बीआरआईमा सामेल भएपछि इण्डोप्यासिफिकमा सहभागी हुँदा के आपत्ति ? – प्रकाशशरण महत (अन्तर्वार्ता) | Khabarhub Khabarhub

बीआरआईमा सामेल भएपछि इण्डोप्यासिफिकमा सहभागी हुँदा के आपत्ति ? – प्रकाशशरण महत (अन्तर्वार्ता)



नेपाली राजनीतिमा विदेशी शक्तिको प्रभाव छ भनेर बेलाबेलामा बहस हुने गरेको छ । पछिल्लो समय एकपटक फेरि त्यस्तै प्रभावका बारेमा राजनीतिक नेतृत्वदेखि आमसाधारण सम्मले चर्चा गरेका छन् । अघिल्लो महिना भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र बीआरआईमा सहभागी हुने कुरासँगै इण्डोप्यासिफिक रणनीतिका बारेमा समेत त्यस्तै बहस भइरहेको छ ।

त्यसबाहेक नेपालका राजनीतिक दलभित्र पछिल्लो समय देखिन थालेको असन्तुष्टि चाहे त्यो सत्ताको हस्तान्तरणको विषयलाई लिएर सत्तारुढ दल भित्रको होस् वा प्रतिपक्षी दल नेपाली कांग्रेस भित्रको अन्तरकलहको विषय नै किन नहोस्, चर्चा मै छन्।

यसै सेरोफेरोमा हामीले नेपालको विदेश नीति, पछिल्लो राजनीतिक घटना क्रम, आगामी फागुनमा हुनुपर्ने महाविधेशन, पार्टीभित्रको गुटउपगुट र नेपाली राजनीतिमा बाह्य प्रभावका बारेमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, महतसँग गरिएको कुराकानीको सम्पादित अंश ।

नेपालको आन्तरिक राजनीतिमा बाह्य प्रभावको विषय अलि बढी चर्चा हुन थालेको छ । पूर्व परराष्ट्र मन्त्रीको हिसावमा यसलाई तपाईले कसरी लिनुभएको छ ?

परराष्ट्र नीति सञ्चालन गर्दा आफ्नो स्वार्थ र आवश्यकतालाई केन्द्रबिन्दू बनायौँ भने यो सबै सहज हुन्छ । अरुले के ठान्छन्, अरुले के भन्छन् भन्ने कुरालाई हाम्रो चिन्तनको मुल विषय बनाइयो भने समस्यामा पर्छ । अहिले मैले देखेको वर्तमान सरकारको परराष्ट्र नीति सञ्चालनको तौरतरिका हेर्दा उहाँहरु ज्यादा चिन्तित चाँहि नेपालको स्वार्थ के कुरामा छ, नेपालको आवश्यकता के हो भन्ने कुरालाई तर्कसंगत हिसाबले राख्न सकेका छैनौँ ।

हामीले चिनियाँ नेतृत्वसँग भेट्दा उनीहरुले के सुन्न चाहेका छन् भन्ने कुरा हेर्छौँ, भारतको नेतृत्वलाई भेट्दा उनीहरुले के चाहन्छन् भन्ने हेर्छौँ । अमेरिकन वा अरु नेतृत्वसँग पनि हामी त्यही रुपमा प्रस्तुत हुने अबस्था छ । तर पछि आएर त्यही कुरामा हामी अडिन सक्दैनौँ । किनकि त्यही विरोधाभाषपूर्ण कुराहरु गर्न थालेपछि विश्वसनियता खस्किन्छ । विश्सनियता खस्काउने काम अहिलेको सरकारले गरिरहेको छ भन्ने महशुस हामीले गरिराखेका छौँ । त्यसको मुल कारण के हो भन्दा उहाँहरुले आफ्ना आवश्यकताहरुलाई केन्द्रमा राखेर तथ्यसंगत आधारमा चल्न कोशिश गर्नुभएको छैन ।

कुनै पनि देशले विदेश नीति सञ्चालन गर्दा कुन देशमा कुन राजनीतिक परिपाटी छ भनेर सम्बन्ध विकसित गर्नेभन्दा हाम्रो राष्ट्रिय स्वार्थ कुन देशसँग कसरी सम्बन्ध विकसित गर्दा परिपुरण हुन्छ भनेर हेर्नुपर्ने हुन्छ

