जनमत संग्रहलाई ठूलो विषय बनाउनु पर्ने आवश्यकता छैन- डा.सीके राउत (अन्तर्वार्ता) | Khabarhub Khabarhub

जनमत संग्रहलाई ठूलो विषय बनाउनु पर्ने आवश्यकता छैन- डा.सीके राउत (अन्तर्वार्ता)


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 9 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विखण्डनवादको नारा लगाउँदै आएका डा. सीके राउत सरकारसँगको ११ बुँदे सम्झौतापछि थप चर्चामा छन् । स्वराजको माग छोड्दै राष्ट्रिय राजनीतिमा आएका राउतले नेतृत्व गरेको जनमत पार्टी औपचारिक रुपमा निर्वाचन आयोगमा समेत दर्ता भएको छ ।

सरकारसँगको सम्झौतापछि मूलधारको राजनीतिमा आएका डा. राउत नेपालको राजनीतिमा के गर्न प्रयत्न गर्दैछन्, भन्ने प्रश्न यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चासोको विषय बनेको छ ।

डा. राउत र उनको दलसँग सरकारले गरेको सम्झौताको विषयलाई विशेष गरी मधेस केन्द्रीत दलहरुबाट निक्कै आलोचनात्मक अभिव्यक्ति नै सार्वजनिक भयो । डा. राउतको राजनीतिक उदय र उनको सुरक्षित अवतरणलाई मधेस केन्द्रीत दलका अगुवाले अझै पनि शंकाको दृष्टिले हेर्ने गरेका छन् । उनै राउतसँग हामीले राष्ट्रिय राजनीति, सरकारसँग गरिएको सम्झौता र आगामी दिनका योजनाबारे कुराकानी गरेका छौं । प्रस्तुत छ डा. राउतसँग गरिएको कुराकानीको सम्पादित अंश–

तपाईं क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधी गरेको र कम्प्युटर वैज्ञानिकको रुपमा अमेरिका जस्तो समृद्ध मुलुकमा काम गरेको व्यक्ति अकस्मात नेपाल फर्कनु भयो र मधेस देशको मुद्दा उठाउनु भयो । अहिले तपाईं आफैले उठान गरेको मुद्दा छाडेर मूलधारको राजनीतिमा आउनु भएको छ । यी घटनाक्रमलाई हेर्दा तपाईंमाथि विभिन्न शक्ति र व्यक्तिसँगको सामिप्यता रहेको आरोप छ नि ?

तपाईंले मलाई क्याम्ब्रिज विश्वविद्यालयसँग जोडेर व्याख्या गर्नुभयो । तर, म त्योभन्दा पनि अगाडिको पृष्ठभूमिलाई जोड्न चाहन्छु । म कुनै सम्पन्न परिवार र विदेशमा जन्मिएको व्यक्ति होइन । मेरो घर सप्तरी जिल्लाको महादेवा गाउँमा पर्छ । उक्त गाउँ अहिले पनि विकासको दृष्टिले पछि परेको छ । पछिल्लो निर्वाचनमा गाउँमा कुनै पनि विकासको गतिविधि नभएको भन्दै त्यहाँका जनताले शून्य मतदान पनि गरेका थिए । म त्यहीँ जन्मिएको व्यक्ति हुँ । मैले त्यहीँ गाउँमा प्राथमिक शिक्षा लिएको हुँ । माध्यमिक शिक्षा भने नजिकैको गाउँबाट पूरा गरेँ ।

त्यसपछि भने मैले ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट डिप्लोमा इन इन्जिनियरिङ र ब्याचलर इन इन्जिनियरिङ गरेको हुँ । यसक्रममा मैले त्यहाँ सात वर्ष अध्ययनमा व्यथित गरेँ । पढाइपछि मैले केन्द्रीय विभागमा एक वर्ष काम पनि गरेँ । त्यसपछि भने म जापान गएँ र, क्याम्ब्रिज विश्वविद्यालय हुँदै अमेरिका पुगेको हुँ । मैले यहाँ यी सबै कुरा किन बताइरहेको छु भने सबैले मेरो पछिल्लो राजनीतिक जीवनलाई मात्रै हेरिरहेका छन् । सबैले मेरो पछिल्लो अवस्थालाई हेरिरहँदा मेरो अगाडिको पृष्ठभूमि यहाँ राख्न उचित ठानेको हुँ ।

