लेनिनको नजरमा द्वन्द्ववाद र मार्क्सवाद

हस्तबहादुर केसी

मङ्लबार, असार १७, २०७६

Reading Time: 11 minutes

लेनिनको नजरमा द्वन्द्ववाद र मार्क्सवाद

लेनिन भन्नुहुन्छ-‘यहाँ प्रश्न भौतिकवादको यो वा त्यो सूत्रीकरण होइन, बरु प्रश्न त भौतिकवाद र आदर्शवाद बीचको विवाद हो, दर्शनशास्त्रमा दुई आधारभूत कार्यदिशा बीचको भिन्नता हो। हामी बस्तुबाट चिन्तन र समवेदनाको प्रक्रियामा छौं अथवा चिन्तन र समवेदनाबाट वस्तु तिरको प्रक्रियामा ? पहिलो कार्यदिशा (Line)अथवा भौतिकवादी कार्यदिशा एंगेल्सले अबलम्बन गर्नुभयो। दोश्रो कार्यदिशा अथवा आदर्शवादी कार्यदिशा माखले अबलम्बन गर्‍यो।’ (भौतिकवाद र आनुभविक आलोचनावाद, पृ. २९, प्रगति प्रकाशन)

पदार्थको सही परिभाषा :

‘यो भौतिकवाद होः पदार्थले हाम्रा ज्ञानेन्द्रीयहरुमा सक्रिय हुदै समवेदना पैदा गर्छ। समवेदना, मस्तिष्क, मस्तिष्क तन्तु, आँखाको नानीमा भर पर्दछ जसमा पदार्थ एउटा निश्चित ढाँचामा संगठित हुन्छ। पदार्थको अस्तित्व समवेदना माथि भर पर्दैन। पदार्थ प्राथमिक हो। समवेदना, विचार, चेतना विशिष्ट ढाँचामा संगठित पदार्थका सर्वोच्च उपज हुन्।’

‘पदार्थ एउटा दार्शनिक प्रवर्ग हो जसले मानिसलाई उसका समवेदनाहरुमा वस्तुगत यथार्थताको जानकारी दिएको हुन्छ, एउटा यथार्थता जुन हाम्रा समवेदनाहरुद्वारा नक्कल गरिन्छ, तस्वीर खिचिन्छ र प्रतिबिम्बित गरिन्छ, तर त्यो तिनीहरुबाट स्वतन्त्ररुपमा अस्तित्ववान छ’ (भौतिकवाद र आनुभविक आलोचनावाद, पृ. १३०, पिपुल्स् पब्लीसिङ्ग हाउस पेकिङ्ग)

द्वन्द्ववाद त्यो शिक्षा हो, जसले विपरीतहरु कसरी एकरुप हुन सक्छन र ? कुन परिस्थितिमा ती एक अर्कोमा बदलिदै एकरुप बन्न जान्छन्, किन मानव मस्तिष्कले यी विपरीत तहहरुलाई मृत र स्थिर अर्थमा होईन, अपितु, सजीव, परिस्थितिबद्ध, गतिशील, एक अर्कोमा बदलिने अर्थमा हेर्नुपर्दछ भन्ने कुरा बताउँदछ।

ज्ञान सिद्धान्तको सुसंगत व्याख्या र विकास

– ज्ञान वस्तु जगतको प्रतिबिम्ब,
– कारण र कार्य, दीक् र काल, आवश्यकता र स्वतन्त्रता सम्बन्धी वैज्ञानिक अवधारणको विकास सापेक्ष सत्य र निरपेक्ष सत्य,
– ‘पहिलो कुरो कुनै चिजको सही ज्ञान प्राप्त गर्ने हो भने हामीले त्यसका सबै पक्षहरु, त्यसका सम्बन्धहरु र मध्यस्तताहरुलाई हेर्नु र जाँच्नुपर्दछ।, हामी यस कुरालाई पूरा मात्रामा हासिल गर्ने आशा कहिल्यै गर्न सक्दैनौं, तर बोधको यो नियम गल्ति र कट्टरताको विरुद्ध एउटा सुरक्षा हो। दोस्रो कुरा द्वन्द्वात्मक तर्कशास्त्रले कुन कुराको अपेक्षा गर्दछ भने चिजलार्ई विकासमा, परिवर्तनमा, आत्मगतिमा (जस्तो कि हेगेल कहिलेकाँही भन्दछन्)

हेरियोस्… तेस्रो कुरा कुनै चिजको पूर्व ‘परिभाषा’ मा सत्यको कसीको रुपमा सम्पूर्ण मानवीय अनुभव समावेश हुनुपर्दछ। चौथो कुरा द्वन्द्वात्मक तर्कशास्त्रको के मत छ भने ‘सत्य सदा मूर्त हुन्छ, कहिल्यै अमूर्त हुँदैन’।’ लेनिन संकलित रचनाहरु भाग ३८, पृ.३१९।

– ‘विज्ञानका अन्य हरेक क्षेत्रमा झैं ज्ञानसिद्धान्तमा पनि हामीले द्वन्द्वात्मक ढंगबाट सोच्नुपर्दछ, अर्थात हामीले आफ्नो ज्ञानलाई तम्तयार र अपरिवर्तनीय ठान्नुहुँदैन बरु कसरी अज्ञानबाट ज्ञान प्रकट हुन्छ, कसरी अपूर्ण र बेठीक ज्ञान अझ पूर्ण र अझ ठीक बन्दछ भन्ने कुराको निरुपण गर्नुपर्दछ।’

– ‘भौतिक पदार्थ एउटा दार्शनिक अवधारणा हो, जसले वस्तुगत यथार्थको बोध गराउँछ। मानिसले वस्तुगत यथार्थको ज्ञान आफ्ना ज्ञानेन्द्रियहरुका माध्यमबाट प्राप्त गर्दछ। अथवा इन्द्रियहरुका माध्यमबाट त्यस वस्तुगत यथार्थको प्रतिलिपि उतार्दछ र आफ्ना अन्य अनुभवद्वारा त्यसलाई झन प्रकाशित पार्न सक्दछ। तर, भौतिक पदार्थ विचार सत्ता भन्दा स्वतन्त्र हुन्छ।’ लेनिन संकलित रचनाहरु, खण्डा १४, पृ. १३०।

– ‘विपरीत तत्वहरुको एकता (यो मानव मष्तिस्क र समाज समेतमा पनि) प्रकृतिका सबै घटनाप्रक्रियाहरुमा पाईने अन्तरविरोधले परस्पर विरोधी प्रकृतिको एकता र संघर्षलाई बुझाउँछ। यहाँ विपरित वस्तुहरुको एकता र संघर्ष नै वस्तुको वास्तविक जीवनको ज्ञानको आधार बन्छ। यसरी विपरीत वस्तुको एकताको रुपले अस्तित्व बनाउँछ भने विपरीत वस्तुको संघर्षले त्यसको विकासलाई बुझाउँछ।’ लेनिन संकलित रचनाहरु, खण्ड ३८, पृ. ३५९ ।

कम्युनिष्ट पार्टीले त्यो बेलासम्म आफ्नो कर्तव्य पूरा गर्नेछ, जब त्यो ज्यादै केन्द्रित ढंगले संगठित भएको हुन्छ, जब त्यो सैनिक अनुशासनको समान लौह अनुशासन कायम गर्न समर्थ हुन्छ र जब यसको पार्टी केन्द्र व्यापक अधिकारको प्रयोग गर्दै तथा पार्टीका समस्त सदस्यमा आम विश्वास जगाउदै शक्तिशाली तथा प्राधिकारपूर्ण अंग बनेको हुन्छ

द्वन्द्ववादबारे लेनिनका दृष्टिकोणहरु

-द्वन्द्ववाद त्यो शिक्षा हो, जसले विपरीतहरु कसरी एकरुप हुन सक्छन र ? कुन परिस्थितिमा ती एक अर्कोमा बदलिदै एकरुप बन्न जान्छन्, किन मानव मस्तिष्कले यी विपरीत तहहरुलाई मृत र स्थिर अर्थमा होईन, अपितु, सजीव, परिस्थितिबद्ध, गतिशील, एक अर्कोमा बदलिने अर्थमा हेर्नुपर्दछ भन्ने कुरा बताउँदछ। लेनिन, संकलित रचना भाग ३८, अंग्रेजी संस्करण ।

-द्वन्द्ववाद वास्तवमा पदार्थहरुको सबभन्दा भित्री तहमा हुने अन्तर्विरोधहरुको अध्ययन हो। लेनिन, दर्शन सम्बन्धी नोटबुकहरु, रसियाली संस्करण, पृ. २६३ ।

-विकास भनेको विपरीत पक्षहरुको संघर्ष हो।

-संक्षिप्तमा द्वन्द्ववादलाई विपरितहरुको एकताको सिद्धान्तका रुपमा परिभाषित गर्न सकिन्छ। यसमा द्वन्द्ववादको सार मूर्त हुन्छ, तर यसले ब्याख्या र विकासको अपेक्षा गर्छ। (मार्क्स- एंगेल्स, लेनिन, द्वन्द्वात्मक भौतिकवाद, पृ. ४३०, १९१४)

-विपरितहरुको एकता (अनुरुपता, तादात्म्यता, समान कार्य) सर्तबद्ध, अस्थायी, क्षणिक, सापेक्ष हुन्छ। परस्पर विपरितहरुका बीचको संघर्ष विकास तथा गति जस्तै निरपेक्ष हुन्छ। (उही पृष्ठ ४३२)

मार्क्सवादप्रति लेनिनको थप दृष्टिकोण

-ठोस परिस्थितिको ठोस विश्लेषण नै मार्क्सवादको आत्मा हो।

-मार्क्सवादले के सिकाउँदछ भने सर्वहारा वर्ग पुँजीवादी क्रान्तिबाट अलग छुट्टै रहनुहुन्न, त्यसप्रति उदासिन रहनुहुन्न र क्रान्तिको नेतृत्व पुँजीपतिको हातमा जान दिई त्यसै बस्नु हुन्न, बरु त्यसको उल्टो त्यसले उक्त क्रान्तिमा पूरा शक्तिका साथ भाग लिनुपर्दछ र सुसंगत सर्वहारा जनवादको निम्ति क्रान्तिलाई आखिरीसम्म बढाउनको निम्ति खुब डटेर लड्नुपर्दछ। (लेनिन, संकलित रचनाहरु, अं.सं. मस्को, १९४७, १९४७, भाग १ पृ. ३६९)

-मार्क्सवादले मात्र सुधार र क्रान्तिबीचको सम्बन्धलाई ठीक तथा उचित ढंगबाट निर्धारित गरेको छ। तर मार्क्सले सो सम्बन्धको एक पक्ष मात्र देख्न सक्नुभएको थियो, अर्थात एउटै मुलुकमा भएपनि, सर्वहारा वर्गको केही हदसम्म स्थायी तथा टिकाऊ विजय भन्दा अघिको अवस्थामा यस सम्बन्धलाई देख्न सक्नु भएको थियो। त्यस अवस्थामा ती दुईबीचको उचित सम्बन्धको आधार यसप्रकारको थियोः सुधार सर्वहारा वर्गको क्रान्तिकारी वर्गसंघर्षको उपफल हो।

एउटै मुलुकमा मात्र भएपनि सर्वहारा वर्गको विजयपछि सुधार र क्रान्तिबीचको सम्बन्धमा एउटा नयाँ कुरा थपिएको छ। सिद्धान्ततः सम्बन्ध पहिलेजस्तै रहेको छ, तर त्यसको रुपमा एउटा परिवर्तन भएको छ र यस परिवर्तनलाई मार्क्सले आफैंले पहिले नै देख्न सक्नुभएको थिएन, तर त्यसलाई मार्क्सवादको दर्शन र राजनीतिको आधारमा मात्र बुझ्न सकिन्छ। सर्वहारा वर्गको विजयपछि (अन्तर्राष्ट्रिय क्षेत्रमा त सुधार क्रान्तिको ‘उपफल’ नै रहेको हुन्छ) विजय प्राप्त गर्ने मुलुकको लागि सुधार एक आवाश्यक र न्यायोचित अवकाशको साधन रहन्छ।

जब अधिकतम प्रयत्न लगाईसकेपछि कुनै संक्रमणलाई क्रान्तिकारी ढंगबाट पूरा गर्नको लागि शक्तिको अभाव हुन्छ, तब यस्तो अवकासको आवश्यक्ता पर्दछ। विजयले जुन ‘जगेडा तागत’ को सिर्जना गरेको हुन्छ, त्यसबाट बाध्य भएर पछि हट्दाखेरि भौतिक र नैतिक बल प्राप्त गर्न र अस्तित्व कायम राख्न सकिन्छ। (लेनिन, संकलित रचनाहरु, भाग २८, पृ. ८४-८५)

मार्क्सवादीहरुप्रति लेनिनको दृष्टिकोण

तिनीहरु जसले वर्गसंघर्ष मात्र बुझेका छन्, तापनि ती मार्क्सवादी होइनन्। ऊ मात्र मार्क्सवाद हो, जसले वर्गसंघर्षको बुझाइलाई सर्वहारा अधिनायकत्वको बुझाइसम्म विस्तार गर्दछ। त्यसले नै मार्क्सवादी र साधारण बुर्जुवाका बीच सबैभन्दा गहन विभेद निर्माण गर्दछ। यही नै मार्क्सवादको बुझाइ र पहिचानको परीक्षण गर्ने कसी हो।

-मार्क्सको दार्शनिक भौतिकवादले नै सर्वहारालाई त्यस वैचारिक दासताबाट मुक्तिका मार्ग देखायो जुन दासता आजसम्म सम्पूर्ण उत्पीडित वर्ग गुम्सिएको थियो।

-मानवजातिले सृजना गरेका सम्पूर्ण ज्ञानभण्डारबाट आफ्नो दिमागलाई समृद्ध पारेर मात्र तपाईं कम्युनिस्ट बन्न सक्नुहुन्छ।

अवसरवादीहरु मजदुरवर्गका शत्रु हुन्। यिनीहरु शान्तिकालमा मजदुर पार्टीभित्र बुर्जुवावर्गको हितार्थ गोप्य रुपमा काम गरिरहेका हुन्छन्। युद्धकालमा चाहिँ यिनीहरु मजदुरहरुको विरुद्ध बुर्जुवासँग खुल्लारुपमा साँठगाँठ गर्दछन्, अन्धराष्ट्रवादी नीति अपनाउँदछन्

लेनिनका दार्शनिक तथा राजनीतिक निष्कर्षहरु

पार्टी संगठन :

-कम्युनिष्टहरु पार्टीको संगठनमा जनवादी केन्द्रीयताको वास्तविक मेल अर्थात केन्द्रीयता र सर्वहारा जनतन्त्रको समिश्रण हुनुपर्दछ।

-कम्युनिष्ट पार्टीको संगठन सर्वहारा क्रान्तिमा कम्युनिष्ट नेतृत्वको संगठन हो।

-कम्युनिष्ट पार्टीहरुको संगठनमा केन्द्रीयताको अर्थ एक यस्तो मजबुत नेतृत्वको संगठन हो, जो युद्धका लागि तयार होस् र साथ साथै आफूलाई हरपरिस्थिति अनुकूल ढाल्न सक्षम होस्।

-कम्युनिष्ट पार्टीले त्यो बेलासम्म आफ्नो कर्तव्य पूरा गर्नेछ, जब त्यो ज्यादै केन्द्रित ढंगले संगठित भएको हुन्छ, जब त्यो सैनिक अनुशासनको समान लौह अनुशासन कायम गर्न समर्थ हुन्छ र जब यसको पार्टी केन्द्र व्यापक अधिकारको प्रयोग गर्दै तथा पार्टीका समस्त सदस्यमा आम विश्वास जगाउदै शक्तिशाली तथा प्राधिकारपूर्ण अंग बनेको हुन्छ।

-हामीलाई यतिखेर चाहिएको संगठन, संगठन र फेरि पनि संगठन। यदि संगठन निर्माण गर्ने कुराको मर्मलाई ठीकसँग पक्रेर अगाडि बढ्यौँ भने चुनौतीका जतिसुकै ठूला पहाडहरु हाम्रा अगाडि खडा भए पनि त्यसलाई पन्छ्याएर हामी अगाडि बढ्न सक्छौँ।

-अत्यन्त विकसित सिद्धान्तद्वारा निर्देशित पार्टीले मात्र अग्रगामी लडाकूको भूमिका पूरा गर्न सक्छ।’

-करोडौं जनसमूहसँग आफ्नो सम्बन्ध बढाउनु र सुदृढ तुल्याउनु नै पार्टीको निरन्तर उद्देश्य हुनुपर्दछ। यसबिना पार्टी हुर्कन र बाँच्न सक्दैन।

-तीव्र गृहयुद्धको योजनामा कम्युनिष्ट पार्टीले आफ्नो कर्तव्य पूरा गर्न त्यतिबेलामात्र सक्षम हुन सक्दछ, जब उसको संगठन पूराका पूरा केन्द्रित हुन्छ। त्यो मित्र सैनिक अनुशासन जस्तै लौह अनुशासन हुन्छ, उसको केन्द्रीय संगठन काफी विस्तृत अधिकार भएको र पार्टीमा सम्पूर्ण सदस्यहरुको विश्वास भएको शक्तिशाली र प्रभावपूर्ण हुन्छ।

-अत्यन्त विकसित सिद्धान्तद्वारा निर्देशित पार्टीले मात्र अग्रगामी लडाकुको भूमिका पूरा गर्न सक्छ।

-पार्टी मजदुरवर्गको एक हिस्सा हो र यसको अग्रगामी चेतनशील शक्ति हो। त्यसबेला मात्र पार्टीले सर्वहारावर्गको सफलतापूर्वक नेतृत्व गर्न सक्तछ, जब यसका सबै सदस्यहरु एकदलमा एकबद्ध भएका हुन्छन्। एउटै कामना कार्य र अनुशासनद्वारा बाँधिएका हुन्छन्, जब पार्टी क्रान्तिकारी सिद्धान्तद्वारा सुसज्जित हुन्छ।

-कम्युनिष्टहरुद्वारा गरिएका सबैभन्दा ठूला खतरनाक त्रुटीहरुमध्ये एक क्रान्तिकारीद्वारा मात्रै पनि एउटा क्रान्ति गर्न सकिन्छ भन्ने विचार हो। त्यसका विपरीत यदि सफल हुनु छ भने सबै गम्भीर क्रान्तिकारी कार्यका लागि के आवाश्यक हुन्छ भने क्रान्तिकारी साँचो अर्थमा पुरुषार्थी र विकसित वर्गका अग्रदूतका भूमिका खेल्न सक्छन् भन्ने विचारलाई हामीले बुझ्नु र कार्यमा रुपान्तरण गर्नुपर्दछ। एउटा अग्रदस्ताले तबमात्र अग्रदस्ताको काम पूरा गर्न सक्छ जब जनतादेखि एक्लिनबाट बच्न सक्छ, नेतृत्व गर्दछ र वास्तविक रुपमा सिंगो जनसमूहलाई अघिल्तिरको नेतृत्व दिन सक्षम हुन्छ।

साम्राज्यवादप्रति लेनिनको संश्लेषण

-साम्राज्यवाद पुँजीवादको एउटा विशेष ऐतिहासिक चरण हो। यसको विशेष चरित्र तीन प्रकारको छ।
साम्राज्यवाद – (१) एकाधिकार पुँजीवाद (२) परजीवी अथवा ह्रासोन्मुख पुँजीवाद (३) मरणशील पुँजीवाद।

