फलफूललाई ‘पागल’ नबनाऔं, ‘ट्याबलेट’ होइन दालभात खाँउ–प्रधानमन्त्री ओली (भिडियोसहित) « Khabarhub
Logo
२ आश्विन २०७८, शनिबार

फलफूललाई ‘पागल’ नबनाऔं, ‘ट्याबलेट’ होइन दालभात खाँउ–प्रधानमन्त्री ओली (भिडियोसहित)



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले खाद्यान्न, फलफूल र तरकारीमा विषादीको प्रयोगबाट बच्न सके देशले आर्थिक फाइदा लिन सक्ने बताएका छन् ।

६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देश विकास हुनुपर्ने र पूर्वाधारहरु बन्नु पर्नेमा जोड दिँदै स्वस्थ खानेकुरा खान पाउनुपर्ने बताए ।

पेट भर्नाका लागि भन्दा पनि स्वस्थ हुनका लागि खानुपर्ने प्रधानमन्त्री भनाइ थियो ।

‘जस्तो भएपनि खान पाउनु पर्‍यो होइन । स्वस्थ खानेकुरा खान पाउनु पर्‍यो । खाद्यान्न,सब्जी फलफूल सबै चिज स्वस्थ हुनुपर्‍यो ’ प्रधानमन्त्री ओलीले भने,‘त्यसकारण हामीले अर्गानिक त्यसमा आधुनिकीकरण त्यसमा विकास भनेका हौं । जो पौष्टिकता हो, जो तत्व हो, जो प्रकृतिले दिएको हो त्यो कायम राखेर त्यसलाई खान पाउनु पर्‍यो, त्यसलाई खतम पारेर होइन ।’

खानामा विषादी प्रयोग भएको रहेछ भने त्यसले बिरामी बढाउने र उत्पादनले पनि मूल्य नपाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘हामीले स्वस्थ खानेकुरा पेट भर्नका लागि, अनेक खालका बिमारी बढाउने खालको होइन । बिमारी नबढाउने, त्यसको मूल्य नेपाली बजारमा र अन्तर्राष्ट्रिय बजारमा धेरै पाउन सक्छौं ।’

विषादी प्रयोग गरेर तरकारी वा फलफूललाई ठूलो बनाउनुभन्दा त्यसलाई प्राकृतिक रुपमा छोड्दा नै धेरै मूल्य पाइने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘ठूलो पारेर जे मूल्य पाउने हो त्यो सानो हुँदा पाउन सक्छौं । हामी भन्न सक्छौं यो तिम्रो देशमा जस्तो ‘पागल’ बनाएको फलफूल होइन ।’ प्रधानमन्त्री ओलीले भने,‘यो सद्धे फलफूल हो, यसलाई आफ्नो उमेर थाहा छ, साइज थाहा छ, आफ्नो आकार थाहा छ बिर्सिएको छैन । आफूभित्रको अन्तर्निहीत गुण थाहा छ, त्यो हामीले प्याकेटमा लेखिदिए हुन्छ, यो स्वस्थ छ भनेर ।’

कृषि मानिसको स्वास्थ्य र जीवनसँग सम्बन्धित रहेको भन्दै प्रधानमन्त्री ओलीले यसको अर्थ मानिसको दिमागसँग सम्बन्धि हुने बताए । यो विभिन्न रोगसँग लाग्न नदिने विषयसँग सम्बन्धित भएको प्रधानमन्त्रीको भनाइ थियो ।

खानपान र औषधिबारे प्रधानमन्त्रीको भनाइ

हामीले औषधिको रुपमा कहिलेकाही ज्वरो आउँदा बेसार पानी, के के खाने चलन हुन्छ । अर्थात् खाने औषधि त खानुपर्दो रहेछ । लसुन औषधि हो, अदुवा, बेसार औषधि हो । त्यो मात्र होइन, दाल पनि औषधि हो, भात पनि औषधि हो, तरकारी पनि औषधि हो । सबैभन्दा ठूलो औषधि त दालभात तरकारी हो । त्यसकारण त्यही चाहिँ खराब छ भने अर्को एक ट्याब्लेट औषधि खाएर कहाँ हुन्छ ?

एक थाल भात चाहिँ विषादी युक्त खाने, विषादी युक्त दाल, भात, तरकारी टन्न खाएर अनि एउटा ट्याब्लेट औषधि भनेर खाएर हुँदैन । सबै खानेकुराहरु जीवन बाँच्नका लागि औषधि हो । औषधि मध्ये कुनै चिज कमी भयो भने खानेकुराबाट त्यो चिज पूरा गर्न सकिन्छ । हामीले खानालाई सन्तुलित बनायौं भने धेरै समस्या समाधान हुन्छ । यसलाई व्यवस्थित सहकारीले गर्न सक्छ ।

हामी खानाको स्वच्छतामा जानुपर्छ । हामी हाम्रा भान्साहरुमा विष थुपार्ने काम गर्दैनौं । खेतीहरुमा विष उमार्ने काम गर्दैनौं, अन्नवालीमा विष फलाउने काम गर्दैनौं । हामी अन्न फलाउँछौं, सव्जी फलाउँछौं हामी स्वस्थ खानेकुरा फलाउँछौं ।

हाम्रो किचन(भान्सा) चिटिक्क पारेर नक्कली काठ राखेर सफा बनाउने मात्र हुनु हुँदैन । देख्दा किचेनमा टेवल, कुर्सी, ओभन–सोभन हुन्छ तर खानेकुरा चाँही विषादी युक्त । त्यस्तो खाएपछि प्लेट सफा भएर के गर्ने खानेकुरा विषदी युक्त भएपछि । 

विषादीयुक्त कुराबाट कसले बचाउँछ भने किसानले । त्यस चेतनामा किसानलाई कसले पुर्‍याउँछ भन्दा सहकारीले पुर्‍याउन सक्छ ।

कृषि पेशा फरक हो । एउटाले मुला खेती गर्‍यो भने सबैले मूला खेती गर्दा पनि हुन्छ । मूला विकेन भने चाना सुकाऔं, सिन्की बनाऔं, अचार बनाऔं । ट्रकलाई कुल्चाउन, बारीमा फाल्नु नै पर्दैन । यस्तो आवेश उत्तेजनामा नजाऔं । कहिले दुध पोख्ने, कहिले के गर्ने…. दूध विकेन भने कुराउनी बनाउनु अनि बिक्छ । लगेर पकाइदिए भैहाल्यो नि ! जमाएर घ्यू बनाउ बिक्ब्छ । अनेक तरिकाले जान सकिन्छ । त्यसका लागि प्रविधि र सहकारीको आवश्यकता छ यसको आन्दोलनको अर्थ यसमा छ ।


भर्खर

0