एउटा उदाहरण दिन्छु, इण्डोप्यासिफिक रणनीतिक भनेर एउटा ‘एप्रोच’ आयो, जुन कुनै अलाइन्सको कुरा पनि थिएन, उहाँहरुले अमेरिकन नेतृत्वसँगको कुरामा ठिकै छ भन्ने सन्देश दिनुभयो । त्यसपछि चिनियाँ नेतृत्वलाई त्यसमा छैनौँ भनेर भन्नुभयो । त्यसपछि उहाँहरुले नेपाल इण्डोप्यासिफिक रणनीतिमा छैन भनेर पनि आधिकारिक रुपमा बोल्नुभयो । जसका कारण नेपालको नेतृत्वले त मान्छेपिच्छे कुरा फेर्ने रहेछ सन्देश गयो । त्यो चाँहि नेपालको लागि स्वस्थकर हैन ।

अर्को कुरा भेनेजुयेलाका बारेमा चाहिने भन्दा धेरै महत्व दियौँ । जुन देशसँग हाम्रो आर्थिक कारोवार छ, अथवा राजनीतिक सम्बन्ध छ, एउटा औपचारिक सम्बन्ध हो । जुन हाम्रो परराष्ट्र नीतिको कुनै केन्द्रबिन्दु समेत हैन । त्यसमा पनि हामी चुकिरहेका छौँ ।

कुनै पनि देशले विदेश नीति सञ्चालन गर्दा कुन देशमा कुन राजनीतिक परिपाटी छ भनेर सम्बन्ध विकसित गर्नेभन्दा हाम्रो राष्ट्रिय स्वार्थ कुन देशसँग कसरी सम्बन्ध विकसित गर्दा परिपुरण हुन्छ भनेर हेर्नुपर्ने हुन्छ । त्यो कुरा हेरेको पटक्कै पाइएन ।

अहिले धेरै कुरा ठिक हुन सकिरहेको छैन । जस्तो अहिले बिमस्टेक सम्मेलन भयो, विमस्टेक राष्ट्रहरुको संयुक्त सैनिक अभ्यास गर्ने भनेर अवधारणा आयो त्यसमा सहमति जनाउनुभयो तर पछि हामी सहभागी हुँदैनौ भनेर भन्दिनुभयो । यी तमाम उदाहरण हेर्दा हाम्रो परराष्ट्र नीति ठीक ढंगले सञ्चालन गर्न नसकेको मेरो अनुभव छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई सरकारले धेरै चर्चा गरिरहेको छ, अहिले सी विचारधाराको समेत कुरा आइरहेको छ, यसलाई नेपाली कांग्रेसले कसरी हेरेको छ ?

जहाँसम्म चिनिया राष्ट्रपति सीको नेपाल भ्रमणको कुरा छ । म परराष्ट्रमन्त्री रहेका बेला समेत उहाँलाई नेपाल भ्रमणको निमन्त्रणा दिइएको थियो ।

उहाँले अनुकुल समयमा आउने भन्नुभएको थियो । त्यसमा हामी खुसी छौँ । छिमेकी राष्ट्रप्रमुख नेपाल आउनु भनेको सबैका लागि खुसीकै कुरा हो । तर जहाँसम्म नेपालले स्वागत सत्कार बाहेक कसरी लिने भन्दाखेरी हामीले चीनसँगको कुरा गर्दा पनि अघि मैले भनेजस्तै चीनमा कुन राजनीतिक प्रणाली वा पार्टी छ भन्ने कुरालाई कांग्रेसले हेर्दैन ।

हिजो चीनमा माओको शासनकालमा समेत वीपी कोइरालाले सम्बन्ध विकसित गर्नुभएको थियो । त्यसमा दुईमत छैन, त्यहाँको सत्तारुढ पार्टीको धारणा हेरेर सम्बन्ध राख्ने वा नराख्ने भन्ने हुँदैन । देशको देशसँगको सम्बन्ध हो ।

चीनसँगको सम्बन्ध हाम्रो आवश्यकता र स्वार्थका आधारमा हुनुपर्छ, तर वर्तमान सरकारको नेतृत्व चाँहि चाहिनेभन्दा ज्यादा तरिकाले प्रस्तुत हुने गरेको देखिएको छ । त्यसले भविष्यमा सकारात्मक प्रभाव पार्दैन ।

चिनियाँ नेतृत्वले हरेक चिजलाई फुकी फुकी बोल्दैनन्, उनीहरुले सम्बन्धलाई कुन रुपमा लैजाने, कति दिने, कति नदिनेजस्ता विषयलाई लिएर भविष्यको समेत हेरेर सम्बन्ध विकसित गर्ने गरेका छन् । खालि नेपालमात्रै होइन, भारत वा अन्य अन्तर्राष्ट्रिय शक्तिसन्तुलन समेत हेर्ने गरेका छन् ।

उनीहरुले सम्बन्ध विकसित गर्दा मुल रुपमा आफ्नो राष्ट्रिय स्वार्थलाई हेर्ने गरेका छन् । हरेक देशको त्यही नै हुन्छ । त्यसमा हामीले गुनासो गर्ने कुरा पनि होइन । तर हामीले आफ्नो राष्ट्रिय स्वार्थ हेरेर सम्बन्ध विकसित गरिरहेका छौँ त ? नेपाल र चीनबिचको व्यापारघाटाको कुरा महत्वपूर्ण हो । नेपाल र चीनबिच धेरै ठूलो व्यापारघाटा छ, निर्यात गर्दा पनि जुन भन्सार छुट हुनुपर्ने हो त्यो प्राप्त भएको छैन, गैर भन्सारको कुरा गर्दा पनि त्यसको समस्या पनि सघन छ । यी कुराहरुले मुख्य रुपमा छलफलको विषयबस्तु नै बनाउन सकेन ।

यसलाइ खाली कमिटीले हेर्छ भनेर मात्रै भनेको छ । तर चीन निर्यात हुनसक्ने बस्तुको पहिचान भइसकेको छ ती बस्तुलाई शून्य भन्सारमा निर्यातको व्यवस्था गरेमात्रै पुग्ने विषयलाई अध्ययन कमिटी भनेर भनियो । उहाँहरुको रटान रेल, रेल मात्रै छ । तर चीन सरकार हचुवाको भरमा बोल्नेवाला छैन, उनीहरुले अहिले सम्भाव्यता अध्ययन मात्रै भने ।

इण्डोप्यासिफिक रणनीतिमा  कनेक्टिभिटि, समुद्रमार्गको स्वतन्त्र रुपले उपभोग तमाम कुराहरु त्यसमा पर्छन् । भनेपछि हामीले त्यो विषयमा उनीहरुसँग समझदारी र सहकार्य गर्दाखेरी के समस्या हुन्छ ?

तर जहाँसम्म कुनै पनि प्रस्ताव अघि सार्दा नेपालको दीर्घकालिन हितमा हुन्छ कि हुँदैन, अहिले हामीले हेर्दा सडक सबैभन्दा महत्वपूर्ण छ । सबैभन्दा कम खर्चमा ज्यादा प्रतिफल दिनसक्ने सडक यातायात चाहे त्यो आन्तरिक होस् वा बाह्य सबैभन्दा उत्तम हो पडाही क्षेत्रमा ।

मधेशमा पूर्व पश्चिम रेलमार्ग कम लगानीमा बन्नसक्छ । त्यसमा हामीले भनिराखेकै छौँ, तर पहाडमा रेलको जुन कुरा छ नि रेल यातायात प्रतिफल नआउने महँगो हुन्छ ।

संसारका धेरै जनसंख्या भएको देशमा समेत रेल यातायात आर्थिक रुपले सफल हुन सकेको छैन, अब नेपालजस्तो देश जहाँ पहाडी भूभाग छ, जनसंख्या पनि ठुलो छैन, त्यसले प्रतिफल आउने सम्भावना देख्दिन । अब रह्यो नेपाल र चीनबिचको रेलको कुरा, जहाँ ठुला ठूला हिमाल छन्, सुरुङ धेरै बनाउनुपर्ने त्यसको सम्भाव्यता छ कि छैन भनेर अहिलेसम्म अध्ययन भइसकेको छैन ।

आर्थिक रुपमा नेपाल र चीनको व्यापार र मान्छेहरुको आवतजावतको अहिलेको अबस्था हेर्दा रेलको औचित्यता छैन, यो चाँहि विज्ञहरुले समेत भनेको कुरा हो । त्यसकारणले हाम्रो आफ्नो लगानीबाट वा ऋण लिएर बनाउँदा धेरै महँगो हुने कुरा हो ।