यसैलाई हेरेर सबैले आफ्नो अवधारणा बनाइरहेका छन् । जुन हामीले मधेसको मुद्दा उठायौँ, त्यो मुद्दा म अमेरिकाबाट फर्केर आएपछि अकस्मात उठाइएको होइन । त्यसका यथेष्ट प्रमाणहरु छन् ।

म पुल्चोक क्याम्पसमा अध्ययन गर्दाखेरी नै हाम्रो एउटा समूह थियो । जुन कुरा मैले मेरो आत्मकथामा पनि लेखिसकेको छु । मैले अहिले बनाएको कुरा होइन । जति बेला भारतीय कलाकार ऋतिक रोशन काण्ड भयो, त्यस बेला म काठमाडौंमै थिएँ । उक्त काण्डले ममाथि धेरै प्रभाव पार्‍यो । त्यसपछि हामीले एउटा समूह बनाएर, मधेसमाथि किन यस्तो व्यवहार भयो ?, हाम्रो ऐतिहासिक पृष्ठभूमि के हो ? भनेर अध्ययन–अनुसन्धान गर्‍यौँ । र, त्यही समयदेखि हामीले यो मुद्दालाई उठाएका हौँ ।

म विदेश जानुभन्दा अगाडिदेखि नै अध्ययन–अनुसन्धान गर्ने र किताब लेख्ने काम भएको थियो । त्यसपछि हाम्रो समूहका साथीहरु विभिन्न देश गए, कोही स्वदेशमै बसे । तर पनि हामीले आ–आफ्नो तर्फबाट केही न केही काम गरिनै रहेका थियौँ ।

जापान जाँदा पनि हामीले हाम्रो कामलाई अगाडि बढाइनै रहेका थियौँ । त्यसपछि क्याम्ब्रिज पुगेपछि भने हामीले एलायन्स फर राइट्स एण्ड इन्डिपेन्डेन्टस् अफ मधेस एरिन भनेर स्थापना गर्‍यौँ । यो त्यति बेलाको कुरा हो जति बेला मधेस आन्दोलन पनि शुरु भएको थिएन ।

‘स्वतन्त्र मधेस’ भन्ने सोच तपाईंमा के कारण जन्मियो ?

ऋतिक रोशन काण्ड पश्चात जुन घटना भयो, त्यसबाट हाम्रो राष्ट्रियतामाथि सवाल उठ्यो । आखिर हामीले के गर्‍यौँ ? अथवा हामी यसै देशका नागरिक भएको भए हामीमाथि किन प्रश्न उठ्यो त ? त्यही सवालले नै आफ्नो इतिहास खोज्न बाध्य बनायो । त्यतिबेलै हामी एउटा निष्कर्षमा पुग्यौँ, स्वतन्त्रताबाहेक अरु कुनै विकल्प हुँदैन कि ? त्यसबेलाको हाम्रो विश्लेषणबाट नै यो अवधारणा आइसकेको थियो । हामी त्यसबेला विदेश पनि गएका थिएनौँ । त्यसका लिखित प्रमाणहरु अहिले पनि छन् ।

अर्को कुरा क्याम्ब्रिजमा अध्ययनका क्रममा कुन पृष्ठभूमिमा एरिन खोलिएको थियो भने उक्त समयमा मधेस आन्दोलन पनि शुरु भएको थिएन । तर, नेपालगञ्जमा दुई समुदायबीच भिडन्त भएको थियो । त्यतिबेला म अलिक अध्यात्मिक पनि थिएँ । गेरु वस्त्र धारण गरेर योगी बनेर हिँड्थेँ । तर, पनि ममा संकोच भने भित्र भित्रै थियो । कसरी म आफुलाई मधेसी भनौँ, मधेसमा मात्रै कसरी संकिर्ण भएर बसौँ भन्ने लागिरहेको थियो । कसैले यो समस्या समाधान गरिदिओस् भन्ने पनि लागिरहन्थ्यो । त्यही भएर त्यतिबेलासम्म खुलेर बाहिर आएको थिइनँ । कसैले समाधान गर्ला कि, अब परिस्थिति ठीक होला कि भन्ने भइरहन्थ्यो ।

क्याम्ब्रिज विश्वविद्यालयमा रहेको उक्त समयमा मधेस आन्दोलन शुरु हुनुभन्दा केही समय अगाडि मात्रै एरिन गठन गरी प्रेस विज्ञप्ति नै जारी गरेका थियौँ । उक्त दस्तावेज अहिले पनि छ । त्यसैले अकस्मात अमेरिकाबाट आएर स्वतन्त्र मधेसको मुद्दा उठायो भन्ने कुरा सत्य होइन । यो जानकारीको अभावमात्र भएको हो ।

तपाईं अमेरिकामा जागिरको शिलशिलामा त्यहाँको रक्षा मन्त्रीसँग सम्बन्धित भएर काम गरेको, अब्बल दर्जाको कम्प्युटर वैज्ञानिक, सेवा सुविधा पनि राम्रो हुँदाहुँदै नेपाल किन फर्कनु भयो भनेर औँलो ठढ्याएको स्थिति छ नि ?

मैले यहाँ पृष्ठभूमि राखिसकेपछि औँला उठाउने ठाउँनै रहँदैन । किन भने म विदेश जाुन भन्दा अगाडि नै यो एजेण्डा आइसकेको थियो । यहाँकै लागि केही गर्छु भनेर त्यो मनोभाव बनिसकेको थियो । त्यसैले म विदेश जानु र एजेण्डालाई त्यसरी जोड्नै मिल्दैन, जुन कुरा ऐतिहासिक दस्तावेजले प्रष्ट देखाउँछ । त्यो कालखण्डमा पढाइ तथा खोज अनुसन्धानको क्रममा अमेरिकासँग पुगेँको हुँ । तर, त्यही समयमा किन ट्रिगर भएन त भन्ने प्रश्न चाहिँ उठ्छ । पाँच वर्ष अगाडि र पाँच वर्ष पछाडिको कुरा फरक हुन सक्छ ।

त्यसको कारण के हो भने, अमेरिकामा पढाइ सकेपछि जागिर खाएँ । आफ्नो आर्थिक अवस्थामा पनि सुधार भयो । त्यसपछि केही गरौँ भन्ने लाग्यो र, म अमेरिकाबाट स्वदेश फर्किएँ । त्यसको ट्रिगर पोइन्ट के थियो भने, नेपालबाट केही मधेसी नेताहरु बोस्टन गएका थिए । उहाँहरुसँग मेरो भेट भयो । उहाँहरुको अभिव्यक्ति सुन्दा म आफै अचम्मित भएँ । मैले कुराकानीको क्रममा मधेसको केही तथ्यांक प्रस्तुत गर्दै मधेस पिछडिएको कुरा राखेको थिएँ । उक्त भेटमा एक दुई जना विद्वन नेता पनि हुनुहुन्थ्यो । उहाँहरुले मलाई अहिले मधेस त्यस्तो पिछडिएको छैन, मधेस त विकसित भइसक्यो भन्नु भयो । उक्त अभिव्यक्तिले मेरो मनलाई एकदमै हिर्कायो ।

त्यस्तै, उहाँहरुले मधेस पछाडि पर्नुमा मधेसी जनताहरु नै जिम्मेवार छन् भनेर अभिव्यक्ति दिनुभयो ।

यी दुई अभिव्यक्तिले मलाई अत्यन्तै हिट गर्‍यो । त्यसबेला मैले नेपाल छाडेको ८ वर्ष जति भइसकेको थियो । मधेसी नेताहरुको कुरा सुनेपछि मलाई पनि साच्चै नै मधेस विकसित भइसके छ भन्ने लाग्यो । मेचीदेखि महाकालीसम्म नपुगेको भएकाले आफ्नो गाउँमात्रै पछाडि परेको हो कि भन्ने ठानेर उहाँहरुको कुरालाई पत्याएँ ।

