कसले भड्काउन खोज्दै छ कपिलवस्तुमा पटक–पटक साम्प्रदायिक दंगा ? | Khabarhub Khabarhub

कसले भड्काउन खोज्दै छ कपिलवस्तुमा पटक–पटक साम्प्रदायिक दंगा ?



काठमाडौं– वुधबार राति स्थानीयहरु र्‍यालिसहित तिहारको लक्ष्मीपूजामा पुजिएको लक्ष्मीको मूर्ति सेलाउन कपिलवस्तुको कृष्णनगर स्थित मस्जिदको बाटो भएर जाँदै थिए । त्यही क्रममा कृष्णनगर बजारमा केही मुस्लिम युवाहरुले र्‍यालीमाथि अवरोध गर्न खोजे ।

यहि विषयले शुरु भएको विवादले झडपको रुप लियो । हिन्दू–मुस्लिम युवाहरुबीच भएको झडपमा दुबै तर्फका केही युवा र प्रहरी समेत घाइते भए ।

कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराका अनुसार, झडप लम्बिदै जाँदा कर्फ्यु लगाउनु पर्नेसम्मको अवस्था सृजना भयो ।

स्थानीय प्रशासनले कर्फ्यु जारी गरेकै सयमा निषेधाज्ञा तोड्न खोज्दा प्रहरीले चलाएको गोली लागि भारतीय नागरिक सुरजकुमार पाण्डेको मृत्यु भयो ।

‘कपिलवस्तुमा विगतमा पनि साम्प्रदायिक दंगा, हत्या र आगजनीका रुपमा हिन्दू–मुस्लिमबीच झगडा हुँदै आएकाले प्रहरी प्रशासन निकै चनाखो छ’ प्रहरी उपरीक्षक जबरा भन्छन्,‘ साम्प्रदायिकता भड्कन दिंदैनौं ’

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले धार्मिक स्वतन्त्रताको अधिकार सबैलाई हुने भएकाले त्यसको व्यवहारिक अनुभूति दिने कुरामा आफूहरु दृढ रहेको र त्यही अनुसार बातावरण मिलाउने दाबी गरे ।

घटनामा भारतीय अतिवादीको संलग्नता !

कपिलवस्तुमा बुधबार रातिबाट झडप शुरु भयो । लगत्तै कर्फ्यु लगाउने सम्मको स्थिति भएपछि विहीबार अल नेपाल मुस्लिम संगठनका सदस्यहरु घटनामा भारतका अतिवादीको घुसपैठ भएको भन्दै ध्यानाकर्षण गराउन गृहमन्त्री रामबहादुर थापाकोमा पुगे ।

उनीहरुले गृहमन्त्री थापासँग कृष्णनगर क्षेत्रमा साम्प्रदायिक दंगा फैलाउने उद्देश्यले भारतबाट मानिसहरु आएको दाबी गरेका थिए ।

कृष्णनगर क्षेत्रमा साम्प्रदायिक दंगा फैलाउन भारतबाट मानिसहरु आएको संगठनका सदस्य ताज मोहम्मद मियाँको दाबी छ । ‘सद्भाव र शान्ति विथोल्न आएका भारतीयहरुलाई प्रहरीले पक्राउ गर्नुपर्थ्यो  तर पक्राउ नगर्दाको परिणाम यस्तो भएको हो’ मियाँले भने ।

उनका अनुसार, भारतीय अतिवादीहरुको अगुवाईमा कृष्णनगर क्षेत्रका मुस्लिम समुदायका मानिसहरुको घरमा आक्रमणसमेत गरिएको छ ।
‘धेरै ठाउँमा आगजनी गरिएको छ, मस्जिद समेत तोडफोड गरिएको छ’ उनी भन्छन्,‘भारतीय अतिवादीहरुलाई चलखेल गर्न नदिने हो भने त्यहाँ यस्तो घटना दोहोरिने छैन ।’

पटक–पटक दोहोरिंदै छ साम्प्रदायिकताका घटना

कपिलवस्तुमा पछिल्लो पटक देखिएको घटना साम्प्रदायिक दंगा एउटा नमुना मात्र हो । वि.सं. २०४६ सालयता पटकपटक नै साम्प्रदायिक भीडन्तहरू भएका छन् ।

अझ माओवादी द्वन्द्वताका सरकारी सहयोगमै ’माओवादी प्रतिकार समिति’ बनाइएपछि त माओवादीलाई खानबस्न दिएको आरोपमा समेत थुप्रै स्थानीयको झुपडीमा आगो लगाइयो । त्यो समयमा कपिलवस्तु जिल्लामा मात्र ५० भन्दा बढी मान्छे मारिए भने छ सयभन्दा बढी घरहरु जलाइएर ध्वस्त पारिएका थिए ।

माओवादी शान्ती प्रक्रियामा आइसकेपछि २०६४ भदौ ३० गते मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले कपिलवस्तुका मोहित खानको गोली हानेर हत्या गरे । तत्कालिन लोकतान्त्रिक मधेशी मोर्चाको कार्यवाहक जिल्ला अध्यक्ष रहेका खानको हत्यालाई साम्प्रदायिकताको विल्ला भिराईयो ।