– साम्राज्यवादले मानवजातिलाई समाजवादी क्रान्तितर्फ अग्रसर तुल्याउँछ। समाजवादी क्रान्तिलाई वर्तमान अवस्थाको प्राथमिक उद्देश्यको रुपमा अगाडि सार्छ। साम्राज्यवाद समाजवादी क्रान्तिको पूर्वबेला हो।

जनसमुदाय वर्गमा बाँडिएको छ । वर्गहरुको नेतृत्व राजनैतिक पार्टीले गर्दछन्, राजनैतिक पार्टीहरुको सञ्चालन प्रायः तिनका सबभन्दा मान्य, प्रभावशाली एवं अनुभवी सदस्यहरुको धेरै-थोरै स्थायी समूहले गर्दछन्

संशोधनवादका विरुद्ध लेनिनको संघर्ष

– वर्नष्टिन, काउत्की, प्लेखानोभ, मार्तोभ, मार्तीनेभ, माखवादी, आवेनारिउस, युस्केभिच, बोग्दानोभ, बुखारिन, ट्राटस्की आदि संशोधनवादीहरुको मार्क्सवादीको विकृतिकरण विरुद्धको संघर्ष (खासगरि दार्शनिक संशोधनवाद र आनुभविक आलोचनावादका विरुद्धको संघर्ष)

-अवसरवादीहरु मजदुरवर्गका शत्रु हुन्। यिनीहरु शान्तिकालमा मजदुर पार्टीभित्र बुर्जुवावर्गको हितार्थ गोप्य रुपमा काम गरिरहेका हुन्छन्। युद्धकालमा चाहिँ यिनीहरु मजदुरहरुको विरुद्ध बुर्जुवासँग खुल्लारुपमा साँठगाँठ गर्दछन्, अन्धराष्ट्रवादी नीति अपनाउँदछन्।

-नांगो संसोधनवाद, जसप्रति मजदूर जनसाधारणको मनमा तुरुन्तै घृणा पैदा हुन्छ, त्यति भयावह र हानिकारक हुदैन, जती मध्यवर्गको त्यो सिद्धान्त जसले अवसरवादी व्यवहारलाई न्यायसंगत प्रमाणित गर्नको लागि मार्क्सवादी सुत्रहरुको उपयोग गर्दछ र अनेकौं कुकर्महरुको साहायताबाट क्रान्तिकारी कार्बाही असामहिक छ भन्ने कुरा सिद्द गर्ने प्रयत्न गर्दछ, आदि। यो सिद्धान्तका सबैभन्दा कुख्यात प्रवक्ता र साथै दोस्रो ईन्टरनेस्नलका कुख्यात अधिकारी काउत्स्कीले आफूलाई परपपाखण्डी तथा मार्क्सवादसित अनाचार गर्ने कलामा साटिएको व्यक्ति सिद्द गरेका छन्।

नेता/नेतृत्व :

नेता/नेतृत्वको सम्बन्धमा लेनिनको संश्लेषण यस प्रकार रहेको छ :

-जनसमुदाय वर्गमा बाँडिएको छ । वर्गहरुको नेतृत्व राजनैतिक पार्टीले गर्दछन्, राजनैतिक पार्टीहरुको सञ्चालन प्रायः तिनका सबभन्दा मान्य, प्रभावशाली एवं अनुभवी सदस्यहरुको धेरै-थोरै स्थायी समूहले गर्दछन्, जसलाई पार्टीको सबभन्दा जिम्मेवार पदमा चुनिन्छ, त्यसलाई नेता भनिन्छ। (वामपंन्थी साम्यवादः एक बाल रोग, दश खण्डमा ९ बाट, हिन्दी अनुवाद, पृ. २७४, अप्रिल- मे १९२०)।

-सम्पूर्ण संसारभरि नै पूर्ण मुक्तिको लागि जटिल तथा अथक संघर्ष गरिरहेका मजदूरवर्गको निम्ति नेताहरुको आवश्यकता पर्छ। (दर्शनशास्त्रको प्रारम्भिक ज्ञान, नेपाली अनुवाद, पृ. २८६ )

-प्रतिभाशाली नेताहरुको अभावमा (प्रतिभाशाली नेताहरुको संख्या सय करोडौंको संख्यामा पैदा हुदैन, जसलाई कामको पूरै प्रशिक्षा मिलेको होस्, जसले लामो समयसम्म अनुभव प्राप्त गरेको होस् र जुन पूर्ण सहयोग तथा सामान्जस्यका साथ काम गर्दछन्) आधुनिक समाजमा कुनै पनि वर्गले दृढताका साथ संघर्ष गर्न सक्दैन।

साहित्य सर्वहारावर्गको साझा हितको एउटा अंग बन्नुपर्छ, समग्र मजदूर वर्गको समग्र वर्गसमेत अग्रदस्ताद्वारा सञ्चालित अभिन्न, महान् सामाजिक-जनवादी मेशिनको ‘दाँती र पेच’ बन्नुपर्छ

राजनीति/विचारधारा :

-साम्राज्यवादले मानवजातिलाई समाजवादी क्रान्ति तर्फ अग्रसर तुल्याउँछ। समाजवादी क्रान्तिलाई वर्तमान अवस्थाको प्राथमिक उद्देश्यको रुपमा अगाडि सार्छ। साम्राज्यवाद समाजवादी क्रान्तिको पूर्ववेला हो।

-विद्रोहसँग कहिल्यै खेलवाड नगर्नुस, तर यसलाई शुरु गर्दा यो कुरा पनि राम्रोसँग बुझ्नुस, तपाई अन्तिमसम्म जानै पर्ने हुन्छ।

-साम्राज्यवाद पुँजीवादको एउटा विशेष ऐतिहासिक चरण हो। यस विशेष चरित्र ३ प्रकारको छ : साम्राज्यवाद १) एकाधिकार पुँजीवाद २) परजीवी अथवा ह्रासोन्मुख पुँजीवाद ३) मरणशील पुजीवाद।

राज्य/क्रान्ति :

राज्य र क्रान्ति बारे लेनिनको विश्लेषण यस प्रकार छ :

-प्रत्येक क्रान्तिको आधारभूत प्रश्न राज्यसत्ताको प्रश्न हो। यो प्रश्नलाई बुझिएन भने क्रान्तिमा बुद्धिमतापूर्ण सहभागिता हुन सक्दैन, क्रान्तिको अगुवाई गर्ने त झन कुरै छोडौं।

-क्रान्ति विज्ञान हो, विद्रोह कला हो।

-राजनीतिक सत्ताको सवाल नै कुनै पनि क्रान्तिको महत्वपूर्ण सवाल हो।

-शोषक र शोषित दुवैलाई प्रभाव पार्ने राष्ट्रव्यापी संकटविना क्रान्ति असंभव छ, आदि।

-सिद्धान्ततः एउटा वर्गबाट अर्कोमा राज्यसत्ता जानु क्रान्तिको पहिलो प्रधान र आधारभूत लक्षण हो।

साहित्य कलाका सम्बन्धमा :

-समाजवादी सर्वहारावर्गको लागि साहित्य ब्यक्ति अथवा दलहरुको फाइदाको साधन हुन सक्तैनः आम रुपमा यो सर्वहारावर्गको साझा हेतुबाट स्वाधिन ब्यक्तिगत हुन सक्तैन। साहित्य सर्वहारावर्गको साझा हितको एउटा अंग बन्नुपर्छ, समग्र मजदूर वर्गको समग्र वर्गसमेत अग्रदस्ताद्वारा सञ्चालित अभिन्न, महान् सामाजिक-जनवादी मेशिनको ‘दाँती र पेच’ बन्नुपर्छ। साहित्य सामाजिक जनवादी पार्टीको संगठित, योजनाबद्ध र समेकित कामको उत्पादन बन्नुपर्छ। (पार्टी संगठन र पार्टी साहित्य- लेनिन, संकलित रचना संग्रह, दश खण्ड, खण्ड ३, पृष्ठ २२४, सन् १९०५)

दर्शनशास्त्रमा लेनिनको योगदान के छ ? को दोस्रो भाग

भर्खर

0