त्यसैले हाम्रो अन्य आवश्यकता धेरै छन्, पूर्वाधार, सडकको अबस्था समेत उस्तै छ । त्यो हाम्रो प्राथमिकता हेरेर लिनुपर्छ । हाम्रो आफ्नो आवश्यकता हेरेर सहयोग लिनुपर्छ ।

ऋण लिँदा पारदर्शी र सहुलियत रुपमा लिनुपर्छ । चिनियाँ सरकारले समेत यो कुरा बुझेको छ । जबसम्म चीन र भारतको व्यापार नेपालको मूमि हुँदै रेल जाने वातावरण बन्दैन तबसम्म नेपालका लागि रेल महँगो हुन्छ भनेर उनीहरुले समेत भनिसकेका छन् ।

उनीहरुको चाख भनेको भारतसँगको व्यापारको कुरा हो । तर त्यो भारत र चीनको स्वार्थको कुरा हो । हामीले दुबै देशलाई रेल बनाउन चाहने हो भने आफ्नै खर्चमा बनाउनुस् भनेर भन्नुपर्छ । त्यसबापत् हामीलाई निश्चित शुल्क दिन भन्नसक्नुपर्‍यो । हरेक चिज हचुवा र उडन्ते रुपमा मात्रै भनेर जनतलाई एउटा सपनामा लैजाने मात्रै कुरा हो ।

वेल्ट एण्ड रोड इनिसिएटिभको कुरा एउटा अर्को कुरा इण्डोप्यासिफिक रणनीति, जुन भारतको सहमति लिनुपर्ने भनिएको छ, त्यसलाई संसदबाट पारित गर्नुपर्छ भनेर भनिएको छ । भारतको नेपाल हेर्ने दृष्टिकोण, अमेरिका र युरोपियनहरुले हेर्ने दृष्टिकोण फरक–फरक देखिएको छ, यसलाई कसरी हेर्नुभएको छ ?

मैले अघि पनि भने, नेपालले आफ्नो राष्ट्रिय स्वार्थ हेरेर सम्बन्ध राख्दा विदेशीहरुले समेत त्यसलाई सकारात्मक रुपमा लिन्छन् । किनभने उनीहरुले समेत आफ्नो स्वार्थ हेर्ने हो । त्यसैले नेपालले समेत स्वभाविक रुपमा आफ्नो स्वार्थको कुरा गर्ने हो ।

हामीले असान्दर्भिक कुरा गर्दा उनीहरुले अप्ठ्यारो मान्ने हो । जस्तो हामीले बीआरआईमा सम्झौता गर्‍यौँ, धेरै छलफलपछि आवश्यकता, स्वार्थ र हाम्रा मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई प्रभाव पार्ने कुराहरुलाई समावेश नगरिकन समझदारी गर्‍यौँ । नेपाल र चीनको कनेक्टीभिटि र लगानी अरु सम्बन्धलाई केन्द्रित गरेर समझदारी गर्‍यौँ ।

त्यस्तै गरेर इण्डोप्यासिफिक रणनीति आएको छ अहिले । त्यसमा हामी के के न हुन्छ भन्ने अबस्था के छ र ? इण्डोप्यासिफिक रणनीति जुन उहाँहरुले भन्नुभएको छ, जुन एउटा अवधारणा मात्रै हो भनिएको छ ।  कनेक्टिभिटि, समुद्रमार्गको स्वतन्त्र रुपले उपभोग तमाम कुराहरु त्यसमा पर्छन् । भनेपछि हामीले त्यो विषयमा उनीहरुसँग समझदारी र सहकार्य गर्दाखेरी के समस्या हुन्छ ?

अरु हाम्रा मित्रराष्ट्रहरुको चासोलाई ध्यानमा राखेर जसरी बीआरआईमा हामी सामेल भयौँ, त्यसरी नै इण्डोप्यासिफिक रणनीतिमा सहभागी हुनसक्छौँ नि । जस्तो भनौँ न बीआरआई अन्तर्गत भारतबाट पाकिस्तान जाने बाटो काश्मिर हुँदै जाने कुरामा उनीहरुको आपत्ति थियो । त्यसकारण उनीहरुले सहमति गरेनन् ।

चीनसँग हामीले समझदारी गर्दा भारतको चासोका विषयमा हामीले केही भनेनौँ । चीनबाट पाकिस्तानसम्म बाटो लैजाने विषयमा अरु देशसँग के के सहमति चीनले गर्छ त्यसमा हाम्रो विरोध वा समर्थन हैन । बीआरआई अन्तर्गत नेपाल र चीनको कनेक्टिभिटी र लगानीमा नेपाललाई फाइदा हुने हदसम्म हामी सहभागी हुन्छौँ भन्ने अवधारणा समातेर त्यस्तैखाले कन्टेन्टहरुलाई मात्रै हामीले स्वीकार गरेर मात्रै समझदारी भयो ।

त्यस्तै गरेर इण्डोप्यासिफिक रणनीतिमा भारतले अरु कुरा गर्ला वा अरु युरोपियनहरुले गर्लान्, यसबाट हामीले के फाइदा पाउने पहिलो यसमा केन्द्रीत हुनुपर्‍यो ।

दोस्रो यसबाट अरु हाम्रो मित्रहरुलाई सिधै असर पर्ने कुनै कुरा छ भने यो कुरामा चाँहि हामी बोल्दैनौ है भनेर समावेश हुनसक्छौँ नि । त्यसमा हामीले धेरै अन्यौल हुनुपर्ने अबस्था छैन ।

अर्को कुरा मिलेनियम च्यालेञ्ज कर्पोरेशनअन्तर्गत झण्डै ६० अर्ब अनुदान जुन अमेरिकी सरकारले दिन खोजेको छ, त्यसमा अहिलेसम्म हामीले अगाडि बढाउन सकेका छैनौँ । यसमा अलमल किन ? त्यसमा चाँहि नेपाल–भारतबीचको ट्रान्समिसन लाइन भन्ने परेको छ ।

ट्रान्समिसन लाइन हाम्रो लागि महत्वपूर्ण हो । विद्युत आयात निर्यातका लागि महत्वपूर्ण छ भनेर हामी भनिरहेका छौँ, ट्रान्समिसन लाइन भन्नेवित्तिकै दुई देशका बीचमा सहमति हुनैपर्छ । नेपाल भारत दुबै देशको सहमति हुनुपर्छ नै । त्यसमा सहमति लिउ भन्दा कुन चाँहि आपत्तिको कुरा भयो र ? यसमा ओहो यस्तो भन्दियो, त्यसकारण अब लिने कि नलिने भनेर हल्ला गर्नुपर्ने कारण के छ ?

किन उनीहरुले भने भन्दा अन्तरदेशीय ट्रान्समिसन लाइन भनेपछि दुबै देशको सहमति आवश्यक पर्छ । हामीले दुई देशका बीचमा यसअघि पनि सहमति गरिसकेका छौँ ।

म नै उर्जामन्त्री भएका बेला ढल्केवार–मुजफ्फरपुर प्रशारण लाइनका लागि सहमति भएको थियो । त्यसमा अरुको सहयोग पनि जुटेपछि अहिले कार्यान्वयनमा आइसक्यो । भनेपछि गोरखपुर–बुटबल जोड्ने कुरा गर्दा दुई देशको सहमति त चाहिन्छ । त्यसैले भारतको समेत सहमति लिने कुरामा हाम्रो सार्वभौमसत्तासँग सम्झौता गरेको भन्ने हुन्छ र ?

अब प्रसंग बदलौं । निर्वाचनमा कांग्रेस पराजित भयो । सबै तहमा सरकारको नेतृत्वमा कम्युनिस्ट पार्टीको छ, कांग्रेसभित्रको गुटउपगुटको शिकारका कारण पार्टी कमजोर भयो भनिन्छ, यसमा तपाईको भनाइ के छ ?

कांग्रेस भनेको व्यक्तिगत स्वतन्त्रतामा विश्वास गर्ने पार्टी हो । हाम्रो पार्टी त्यस्तो पार्टी होइन कि शीर्ष नेतृत्वले जे भन्छ त्यसमा सबै नेता कार्यकर्ताले मानेन भने सफाया हुन्छ ।

हाम्रो विधान, विचार छ । विचार मिल्ने मान्छेहरु चाँहि पार्टीगत रुपमा जोडिएका छन् । पार्टीको सदस्य भएर नेतृत्व समेत गर्छु भनेपछि त्यसको मर्यादा र सिमामा बस्नुपर्छ । हाम्रो समस्या के हो भने व्यक्ति र स्वतन्त्रतालाई चाहिनेभन्दा बढि सिमाभन्दा बाहिर लैजाँदा पार्टीको मर्यादा र विचारभन्दा बाहिर जाँदा व्यक्तिगत महत्वाकांक्षालाई केन्द्रमा राख्ने गरेका कारण देखिएको हो । पार्टीभित्र मैले यो विषयमा बोलको पनि छु ।

पार्टीमा त्यस्तो प्रवृत्ति कुन रुपमा छ ?

विभिन्न रुपमा प्रकट भएको छ । त्यसमा प्रौढ वा युवा भन्ने छैन । व्यक्तिगत प्रवृत्तिमा रमाउने प्रवृत्ति युवादेखि प्रौढसम्मै छ । आफ्नो स्वार्थअनुसार पार्टीलाई लैजान खोज्ने गलत प्रवृत्ति हो । कार्यकर्ताले समेत आफनै बखान गरेर म बाहेक सबै बेठिक हुन् भन्ने विषय लिएर नआउनुस् भनेर भन्न थालिएको छ, यो सकारात्मक छ ।

कार्यकर्ताहरुले समेत प्रजातन्त्र वलियो बनाउने जिम्मा कांग्रेसकै हो, कम्युनिष्टहरुको मनपरीतन्त्र चलिरहेका बेलामा पार्टीभित्रको गुटले झन् समस्या हुन्छ त्यसैले यो विषय लिएर नआनुस् भन्न थालेका छन् । पार्टी वलियो हुँदा नेतृत्व समेत वलियो हुन्छ भनेर कार्यकर्ताले समेत सुझाव दिएका छन् । जसका कारण गुट उपगुटको प्रवृत्तिको कम चाँहि भएको छ । अहिले जुन सत्ता छ, यो सत्ताचाँहि लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गरिरहेको छैन ।

हामीले गरेका काम जनतालाई केन्द्रमा राखेर गछौँ, तर हामी प्रचारलाई महत्व दिएनौँ । उहाँहरु भने लेनिनकै शैलीमा प्रचार मात्रै गरिरहनुभएको छ

हो यहिनेर, प्रतिपक्षी दलको भूमिका समेत सशक्त भएन भनेर बहस भइरहेको छ नि ?

हामीले पार्टीभित्रको बहसमै पार्टीभित्रको व्यक्ति व्यक्तिलाई केन्द्रमा राखिरह्यौँ भने कसरी सशक्त भूमिका खेल्न सक्छौँ भनेर उठाइरहेका छौँ ।

पार्टी, जनताको आवश्यकता र पिरमर्कालाई केन्द्रमा राखेर एकत्रित भएर लाग्न थाल्यौँ भने जथाभावी तन्त्रको विरुद्धको सशक्त रुपमा विरोध गर्न सक्छौँ र त्यसतर्फ हामी उन्मुख पनि छौँ । राष्ट्रिय जागरण अभियान दुईवटा भए । यो चाँहि सही बाटोमा गयो, जनतामा उत्साह जगायो ।

अब हामी आगामी पुषमा तेस्रो चरणको अभियान ७ सय ५३ वटै स्थानीय तहमा जाने कुरा छ । एकैपटक ७ सय ५३ स्थानीय तहमा केन्द्रीय तहका नेताहरु जाँदा एउटा उत्साह पनि थप्छ । हामीले धेरै कुरामा विश्वास गर्‍यौँ, नारामा विश्वास गर्‍यौँ, कांग्रेसले गरेको कामलाई प्रचार गर्न नसकेको भनेर जनतालाई बुझाउँछौँ ।

लोकतान्त्रिक पार्टी भनेको कांग्रेस नै हो, जुन पार्टीले धेरै लामो संघर्ष समेत गरेको हो । संविधान पनि ल्याएको हो, शान्ति पनि ल्याएको हो, इतिहासको हरेक कालखण्डमा अभिनायकवादी र निरंशुकताविरुद्ध लडेको दल कांग्रेस नै हो भन्नेचाँहि छ जनतामा तर हामीले ससक्त रुपमा नभन्दा समस्या देखिएको हो ।

तुलनात्मक रुपमा अहिलेको सत्तारुढ दलले चाहिनेभन्दा धेरै भन्ने तर हामीले आफुले गरेको कामको समेत प्रचार गर्न नसक्दा कांग्रेस वलियो प्रतिपक्ष भएन कि भन्ने आशंका मात्रै देखिएको हो ।

हामीले खुरुखुरु काम गर्ने प्रचार नगर्ने तर उहाँहरु हामीले गरेको काम समेत आफै गरेको भनेर प्रचार गर्ने कारणले भ्रम रहेको हो । अहिले प्रचारको विजय भइरहेको छ नेपालमा, काम हैन ।

अहिले उनीहरु सत्तामा आएर के फाइदा भएको छ भने बहुमतसहित सरकार चलाउँदा जनताले उनीहरुको चरित्र देख्न पाए । पुरानो सरकार जुन सरकार अन्य दलसँग मिलेर बनाएका कारण काम गर्न नसकेको भनेर उहाँहरु भन्नु हुन्थ्यो ।

हामीले एकल सरकार बनाउन सक्यौँ भने जनताले देख्नेगरी काम गर्न सक्ने बताउनुभएको थियो । यो त के छ भने जून पनि झारिदिन्छु भनेजस्तो आश्वासन दिनुभएको थियो । जनतालाई हो कि भने जसरी । तर त्यो पर्दा पनि अब खुलिसक्यो । देखियो नि त ।

कांग्रेस नेतृत्वको सरकारले गरेको काम अहिलेको सरकारले गरेको भनेर प्रचार गरिएको काम के छ र ?

धेरै छन् । जस्तो मध्यपहाडी राजमार्ग हामीले शुरु गरेको हो । उहाँले नाम फेरेर पुष्पलाप राजमार्ग भन्न थाल्नुभयो ।

भित्रि मधेशको चतरादेखि झापा देखि डडेल्धुरा जोड्ने बाटो ठाउँठाउँमा चलिरहेको छ । त्यसमा एउटै राजमार्ग भन्ने पनि हैन, एउटै रागमार्ग भनेको कस्तो भनेको पूर्वदेखि पश्चिमसम्म वा अन्य त्यस्तै, यो त कस्तो भने २०/३० किमि एकठाउँमा पर्छ त्यहाँभन्दा अगाडि अर्को बाटोमा पर्छ । यसमा टुक्रा टुक्रा सडकलाई जोडेर जनताको आवश्यकता सम्बोधन गर्ने कोशिश हो ।

भित्रि मधेशको बाटोलाई उहाँहरुले बनेको मदन भण्डारी राजमार्ग भनेर घोषणा गर्नुभयो । त्यस्तै यति धेरै विषयबस्तु छन्, संविधान हाम्रो नेतृत्वको सरकारले बनाएको हो, शान्तिप्रक्रियादेखि अन्य विषय समेत हाम्रै नेतृत्वको सरकारले गरेको काम हो ।

त्यसबाहेक सामाजिक सुरक्षादेखि अन्य थुप्रै विषय छन्, हामीले शुरुवाता गरेका होँ, उहाँहरुले हामीले गरेको भनेर घोषणा गर्नुभयो । विदेश नीति सञ्चालनमा हामीले फुकी फुकी आवश्यकता र स्वार्थलाई केन्द्रमा राखेर हामी चाँहि हामी जहाँ भन्नुपर्ने त्यहाँ भन्यौ, हामीले जनतातिर फर्केर चीनसँग, भारतसँग समाधान गर्नुपर्ने विषय जनतासँग भनेनौँ, किनभने जनतालाई भनेर समाधान हुने होइन भनेर । तर उहाँहरुले यो देशको विरोधमा छौँ भनेर जनतालाई भनेर केही हुने त होइन ।

हामीले गरेका काम जनतालाई केन्द्रमा राखेर गछौँ, तर हामी प्रचारलाई महत्व दिएनौँ । उहाँहरु भने लेनिनकै शैलीमा प्रचार मात्रै गरिरहनुभएको छ । गरेर चाँहि केही हुँदैन प्रचार चाँहि गर्नुपर्छ भन्ने शैलीमा लिखित दस्तावेज समेत छ ।

संसारभरी जहाँ निर्वाचन भइरहेको छ कुनै पनि देशमा कम्युनिष्टले चुनाव जितेको छैन, नेपालमात्रै अपवाद भएको छ । नेपालमात्रै अपवाद भएसम्म नेपालले खोजेजस्तो नेपालले खोजेजस्तो समृद्धि सम्भव छैन