लगत्तै कपिलवस्तुको सदरमुकाम तौलीहवादेखि बुटवल, भैरहवा जस्ता सहरमा एकाएक साम्प्रदायिक दंगा भड्कियो । जुन घटनामा १४ जनाको वीभत्स हत्या भएको थियो । थुप्रै मानिसहरु बेपत्ता बने । साथै पाँच हजार बढी मानिस विस्थापित भए । यतिमात्र होइन सात सय बढी पसल, घर टहरामा लुटपाट भएको थियो भने तीन सय बढी सवारी साधन जलाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको तथ्यांक अनुसार, करिब एक सातासम्म चलेको साम्प्रदायिक हिंसामा तीन हजार बढी घरटहरा जलेर ध्वस्त भएका थिए ।

२०४६ साल यता देखि नै कपिलबस्तुमा साम्प्रदायिकता भड्काउने समूह सक्रिय देखिएको प्रहरी अनुन्धानबाट खुलेको छ ।

घटना पछि छानविनका लागि पूर्वन्यायाधीश लोकेन्द्र मल्लिकको संयोजकत्वमा आयोग गठन भएको थियो । आयोगको प्रतिवेदनमा सवारी साधनबाहेक करिब ४ करोड बढी क्षति भएको उल्लेख थियो । यता जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको तथ्याङ्क अनुसार, उक्त हिंसामा सबै गरेर १९ करोड बढीको क्षति भएको थियो । तर, घटनाको पीडित भने १२ बर्ष वितिसिक्दा पनि क्षतिपूर्तिको प्रतिक्षामा छन् ।

यो घटना पछि पनि धार्मिक उत्सवहरुका समयमा यस्ता घटना छिटपुट रुपमा दोहोरि नै रहेका छन् । २०७५ सालको दशैंको एकादशीका दिन पनि दुर्गा मूर्ति परिक्रममा गराउने क्रममा हिन्दू र मुस्लिम समुदाय बीच झडप भएको थियो । त्यसपछि स्थिति नियन्त्रण्मा लिन स्थानीय प्रशासनले पाँच दिनसम्म कर्फ्यु लगाएको थियो । कर्फ्यु हटेसँगै धार्मिक दंगा भड्काउने खोज्ने अदृश्य शक्तिको प्रयास पनि एक पटकका लागि असफल भएको थियो ।

शान्ति खलबल्याउन चाहने समूह सक्रिय

२०४६ साल यता देखि नै कपिलबस्तुमा साम्प्रदायिकता भड्काउने समूह सक्रिय देखिएको प्रहरी अनुन्धानबाट खुलेको छ ।

प्रहरी अनुसन्धान अधिकारीहरुका अनुसार, शान्ति खलबलाउन चाहनेहरूले हिन्दू र मुस्लिम समुदायलाई पटक पटक भीडाउन खोजेका छन् । उनीहरूले योजना अनुसार नै हिन्दूहरु मस्जिद नजिक पुगेपछि झडपको स्थिति सिर्जना हुने गर्छ ।

पूर्वडीआइजी केशव अधिकारी योजनावद्ध रुपमा शान्ति खलबल्याउने उदेश्यबाट गतिविधि सञ्चालन भएको बताउँछन् ।

‘अहिले सम्मका घटनाक्रमलाई हेर्दा यो नेपाली सीमाभित्रकै समुदायबीच पहिलेदेखि रहेको मनमुटाव, वैमनस्यता आदिका कारण हुँदै होइन । यसमा यसमा हुल्याहा जमातको हात मात्र पनि देखिदैन, बरु योजनाबद्ध रुपमा शान्ती खल्बलाउन यस्ता गतिविधिहरु भएको देखिन्छ’ उनले भने ‘यस तर्फ सूरक्षा निकाय चनाखो बन्नुपर्छ ।’

अहिले धार्मिक वा सामुदायिक बनावटलाई नै कतिपय स्थानीयले विवादको कारण मान्ने गरेका छन् । तर त्यो निहुँ मात्रै हो किनकी कृष्णनगरको नजिकै चैपुरवा गाउँ छ, जहाँ ९५ प्रतिशत मुस्लिम समुदायको बसोबास छ । तर चैपुरवामा धर्म वा समुदायको नाममा अहिलेसम्म विवाद भएको छैन । पाँच प्रतिशत जनसंख्या भएको हिन्दूहरूले त्यहाँ निर्धक्क आफ्नो पर्व मनाइरहेका छन् ।

उनीहरुका अनुसार, अहिले साम्प्रदायिक झडप भएको स्थान कृष्णनगरमा मुस्लिम समुदाय करिब एक तिहाईको संख्यामा छन् । त्यो स्थानमा भने पटक पटक हिंसाका घटना दोहोरिएका छन् । मुस्लिम र हिन्दूहरुविच धर्मकै कारण झडप हुन्थ्यो भने नेपालका थुप्रै स्थानमा हिन्दूमुस्लिमको संयुक्त बसोबास छ । तर जतिपनि मुख्य दंगा सुरु भएको छ, कपिलबस्तुको कृष्णनगरबाट नै सुरु भएको छ ।

यसलाई हेर्दा पनि त्यस क्षेत्रको शान्ति सुव्यवस्था खल्बलाउन कुनै न कुनै समूह सक्रिय रहेको सहजै अनुमान गर्न सकिन्छ । त्यसैले यसतर्फ जिम्मेवार निकाय संवेदनशील बन्नु आवश्यक देखिन्छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ९ : २४ बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

नारायण अर्याल काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको