकहरूको संलग्नतामा तीजपर्वलाई व्यवस्थित पार्ने प्रयास गरिएको हुन्छ।

यसैगरी जहाँ-जहाँ शिवमन्दिर छ, त्यहाँ-त्यहाँ तीजपर्वको दिन ठूलो मेला लाग्छ। गोकर्णेश्वर, धरानको पिण्डेश्वर, खोटाङको हलेसी महादेवमन्दिर, सुर्खेतको शिवमन्दिर, पनौतीको इन्द्रेश्वर, पाटनको कुम्भेश्वरमन्दिरलगायत सबै शिवमन्दिरहरूमा भक्तजनहरूको ठूलो भीड लाग्छ तीजको दिन। त्यसैगरी देवघाट, त्रिवेणीधाम, चतराधामलगायतका तीर्थस्थलहरूमा पनि त्यस दिन निकै महिला भक्तजनहरूको भीड लागेको हुन्छ।

भर्खर

0