त्यसको एक महिनापछि नै म नेपाल फर्किएँ । र, मेचीदेखि महाकालीसम्मको यात्रा गरेँ । उक्त यात्राको क्रममा मैले ‘ब्लाक बुद्धाज्’ नामको वृत्तचित्र पनि निमार्ण गरेँ । व्यवसायिक हिसाबमा म कुनै वृत्तचित्र निमार्ता होइन तर पनि जे वास्तविकता देखेँ भिडियोमा कैद गरेँ । ममा अरु मान्छेसँग खुलेर बोल्ने, संवाद गर्ने बानी थिएन । मिडियामा आएर बोल्न असहज लाग्थ्यो । तर, पनि मैले गाउँ-गाउँ गएर त्यहाँका महिला, गरिब तथा विभिन्न समुदायका व्यक्तिहरुसँग कुराकानी गरेँ । गाउँ-गाउँ जाँदा विभेद र दुःखको चरम रुप देखियो ।

म सूदुरपश्चिम महाकाली नदीको सीमानासम्म पुगेँ । त्यहाँ पुग्दा एउटा घटनाले अत्यन्तै मन छोयो । महाकाली नदीकै कारण त्यसको आसपास बस्ने विस्थापित बनेका थारु, आदिबासीलगायत अरु समुदायले भोगेको दुःखलाई देखेर अत्यन्तै मनमा पीडा बोध भयो । उनीहरु नदी किनार, सडक छेऊमा झुप्रो हालेर बसेका थिए । हामी त्यहाँ पुग्दा उनीहरुले हाम्रो गोडा नै ढोक्न आएका थिए । अलिकति भएपनि जमिन र खान बस्नका लागि व्यवस्था गरिदिन भन्दै बिन्ती चढाउँदाको दृष्यले निक्कै भावुक बनायो ।

म कुनै राजनीतिक नेता थिइनँ, राजनीतिक पदमा बसेको व्यक्ति पनि होइन, न त सरकारी कर्मचारी नै थिएँ । त्यत्तिकै हेर्नका लागि त्यहाँ पुगेको ममाथि उनीहरुले त्यत्रो ठूलो आशा देखे । मेरो गाउँको मान्छेले मलाई यस्तो रुपमा हेरेको थिएन, हेरे पनि फरक कुरा होला । तर मेरो घर भन्दा सयौँ किलोमिटर दूरीका मान्छे, न त उनीहरुसँग मेरो कुनै नाता सम्बन्ध नै थियो । त्यस्तो ठाउँका मान्छेले ममाथि आशा देख्नु के हो त ? लाग्यो, अमेरिका जस्तो विकसित देशमा बसेर मैले के गरिरहेको छु ? म अमेरिकामा बसे पनि यहाँ त यत्रो भोकमरी र दुःख रहेछ । राजनीतिक अधिकार नपाएर जनता छट्पटाई रहेका रहेछन् भन्ने कुराले मलाई एकदमै पिर्‍यो ।

यात्राकै क्रममा त्यतिबेलै मैले साथीहरुलाई आफू अमेरिकाबाट फर्किने कुरा राखेको थिएँ । नेपालमा जे जति गर्न सके पनि गर्ने र त्यसले आफुलाई सामाजिक दायित्व निर्वाह गर्ने अवसर मिल्ने निष्कर्षमा पुगेँ । कम्तिमा आफ्नो मातृभूमिका लागि यति गरेको खण्डमा आफुले आफैलाई दोषी त ठान्नु पर्दैन भन्ने लाग्यो ।

यो कुरा यस्तो समयमा आएको थियो जुन समयमा मसँग कुनै राजनीतिक अनुभव थिएन । नेतृत्व लिन सक्ने क्षमताको पनि विकास भएको थिएन । तर, पनि मैले जोखिम उठाउने साहस गरेँ ।

मैले यो निणर्य लिइसकेपछि पुनः अमेरिका गएँ र, यात्राको क्रममा खिचिएका भिडियोलाई मिलाएर वृत्तचित्र तयार गरेँ । केही मात्रामा भएपनि विश्वले यहाँको वास्तविक चित्र देखुन् भन्ने उद्देश्यले वृत्तचित्र निर्माण गरेको हुँ ।

त्यसपछि भने मैले नेपाल फर्किने तयारी गरेँ । तर, म तत्काल फर्कन सकिन । किन भने म अमेरिकाको रक्षा मामिला क्षेत्रमा वरिष्ठ वैज्ञानिकको रुपमा कार्यरत थिएँ । यसका साथै आउन लागेको नयाँ प्रोजेक्ट मेरै नेतृत्वमा सम्पन्न गर्नु पर्ने जिम्मेवारी पनि थियो । त्यसैले तत्काल नेपाल फर्कन सम्भव थिएन । तर, पनि मैले उक्त प्रोजेक्टबाट आफुलाई बाहिर राखिदिन आग्रह गरेँ । भन्ने बित्तिकै बाहिरिन नपाए पनि एक वर्ष जति उक्त प्रोजेक्टमा काम गरेर म नेपाल फर्किएँ ।

नेपाल फर्केपछि पनि मैले काठमाडौं अथवा विदेश र छिमेकी भूमिमा बसेर राजनीति गरिनँ । जुन जनताको आवाज उठाउनु पर्ने हो उहाँहरुसँगै बसेर मैले राजनीति अगाडि बढाएको छु ।

तपाईं स्वतन्त्र मधेसको अभियान बोकेर अगाडि बढ्नु भएको थियो, तर एकाएक सरकारसँग सम्झौता भयो, कसरी यति ठूलो परिवर्तन सम्भव भयो ?

अलग देशको माग भयो भने धेरै चर्चा भयो तर किन यसको माग भयो भनेर कसैले चासो राखेनन् । त्यो किन मागियो भनेर नागरिक समाज, वुद्धिजीवि वर्ग तथा सञ्चार क्षेत्रले पनि खोजी गरेनन् । राजनीतिक शास्त्रको सिद्धान्तमा राज्य आफैमा चाहिँ साध्य होइन । राज्य एउटा साधन मात्रै हो । हामीले यहाँ विभेद देख्यौँ, विकासमा समानता देखेनौँ ।

त्यसैले त्यसको समाधानका लागि एउटा विकल्पको रुपमा अलग राज्यकै माग गर्नु पर्ने हो कि भनेर प्रस्तावना मात्रै आएको हो । सन् २००१ मा भएको ऋतिक रोशन काण्डको समयमा हामीलाई लागेको एजेण्डा उठाएका थियौँ । तर, वर्षौंपछि पनि त्यही परिस्थिति रहन्छ भन्ने हुन्न । केही वर्ष अगाडि एउटा बिरामको औषधि खाइरहेको व्यक्तिले पछि उक्त बिराम निको भइसकेको अवस्था र अर्को बिरामदेखिएको अवस्थामा फेरि पनि पहिले खाएको औषधि नै खान्छु भन्नु उचित होइन ।

म के भन्न चाहन्छु भने हामीले बाटो परिवर्तन गरेका होइनौँ, हामी पछि हटेको पनि होइन । हामी अग्रगामी दिशामा अघि बढेका हौँ ।

सामाजिक कार्यमा संलग्न हुँदा पनि हाम्रा युवाहरु पक्राउ परेका थिए । तर, अहिले त्यो अवस्था छैन । कसैले भूमिगत हुन परेको छैन । सबै गतिविधि गर्न खुला भएको छ । यसको लागि चाहिँ नेपाल सरकार वास्तवमै धन्यवादको पात्र बनेको छ । हामीले नेपाल सरकारसँग सम्झौता गरेका हौँ । कुनै नेता विशेषसँग गरेका होइनौँ ।

नेपाल सरकारसँग तपाईंहरुले गर्नुभएको सम्झौतालाई कतिपयले आत्मसमर्पण भन्ने गरेका छन् होइन ?