हामी त्यो कुरामा विश्वास गर्दैनौँ, काममा विश्वास गर्छौ, काम गर्‍यो भने बुझिहाल्छन् भनेर बस्यौँ तर विज्ञापन पनि गर्नुपर्ने रहेछ । जसरी बस्तु सेवाको कम्पनीहरुले अरबौँ खर्च गर्छन् नत्र सामान राम्रो छ यसै किनिदिन्छन् भन्यो भने थाहा नपाउने हुँदोरहेछ । हामीले पनि हाम्रो बिचार अन्तर्राष्ट्रिय जगतले राजनीतिक परिक्षणले उत्कृष्ट भएको बिचार तर हामीले नेपाली जनतालाई बुझाउन सकेनौँ । त्यसकारण उहाँहरुले जित्नुभयो तर यो धेरै रहँदैन ।

कांग्रेसको महाधिवेशन कहिले हुन्छ ?

डेढ वर्षमा अधिवेशन हुन्छ । यो फागुन हैन अर्को फागुन चैतमा अधिवेशन सम्पन्न हुन्छ । त्यही तयारीमा हामी लागेका छौँ ।

जहाँसम्म मेरो व्यक्तिगत कुरा हो । म पार्टीमा काम गर्दै आएको छु, अघि मैले भनेको जस्तो कांग्रेसले प्रचार गर्न सकेन भनेजस्तै मेरो पनि त्यस्तै समस्या छ । अहिलेको जमाना प्रचारको रहेछ, आफ्नै समेत प्रचार गर्ने, आफुलाई केन्द्रमा राख्ने त्यसरी मैले काम गरिन । तर मैले पार्टीका आम कार्यकर्ताले विश्वास गर्नुहुन्छ र आवश्यक समयमा मैले आफ्ना महत्वाकांक्षा प्रकट गर्छु ।

वर्षौ अघिदेखि घोषणा गर्ने प्रवृत्ति छन् । तर मैले अहिले यो नै भनेर भन्दिन । अवश्य पनि साथीहरुको मुल्याङ्कनअनुसार नेतृत्व तहमा आफ्नो उम्मेदवार जाहेर गर्छु । तर के कस्तो भन्ने चाँहि समय आएपछि गर्छु ।

सत्तारुढ दलबीचमा पनि खटपट देखिएको समाचारहरु बाहिरिएका छन्….

सत्तारुढ दलकाबीचमा भएको समझदारी उहाँहरुले नै जान्नुहोला, गुनासो पनि सुनिरहेका छौँ, त्यो उहाँहरुले सल्टाउने विषय हो । तर हामीले यो पनि अपेक्षा गरेका छैनौँ कि उहाँहरु विभाजन भएर वा कोहीसँग मिलेर सरकार चलाउँला भनेर । यो सरकारले गरिरहेको संविधानको मर्मविपरितको काम, ठूला ठूला भ्रष्टाचारको विरोध गर्नलाई तिहारपछि हामी ठूला ठूला सभाहरु पनि गर्ने तयारी गरेका छौँ ।

आउने चुनावमा एक्लै जित्ने लक्ष्यका साथ हामी काम गर्छौ ।

यसैबिचमा उहाँहरुको विरोधाभाषका कारण असफल हुनुभयो र सरकार ढल्यो भने के गर्ने भनेर त्यही बेला सोचौँला । तर अहिले हाम्रो अर्जुनदृष्टि भनेको जनताको विश्वास वृद्धि गर्ने, यो सरकारको जनविरोधी र संविधानविरोधी कामको भण्डाफोर गर्ने भन्ने विषय नै हो । र त्यो जरुरी समेत छ, नेपाली जनताको समृद्धि हितका लागि यही बाटो नै उपयुक्त बाटो हो ।

संसारभरी जहाँ निर्वाचन भइरहेको छ कुनै पनि देशमा कम्युनिष्टले चुनाव जितेको छैन, नेपालमात्रै अपवाद भएको छ । नेपालमात्रै अपवाद भएसम्म नेपालले खोजेजस्तो नेपालले खोजेजस्तो समृद्धि सम्भव छैन भन्ने हाम्रो धारणा छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १२ : ०९ बजे

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