अन्तिम लक्ष्य के हो भन्ने कुरा मिडियाले भनेको भन्दा पनि राजनीति शास्त्रको सिद्धान्तलाई बुझ्न आवश्यक छ । र, यहाँ आत्मसमर्पण गरेको हो भन्ने कुरा विल्कुलै होइन । सुख, समृद्धि र विभेदरहित समाजको हामीले कल्पना गरेका हौँ । र, त्यो अगाडिको दिशातर्फ बढेको छ । बीचमा आउने साधनको कुरा भन्दा पनि अन्तिम लक्ष्यका विषयमा केन्द्रीत हुने हो भने यहाँ आत्मसर्मण र सम्झौता केही पनि भएको होइन ।
यसमा जनता र राज्य पक्ष दुवैको विजय भएको छ । दुवै पक्ष विन विनको अवस्थामा पुगेको छ ।

मधेस केन्द्रीत दलका नेतृत्व पंतिले आफूहरुलाई साइजमा ल्याउनका लागि सरकारले खेलेको खेल सीके राउतसँगको सम्झौता भन्ने गरेका छन्, के भन्नु हुन्छ ?

यो सम्झौताबाट केही पक्ष घाटा हुने देखेर अत्तालिएका मात्र हुन् । तर, यसबाट जनता कति खुशी छन् भन्ने कुरा म जनकपुरलगायत विभिन्न स्थामा पुग्दा जनताको सहभागिताले पुष्टी गरिसकेको छ । काठमाडौंमा बसेर पहुँचका भरमा मिडियामा प्रचारबाजी गर्नेहरुले मात्रै त्यस्तो आरोप लगाएका हुन् । यसले पहाडी क्षेत्रमा पनि आशा जगाएको छ ।

तपाईंले उठान गर्नु भएको मुद्दा यो सरकार अथवा व्यवस्थाबाट सम्बोधन हुन्छ भन्ने कुरामा विश्वस्त हुनुहुन्छ ?

अहिलेको सरकार दुई तिहाइको सरकार हो । यो सरकारले चाहेको निर्णय लिन सक्ने हैसियत छ । यति बलियो सरकार नभएको भए सायद यो सम्झौता हुन्थ्यो भन्ने लाग्दैन । यसको कारण प्रधानमन्त्रीज्यूको सक्रियता र दूरदृष्टि पनि हो ।

त्यसैले यो सरकारबाट आशा गर्ने प्रसस्त ठाउँ छन् । आशा छ, यो सरकारले मधेसको माग सम्बोधन गर्छ । बाँकी कुरा आगामी दिनले निर्धारण गर्ला । हाम्रो माग भन्दा पनि यो मुद्दा उदयको कारणहरुको सम्बोधन गर्छ भन्ने आशा छ ।

तपाईं र तपाईंका समर्थकमाथि थुप्रै मुद्दा लागेका छन्, ति मुद्दा के हुन्छन् ?

ति मुद्दा विशुद्ध राजनीतिक हुन् । हाम्रा कार्यकर्ताले कतै पनि एउटासम्म ढुंगा हानेको मुद्दा छैनन् । राजनीतिक रुपमा दिइएको अभिव्यक्तिलाई लिएर नै सबै मुद्दा लगाइएका छन् । राज्य विरुद्धका मुद्दा ममाथि १३–१४ वटा लगाइएका छन् । तर, ति मुद्दा फिर्ता लिनका लागि राज्यलाई कुनै गाह्रो छैन । कुनै क्षतिको मुद्दा पनि होइन । त्यसैले ति मुद्दा फिर्ता हुन्छन्, यसमा कुनै अप्ठ्यारो देख्दिँन ।

तपाईंले मधेस केन्द्रीत दललाई लक्षित गरेर राजनीतिक अभियान चलाइरहनु भएको छ भन्ने आरोप छ नि ?

स्वभाविक रुपमा म जनकपुरमा बस्छु । जनकपुर प्रदेश नम्बर २ को अस्थायी राजधानी हो । आफु बस्ने घर तथा क्षेत्रका विषयमा सबै मानिस बढी चिन्तित हुन्छन् । म बस्ने प्रदेश र उक्त प्रदेशको सरकार तथा राजनीतिक दलका गतिविधिमाथि आँखा जानुलाई स्वभाविक रुपमा लिनु पर्छ ।

मुलुकमा सात प्रदेश रहे पनि सबैको आँखा प्रदेश २ माथि केन्द्रीत छ । उसले कसरी संघीयतालाई कार्यान्वयन गरिरहेको छ भन्ने विषयमा सबैको चासो छ । अधिकार पाएर मात्रै हुँदैन, त्यसलाई कसरी कार्यान्वयन गर्दैछ भन्ने विषयले महत्व राख्छ । त्यसैले हामी जत्तिको व्यक्तिले आफ्नो प्रदेश सरकार र राजनीतिक दलले गरिरहेको काम कारबाहीमाथि प्रतिक्रिया जनाउन सकेन भने कसले गर्ने ? त्यसैले पनि ममाथि यस्तो आरोप लागेको हुनसक्छ । हामी राजनीतिक अभिष्ट पूरा गर्न मात्रै आएका होइनौँ, त्यसैले हाम्रो चासो रहिरन्छ ।

मधेस केन्द्रीत दललाई छिमेकीसँगको सामिप्यतासँग पनि जोडेर हेर्ने गरिन्छ, तपाईंलाई के लाग्छ ?

यसमा ओरिजिनसँग पनि जोडेर हेर्नु पर्छ । त्यो हेर्दा अधिकांश नेताहरु व्यवसायिकताको लागि राजनीतिमा आएको देखिन्छ । कोही पारिवारिक पृष्ठभूमिका लागि आएका छन् भने कोही लामो राजनीतिक जीवनपछि शक्तिमा पुग्ने अभिलाषामा केन्द्रीत भएको देखिन्छ । त्यसैअनुसारको उनीहरुको रणनीति रहेको हुन्छ । हाम्रो सन्दर्भको कुरा गर्ने हो भने हामीलाई जसरी पनि राजनीतिमा अडिनु पर्छ भन्ने छैन । हामी कुनै शक्तिको चाहनामा भएका होइनौँ, हामी जनताको चाहना पूरा गर्न र सामाजिक दायित्व बहन गर्न मात्रै आएका हौँ ।

तर उनीहरुमा व्यवसायिकताको विषय जोडिएको हुँदा कसरी शक्तिमा पुग्ने र सत्ता हत्याउने अभिष्ट मात्रै देखिन्छ ।

तपाईंको स्वतन्त्र मधेसको अभियान अब अन्त्य भएको हो ?

हाम्रो लक्ष्य भनेको समृद्ध मधेस, सुखी जनता हुनु हो । त्यसका लागि हामी राजनीतिक मूलधारमा आएका छौँ । यो टुल्सलाई प्रयोग गरे जनता सुखी हुने र विभिदरहित समाज बनाउने कुरामा सफल हुन्छौँ भन्ने विश्वास छ ।

अनि, जनमत संग्रहको विषय चाहिँ ?

यो विषयलाई त्यस्तो ठूलो विषय बनाउनु पर्ने आवश्यक ठान्दिनँ । हामी कहाँ जनताको सार्वभौमसत्ता रहेको हुँदा त्यो विषयलाई जनताले निर्धारण गर्ने हो । के चाहियो, के चाहिँएन त्यो जनताले निर्धारण गर्ने कुरा हो । यो विषयमा मुलुकको संविधानसम्मत व्यवस्थाअनुसार नै हुने छ । यो विषयलाई त्यस्तो ठूलो मान्न आवश्यक छैन । जनताको माग सकारात्मक दिशामा अगाडि बढ्यो भने मैले हस्तक्षेप गरिरहनुको कुनै अर्थ रहँदैन । माग पूरा भएन भने जनता आफैले के गर्ने भन्ने कुराको निर्धारण गर्नेछन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ९ : ५९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